
२९ नोभेम्बर २०२०,आइतबार:
जब म यात्रामा निस्किन्छु राति निद्रा खासै लाग्दैन । विगतका अनुभव र आगतका उत्सुकताले मनमा रणमैदान बनाइदिन्छन् अनि कौतुहलताको म्याराथुन आँखाभरी दगुरेको मौन अवलोकनमै रातका प्रहर बित्छन् । मनले कल्पनाको डायरी भर्छ । कलेजोबाट नमेटिए कागजमा लिपिबद्द गरौंला भोलितिर भन्दाभन्दै आँखाले घुम ओढेपछि ज्यानले थोरै राहत महसुस गर्छ ।
बिहान ड्युटी सकिवरी हामीलाई ओछ्यानमै उठाउन आइपुग्नुभो पन्तजी । साथमा थिइन् एनआरएनए सेसेल्सकी महिला संयोजक खेसेना लिम्बु पनि । खेसेनालाई सेसेल्समा पहिलो नेपाली महिलाको रुपमा देखेको हूँ मैले । आज हाईकिङ् जाने योजना थियो । ‘कोपोलिया हाइट, नेचर वाक ।’ हाईकिङ् भनेपछि हुरुक्कै म । हतारहतार उठेर नित्य कर्म सिध्याएँ । स्ट्रबेरी जाम दलेर दुई स्लाइस ब्रेड चियासँग निलेर घरबाट सिधा देखिने ढुङ्गे पर्वतको थाप्लो टेक्न उकालो लाग्यौँ । अन्य साथीहरु अघि नै बाटो लागिसकेछन् । लोप्चनजी आजको कार सारथी, मनमा उत्सुकता बोकेर धरान फुस्रेबाट भेडेटारतर्फ उकालो चढेको सम्झना दिलाउने पहाडी सडक छिचोल्दै कार उक्लियो । माथि सडक छोडेर नेचर ट्रेल प्रवेश गर्ने ठाउँमा साथीहरु पर्खिरहेका रहेछन् ।
जम्मा १३ जनाको हुल भयो । सेसेल्समा एकैठाउँ यति धेरै नेपाली पहिलोचोटी देखेर दङ्ग भएँ म । लगभग एक्लै जस्तो आइल्याण्ड लाइफ बिताउन अभ्यस्त मलाई अनौठो पनि लाग्यो । म एक्लै रहेनछु,नेपालीहरु भएकै देशमा रहेछु भन्ने आफ्नोपनको आभासले मनमा खुसीको सञ्चार भयो । अझ तरहराका इन्द्र गिरीलाई भेट्दा त आफैं इटहरी पुगेझैं लग्यो । ट्रेल प्रवेश मार्गको चेक पोस्टमा कार्यरत महिला प्रहरीसँग एकराज सुबेदीले रमाइलो कुरा गरेको देखेर छक्क परेँ , उनलाई त क्रेओल भाषा फरर आउँदोरहेछ । आफूलाई त खासै आउँदैन, बुझ्छु तर फर्काउन त्यति जान्दिनँ । यो भाषा सिकाइ भन्ने चिज मूलतः अभ्यासमा भर पर्दोरहेछ । पढेका कुराहरु घोकन्ते हुन्. व्यवहारिक अभ्यास नै सिकाइको प्रभावकारी सिद्धान्त रहेछ । आफू हस्पिटालिटी उद्योगमा काम गर्ने भएकोले अङ्ग्रेजी नै बढी चल्छ । पर्यटकहरुसँग बातचित अङ्ग्रेजीमै हुन्छ । स्थानीय सहकर्मीहरु पनि अङ्ग्रेजीमै कुरा गर्छन् हामीजस्ता विदेशी स्टाफसँग । अनि सिक्ने मौका कम पाइँदोरहेछ ।
