साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

काठमाडौँको स्ट्रिटमा इको-हाइकिङ

सहिदगेटलाई फन्को मारेर अगाडि बढ्दा उता धरहराले मुन्टो ठड्याएर चियाउँदै रहेछ । त्यतिनैखेर वि. स. २०७२ को भुइँचालोले भुइँमा ढालेको विभत्स दृष्यको सम्झना आउँछ । म त्यता नछिरीकन सिधै ओरालो लाग्छु दशरथ रङ्गशालातिर । त्यतिबेला मलाई धरहरामाथि चढेका थुप्रै मानिसको ज्यान गएको स्मरण हुन्छ ।

Chovar Blues Mobile Size

सम्वत् २०७८ फागुन ४ गते ।

कोभिड– १९ को कारण लगातार दुई वर्षसम्म बन्दाबन्दीले निसासिएको जो मान्छे परेँ म । साँच्चै पिँजडामा थुनिएको एउटा सुगाजस्तै भइसकेको थिएँ । मातृभूमिको यादले कम सताएको थिएन मलाई । त्यही न्यास्रो मेट्न त लकडाउन खुल्नसाथ कर्मभूमि छोडेर आजै मात्र मातृभूमि आइपुगेको छु ।

विजय हितान (बेलायत)

लण्डनको हिथ्रो विमानस्थलको अध्यागमनबाट छिर्नुअघि ‘आऊ एउटा ईकोडेटिङमा, तिमीलाई काठमाडौँमा भेट्नुपर्ने छ’ शीर्षकको कविता फेसबुकमा अपलोड गरेको थिएँ ।

‘जलवायु परिवर्तनजस्तै
परिवर्तित देख्छु आजकाल तिमीलाई
तिमी कहिले अति तातिन्छौ
कहिले अति चिसिन्छौ ।
आजकाल
समुद्रको सतह बढेजस्तै
तिम्रो उछ्रिन्कला बढेको देख्छु
तिमीमा ईर्ष्याको उत्सर्जन अनि
धैर्यताको बाँध फुटेको देख्छु ।
हिमशिखर पग्लिएर ताल भरिएजस्तै
तिम्रा नयन रसाएर
हिउँदमा पनि खहरे उर्लेको देख्छु,
कसैले तटबन्धन निर्माण गरिदिएर
तिम्रो जीवनको धार अन्तै मोडिदियो कि ?
किन हो ? दुःखका भेलहरू सबै
तिम्रै आँगनतिर पसेको देख्छु ।
त्यसैले
आऊ बाग्मती नदीकिनार
तिम्रो तापक्रम घटाएर
तिमीलाई शितल पृथ्वी बनाउनु छ
आऊ एउटा ईकोडेटिङमा
तिमीलाई काठमाडौँमा भेट्नुपर्ने छ ।’

sagarmani mobile size

सुरक्षा जाँच गराएर ड्युटीफ्रीमा एक बोतल ब्लेक लेबल किनेँ । जहाजभित्र बोर्डिङ गर्दै गर्दा मैले राखेको स्टाटसमा ‘शुभयात्रा ’ जस्ता शुभेच्छाका शब्दहार बर्सन थाले । ‘वा, क्या दामी इको कविता १’ जस्ता कमेन्टहरूको ओइरो नै लागे ।

यी आँखाले लण्डनका सडकमा धुलो, धुवाँ र फाहोररको डुङ्गुर र आकाशमा तुवाँलो देख्नु पर्दैन । जहाजले हिथ्रो विमानस्थल छाड्नेबित्तिकै काठमाडौँमा पनि स्वच्छ हावामा श्वासप्रश्वास गर्न पाऊँ भनी कामना गरेथेँ मैले ।
घमाइलो र न्यानो हुन्छ काठमाडौँको मौसम । यद्यपि कल्पना गरेजस्तो वातावरण काठमाडौँमा कहाँ भेट्नु र ट्याक्सी लिएर घरतिर हुइँकिदा सडकको धुवाँ र धुलोमा रुमलिएको पाएँ आफैँलाई । फेरि बाक्लो तुवाँलोले लपेटिएको थियो– क्षितिज । कोभिडविरुद्धको तीनतीनवटा सुई यो कुममा छिरिसकेको भए पनि मेरो मुखलाई मास्कले ड्याम्मै टालेको थिएँ । मास्कले कोरोना, धुवाँ र धुलोबाट जोगाउँछ भन्ने ठान्छु म ।

