आमुख

साहित्यमा महाकाव्य लेखन सबैभन्दा गरिमामय, उच्चकोटीको मानिन्छ। अहिले पनि महाकाव्य यदाकदा लेखिने गरेका पाइन्छ। भारतमा पनि नेपाली महाकाव्य लेखिएका छन्। महाकाव्यमा विशाल कथावस्तु, छन्द-अलङ्कारयुक्त उच्च र भव्य भाषा-शैली हुने गरेको पाइन्छ। महाकाव्य लेख्ने कविले दीर्घ काव्यसाधना, अध्ययन, मनन र धैर्य गरेर प्रौढ मस्तिष्कले प्रौढ भाषा र प्रौढ शैलीमा काव्य उतारेको हुनपर्छ। महाकाव्यमा एउटा सिङ्गो युगको इतिवृत्य इतिहास र परम्परा हुन्छ, ज्ञान र अनुभवको अभिव्यक्ति हुन्छ।

कवि छविलाल उपाध्यायको परिचय

नेपाली साहित्यमा असमका छविलाल उपाध्याय खतिवडाको योगदान रहेको छ। उनको जन्म असमको शोणितपुरको विश्वनाथ घाट भन्ने ठाउँमा ३ नोभेम्बर, १९४६ मा भएको हो। उनी रङ्गगाडा हाइस्कुलबाट सेवानिवृत्त भएर हालमा ढेकियाजुलीमा आफ्नो स्वतञ्त्र लेखनमा एकनिष्ठ भएर रहेका छन्। हालसम्म उनका कविता, निबन्ध र समालोचना गरी जम्मा २२ वटा जति पुस्तक प्रकाशित छन्। कविले आफ्नो जीवनकालभरि कविता र साहित्यकै सेवा र साधना गरिरहेका छन्। हालसम्म उनका छब्बिसवटा पुस्तक प्रकाशित भइसकेका छन्। उनी मूलः कवि हुन् भने समालोचक, निबन्धकार, कथाकार र अनुवादक हुन्।

छविलाल उपाध्याय

छविलाल उपाध्यायको काव्यप्रवृत्ति

कवि छविलाल उपाध्याय मूलतः शास्त्रीय धाराका कवि हुन् । उनका कवितामा शास्त्रीय छन्द प्रयोगका साथै शास्त्रीय चिन्तन, अध्ययन र पौल पाइन्छ । कवितालाई आफ्ना स्वान्तसुखायका निम्ति प्रयोग गरे तापनि उनका कवितामा नीति, ज्ञान, उपदेश, देश–जाति-भाषा प्रेमको सन्देश, आर्य सभ्यता, संस्कृतिका उत्थान-उन्नयनका पक्षधरता र चिन्तक देखिन्छन्। उनी कविता लेखनमा लक्ष्मीप्रसाद देवकोटाबाट पनि निकै प्रभावित देखिन्छन्। उनले देवकोटाको जीवनी र काव्यसाधनामाथि आधारित एउटा सिङ्गै महाकाव्य देवकोटा लेखेका छन्, देवकोटाका मुनामदन खण्डकाव्य र शाकुन्तल महाकाव्यलाई लिएर एकेकवटा समालोचनात्क पुस्तक लेखेका छन्। उषा-अनिरूद्ध महाकाव्यका भाव, शैली र ढाँचा देवकोटाकै शाकुन्तलसित कही मात्रामा मिल्ने गर्छन्। उनी शास्त्रीय वार्णिक छन्दमा कविता लेख्छन्, अझ त्यसमा पनि शार्दूलविक्रीडित छन्द उनका निम्ति प्रिय छन्द देखिन्छ। उऩी सजिलैसँग छन्दमा कविता लेख्न सक्छन्, छन्दमा नै आफ्ना भावलाई व्यक्त गर्न सक्छन्। उनका निम्ति छन्द साधन हो तर बाधक होइन। उनले आफ्ना सहजानुभूतिलाई छन्दमा नै पाठकसमक्ष अभिव्यक्त गरेर काव्यानन्द दिन्छन्। छन्दको पालन मात्र नगरेर उनका कवितामा भावको सघनता, अर्थगत गम्भीरता, आधुनिक विचारधारा र युगीन चेतना पाइन्छन्। यसका साथै उनका कवितामा इतिहास चेतना, जातीय उत्थानका चिन्तन, समाज अध्ययन, आदर्शको परिपालन, कवि-प्रतिभाको गुणगान, प्राकृतिक सौन्दर्य वर्णन जस्ता विषयवस्तु पाइन्छन्। उनले पूर्वीय काव्य परम्परालाई जोगाइराखेका छन्, काव्यको भव्य गरिमालाई पालन गरिरहेछन्।

नवीन पौड्याल (कालिम्पोङ)

