तीसको दशकमा २ जना साहित्यकारहरुको दारी चर्चामा थियो । एक थिए, तुलसी दिवस । अर्का थिए अविनाश श्रेष्ठ । संयोगवस अहिले दुवै कविहरु दारीविहीन सफाचट देखिन्छन् ।

वि.सं २०३६ सालको आन्दोलन सकिइसकेको थियो । त्यतिबेला साहित्यिक नवजागरण भइरहेको थियो नेपाली युवा जमातमा । ठाउँ ठाउँमा हुने कवि सम्मेलन वा कवि गोष्ठीमा जान उत्साहित हुनेबेला थियो । चर्का कविता कुर्ने समय थियो । त्यतिबेलै सुनियो असमबाट कवि अविनाश श्रेष्ठ आएका छन् ।

खासमा उनी कवि भए पनि काठमाडौंमा त्रिभुवन विश्वविद्यालयमा एमए पढ्नका लागि आउने सिलसिलामा रहेछन् । सम्भवतः त्यही सिलसिलामा उनी काठमाडौं आएका थिए । तर उनीसँग मित्रता र घनिष्ठता भने काठमाडौंको त्रिवि छात्रावासमा बसेर एमए पढ्ने क्रममै भएको हो । आउन त उनी रत्नश्री पत्रिकाले प्रदान गर्ने ‘रत्नश्री पदक’ ग्रहण गर्नका लागि पहिलोपल्ट काठमाडौं आएका रहेछन् वि.सं २०३९ सालमा । त्यतिबेलासम्म पनि रत्नश्री पदकको रौनक थियो ।

अविनाश काठमाडौं आएपछि छोटो समयमै साहित्यिक वृत्तमा चर्चित बने । केदारमान व्यथित, विजय मल्ल, कृष्णचन्द्र सिंह जस्ता साहित्यिक हस्तीहरुका प्रिय पात्र बने । उनीहरु तत्कालीन समयका सबैजसोले मान्ने व्यक्तित्वहरु थिए । कृष्णचन्द्र सिंह प्रधानले त उनलाई लिखित रुपमै  “असम र नेपालको पुल”को उपमा दिए ।

अविनाश काठमाडौंको साहित्यिक माहोलमा आउँदा नेपाली साहित्य परिषद् असमका अध्यक्ष थिए र त्यसको मुखपत्र ‘परिषद् पत्र’ले हरिभक्त कटुवाल विशेषाङ्क प्रकाशित गरसकेको थियो । यो उनकै पहलमा, उनकै नेतृत्वमा र उनकै कुशल सम्पादनमा प्रकाशित भएको थियो । परिषद् पत्रका कारण पनि धेरै नेपाली साहित्यकारहरुसँग उनको उठाबसी र हेलमेल स्वाभाविक रुपमा भयो । उनले परिषद् पत्रमा नेपालका धेरै लेखकहरुलाई समावेश गरेर गुनिलो काम गरेका थिए । हरिभक्त कटुवालको बारेमा त्यस विशेषाङ्कमा जत्तिको विस्तृत र विविधतायुक्त सामाग्रीहरु अन्य कसैले आजसम्म प्रकाशित गरेका छैनन् । हरिभक्त कटुवालको बारेमा पूर्ण जानकारी दिने यो विशेषाङ्क मानक प्रकाशन हो । यसमा उनको श्रम र बौद्धिकताको ठूलो लगानी भएको सो विशेषाङ्क हेर्ने जो कोहीले अनुभूत गर्न सक्दछ ।

असममा छँदा नै उनी ‘कोलाज आन्दोलन’ मा सामेल भएका थिए । यो नेपाली जाति, नेपाली भाषा र नेपाली साहित्य अनि समग्र नेपालीको पक्षमा गरिएको आन्दोलन थियो । असम बसाईकै बेला नेपाली भाषामा दुई तथा असमियामा एक कविता सङ्ग्रह प्रकाशित गरेका थिए । ‘परेवाः सेता र काला’ र ‘सम्वेदना ! ओ सम्वेदना !’ नेपाली कवितासङ्ग्रहहरु हुन् भने ‘तुमेई मोर नेपथ्य प्रिया’ असमिया कवितासङ्ग्रह हो ।