बार्दलीमा बसेर ड्युटीफ्रीमा किनेको ब्ल्याक लेभलको बिर्को खोलेँ । तल देखिने नक्खु खोलाको भ्याली र पारि देखिने भैँसेपाटीसँग चियर्स गरेँ । आमाको हातले बनाएको ट्वाक्क परेको आलुको अचारसँग हुस्कीको चुस्की लगाउन सुरु गरेँ ।

त्यही बेला फेसबुक खोलेँ । फेसबुकको वालमा मोबाइल नम्बरसहित पोस्ट्याउँछु– ‘लु म काठमाडौँ सकुशल उत्रेँ । तपाइँहरूको शुभेच्छाका लागि हार्दिक धन्यवाद , चियाकफी गफ, साहित्यिक गोष्ठी, सेकुवाघरतिर भेटघाट, इको राइटिङ या इको डेटिङका लागि सम्पर्क गर्नुहोला ।’

मेरा नजर ठोक्किन्छन्– नक्खु भ्यालीको खैरो क्यानभासमा कोरिएका घडेरीका प्लटिङ र प्लानिङबेगरका निर्माणाधीन घरहरूमा । जसै बिस्तारै साँझ ढल्न थाल्छ, जुनकिरीका उज्यालोजस्तै लाग्छन् कङ्क्रिटका जङ्गलमा बलेका बिजुलीबत्ती ।

दुई गोलाद्र्धका फरक समय । लामो उडान पश्चातको मेरो थकित ज्यान । ह्विस्कीको नशा । वसन्तको शितल र न्यानो मौसमलाई ओढ्दै गर्दा विस्तारामा भुस भएको पत्तै भएनछ ।

गाडी नम्बर, टेलिफोन नम्बर, उसको लोकेसन र कति समयपछि आइपुग्छ भन्ने कुरा सबै याप्समा देखिने । अमेरिकामा विकास गरिएको प्रविधि हो यो । नेपालमा चाहिँ बङ्गलादेशी व्यापारीको व्यवस्थापनमा सञ्चालित रहेछ– पठाओ । यसैले त लाभान्वित भएका छन्, काठमाडौँवासी ।

परम्परागत ढाँचाको ट्याक्सी चढेको भए भाडाका लागि ड्राइभरसँग अनावश्यक बार्गेनिङ गर्नुपर्थ्यो । धन्न यसपाला यस्तो झन्झटमा परिएन । सरकारले पेट्रोलको मूल्यबृद्धि महिनैपिच्छे गर्ने तर सोहीअनुरुप मिटरलाई ‘क्यालिब्रेट’ नगरिदिएपछि बार्गेनिङ नहोस् पनि किन ?

बीस वर्षे पुराना गाडीहरू करिबकरिब विस्तापित भइसकेको रहेछ काठमाडौँमा । त्यही भएर होला, तुलनात्मक रूपमा गाडीले फ्याँक्ने कालो धुवाँको मुस्लो पहिलेको भन्दा कम देख्छु । ट्राफिक व्यवस्थापनमा पनि केही सुधार आएको अनुभूति भइरहेको छ । सडकपेटीमा बिछ्याइएका रहेछन् इटा र कङ्क्रिटका ब्लक । अनि रोपिएका रहेछन् सस्याना हरिया बुट्यान । जावलाखेलबाट प्रज्ञा प्रतिष्ठानको गेटसम्म पुग्दा यी दृश्यहरू देखेर फुरुक्क पर्छ मेरो मन ।

क्षणिक पलका लागि मात्र रहन्छ यो खुसी । अलिक पर सडक छेउमा फोहोरमैलाको पहाड देख्न पर्‍यो मेरो आँखाले । एकसर्को कडा गन्ध मास्क छेडेर नाकभित्रै पस्छ ।