महाकाव्यका लक्षण

साहित्यको काव्यविधामा सबैभन्दा उच्च र गरिमामय काव्य नै महाकाव्य हो। यसका पूर्वीय र पाश्चात्य विद्वानहरूका विभिन्न परिभाषा, लक्षण, विशेषता आदि दिएका पाइन्छन्। यसको सिर्जना जो सुकैबाट हुनसक्दैन। प्राचीन कालमा कविहरूले लामो समयमा एउटा महाकाव्य लेख्ने गर्थे। एक झोंक लेखनलाई सर्ग मानिन्थ्यो। आफुले लेख्दै गरेको महाकाव्यको कथा नबिर्सियोस भनेर प्रत्येक (अन्तिम सर्गबाहेक) सर्गान्तमा आगामी सर्गको कथावस्तुबारे सङ्केत गरिन्थ्यो ताकि कति दिन वा महिना वा वर्षपछि आफुले लेख्दै गरेको काव्यको कथाको सम्झना गराउँथ्यो। यसकारण महाकाव्यका केही लक्षणहरू यस प्रकारका मानिन्छन्-

  • महाकाव्य सर्गवद्ध हुनुपर्छ अनि आठवटा सर्गभन्दा बढी हुनुपर्छ।
  • महाकाव्य छन्दोवद्ध हुनुपर्छ। सर्गान्तमा छन्दपरिवर्तन भएको हुनुपर्छ।
  • महाकाव्यमा प्रातः, सन्ध्या, जुन, तारा, नदी, बगैंचा, ऋतु आदि प्राकृतिक सौन्दर्य वर्णन, तप, यज्ञ, युद्ध, विवाह आदि उत्सवको चित्रण-वर्णन भएको हुनुपर्छ।
  • महाकाव्यमा शृङ्गार वा वीरमध्ये एउटा अङ्गीरस हुनुपर्छ।
  • महाकाव्यमा पञ्चसन्धिको निर्वाह भएको हुनुपर्छ।
  • यसका नायक धीरोदात्त किसिमको हुनुपर्छ।
  • महाकाव्यमा धर्म-अर्थ-काम-मोक्षको चतुर्फलप्राप्ति भएको देखाइनु पर्छ।
  • लोकप्रसिद्ध, ऐतिहासिक वा पौराणिकमध्ये कुनै एउटाको कथावस्तुलाई आधार बनाएर महाकाव्यको विषयवस्तु राखिएको हुनुपर्छ।
  • महाकाव्यको नायक कुनै धीरोदात्त किसिमको हुनुपर्छ।

भारतमा नेपाली महाकाव्य परम्परा र प्रवृत्ति

भारतमा नेपाली महाकाव्य धेरै नभए तापनि थोरै भए पनि केही लेखिएको पाइन्छ। भारतमा नेपाली महाकाव्य लेखनको शुरूवात गर्ने महाकवि मोहन दुखुन हुन् भने यसलाई अघि बढाएर लाने कविहरूमध्ये तुलसीराम कश्यप, प्रकाश भट्टराई, डा खेमराज नेपाल, विद्यापति दाहाल र छविलाल उपाध्याय हुन्। महाकवि मोहन दुखुन, तुलसीराम कश्यपका महाकाव्यहरूको समुचित अध्ययन हुन बाँकी नै छ। भारतमा प्रकाशित महाकाव्यको सूची यसप्रकार छ –

  • मोहन दुखुन – मन्दाकिनी (१९८५), कर्मायण (), भक्त भैरवी (), सौदमिनी (), माया-मृदु (), सुधा-सिन्धु (), मधु-माधव (२०११)।
  • तुलसीराम कश्यप- जन्मभूमि (१९८६), आमा (१९८८), मन्थन (१९९३)
  • प्रकाश भट्टराई – शङ्कर ()।
  • डा खेमराज नेपाल- सृष्टि (२००९)
  • विद्यापति दाहाल – उषाहरण ()
  • छविलाल उपाध्याय – देवकोटा (२००२) र उषा-अनिरूद्ध (२०१७),

उषा-अनिरूद्ध महाकाव्यको अध्ययन

२०१७ मा प्रकाशित छविलाल उपाध्यायको उषा-अनिरूद्ध महाकाव्य कविको लामो काव्यसाधनाको परिश्रमको फल हो। यसमा १२८ पृष्ठ र दस सर्गका सबै मिलाएर जम्मा ४७७ श्लोक रहेका छन्। यसको आस्वादन गर्ने पाठकले धेरै ज्ञानलाभ र आनन्दलाभ गर्न सक्छन्। यसभित्र पौराणिक कथा छ, इतिहास छ. भूगोल छ, समाजशास्त्र छ, समाज चिन्तन छ, दर्शन छ, सांस्कृतिक अध्ययन छ।

महाकाव्यको कथास्रोत – प्रस्तुत महाकाव्य श्रीमद्भागवतको दशम स्कन्दमा, शिवपुराणको ५१ औं देखि ५६ औं अध्यायमा वाणासुरको उपकथा उल्लेख पाइन्छ भने स्कन्दपुराणमा पनि उल्लेख पाइन्छ। यसमा श्रीकृष्णका छोरा प्रद्युम्नको छोरा अनिरूद्ध र दैंत्यराज बलिराजका छोरा वाणकी पुत्री उषाको प्रेम र विवाहको कथा रहेको छ। कविले यसको पौराणिक स्रोतबाट आधार गरेर लेखे तापनि यसमा ऐतिहासिक र सामाजिक स्रोतलाई पनि यदाकदा आधार लिएका छन्। पौराणिक स्रोतबाहेक असमको प्रागैतिहासिक र ऐतिहासिक पक्ष पनि उल्लेख गरेका छन्। यसका साथै सामाजिक गतिविधि, वर्तमानकालीन विभिन्न पक्षको उल्लेख गरेका छन्।