काठमाडौंमा एमए गर्ने क्रममा उनले काठमाडौं र असम निकै ओहोरदोहोर गरे । त्यस ओहोरदोहोरमा नेपाली साहित्यलाई पनि निकै फाइदा पुग्यो । उनले नेपाली साहित्य परिषद् असमको ब्यानरमा निकै नेपाली पुस्तकहरु प्रकाशनमा ल्याए । गोविन्द सिं रावतको पहिलो पुस्तक, शुभ श्रेष्ठको पहिलो पुस्तक उनकै पहलमा प्रकाशित भएको थियो । असमका लेखक कविका पुस्तकहरु पनि प्रकाशित भएका थिए । नेपाली प्रकाशनका लागि सहज, सुपथ र सुलभस्थल त्यतिबेला वनारस थियो र उनी वनारससँग चीरपरिचित थिए, यसैले प्रकाशन कार्यका लागि उनलाई सजिलो भयो ।

त्रिभुवन विश्वविद्यालयमा एमएको डिजर्टेसन अर्थात् थेसिसका लागि उनले १० नेपाली कविहरुका कविता विश्लेषण गरेका थिए । ती १० कविहरु थिए – भूपि शेरचन, पारिजात, गुमानसिंह चामलिङ, कृष्णभक्त श्रेष्ठ, ईश्वरवल्लभ, द्वारिका श्रेष्ठ, मोहन हिमाँशु थापा, मोहन कोइराला, वैरागी काइँला र हरिभक्त कटुवाल । उनका गाइड डा. वासुदेव त्रिपाठी थिए ।

एमएको अध्ययन पूरा गर्ने समयमा उनलाई यौटा कठिन निर्णय गर्नुपर्ने अवस्था आइलागेको थियो । त्यो थियो पढाइपछि भारत फर्कने वा नेपालमै बस्ने ? भारतमा निकै ठूला अवसरहरुले उनलाई कुरेर बसेका थिए । तर नेपालको स्नेहले उनलाई तान्यो र उनले असममा भइरहेको ड्राई क्लिनिङको व्यवसायलाई तिलाञ्जली दिएर काठमाडौंमा जगैदेखि स्थापित हुनमा लागे ।

अविनाश श्रेष्ठका साथमा गोविन्द गिरी प्रेरणा

नेपाल आगमनपछि उनको “अनुभूति यात्रामा” कविता सङ्ग्रह डा. वासुदेव त्रिपाठीको भूमिकासहित प्रकाशन भयो । उनका कथाहरु पनि फूटकर रुपमा प्रकाशित भइरहेका थिए । तर ती कथाहरुले निकै ढिलो मात्र पुस्तकाकार पाए । उनको एकमात्र कथासङ्ग्रह ‘तान्या, ईन्द्रकमल र अन्धकार’ हो । यो निकै उत्कृष्ट कथाहरुको सङ्ग्रह हो ।

उनले नाट्य लेखनमा पनि हात हाले । ‘अश्वत्थामा हतोहत्’ उनको  नाटकहरुको सङग्रह हो । यस सङ्ग्रहबाहेकका पनि उनका नाटकहरु पुस्तकाकारमा पुग्ने बराबरका छन् । असममा छँदा पनि उनका नाटक मञ्चन भएका थिए ।

उनले उपन्यासमा पनि हात हालेका थिए । उनको उपन्यासको अंश ‘परिषद् पत्र’मा प्रकाशित पनि भएको हो, तर त्यसको सग्लो रुप पुस्तकाकारमा भने आएन ।