साथीहरूले काठमाडौँवरिपरिका निकुञ्जमा हाइकिङ गर्दै गरेका फोटो फेसबुकमा पोष्ट्याउने गर्थे । ती देखेर मेरा खुट्टा चिलाइरहेका थिए । प्रज्ञा भवनमा बुकिङको काम सिध्याएपछि हिँडेरै घर फर्किने सोच बनाउँछु ।
हिमाल र पहाडमा दुई दिनभन्दा बढी रात बसेर गरिने पैदलयात्रा ‘ट्रेकिङ’ भनिन्छ । तर बाहिर रात नबिताई घरै फर्कने यात्रालाई ‘हाइकिङ’ भनिन्छ । सहरबजारमा पैदल यात्रा गरेर घुम्नुलाई ‘स्ट्रिट हाइकिङ’ भन्छु म । सबैखाले यात्रा मन पर्छ मलाई । स्ट्रिट हाइकिङमा निस्किँदा मानिसका आआफ्ना रुचि हुन्छन् । कसैले भवनका डिजाइन हेर्लान् । कसैलाई शपिङ मलले आकर्षित गर्लान् । म चाहिँ फोहरमैला व्यवस्थापन, सडकपेटीका वृक्षारोपण र फलफूलका रुख, परेवा, कौवाजस्ता सहरीया चराचुरुङ्गी, फ्याउरो, गाईगोरु र कुकुरजस्ता जनावर हेर्दै हिँड्छु । समग्रमा म सहरको इकोलोजी बुझ्दै हिँड्न मन पराउँछु । अर्थात् सहर कत्तिको वातावरणमैत्री छ वा छैन भन्ने कुरालाई हेर्छु । यदि छैन भने के कसरी वातावरणमैत्री बनाउन सकिन्छ भन्ने विचार खेलाउँदै हिँड्छु । त्यसैले यस्ता पदयात्रालाई म स्ट्रिट इको–हाइकिङ भन्न रुचाउँछु ।

यही स्ट्रिट इको–हाइकिङ गरेका फोटा, साथीहरूलाई देखाउन, फेसबुकमा हाल्नु छ । त्यसैले म लाग्छु कमलादीबाट पुतलीसडक, डिल्लीबजार, प्रदर्शनीमार्ग, टुँडिखेल, भद्रकाली, रङ्गशाला, त्रिपुरेश्वर, कुपण्डोल, पुल्चोक, जावलाखेल हुँदै घर ।

यस क्रममा डिल्लीबजारको मुल सडकमै दर्शन गर्नपुग्छु फोहरको थुप्रोलाई । बटुवाहरु मजस्तै नाक छोप्दै बाटो काटिरहेका छन् । ईंटा तथा कङ्क्रिटका ब्लक बिछ्याइएका छन् सडकपेटीमा । तर पाइलैपिच्छे ओद्रिएका । कति स्वतः त कति मानवीय लापर्बाहीले । खानेपानीको नाला र ढल मर्मत गर्दा उक्काइएका हुँदा हुन् ती सडकपेटी । म सोच्छु– जुन ठेकेदारले प्रोजेक्ट सम्पन्न गर्छ, उसैको जीम्मेवारी होइन र सडकपेटीलाई पहिलाकै अवस्थामा पुर्‍याउने ? कतै कतै त बडेमानका खाल्डाखुल्डी छन् । मोबाइल हेर्दै हिँड्ने युवायुवतीहरू धन्न खाल्डामा परेनन् ।

भद्रकालीको आकाशेपुल तरेर टुँडिखेलको साइडमा उत्रन्छु । पुलको तल छन्– खोलाझै सुस्याउने गाडीहरु तीव्रगतिमा । पुलमाथि सेल्फी खिच्न व्यस्त युवायुवतीहरु र फुटकर पसलहरु । पुल तर्नुअघि हङकङ बजार पसेर आएको थिएँ । नाकैमा ठोक्किने गरी झुन्ड्याइएका लुगैलुगाको साँघुरो गल्ली । एउटा भैयाले चटपटे बेच्दै रहेछन् । खान मन लागेर किनेँ । कार्डबोर्डको स्यानो बट्टामा दिए ।

सहिदगेट आइपुग्दा, सहिद दिवस मनाएको धेरै दिन भएको थिएन भन्ने सङ्केत दिन्छन् झुन्ड्याइएका ब्यानरले । केही ब्यानरमा प्रथम सहिद लखन थापामगरको तस्विर मात्रै र केहीमा चारैजना सहिद– दशरथ, धर्मभक्त, शुक्रराज र गङ्गालाल । किन ती पाँचै सहिद एउटै ब्यानरमा अट्न नसकेका सहिद स्मारकको शिरमा भने त्रिभुवनको सालिक । राजा राष्ट्रकै शिखर पुरुष हुन्, शिरमै बस्छन् । तर त्रिभुवनले प्रजातन्त्र ल्याउन खोज्दा सहादत प्राप्त गरेका थिए र ? नेपाली जनता प्रश्न गर्ने गर्छन्, ‘सहिदगेटको शिरमा प्रथम सहिदलाई नराखेर किन राजालाई राखिएको ?’