मङ्गलाचरण – प्रस्तुत महाकाव्यको शुरूवात मङ्गलाचरणबाट भएको छ। नमस्कारात्मक, आशीर्वात्मक र वस्तुनिर्देशनात्मक गरी तीन प्रकारका मङ्गलाचरणमध्ये यसमा आशीर्वादात्मकता र वस्तुनिर्देशनातामकताको बढी प्रयोग भएको पाइन्छ। शुरूमा गणेश, सरस्वती र शिवको स्मरण गरेर आशीर्वाद मागिएको छ। त्यसपछि उनले भाषा, साहित्य, समाज, जाति, संस्कृति आदिको वर्तमान अवस्थामाथि चिन्ता व्यक्त गरेका छन्।

महाकाव्यको कथासार – प्रस्तुत महाकाव्यमा श्रीमद्भागवत, शिवपुराण र महाभारतमा रहेको वाणासुर र श्रीकृष्णबीच द्वन्द्व र कौटुम्बिक सम्बन्धलाई लिएर कथानक बनिएको छ। यसको कथाको मूलसार यस्तो छ-

कन्यापुरका दानव राजा वाण (बलिराजको छोरा) लाई सन्तान प्राप्ति भएको थिएन। उसले शिवको कठोर साधना गरेर वरदान हासिल गर्छ र समयमा उषा नाम गरेकी कन्याको जन्म हुन्छ। उषासँगै मन्त्री कुभाण्डकी छरी चित्रलेखाको पनि जन्म भएकाले दुई सँगसँगै हुर्की, खेली बढेका हुन्छन्। दुवै किशरी हुँदा एक रात उषाले कुनै पुरूषसित प्रेमालिङ्गन भएको सपना देख्छे अनि सखी चित्रलेखालाई सुनाउँछे। उसले सपनामा देखेको युवकको पुरूषको वर्णन गर्दै र चित्रलेखाले त्यहीअनुसार नक्सा कोर्दै जाँदा द्वारिकाधीश श्रीकृष्णका नाति अनिरूद्धको प्रतिरूप निस्कन्छ। आफ्नी सखीका निम्ति चित्रलेखाले दानवी माया र छलका बलले द्वारिका पुगेर राती सुतेका अनिरूद्धलाई अपहरण गरी कन्यापुर ल्याएर उषालाई पेश गरिदिन्छे। व्युँझेपछि उषाले स्थितिको अवगत गराएपछि अनिरूद्ध र उषाबीच प्रेम बस्छ। उषाको गोप्य रनिबासमा रहँदा बस्ता एकदिन एउटा चोरले चोर्न पस्दा युवक देखेर छक्क पर्छ र बाहिर आएर पालेलाई खबर दिन्छ र पालेले राजा वाणलाई खबर दिन्छ। दानवराज वाण यो कुरा सुनेर क्रोधले अग्निशर्मा भएर दुवैलाई कठोर कैद गर्छ। चार महिना कैदमा परेपछि एकदिन नारद वाणासुरसित संवाद गर्दा यो कुरा थाहा पाउँछन अनि द्वारिकाधीश श्रीकृष्णलाई सुनाउँछन्। यो खबर सुनेर श्रीकष्ण अचम्म मान्दै आफुले चार चार महिनासम्म जवान नातिको किन ख्याल गरिनछु भनेर पछुताउँदै वाणासुरको राज्यमा आफ्ना दलबलसिहत चढाइँ गर्न पुग्छन्। यसैबीच वाणासुरका साध्य भगवान शिवलाई गुहार्न पुग्छ र शिवजीले आफ्नो परम भक्त वाणको बचाउ गर्न पुग्दा शिववाहिणी र कृष्णवाहिनीबीच पनि युद्ध छेडिन्छ। उता लडाइँमा वाणासुरका अनेक भुजामध्ये चारवटा मात्र राखि दण्डस्वरूप अरू काटिदिन्छन्। पछिबाट वाणासुर अनिरूद्ध र उषाको प्रेमलाई स्वीकार्छ र विवाहको निम्ति अनुमति दिन्छ। उषा-अनिरूद्धको धुमधामले विवाह हुन्छ। यस विवाहले पुस्तौंदेखि चल्दैआएको देव-दानव युद्धलाई सधैंभरिलाई समाप्त गरी मैत्रीत्वको सम्बन्ध कायम बस्छ।

महाकाव्यको संरचना – उषा-अनिरूद्ध महाकाव्य आयामका आधारमा मझौलो किसिमको मान्न सकिन्छ। यसमा जम्मा १२८ पृष्ठभित्र जम्मा दशवटा सर्ग रहेका छन्।