भनिन्छ- भाषा मिले सबै मिल्छ । हो पनि त्यस्तै । भाषा भनेको मन जोड्ने पुल हो । कुनै बिरानो ठाउँमा जीवन सहज बनाउने उत्तम उपाय नै त्यहाँको स्थानीय भाषाको ज्ञान हो । ‘तपाईंलाई त क्रेओल भाषा गज्जब आउँदोरहेछ नि !’ मेरो कुरा भुइँमा खसिनसक्दै ठट्यौलो जवाफ आइहाल्यो एकराजजीबाट- ‘सरको सेसेल्वा गर्लफ्रेन्ड छ कि छैन ?’ ट्वाँ परिहालेँ म त । यी सब रसिक मामलाबाट कोशौं टाढा छु म । ‘टापुको बसाइ,भनेजस्तो भेटे पो !’ मेरो प्रत्युत्तर यत्ति नै थियो । उनको कुरामा भने भित्री लजिक थियो । किनकि प्रेमी-प्रेमिका एकसाथ हुँदा हरेक कुरा सिक्न सहज हुन्छ । भाषा त झन् स्वाभाविक भैहाल्यो । भेटेसम्म. पाएसम्म जोडी भएरै बस्न रुचाउँदा हुन् अक्सर वयस्कहरु ! देखिन्छन् पनि त्यस्तै । के म मात्र अपवाद हूँ ? कि अरु पनि छन् मजस्तै ? यतिका समय खुला समाजको स्वच्छन्द आकाशमा उडिरहेको पक्षी भएर पनि आफ्नै जब्बरताको पिंजडामा रम्न रुचाउने ? यो अन्तराष्ट्रिय प्रेम सम्बन्धमा किन उदार हुन सकिनँ म ? के म यी यावत विषयमा संकुचित छु ? यहाँ पारदर्शिता हरेक ठाउँमा लागु हुन्छ । म भने प्रत्येक कुराको सिमा निर्धारण गर्न खोज्छु । के म आवश्कता भन्दा बढी पुरातन छु ? यी सब केही होइन होलान् ! मन पो सर्वोपरी हो कि ? यसै पनि मलाई नेपाली मायाजस्तो मिठो अरु लाग्दैन ।
एउटी सुनकेशरी कुइरेनीले स्विजरल्याण्ड लान मरिहत्ते गर्दा निधार खुम्च्याउने हुस्सु त मै हूँ नि ! यतिबेला पो घरीघरी मनखतको त्यान्द्रोले पछुतो बनेर अल्झाउँछ मन बरु ! भ्रष्टहरुले देश सखाप पारेपछि निरासाको कुहिरोले मन ढाक्छ अनि धिक्कार्छु कहिलेकाहीँ आफैंलाई । आ … बरु उतै जानुपर्ने रहेछ झैं लाग्ने क्या ! फेरि हामीले रेमिट्यान्स पठाएर नधान्ने हो भने देशै पनि त के रहला र ! छातीभरि देश बोकेर हिँड्नेहरू कुनै अमुक स्त्रीको प्रेमभन्दा पहिला देशसँगै प्रेम गर्छन् कि मजस्तै ! एकोहोरो प्रेम गर्ने त काला-गोरा कति भेटियो कति ! फेरि पाश्चात्य प्रेम चाहिँ पोखरीको डिलबाट बल्छी हानेजस्तो । आफू गाउँमा अर्गानिक प्रेम पाएर हुर्केको मान्छे गहिराइमा नपुगी धितै नमर्ने ! आकस्मिक उब्जेका कुरालाई मनको ढुकुटीबाट बाहिर निकालिन, बरु उतै थन्क्याएर आँखा मिच्दा साथीहरु चिप्लेटी बाटोमा ओरालो लागिसकेका थिएँ । लोप्चनजीले जाउँ सर, भनेर कुममा कोट्याउँदा झस्केँ अनि आँखाको चश्मा छातीमा झुण्ड्याएर साथीहरुको पथ पछ्याएँ ।