सहिदगेटलाई फन्को मारेर अगाडि बढ्दा उता धरहराले मुन्टो ठड्याएर चियाउँदै रहेछ । त्यतिनैखेर वि. स. २०७२ को भुइँचालोले भुइँमा ढालेको विभत्स दृष्यको सम्झना आउँछ । म त्यता नछिरीकन सिधै ओरालो लाग्छु दशरथ रङ्गशालातिर । त्यतिबेला मलाई धरहरामाथि चढेका थुप्रै मानिसको ज्यान गएको स्मरण हुन्छ । पहिलाको भन्दा अहिलेको धरहरा अलि मोटाएको हो कि भन्ने लाग्छ । मोटै बजेटले बनेको हुँदो हो । निर्माण सम्पन्न नभई तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरे भन्ने सुनिन्थ्यो । निर्माणकार्य सुरु नहुँदै भव्य शिलान्यास गरिने पनि चलन छ नेपालमा ।

रङ्गशालातिर लाग्दैगर्दा चटपटे खाएर सिद्धिसकेको हुन्छ । खाली बट्टालाई फाल्नु पर्‍यो भनी दाहिने बाँया मैला ढ्वाङ हेर्छु । कतै देख्दिनँ । अनि पछाडि बोकेको झोलामा कोचार्छु । घरै लगेर फाल्नुपर्ला भनेर ।
रङ्गशालाको मुलद्वार हुँदै थापाथलीतिर मोडिन्छन् मेरा पाइला । मोडमै एउटा अत्याधुनिक जस्तो लाग्ने सार्वजनिक शौचालय भेटिन्छ । शुल्क तिरेर प्रयोग गर्न सकिने । शौचालय प्रयोग गर्ने मन हुँदाहुँदै, मैले गरेको शौच आखिरमा बाग्मतीमा गएर विसर्जन हुने त हो भनी थामेर बाटो लाग्छु । काठमाडौँमा रेष्टुरेन्टका ट्वाइलेट प्रयोग गरिहालुँ जस्तो लाग्दैन । आखिर बाग्मती प्रदूषकको रुपमा मेरो पनि नाम दरिएला कि भन्ने डर लाग्छ मलाई । तर कहिलेकाहीँ प्रयोग नगरी पनि नहुने । घरमा त मेरो सेप्टिक ट्याङ्की छ ।

त्रिपुरेश्वर र थापाथलीबीचको साँघुरो सडकपेटीमा वृक्षारोपण गरेर हरियाली पार्ने काम गरिएको रहेछ । यस्ता वातावरणमैत्री प्रयासप्रति नगरपालिकालाई मनमनै सह्राहना प्रकट गर्न मन लाग्छ । तर ती वृक्षमा मलजल नपुगेको लक्षण देखिन्छन् । त्यति बेला कार्यालय समय नै हुनपर्थ्यो । यति लामो बाटो नापिसक्दासम्म मैले कहीँकतै नगरपालिकाका कामदारले काम गरेको देख्न सकेको थिइनँ । त्यहीँनेर भने दुई महिला खुइलिसेकेको हाइभिज भेष्टमा झाडुले सडककिनार बढार्दै गरेको देख्छु । पेटी र सडकको साँधमा थुप्रिएको बाक्लो धुलाको तहलाई देख्दा बुमरले बढार्नुपर्ने जस्तो लाग्छ मलाई । केही वर्षअघि नगरपालिकाले धुलो बढार्ने बुमर गाडी किनेको छ भन्ने मिडियामा पढेको थिएँ । तर ती मेसिन आज कतै देखिएनन् । बिग्रेर नगरपालिकाको आँगनमा थन्केका होलान् । आधुनिक प्रविधि प्रयोग गरेर मात्रै सडकलाई भनेजस्तो रुपमा सफा राख्न सकिन्छ भन्ने मेरो मान्यता हो ।