सर्ग सङ्ख्या श्लोक सं छन्दप्रयोग मूलकथा/प्रसङ्ग उपकथा/उपप्रसङ्ग
पहिलो ३२ शार्दूलविक्रीडित, अन्तमा मालिनी मङ्गलाचरण र आत्मनिवेदन जाति, भाषा, साहित्य, संस्कृति आदिबारे चिन्तन र चिन्ता
दोस्रो ५९ अनुष्टुप र मालिनी कथाको पृष्ठभूमि, उषा जन्म उषा जन्मिनुभन्दा अघिको सन्तानलाभको निम्ति प्रयत्न, सन्तान प्राप्तिपछिको हर्कबढाइ र भोजको आयोजना उषाकी सखी र मन्त्रीपुत्री चित्रलेखाको पनि सँगसँगै जन्म।
तेस्रो ६३ इन्द्रबज्रा, उपेन्द्रबज्रा, इन्दिरा, बसन्ततिलका, मालिनी उषाको शैशवास्था, शिशुका संस्कारादि, प्राकृतिक र ऋतुवर्णन, चित्रलेखाको पनि बुद्धि कौशलको वर्णन
चौथो ६६ पञ्चचामर, तोटक, शार्दूलविक्रीडित उषाको तारूण्य, एक रातमा सपनामा एक सुन्दर युवकको दर्शन र प्रेमालिङ्गन हुनु, ब्युँझेपछि चित्रलेखालाई सपनाको युवकको बारेमा बताएअनुसार चित्रलेखाले युवकको नक्सा तयार पार्नु, चित्रलेखाले मथुरा द्वारिकातिर गएर अनिरूद्धको पत्तो पाएर शक्तिद्वारा उसलाई अपहरण गरी कन्यापुरको उषाको रनिवासमा ल्याउनु। चित्रलेखा मथुरा र द्वारिका जाँदा अनिरूद्ध खोज्दै जाँदा त्यहाँको प्राकृतिक सौन्दर्य वर्णन र श्रीकृष्णको राज्यमा प्रजाहरूमा उनको लोकप्रियता, त्यहाँको प्रशासनिक परिवेशको वर्णन।
पाँचौं ५५ प्रामाणिका, मन्दाक्रान्ता र मालिनी उषा र अनिरूद्धको पहिलो भेट, अनिरूद्ध पनि उषषासित मोहित भएर दुईमा प्रेम बढ्दैजानु, पछिबाट चोरको माध्यमबाट यो कुरा कन्यापुरमा फैलिनु, दैंत्यराज वाणले यो खबर सुनेपछि दुवैलाई जेलमा चार वर्ष कोच्याउनु,
छैटौं ५५ दोधक, स्रग्धरा, शार्दूलविक्रीडित, मालिनी एकदिन नारदले अनिरूद्ध वाणको जेलमा परेको कुरा थाह पाएर श्रीकृष्णलाई नाति जेलमा परेको खबर सुनाउनु, श्रीकृष्णले पनि यतिञ्जेल नातिको खोजी आफुले नगरेकामा धिक्कार्नु अनि आफ्ना लावा-लस्कर लिएर वाणको राज्य गएर धावा गरी अनिरूद्धलाई उद्धार गरेको वर्णन । शिवजी आफ्ना परम शिष्य वाणासुरको पक्षमा लागेर श्रीकृष्णसित लडाइँमा सामेल हुनु, विष्णुले हस्तक्षेप गरेर युद्ध समाप्त गरी दुई देवमाझ मिलाप गराउऩु, वाणासुराका अनेक हातमध्ये चारवटा मात्र हात राखिदिनु, दानवराज वाण र कृष्णबीच सम्झौता हुनु, वाणले आफ्नीछोरी अनिरूद्धलाई सुम्पनु राजी हुनु,
सातौं ४६ स्रग्विणी, अनुष्टुप मालिनी देव दानवको लडाइँ थामिएपछि उषा र अनिरूद्धलाई लिएर श्रीकृष्ण वाहिनी द्वारिका फर्किनु, दुईजनाको धुमधामले बिहा गरिदिनु। बाटामा श्रीकृष्णको जयजयकार हुनु, उषा र अनिरूद्धको प्रेम र विवाहबारे द्वारिकावासी खुशी मनाउऩु।
आठौं ४८ मन्दाक्रान्ता, वस्न्ततिलका, अनुष्टुप, मलिनी श्रीकृष्णको राजत्वकालमा द्वारिकाको विभिन्न अवस्था र उनका लीलाहरूको वर्णन, श्रीकृष्णका विभिन्न लीला, द्वारिकाक सामाजिक, आर्थिक स्थितिको वर्णन।
नवौं २९ इन्द्रबज्रा, शिखरिणी, मालिनी वाणासुरको पुत्र स्कन्दको वर्णन, तेजपुरको सामाजिक आर्थिक परिवर्तन र अतीतको गौरवमय इतिहासमा ह्रास आउने सङ्केत।
दशम २४ शार्दूलविक्रीडित, वसन्ततिलका, मालिनी असमको धार्मिक स्थिति, कामाक्षा, अन्य मठ-मन्दिर आदिको वर्णन असमको ऐतिहासिक परम्परा, सामाजिक स्थितिको वर्णन।

