पत्रकारिता (सञ्चार माध्यम) सिक्किम राज्यमा समयअनुसार आवश्यक अनुरुप फस्टाउन सकेन भन्दा पक्कै पनि दुई मत हुने छैन । पत्रकारिता (सञ्चार माध्यम)- ले केही वर्षदेखि यस्तो काम नगरेको पनि होइन तर अझै त्यति राम्रो र तगडा पाराले काम भइरहेको छैन कि जस्तो खट्किन्छ पूर्व सरकारको शासनकालमा । पत्रकारिता र सञ्चार माध्यम खुलेर प्रजातान्त्रिक, स्वतन्त्ररुपमा फस्टाउन सकेको थिएन तर यो वर्तमान सरकारले पहिलो विधानसभा सत्रमै नयाँ सरकारको नीति, सिद्धान्तको परिचय दिँदै पत्रकारिता र सञ्चार माध्यमको विकास उत्थानको निम्ति ऐतिहासिक काम गरेको सबैको नजरबाट लुकेको छैन । वर्तमान सरकार राज्य र राज्यवासीको सर्वाङ्गीण काम र विकास गर्न लागिपरेको छ त्यसमा पत्रकारिता र सञ्चार माध्यमले ठूलो भूमिका निभाउनु पर्ने आवश्यक देखिन्छ । राज्यका धेरै ठाउँमा पहिलादेखि सरकारी जमिन धेरैले मिचेर दुरुपयोग गरिरहेको, सरकारी गाडी जतासुकै चलाइरहेको, सरकारी कार्यालय लथालिङ्ग, सरकारी सम्पत्ति बेपर्वाह, बेस्यार भएर गइरहेको आदि । विषयलाई सरकारसमक्ष उदाङ्गो पारिदिनुपर्छ । राज्यका धेरै ठाउँमा राम्रा-नराम्रा मुख्य खबरहरु ओझेल भएर उदाङ्ग‍ो हुन नपाएर गइरहेछन् ।

युवराज घलेभाइ (गान्तोक)

राज्यका धेरै ठाउँमा पहिला सरकारमा झैं आदत बसेका बेइमानी ठेकेदारहरुले गरेका अधुरो काम, विभिन्न विभागमा भइरहेका र भइसकेका अधुरा कामहरू उदाङ्गो, सार्वजनिक हुन नपाएर समाचार उकुस मुकुसिएर बसिरहेछ । राज्यका बेइमानी,भ्रष्टाचारी, कर्तव्यहीन, ठगुवा, बदमास, लठुवा, चोर आदि कसैलाई पनि पत्रकारिता, सञ्चार माध्यमसँग डर नै छैन, होसियार नै छैन भन्दा हुन्छ । बेइमानी, भ्रष्टाचारलाई सर्तक र सजाय दिलाउन सक्छ, लथालिङ्ग र डावाँडोल अवस्थालाई उचित व्यवस्था गर्नसक्छ । अशिक्षित, अमानवीय, अभद्रलाई शिक्षित, भद्र र सभ्य बनाउन सक्छ । विसङ्गति, कुरीति अव्यवस्थित, गैरकानुनी समाजलाई उचित, व्यवस्थित, नयाँ समाज निर्माण गर्नसक्ने क्षमता पत्रकारको कलममा हुन्छ ।