जर्मनी सरकारको सहयोगमा सञ्चालित गोयथे इन्स्टिच्यूटको तत्वावधानमा जर्मनी कवि र नेपाली कविले काठमाडौं साथसाथै घुमेर लेखिएका कविताहरुको प्रकाशन यौटा चाखलाग्दो र सिर्जनशील परियोजना थियो । यसमा नेपाली कविमा अविनाश श्रेष्ठ रहेका थिए । त्यस पुस्तकको प्रकाशन ‘हेर्नुस् यस शहरलाई’ शीर्षकमा भएको थियो । खासै चर्चामा नआए पनि यो कृति नेपाली साहित्यमा यौटा बेग्लै र मौलिक स्वरुपको थियो ।

काठमाडौंमा उनको सङ्घर्षयात्रामा मूल स्थायी पेशा शिक्षण रह्यो । उनले त्रिभुवन विश्वविद्यालयअन्तरगत क्याम्पसमा अध्यापन शुरु गरे र पेन्सन नै पकाए । तर एउटा कामले काठमाडौंमा परिवारसहित टिक्न र घरवार गर्न सम्भव थिएन । उनले शुरुमा फिल्मी पत्रिका “श्री” को सम्पादन गरे । भर्खर टेलिभिजन युग शुरु भएको थियो नेपालमा, उनले टेलिचलचित्र र पटकथा सम्वादमा हात हाले । फिल्मको पटकथा सम्वादमा पनि उनी राम्रै जमे। उनको कालिगण्डकीको सेरोफेरोले नेपाली दर्शकलाई निकै प्रभाव पारेको थियो । यसलाई लेखक तथा कलाकार मुरारी ढुङ्गेलले बनाएका थिए । यी कामले उनलाई घरबार जोड्न आर्थिक सहारा त भयो, तर उनको सिर्जनात्मक लेखनलाई भने निकै असर गर्यो ।

उनी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको साहित्यिक प्रकाशन ‘समकालीन साहित्य’को आरम्भकालदेखि नै सम्पादन कार्यका लागि नियुक्त भए । बिहान क्याम्पसको पढाइ सकेर उनी दिउँसो प्रज्ञा प्रतिष्ठानमा सम्पादन कार्यमा जुट्दथे । भारतको साहित्य अकादमीको ‘समकालीन भारतीय साहित्य’ जस्तै नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको ‘समकालीन साहित्य’ पनि गरिमामयी प्रकाशनको रुपमा देखा पर्यो । यसको योजना, प्रस्तावक र प्रथम कार्यकारी सम्पादक अविनाश श्रेष्ठ नै थिए । उनको सम्पादनकालभरिका ‘समकालीन साहित्य’को रुप, स्वरुप र कलात्मकतामा उनको पनको झल्को आज पनि महसुस गर्न सकिन्छ ।

पछि उनी साझा प्रकाशनको ‘गरिमा’को सम्पादनमा पनि संलग्न भए । उनको  सम्पादनकालमा ‘गरिमा’ले बेग्लै कलेवर र स्तर पायो । विशेषतः उनको सम्पादन कालका ‘नारी विशेषाङ्क’ र लामा कथाहरुको दुई विशेषाङ्क निकै महत्त्वका रहे । नेपालको साहित्यको इतिहासमै पहिलोपल्ट लामा कथाहरुको विशेषाङ्क प्रकाशन गर्ने श्रेय ‘गरिमा’लाई जान्छ र त्यसको पनि श्रेय अविनाशलाई नै जान्छ ।

तर समकालीन साहित्यको सम्पादन र गरिमाको सम्पादन कर्मबाट बाहिरिने क्रम भने सुखद् रहेन । त्यसलाई बिर्सिदिँदा पनि ती दुई पत्रिकाको इतिहासमा अविनाशको छाप, पदचाप नमेटिने गरी बसेको तथ्य भने सुखद् छ । स्मरणीय र गौरवान्वित गर्ने खालको छ ।