महाकाव्यको मौलिकता – महाकाव्यको मूल कथावस्तु स्कन्द पुराण र शिवपुराणको उपजीव्यगत आधार लिइए तापनि उषा-अनिरूद्धको प्रकार्ण काव्यको रूपमा यो मौलिक महाकाव्य हो। यसमा मूल मिथक कथाको कथावस्तुलाई ध्यानमा राखेर नखल्बल्याई स्वतञ्त्र रूपमा लेखिएको छ। यसमा लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तलकै रचना परिपाटी अपनाइएको छ। देवकोटाले पनि महाभारतको विश्वमित्र र मेनुकाको कथालाई आफ्नै स्वतञ्त्र कल्पना दिएर लेखेका हुन्। उपाध्यायले पनि मूलकथालाई यथावत राखेर आफ्नो कल्पनाशक्तिले बडाइचढाइ गरी एउटा सिङ्गो महाकाव्य रचेका छन्। यही कथालाई मोतीराम भट्टले उषाचरित्र र असमकै विद्यापति दाहालले उषाहरण महाकाव्य लेखेका छन्। छविलाल उपाध्यायले यस कथामा कथानक, स्थानगत र वर्णनपरक मौलिकताले आफ्नो काव्य प्रतिभाको परिचय दिएका छन्। शिवपुराणमा शोणितपुरको उल्लेखबाट उपाध्यायले यसको मूल आधारभूमि निर्धक्कसँगले असमको अहिलेको तेजपुर र समग्र रूपमा शोणितपुर भनी लेखेका छन्। प्राकृतिक वर्णन गर्ने क्रममा तेजपुर र यसका वरिपरिका स्थानहरूको उल्लेख गरेका छन्। वाणको दरवारको परिवेश, उषाको चारित्रिक विशेषता, सोह्र संस्कार, विवाह पद्धति इत्यादि सबै कविका काल्पनिक प्रतिभा हुन्। उषा-अनिरूद्धको बिहेको वर्णनमा  गोर्खालीपन झल्काइएको छ। वाणको शहरमा नौमती र डम्फु बाजा बज्छन्। श्रीकृष्णको मथुरामा खैंजडी बाजा बजाइ मारूनी र सङ्गिनी नाच हुन्छ, ।

महाकाव्य कथावस्तुको विकासका चरण – उषा-अनिरूद्धमा कथानकीय विन्यासमा कविले सचेतता देखाएका छन्। यसलाई निम्न बुँदाहरूमा अध्ययन गर्नसकिन्छ।

कथानकीय स्थूल विभाजन कथानकलाई संवृत्त र विवृत्त भागमा स्थूल विभाजन गर्दा शुरूदेखि कृष्णवाहिनी र वाणासुरवाहिनीबीच तुमुल युद्धसम्मलाई संवृत्त भाग र त्यसपछि अन्त्यसम्मको भागलाई विवृत्त मान्न सकिन्छ। कथानकीय विन्यासका अवस्था यसका साथै कथानक विन्यासलाई पाँच भागमा विभाजन गरेर हेर्न सकिन्छ-

कथानकीय बीज– परापूर्वकालदेखि नै देवदानवको युद्ध, वाणले देवताहरूसित प्रतिशोधको भावना ग्रहण गर्नु, आफ्नो सन्तान नहुनाले चिन्तित हुनु र शिवको उपासना गरेर सन्तानप्राप्ति हुनु आदि बीजभाग हो।

कथानकीय विकास- उषाले एकदिन सपनामा एउटा युवक देख्नु र उसलाई पाउने लालसा राख्नु, आफ्नी प्रिय सखी चित्रलेखालाई व्यक्त गर्दा सखीले वर्णन गरेअनुसार चित्र कोर्दै जाँदा कृष्णका नाति अनरूद्धको चित्र कोरिनु र सखको प्रयासमा अनिरूद्धलाई द्वारिकाबाट अपहरणगरी कन्यापुर ल्याउनु, दुईबीच प्रेम हुनु, एकदिन चोरले चोर्ने इरादाले उषाको रनिबासमा पस्दा अनिरूदधलाई देख्नु, यो कुरा फैलिएर दानवराज वाणसम्म पुग्नु, वाणले क्रोधले उषासितै अनिरूद्धलाई चार वर्षसम्म कैद गर्नु।

कथानकीय चरमोत्कर्ष– नारदको माध्यमबाट श्रीकृष्णले आफ्नो नाति वाणको कैदमा परेको खबर सुन्नु, नातिको उद्धार गर्न वाणको राज्यमाथि चडाइँ गर्नु, आफ्नो परमभक्त वाणलाई आपद आइपर्दा शिवजीले श्रीकृष्णलाई प्रतिरोध गर्नु, दुईको बीच युद्ध हुनु तर ब्रह्मको पदाक्षेपले युद्ध टर्नु, वाणको भुजाहरू काटिदिएर तोजोबध हुनु।

कथानकीय प्रतिचरमोत्कर्ष– वाणले आफ्नी छोरी उषा र अनिरूद्धको प्रेम र विवाहको निम्ति राजी हुनु, द्वारिकामा दुईको धुमधाम विवाह सम्पन्न हुनु।

कथानकीय उपसंहार – उषा र अनिरूद्धको विवाहका कारण लामो परम्परा अघिदेखि चलेको देव-दानव सङ्घर्ष समाप्त हुनु, कालान्तरमा असममा परिवर्तन हुनु, नयाँ युग, सभ्यता र भू-मानचित्र विकसित हुँदै आउनु।