अँ, रमाइला कुरा गरेर नथाक्ने एकराजजी यात्रामा चाहिने मान्छे लाग्यो । सेसेल्समा पनि महिला प्रहरी प्रशस्तै छन् । स्थानीय प्रहरीमै कार्यरत एकराजजीको चाहिँ लोकल गर्लफ्रेन्ड छन् कि छैनन् उनै जानुन् ! मैले चाहिँ सोधिनँ । स्मरणीय छ: सेसेल्समा कार्यरत नेपालीहरुमध्ये कतिपय यहाँको प्रहरी सेवामा पनि छन् । आज भेटिएका अधिकांश नेपाली साथीहरु सेसेल्स प्रहरीमा कार्यरत रहेछन् । सेसेल्स प्रहरीमा नेपालीले अवसर पाउनु आफैंमा एउटा गर्विलो विषय हो । वीर गोर्खालीको इतिहास, पराक्रम र इमान्दारी संसारभर घाम जत्तिकै छर्लङ्ग छ । आफू बेलायत भ्रमणमा रहेका बेला यहाँका तत्कालीन राष्ट्रपति जेम्स मिसेलले गोर्खालीको महिमा सुनेछन्, काम देखेछन् । त्यहीँबाट प्रभावित उनले स्वदेश फर्किने बितिक्कै सेसेल्स प्रहरीमा नेपालीहरु नियुक्त गर्न सुरु गरेछन् । आज नेपालीहरु यहाँको नगर प्रहरी, कारागार, अपराध अनुसन्धान तथा लागूऔषध नियन्त्रण विभागमा कुशलतापूर्वक कार्य सम्पादन गरिरहेका छन् । अलिक अगाडि यहाँको एक अङ्ग्रेजी दैनिकले लेखेअनुसार नेपालीहरुले सेवा सुरु गरेपछि सेसेल्सको क्राइम रेट ३६ प्रतिशतले घट्यो रे ! यसरी अर्काको देशमा काम, दाम मात्र होइन नाम पनि कमाउनु चानचुने खुसीको कुरा होइन । तर, पन्तजी भन्नुहुन्छ- बदनाम कमाएर अपमानित महसुस गराउने नेपालीहरु पनि छन् रे यहाँ । यस्तो त नेपालीले जहाँ पनि देखाएकै छन् । अलिअलि त भइहाल्दो रहेछ । सुधारका जत्ति प्रयास गरे पनि प्रवृत्तिहरु जताततै पुग्दारहेछन् ।
जे होस् आज भेटिएका साथीहरु भने एकसेएक असल र रमाइला लागे । बिहानको साढे नौ बजे जङ्गल प्रवेश गरेका हामी लगभग एक घन्टामा कोपोलिया हाइट पुग्यौँ । खासमा जङ्गली बाटो पैंतालिस मिनेटको हो रे ! हामी गफ गर्दै हिँड्दा पन्ध मिनेट ढिलो भएछौँ । बाटोमा असाध्यै रमाइलो भयो । ठाउँ-ठाउँ ‘बान्यान ट्री’ का लहरामा प्राकृतिक पिङ् खेल्दै उकालो छिचोल्यौँ । उकालो पनि यस्तो कि ठाडो बाटो नाकै ठोक्किने । घरिघरि भेटिएका करैंचो तेर्सो बाटोले ज्यानलाई फूलजस्तो बनाइदिन्थे । जङ्गलभित्र सित्तल त थियो तर पिउने पानी कहीँ कतै भेटिएन । तसर्थ कोपोलिया ट्रेलमा जाँदा प्रशस्त पानी बोक्नु जरुरी महसुस गर्यौं । हामीसँग भएको पानी पिउँदै झाडीले झपक्कै छोपेको उकालो चढ्यौँ । अघिल्लो रात पानी परेकोले जङ्गली बाटो बेलाबेलामा चिप्लिनु र घुँडामुनि हिलाम्मे हुनु स्वाभाविक थियो । यही त नेपालको तिर्सना मेटाउने माध्यम बन्यो । वनस्पतिहरु सबै स्थानीय रैथाने प्रजातिका । ओरालो, उकालो, तेर्सो, भिरालो, खोल्सो सबैले नेपाल सम्झाउँथे । विष्णु महतोले क्यामेराम्यानको भूमिका निर्वाह गरे । बलराम सिटौलाका कुरा नेपालको राजनीति केन्द्रित छन् । सबैको एकमत छ- देशमै राम्रो अवसर भए हामीजस्ता उर्जाशील युवा किन विदेशिनु !