थापाथली आइपुग्दा त्यहाँको चौरस्ता अति व्यस्त अवस्थामा हुन्छ । मधुरो ट्राफिक लाइट झिमिकझिमिक गर्दै, ट्राफिक पुलिस तिरिततिरित सिठ्ठी फुक्दै छन् । बीचको लेन मिचेर मोटरसाइकलहरू ट्राफिकलाइट नजिकै जोतिँदै, कुनै भने फुटपाथमा चढाउँदै अगाडि बढ्दै हुन्छन् । म्याराथुन दौड प्रारम्भ हुन लागेको र धावकहरू तछाडमछाड गर्दै दौडन तम्तयार हुँदै छन् जस्तो लाग्छन् दृश्यहरू । रङ उडेका जेब्राक्रसिङका धर्साउपर पदयात्री सडक पार गर्दैगर्दा, ट्याँटा र टुँटुँ हर्न बजाउँदै गाडीहरू पनि दोहोरै चल्दै । म पनि अरु पदयात्रीको आडलाग्दै, गाडीले कतै ठक्कर दिन्छ कि भनेर डराउँदै, पारि तर्छु ।

पारि के पुगेको हुन्छु, एक गुजुल्टो टेलिफोनको तारमा झन्डै अल्झेथ्यो मेरा पाइला । बाङ्गोबाङ्गो पोलको टुप्पातिर नजर लगाउदा, गिद्धको गुण जत्रो आकारमा तार बेटारिएका पाउछु । एउटा पोलदेखि अर्को पोलबीच तारहरू भुइँसम्म लत्रिएका । दृश्य प्रदूषणको एक ज्वलन्त उदाहरण हो यो । त्यो चोक भएर दिनमा कति मन्त्री, मेयर र सांसदका गाडी गुडदा हुन् । विडम्बना , तिनका नजर महङ्गा कारका झ्यालबाट ती कुरुप दृश्यउपर के परुन् ? परेका हुन्थे भने त सहरलाई सुन्दर पार्न चाल्थे होलान् केही न केही कदम ।

ती तनर्‍याङ्ग परेका तारका बारेमा सोच्दासोच्दै बाग्मती पुल काट्दै रहेछु । कुहेको अण्डाजस्तो लाग्ने क्या नमिठो गन्धले ठ्यास्सै हान्छ मेरो नाकमा । मास्कबाट पनि नाकभित्र छिर्ने गन्ध भनेपछि कति शक्तिशाली रहेछ ? पुलको तलतिर मेरा दृष्टिपात हुँदा, काठमाडौँवासीका ढल बगाउँदै बिचरा बाग्मती नदी अचेत अवस्थामा घस्रिँदै थिई । नदीलाई तटबन्धन गरिँदै रहेछ । कङ्क्रिटका पर्खाल अधकल्चो अवस्थामा पल्टेका देखिन्छन् । नदीको इकोलोजी सन्तुलित राख्नकोलागि ‘बायो(इन्जिनियरिङ’ तरिकाले तटबन्धन गरिएको भए बेस हुने । बजेट सिद्धेर निर्माणकार्य रोकिएको हो कि बिदाको दिन परेर हो, मैले ठम्याउन सकिनँ ।

पुल तरेर कुपण्डोल आइसक्दा पनि बाग्मतीबाट उत्सर्जित गन्धले मलाई छोड्दैन । घरसम्मै त्यो गन्ध मेरो लुगामा टाँसिएर पछ्याउने हो कि जस्तो लागेर आउछ । त्यसपछि धेरै वर्षअघि रचेको ‘बाग्मती ब्लुज’ कविताको एक पङ्क्ति स्मरण गर्ने प्रयास गर्छु म–

‘… मैले उनका आँखामा
सङ्लो सागर देख्न चाहन्थेँ
तर त्यो सागर कतै भेटिएन
बरू वर्षातको भेल पसेको पोखरीजस्तै
धमिला थिए उनका आँखा….’