महाकाव्यमा पञ्चसन्धिका अवस्था

अर्थप्रकृति कार्यावस्था सन्थि
बीज – देवदानव युद्ध, वाणासुरको निस्सान्तान हुनाले चिन्ता आरम्भ- पुराणादिको फलस्वरूप उषाको जन्म र उसको तारूम्य अवस्थामा अनिरूद्धलाई सपनामा देख्न्नु। मुख- उषा-अनिरूद्धको प्रेम
विन्दु- उषा-अनिरूद्ध प्रेम, अनिरूद्धलाई चार वर्ष कैदमा राख्नु र देव दानव युद्ध हुनु यत्न- सपनामा देखेको युवकलाई उषाले उषाले पाउन सखी चित्रलेखाको सहयोगबाट अपहरण गरी ल्याउनु र अरूद्ध र उषाको प्रेम पर्नु। प्रतिमुख- दुईको प्रेम राजाको समक्ष आइपुग्नु र वाण क्रोधित हुनु।
पताका- देव दानवको परम्परागत युद्ध, श्रीकृष्णका लीला प्राप्त्याशा- उषा निरूद्धको प्रेमका कारण दुवैलाई वाणासुरले कैदमा राख्नु। गर्भ- महर्षि नारदले वाणको हालचाल बुझ्नु जाँदा अनिरूद्ध कैद परेकोकुरा जान्नु र श्रीकृष्णलाई सुनाउऩु, आफ्नो नाति उद्धार गर्न श्रीकृष्ण कन्यापुर प्रस्थान हुनु।
प्रकरी- ससाना कथा उषा-अनिरूद्धको कथासित मिसिएर आउनु नियताप्ति- कैदमा रहेका उषा-अनिरूद्ध छुटाउऩश्रीकृष्ण वाहिणी र शिववाहिनीबीच द्वन्द्व हुनु, वाणासुरको भुजा काटिदिएपछि युद्ध मत्थर हुनु। विमर्श – देवदानवको युद्ध

देवगणको जीत।

कार्य- उषा-अनिरूद्धको प्रेम स्वीकार्य हुनु अनि विवाह हुनु अनि अयोध्या फर्कनु। फलागम- देवदानवबीच शान्ति छाउनु। निर्वहण- चारैतिर खुशीयाली छाउऩु।

महाकाव्यका रसविधान– रसविधानका दृष्टिले प्रस्तुत महाकाव्य सफल मानिन्छ। महाकाव्यको मूलकथा उषा र अनिरूद्धबीचको प्रेम हुनाले शृङ्गार नै अङ्गीरसका रूपमा रहेको छ भने श्रीकृष्णको यदुवंशीवाहिनी र वाणासुर वाहिनीबीच तुमुल युद्धको वर्णनमा वीररस, रौद्र रस र भयानक रस पाइन्छ। यसैगरी कतै हास्य रस (भोजनपरक वर्णन प्रसङ्ग), वाणले आफ्नी छोरी उषाको विवाहलाई स्वीकार्दै आफ्नो भूल बोध गरेको बेला शान्तरस अनुभूत हुन्छन्।

महाकाव्यको पात्रविधान – यस महाकाव्यमा पात्रसङ्ख्या थोरै नै पाइन्छन्। उषा र अनिरूद्ध मुख्य पात्र-पात्रा हुन् भने श्रीकृष्ण, वाणासुर, चित्रलेखा आदि सहायक पात्र-पात्रा हुन्। यसमा मुख्य गरी देव, दानव र मानव गरी तीनै किसिमका पात्रहरू रहेका छन्। श्रीकृष्ण, नारद शिवजी र ब्रह्म आदि देव पात्र देखिछन्। वाण, उषा, चित्रलेखा, आदि कन्यापुरका दानव पात्र छन्। प्रद्युम्न, अनिरूद्ध, ऋषिमुनिहरू मानव पात्रका रूपमा रहेका छन्। उषा दानवपुत्री भएर उसमा उदात्त मानवीय गुण पाइन्छ। उभित्र प्रेम, कर्तव्यता, आदर्शता हुन्छ। यद्यपि अनिरूद्धलाई अपहरण गरेर ल्याउनु भने दानवी प्रवृत्ति देखा परे तापनि त्यो प्रेमाकर्षण र आफ्नो प्रियत्वको प्राप्तिको निम्ति उसको प्रयत्न बुझ्न सकिन्छ। उसकामा मानवीय गुणको नै भएर यदुवंशमा पुत्रवधु हुन योग्यको ठहरिएर उसलाई धुमधामल स्वागत गरिएको छ। उ आफ्नो प्रेमीसित चार-चार वरर्षसम्म बाबुको कैदमा बस्नुपरेको छ। उसमा परम सुन्दर रूपका साथै दया, प्रेम, त्याग, समर्पण, शुचिता आदि गुण पाइन्छन्।

महाकाव्यको परिवेशविधान– प्रस्तुत महाकाव्यमा द्वापरयुगीन भारतको सामाजिक, राजनैतिक, आर्थिक, प्राकृतिक परिवेशको चित्रण पाइन्छ। यसमा विशेष गरी देवराज्य द्वारिका र दानवराज्य कन्यापुरका सामाजिक, सांस्कृतिक, राजनैतिक, भौगोलिक आदि परिवेशको चित्रण गरिएको पाइन्छ।

कालिक परिवेश प्रस्तुत महाकाव्यले मूलतः महाभारतकालीन द्वापर युगलाई लिएर वर्णन गरेको पाइन्छ भने कलियुगलाई पनि सङ्केत गरेको छ।