प्रकृतिले नै बनाइदिएको आकर्षक ढुङ्गे सिँढी चढ्दै गर्दा अनुमान लगाउन सकिन्थ्यो कि अब जङ्गल सकियो । हो रहेछ, त्यो छोटो खुड्कीले पत्थरको छाती नाघ्ने बितिक्कै पसिनै पसिना भएर कोपोलिया हाइटको थाप्लो टेकियो । त्यहाँबाट एक्कासी देखिएको दृश्यले झन्डै सासै रोक्यो । त्यति उत्कृष्ट प्राकृतिक सौन्दर्य र भौतिक विकासको सन्तुलित समागम आजसम्म देखेको थिइन। समुद्रको काखमा प्राकृतिक माहे आइल्याण्डको पुरै भिक्टोरिया सहर अनि सिङ्गारिएकी बेहुलीजस्तो मानव निर्मित इडेन आइल्याण्ड एकसाथ हेर्दा यस्तो लाग्थ्यो- सुन्दरी प्रतियोगिताको अन्तर्वार्तामा आमनेसामने अनुहार जुधाएर बसेका होस्ट र गेस्ट हुन् यी । निलो समुद्रमा ओहोरदोहोर गरिरहेका रङ्गीविरङ्गी पानीजहाज, अलिक पर लहरै उभिएका छिमेकी आइल्याण्डहरु । कुनै सिपालु चित्रकारले यौटै क्यानभासमा अटाएको सुन्दर चित्रजस्तो । आज पर्यटकहरु खासै देखिएनन्, कोरोना महामारीको असर छँदैछ । भिजिटरको लागि आराम गर्न एउटा पाटी बनाइएकोछ चट्टानमाथि । एक बथान बादल आएर त्यो मनोरम दृश्य छोप्लाझैं गर्यो । पुग्नेबितिक्कै साथीहरु फोटो, भिडियो गर्न हतारिए । पानी ओइरीई हाल्यो,हामी पाटीमा ओत लाग्यौँ । त्यही मौकामा पन्तजी र खेसेना बहिनीले अघि ल्याएका पोका खोल्न थाले । मेरो लागि एउटा सरप्राइज गिफ्ट रहेछ ।
मैले थाहै नपाइ मलाई स्वागत-सम्मान कार्यक्रमको आयोजना तय रहेछ । पन्तजीको कार्यकुशलता गज्जब लाग्यो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेश च्याप्टर अध्यक्ष तथा कवि भनेर सबैलाई परिचय गराउनुभो । त्यसो त उपस्थित सबैलाई थाहै थियो यो कुरा । परिचयको आदानप्रदान भयो । गैरआवासीय नेपाली संघ सेसेल्सको अध्यक्ष पन्तजीले मलाई नेपाली राष्ट्रिय झण्डा सहित खादा र दुई खुकुरी क्रस भएको भादगाउँले टोपी पहिर्याईदिएर सम्मान गर्नुभो, सबैले ताली बजाए, म भावुक भएँ । मैले आफ्ना केही कविता वाचन गरेँ, भरखरै स्वरूपराज आचार्यको स्वरमा रेकर्ड भएको गीत मोबाइलबाट सुनाएँ । राम बगाले र आरसी राईले पनि एक-एक कविता र गजल सुनाए । वातावरण रसिक र सिर्जनशील बन्यो । अरु पोकाहरु खोलिए खाने कुराका । त्यहाँ त ड्राइ पिकनिकको आयोजना पनि रहेछ । रमाइला कुराहरुको विनिमय गर्दै खानपिन सकियो । सामुन्नेमा थिए तीन पहाड । तिनलाई भनिँदोरहेछ- थ्री ब्रदर आइल्याण्ड । माहे आइल्याण्डको उत्तरीभागमा ६९९ मिटर उचाइ सहित उभिएका ती तीन दाजुभाइ टापुहरु हेर्दै पनि पिताको प्रवचन ध्यानले सुनिरहेका तीन भाइ छोराहरु जस्ता लाग्थे । मैले मुन्टो घुमाएर दक्षिण हेर्दा फेरि त्यस्तै अरु तीन पहाड लहरै देखेँ । र, एकराजजीलाई सोधेँ, ‘यिनको नाम नि ?’