कुपण्डोलको तेर्सै उकालो लाग्दैगर्दा एक अधबैँसे महिलाले मेरो ध्यानाकर्षण गर्छिन् । उनी सडक पेटीमा एक दर्जन जति सागका मुठा फिँजाएर बेच्न बसेकी थिइन् । बिचरा, कतिबेला तिनको साग बिक्री हुने हो ? त्यही पैसाले चामल किनेर लग्ने होला ? र, कति बेला घरमा पुगेर छोराछोरीलाई खाना पकाएर खुलाउने होलिन् भनेर चिन्तामग्न बन्दै म बाटो नाप्छु । त्यतिका साग सबै मैले किनेर पनि कहाँ लग्ने ? माग्ने भए बरु दुईचार सय रुपैया दिन्थेँ । कुनै रेष्टुरेन्टको साहुजी आएर सबै साग खरिदेला भन्ने कामना गर्दै म जावलाखेलतिर उकालो लाग्छु ।

पेटीमा स्कुटी र साइकलहरू पार्क गरिएका छन् । पदयात्रीलाई नै बाधा पुग्ने गरी पसलेले विज्ञापनका बोर्ड पनि तेस्र्याएका । पसलभित्र भने कतै महङ्गा कपडा त कतै महङ्गा फर्निचर, ट्वाइलेट र किचनका सामान । काठमाडौँवासीका सुन्दर घर हुन्छन् र घरमा वेस्टर्न स्टाइलका किचन र ट्वाइलेट पनि हुन्छन् । त्यसैगरी यहाँका गल्ली, सडक र सडकपेटी पनि युरोपका जस्ता सुन्दर हुनु नि ?

गोधली साँझ ढल्किँदै गर्दा जावलाखेल राउन्डेवाउट आइपुगेछु । यसको बीचमा जहिल्यै हरिया दूबो र बोटबिरुवाका साथमा फूल फुलाइएको हुन्छ । यो मात्रै एक स्टान्डर्डको र सधैँ व्यवस्थित गरेर राखिएको राउन्डेवाउट लाग्छ मलाई । यता आउँदा उताको झझल्को नआउने कुरै हुन्न । बेलायतमा बनाइएका राउन्डेवाउटभन्दा यो राउन्डेवाउट केही कम देख्दिन । यसलाई निर्माण गर्ने तत्कालीन इन्जिनियर र सरकारलाई मनमनै सम्झन्छु म ।

यो चोक कटेपछि सटकट बाटो लिएर रिङरोडतिर लाग्छु । गिट्टी र बालुवाजस्ता निर्माण सामग्री सडकै छेकिने गरी लहरै थुपारिएका छन् । यस्तै लापर्वाहीले हो हाम्रा सहरबजार धुलाम्य बनेका छन् । छताछुल्ल नपोखिने गरेर कि त बारेर कि त कुनै कन्टेनरमा राखिन पर्ने । रिङरोड क्रस गर्न न आकाशे पुल छ, न त सबवे नै । त्यसैले त मानिसहरू सडक दुर्घटनामा परेको समाचार दिनदिनै सुन्नुपर्छ । तीव्रगतिमा आएका गाडीबाट तर्किंदै जेनतेन पारि तर्छु । र, पुग्छु घर ।

चप्पल पहिरिएको मेरा पैताला यतिखेर धुलाम्मे भइसकेका छन् । नङमा पालिस लगाएर सेन्डलमा हिँड्ने महिलाहरू आफ्ना पैताला सुडोल राखिराख्न कसरी सक्षम हुन्छन् कुन्नि ? छक्कै पर्छु म । यति बेला मेरा खुट्टा कुकुरलाई दिँदा पनि नखाला जस्ता भैसकेका छन् । बालवयमा नाङ्गै खुट्टा हिँडेर स्कुल पुगेको, घाँसदाउरा गर्न वन जाँदा काँडा बिझेको जस्ता स्मृति मानसपटलमा पुनः दोहोरिन्छन् ।

थकाइले सुस्केराउदै धुलाम्मे मेरो टोपी, मास्क, र चस्मा टेबलमा राख्छु । घरको बार्दलीबाट नक्खु खोलाको भ्यालीतिर नजर लगाउँदा तुवाँलोको खैरो पर्दामा बेरिएको हुन्छ काठमाडौँको क्षितिज । राति आकाशमा जूनतारा देख्न नपाउँदा बेस्सरी नरमाइलो लाग्छ मलाई ।

भविष्यको अर्को नेपाल भ्रमणमा, मेरा पैतलाले धुलो टेक्न नपरोस् र आँखाले तुवालो देख्न नपरोस् भनी सोच्दै म बिस्तारामा ढल्कन्छु ।

प्रतिक्रिया
Loading...