भौगोलिक परिवेश यस महाकाव्यमा कन्यापुर भनिने तेजपुरको भौगोलिक स्थिति, ऋतुअनुसारको प्राक़तिक अवस्था वर्णन आदि पाइन्छन्। यसमा छवटै ऋतुहरूको प्राकृतिक अवस्थाको वर्णन छ। चारैतिर फलफूलको बगैंचा छ, फूलको वास्ना चारैतिर फेलिएको छ। मानिसहरू प्रकृतिको अनुपम सौन्दर्य छटाभित्र समाहित छन्।

सामाजिक परिवेश प्रस्तुत महाकाव्यमा देवता, दानव र मानव गरी तीन किसिमका सामाजिक परिवेश पाइन्छ। श्रीकृष्णको द्वारिका राज्यमा सुख, शान्ति र समृद्ध थियो। प्रत्येक प्रजामा आफ्ना राजाप्रति अगाध भक्ति, प्रेम र समर्पणको भावना थियो। यता कन्यापुरमा भने असुरको राज्य हुनाले प्रजा सुखी थिएनन्। भोजभतेर दिएर मात्र प्रजालाई मान राख्थे।

सांस्कृतिक परिवेश यसमा वाण राज्यको सांस्कृतिक परिवेशमाथि निकै उल्लेख गरिएको पाइन्छ। वाणको राज्यमा बालक जन्म संस्कारको निकै वर्णन पाइन्छ। जन्मनुभन्दा अघिको हर्कबढाइ, जन्मेपछि छैंटी र न्वारानमा धुमधामसित भोजन, दान पुण्यादि गरिनु, विवाहमा पनि भोजनको अत्यन्त राम्रो बन्दोबस्त, चाढ-बाढ आदिको उल्लेख पाइन्छ।

राजनैतिक परिवेश– प्रस्तुत महाकाव्यमा दुईवटा राज्यको राज्यको परिवेश पाइन्छ। यसमा विशेषगरी द्वारिकामा श्रीकृष्णको राजत्वकाल र कन्यापुर भनिएको वर्तमान असमको शोणितपुर (अझ समग्र असमकै) को दानवराज वाणासुरको राजत्वकालको सामाजिक, राजनैतिक, आर्थिक प्राकृतिक र शासनप्रणालीको चित्रण गरिएको छ। श्रीकृष्णको राजत्वकालमा मथुरा-व़न्दावन र द्वारिकामा प्रजा अत्यन्त सुखी, सम्पन्न र सन्तुष्ट थिए। राज्यका प्रजा सबै कृष्णभक्त थिए भने कृष्ण नै प्रजावत्सल, परोपकारी थिए। देशमा सामारिक सुरक्षा व्यवस्था थियो। श्रीकृष्णलाई आफ्ना प्रजाहरूले अत्यन्त आदर र भक्ति गर्दथे। अर्कापट्टि वाणको राज्यमा वाणलाई प्रजाले उत्ति मन पराउँदैन थिए। प्रजाको सुख र सामूहिक हितको भन्दा आफ्नै मात्र हितको पर्वाह् राख्थ्यो।

स्वेच्छाचारी छ राजा जनमनतिरको ध्यान ठ्याम्मै नराख्ने

मात्रै आफ्न छ चिन्ता अरूजति सब नै जेसुकै होस् भन्ने।

डङ्का पिट्दै र कालो करतुत गरि, विध्वंस मात्रै छ गर्ने

बम्की बम्की कसैको डरभर नगरी सर्वदा राज गर्ने। (षष्ठ सर्ग श्लोक ७)

सुरक्षा व्यवस्था परिवेश महाकाव्यमा वाणको राज्यको सुरक्षा व्यवस्थामाथि केही पदहरूमा वर्णन गरिएको छ। उसले आफ्नो राज्य र दरबारमा कठोर सरक्षा व्यवस्था गरेको थियो। आफ्नी छोरीको सुरक्षाक निम्ति छोरीको अलग दरबारको वरिपरि आगाको सुरक्षा घेरा राखेको थियो भने चारैतिर द्वारपाल र सुरक्षाकर्मी राखेको थियो।

महाकाव्यको भाषिकविधान– प्रस्तुत महाकाव्यको भाषा परिपक्व र गम्भीर किसिमको पाइन्छ। यहाँ तत्सम, तद्भव र ठेट शब्द प्रयोग भएको पाइन्छ। यद्यपि यसमा ठेट शब्द प्रयोग भने विशिष्ट छ। माइती खाल, खलपत्र गोरा, लामोताँती, रामदै, लर्को, उद्दाङ्ग, पुलुत्त कैरन, ठसठसि, निम्तारू, ठ्याम्मै, लाजमर्दो, बैंसालु, कठैबरी, दोजिया जस्ता लोकलवजका ठेटशब्द पनि पाइन्छन्। यद्यपि तद्भव शब्दप्रयोगकै आधिक्य पाइन्छ। दुखीदाखी, फुर्तीफार्ती, बाजागाजा, टीकोटालो, कनिकुथी, बम्की बम्की, थुम्का थुम्की, ध्वनि पुनरावृत्ति भएका शब्द हुन्। पुलुत्त, सिरर्र, टलक्क, मसक्क, गजधुम्म, झपक्क झप्कीरहने, टुलुटुलु, खुसुखुसु, खुस्खुस्याइ, थरथर, धुरूधुरू आदि जस्ता अनुकरणात्मक ठेट शब्द प्रयोग भएका छन्। छन्द मिलाउनका निम्ति कतै देवकोटा द्यौकोटा, देवता द्यौता, होइन ह्वैन, कसरी कसोरी, थिए थे, थियो थ्यो रूवाइ र्‍वाइ, दिउँसो द्यौंसो, कोही क्वै भएको छ। केही शब्दअघि ‘सु’ र ‘स’ तथा कुनै विशेषण दिएर छन्द मिलाइएको छ। ह कतै कतै ह्रस्व र दीर्घ प्रयोग छन्दको आवश्कताअनुसार बदली गरिएको छ। अवनी, वय, सुत, सुता, विज्ञ, कर, नृप, दृग, प्रकोष्ठ, मास, दिवा, मत्स्य, रक्तकुण्ड, दिनमणि, पदतल आदि अनेक तत्सम शब्द पाइन्छन्।