राज्यका प्रायः जसो जनताले पत्रकारिता र सञ्चार माध्यमको महत्त्व र भूमिकालाई हल्कारुपले मान्दै अझ राम्ररी बुझ्न नसकेको देखिन्छ । राज्यका मान्छे, संगठन, परिवार, क्लब, विभाग आदि । आदिले पत्रकारिता र सञ्चार माध्यमलाई आफ्नो-आफ्नो खबर, सूचना सुनाइदिने, बाँडिदिने, प्रकाशित गरिदिने माध्यम मात्र मान्ने गरेकोजस्तो देखिन्छ । राज्यमा अहिलेसम्म फलानो विभागमा यस्तो भइरहेछ, उस्तो नराम्रो भइरहेछ भनेर पहिला पनि समाचार नबनिएका त होइनन् । नेता, अफिसर, ठेकेदार आदिले बेइमानी गरेको, भ्रष्टाचार गरेका समाचारहरु प्रशस्त प्रकाशित भएकै हुन् । राज्यका धेरै ठाउँमा असामाजिक घटना, बलात्कार, लुटमार, हत्या, कम्पनीहरुले मजदुरमाथि गरेका अत्याचार लगायत अनेकौं मुख्य समाचार धेरै समाचारपत्रमा प्रकाशित भएकै हुन् तर ती समाचारहरु उक्त दिन प्रकाशित भइसकेपछि सेलाएर गए । त्यसपछि सम्बन्धित निकाय, विभागले उचित कार्वाही गर्यो/गरेन, अपराधीले सजाय पायो कि पाएन, निर्दोषले न्याय पायो कि पाएन, ती मुद्दाहरुको अवस्था कस्तो चलिरहेछ आदिबारे सिक्किमे जनतालाई न चासो भयो, न जान्ने उत्सुकता नै । यसै किसिमले हाम्रो राज्य चलिरहेको छ । सिक्किम राज्यको बर्सेनी शैक्षिक स्तर बढिरहेछ, शिक्षित नागरिकको जनसंख्या तीव्र गतिमा बढिरहेछ तर ती जनसंख्या अनुरुप समाचारपत्र पढ्ने पाठक भने बढ्न सकेका छैनन् । आफ्नो र आफूसँग सम्बन्धित समाचार सामग्रीहरु छन् भने खोजेर पढ्यो, अन्यथा अरु दिन समाचारपत्रहरुको चासो र खोजी हुँदैन ।

राज्यका बजार, विभाग, गाउँसमाजतिर कहीँकतै अनैतिक घटना भएको, असामाजिक गतिविधि भइरहेको, गैरकानुनी क्रियाकलाप भइरहेको देखेर पनि सिक्किमे जनता त्यस विषयमा गफै मात्र गर्छन् । फलानो र ढिस्का भनी टीकाटिप्पणी मात्रै गर्छन् । त्यसले,उसले खबर गर्छ,आवाज उठाउँछ भनी आफूपछि पर्ने गरेको पाइन्छ । सम्बन्धित विभागलाई सञ्चार माध्यम, रिपोर्टरलाई जागरुक भएर खबर गर्नु कोही तम्सेको देखिँदैन । राज्यमा अहिलेसम्म राज्यका सबै ठाउँतिर लगातार रुपमा खेदो गरेर लागिपर्यो भने सबैतिर शुभभन्दा अशुभ खबर केही न केही भइरहेका हुन्छन् तर ती समाचार त्यतिकै गुम्सेर गइरहेछ । धेरै वर्ष अगाडिको तुलनामा पत्रकारिताले केही प्रगति गर्दै अघि बढिरहेकै छ भन्नुपर्छ तर पत्रकारिताको तुलनामा सिक्किमे जनतामा पत्रकारिताप्रति त्यति चेतनाशील, चासो, संवेदनशील नभएको देखिन्छ । समाचारपत्रको पाठक न्यून नै छन् ।

पत्रपत्रिकाप्रति रुचि देखाउने, चासो राख्ने, ध्यान दिने नागरिक कम्ती नै मान्नुपर्छ । सिक्किमे शिक्षित जमातमा पत्रकारितामा रुचि बढाउन समाचारपत्रहरुको पाठकको संख्या बढाउन प्रेस क्लब अब सिक्किमले नै कुनै समय सापेक्ष प्रभावकारी कदम उठाउन आवश्यक छ । यो कलमकार सिक्किमे पत्रकारिता र सञ्चार माध्यमको शुभचिन्तक भएका नाताले राज्यको पत्रकारिता वर्तमान र भविष्यप्रति चिन्तित भएकाले असान्दर्भिक र नपच्ने किसिमका केही लेखेछु भने अन्यथा नसम्झिदिने । यो मेरो लेखेको उद्देश्य राज्यका पत्रकारिता र सञ्चार माध्यमलाई बदनाम गर्नु र निरुत्साहित पार्नु पटक्कै होइन ।