सम्पादनकै सिलसिलामा उनले सम्पादन गरेको ‘समकालीन भारतीय नेपाली कथा’को बृहत् सङ्कलन उनको निकै ठूलो मिहेनत र बौद्धिक कसरतको प्रतिफल हो । नेपालमा यस प्रकारको बृहत् र आधिकारिक सङ्कलन यसअघि प्रकाशित भएको थिएन । यसमा उनले सङ्कलनका लागि गरेको मिहेनत तथा परिचय र भूमिका लेखनमा लगाएको बौद्धिक परिश्रम उदाहरणीय भएको जो कोहीले महसुस गर्न सक्छन् ।

उनले विजय मल्लका छरिएर रहेका फूटकर कथाहरुको सङ्ग्रह ‘मान्छेको नाच’ पनि सम्पादन गरे । विजय मल्लले आफ्नो जीवनकालमा गरेको गुनको लागि यो उनको तर्फको गुन हो । यस कथासङ्ग्रहमा विजय मल्लको एकमात्र लघु उपन्यास ‘शारदा’ पनि सङ्ग्रहित छ, जुन उपन्यास एक प्रकारले उनैले लेखाएर ‘समकालीन साहित्य’मा प्रकाशित गरेका थिए । त्यो उपन्यास उनले बोलेर प्रज्ञा प्रतिष्ठानकै कर्मचारी एवम् लेखिका गायत्री विष्ट गाउँलेले लेखेकी थिइन् । यस उपन्यासमा अविनाशले विजय मल्लको जीवनको अन्तिम कालखण्डको मनोदशालाई समेत समेटेर खँदिलो परिचयात्मक भूमिका लेखेका छन् ।

अविनाशले नेपालबाहिरका, भारतीय भूमिमा योगदान दिने साहित्यकारहरुको जीवनीलेख मधुपर्कमा स्तम्भलेखनका माध्यमले प्रस्तुत गरेका थिए । ती जीवनी लेखको पुस्तक प्रकाशित भए, त्यो पनि यौटा मत्त्वपूर्ण ऐतिहासिक कृति बन्ने कुरामा ढुक्क हुन सकिन्छ । यस्ता लेखन गर्ने जाँगरिला, उपयुक्त पात्रको नेपाली साहित्यमा कमी नै रहेको छ ।

अविनाशले वि.सं २०५३ सालमा श्रीहरि फुयालसँग युवा वर्ष मोति पुरस्कार पाए । युवा वर्ष मोति पुरस्कारको यौटा मापदण्ड ४० वर्षसम्मका साहित्यकारलाई दिइन्छ । पुरस्कारको घोषणापछि उनको उमेरलाई लिएर मिडियामा विवाद प्रकाशित भयो । खासमा उनको परिचयमा प्रकाशित हुने गरेको जन्म मितिअनुसार उनी ४० कटिसकेका देखिए । तर युवा वर्ष मोति पुरस्कारले अविनाशले प्रस्तुत गरेको आधिकारिक नेपाली नागरिकताको प्रमाणपत्रलाई आधार मानेर निर्णय गरेको थियो, जसअनुसार उनको उमेरको हद कटेको थिएन ।

पुरस्कार सम्मानको सन्दर्भमा अविनाश खासै भाग्यमानी होइनन् । उनले पाएका साहित्यिक पुरस्कार र सम्मानहरु उनले गरेका योगदानको तुलनामा कमै हो । तर यौटा सर्जक, निष्ठावान् सर्जक पुरस्कारले बाँच्ने होइन, रचनाले बाँच्ने हो । अविनाशका रचना अब्बल छन् ।

उनले प्रकृति र पर्यावरणका लागि पनि कलम चलाए । प्रकृतिको विनाशले विश्व विनासतिर उन्मुख छ । अविनाशको कविको भविष्यवाणी छः

तपाईं–हामीले सोचेको भन्दा
अलि फरक शैलीमा आउनेछ प्रलय
चुपचाप–चुपचाप
प्रलयको कतै नसुनिने बहिरो पदचाप !

 तर भोलि के होला ? प्रलय आउला नआउला, विनाशलीलाले विश्ववासीलाई के गर्ला ? त्यसको जिम्मा चैं समयलाई, भविष्यला ई !