महाकाव्यको शैलीविधान – शैलीविधानका आधारमाप्रस्तुत महाकाव्य सफल र सुनियोजित छ। यसमा जम्मा चौधवटा छन्दको प्रयोग पाइन्छ भने शार्दूलविक्रीडित छन्दको आधिक्य छ। विशेषगरी प्राकृतिक वर्णन गर्दा यही छन्द प्रयोग पाइन्छ। यसमा वर्णनात्मक शैलीको आधिक्य छ भने कतै संवाद शैली पाइन्छ। प्रायः जसो कथावस्तुको परिवर्तनको मागअनुसार छन्दको पनि परिवर्तन गरिएको छ। कतै महाकाव्यको कथावस्तुको उठान द्रुतगतिमा गरिएको छ भने कतै मन्द गतिमा गरिएको पाइन्छ। उषा-चित्रलेखाको क्रीडा कौतुक, विवाह आदिलाई विस्तृत रूपमा उतारिएको छ।

महाकाव्यमा अन्य प्रसङ्गको उल्लेख– कथानकीय गति दिन महाकाव्यमा सहायक रूपमा अन्य प्रसङ्ग पनि आएका छन्। कविले भाषा, संस्कृति, छन्द र कल्पनाको महिमा गरेका छन्। भविष्यका सन्ततिमा यी कुराहरूको अभाव हुने कुरामा चिन्ता व्यक्त गरेका छन्। असम, तेजपुर, कामरूप आदिको ऐतिहासिक प्रसङ्ग केलाएका छन्। देवकोटाले महाराणा प्रताप महाकाव्यमा स्वतञ्त्रताको झैं यसमा कल्पनाको महिमा गाएका छन्-

कल्पना नै भयो श्रेष्ठ

कल्पना बिनु शून्य छ।

कल्पना शक्तिले गर्दा

चन्द्रलोक पुग्यो नर । (सर्ग २ श्लोक ५)

महाकाव्यको मूल्याङकन र उपसंहार

नेपाली साहित्यमा छविलाल उपाध्यायकृत दुईवटा महाकाव्यमध्ये उषा-अनिरूद्ध एउटा शास्त्रीय धाराको पौराणिक विषयवस्तुको महाकाव्य हो। यसमा दस सर्गमा जम्मा ४७७ श्लोक रहेकाले यसलाई महाकाव्यीय संरचनाका आधारमा न ठुलो न सानो मझौलो आयामको महाकाव्य मान्न सकिन्छ। महाकाव्यका विभिन्न लक्षणहरूमध्ये अधिकाङ्श लक्षणहरूको निर्वाह भएको छ। कविका निम्ति शार्दूलविक्रीडित छन्द नै प्रिय देखिन्छ भने अन्य तेह्रवटा शास्त्रीय वर्णमात्रिक छन्द प्रयोग गरिएको छ। महाकाव्यको कथाविस्तार छ, द्वापरयुगीन श्रीकृष्णको राजत्वकालको वर्णन छ, उनको परिवारसित सम्बद्ध उनकै नाति अनिरूद्ध र वाणासुरकी छोरी उषाबीचको प्रेम, सङ्घर्ष र प्राप्तिको कथा बुनिएको छ। यसमा एउटा दीर्घसमयको अङ्कन छ, देव-दानवको सङ्घर्षको मूल्याङ्कन छ, उषा-अनिरूद्धको अमर प्रेमको कथा छ, असमको इतिहासको रेखाङ्कन छ। उषा, अनिरूद्ध, श्रीकृष्ण र वाणासुरलाई केन्द्र गरी कथाविन्यास गरिएको छ। एकाध ठाउँमा छन्द निर्वाह भएको छैन, कतै कतै वाक्यविन्यासमा विच्युति पाइन्छ, कतै कतै कथानकीय सघनतामा आँच आएको पाइनु जस्ता भाषा रशैलीगत कमजोरी पक्ष भने महाकाव्यमा नपाइने होइनन् तर यस्ता कमजोर पक्ष गौण रूपमा मात्र छन्। समग्रमा,असमका छविलाल उपाध्यायको यो महाकाव्योचित गुणले युक्त छ, पाठकका निम्ति रूचिकर छ, ज्ञानवर्धक छ, अनुभवका पाकमा मुछिएका अभिव्यक्ति छन्, पूर्वीय दर्शनको पौल छ, इतिहासको दिग्दर्शन छ।