‘सायद थ्री सिस्टर आइल्याण्ड, यी तीन ब्रदर्सलाई जोडी चाहियो नि !’ सबैको मुखले हाँसो छोड्यो गलल…! ठट्यौलो भए नि एकराजजीको कुरामा भित्री अर्थ थियो । यद्यपि, ती थुम्काको नाम चाहिँ हामी कसैलाई थाहा हुन सकेन ।
पानि रोकिएर घाम लाग्यो । सेसेल्सको मौसम न हो, क्षणमै घाम, क्षणमै पानी । चट्टाने डाँडाको छेउबाट हेर्दा तलको भाग आकाशबाट पृथ्वी देखेजस्तो । पन्तजीले भन्नुभो- ‘ऊ त्यै हो हामी बसेको घर ! हेर्दा नजिक तर पुग्न टाढा ।’ म अझै छेउमा जान खोजेँ, पन्तजीले सावधानी गराउनुभो । हुन पनि त्यहाँबाट खसियो भने मान्छेको एउटा चिनो रहने सम्भावना थिएन । केही जब्बर साथीहरु त झन् छेउमा गएर फोटो खिच्न, टिकटक बनाउन अभ्यस्त थिए । दुईचार हुल कुइरे-कुइरेनी आए । विदेशी त देख्नै नहुने रहेछ एकराजजीलाई, अनेक कथा सुनाउन थालिहाल्छन् । उनको यो कुरा खाइलाग्दो थियो कि- जसलाई पनि नेपाली, गोर्खाली, हिमाल, सगरमाथा, बुद्ध महिमा सुनाउँथे । विदेशीलाई सुनाउनुपर्ने प्राथमिक कुरा सबै उनले नै सुनाएपछि हामी चाहिँ फुर्सदिला हुन्थ्यौँ ।
एक जर्मनी युवा जोडी नेपाली झण्डा ओढेर, टोपी लगाएर हामीसँगै फोटो खिचेर रमाए । नेपाल पुगिसकेका उनीहरु हामीलाई भेटेर खुसी भए । इजरायली युवतीको एक झुण्ड आफ्नो देशमा नेपाली महिलाहरु केयर गिभरमा काम गर्ने र उनीहरुको कार्यकुशलताले प्रभावित भएको सुनाउँदै थिए । नेदरल्याण्डबाट आएको एक वयष्क आफूलाई नेपाल असाध्यै मन पर्ने देश भन्दै थियो । मैले आफ्नो युट्युब च्यानलको लागि केही भ्लग बनाएँ । सामूहिक फोटो सेसनपश्चात् त्यहाँबाट नेपाली गीत गाउँदै रमाउँदै उही जङ्गली बाटो फर्कियौँ ।
त्यतिबेला अपरान्ह साढे दुई बजेको थियो। पछि मैले कोपोलिया हाइटको बारेमा थप अध्ययन गरेँ । एउटा रसियन पर्यटक जोडीले ट्रीप एडभाइजरमा लेखेको थियो- ‘यो सुन्दर अनि घुम्न लायक ठाउँ हो । तर यो खतरनाक पनि रहेछ । हामी फर्किने क्रममा लुटियौँ । खराब केटाहरुले चक्कु देखाएर धम्क्याए । यो कोभिडभन्दा पहिले भएको थियो र फेरि हुन सक्छ । कृपया यो ट्रेलमा जाँदा ठुला समूहमा जानु होला अनि झाडीको चारैतिर राम्रोसँग नियाल्दै हिँड्नुहोला !’ तर हामीले त्यस्तो केही बेहोर्नु परेन । हुन त हाम्रो १३ जनाको तन्नेरी टिम थियो । लुटेराहरुले देखे पनि उल्टै डरले भागे होलान् । अघिको प्रहरी चेक पोस्टमा आइपुग्दा पसिनाले पुन: नुहाइएको थियो । हाम्रो निलो कार अलिक तलको कुइनेटे पार्कमा हामीलाई पर्खेर बसेकै थियो । एकराजजी मोटी पुलिसनीसँग क्रेओल भाषामा पूर्ववत् गफिन थालिहाले हाइकिङ्को बेलिबिस्तार लाउँदै । हामी चाहिँ सरासर कारतर्फ लम्कियौँ । त्यहीँबाट हामी च्यातियौँ फरक गन्तव्यमा । अन्य साथीहरु आ-आफ्नो दर्गदिशा लागे । म,पन्तजी,लोप्चनजी र खेसना घर आयौँ ।
कोदाको पिठो र लोकल खसीको मासु जोहो गर्नुभएको रहेछ पन्तजीले । खेसेना बहिनीलाई ढिँडो ओडाल्न नआउने रहेछ, त्यो काम पन्तजीले नै लिनुभो । नेपाली महिलालाई ढिँडो पकाउन आउँदैन ? मैले जिस्काएँ ! मधेसमै जन्मी-हुर्की गरेकोले टार्ने कोसिस खेसेनाको । खसीको सुप भने स्वादिलो बनाइन् उनले । पहिलो पटक विदेशमा ढिँडो अनुभव गरेर नोस्टाल्जिक बनेँ म । पेट चर्किन्जेल खाइयो । खाइसकेर एकछिनको आरामपछि घाम डुब्न बाँकी नै भएकोले भिक्टोरिया घुम्ने सल्लाह मुताबिक पाँच जना निस्कियौँ घरबाट । म, पन्तजी, लोप्चनजी, खेसेना र थपिए खेसेना पति चन्द्र लिम्बु पनि । काम विशेषले अघि कोपोलिया हाइट जान नपाएका चन्द्रजीसँग पनि यहीँ चिनजान भयो ।
भिक्टोरियामा मानव निर्मित अग्लो वस्तु कुनै छ भने त्यो हो यहाँको राष्ट्रिय झण्डा । जहाँबाट पनि प्रष्टै देखिन्छ । हाम्रातिर उस्तै परे सरकारी कार्यालयमा पनि राष्ट्रिय झण्डा देखिँदैन । यहाँ त प्रत्येक चोक, गल्ली, व्यापारिक प्रतिष्ठान, सार्वजनिक यातायात सबैतिर राष्ट्रिय झण्डा भेटिन्छ । झण्डाप्रतिको मोह सायद राष्ट्रिय समर्पणसँग जोडिएको हुन्छ । कहिलेकाहीँ सोच्छु- कुनै बाहिरी मुलुकको उपनिवेश नभोगेकोले हामीलाई राष्ट्रियता र झण्डाको अपनत्वमा कुनै बाहिरी भय र सन्देह नभएकोले पनि हामी त्यति गम्भीर छैनौँ । सेन्ट्रल भिक्टोरियाको शान्ति वाटिकामा ठडिएको त्यो अग्लो झण्डाको दायाँबायाँ उभिएका छन् नेल्सन मण्डेला र जेम्स मान्चमका पूर्ण कदका प्रतिमा । दक्षिण अफ्रिकी प्रजातन्त्रका महानायक, रङ्गभेद बिरोधी आन्दोलनका महारथी तथा दक्षिण अफ्रिकाका प्रथम जननिर्वाचित साथै अश्वेत राष्ट्रपति नेल्सन मण्डेला सेसेल्सका नेता होइनन्, तर उनीप्रतिको आस्था र सम्मान कति रहेछ भन्ने कुरा सेसेल्सले दिएको सार्वजनिक महत्त्वले पनि पुष्टि गर्दछ । त्यसो त मन्डेलालाई नमान्ने को होला यो दुनियाँमा! अफ्रिकाका हिरा, संसारका प्रिय,विश्वका प्रतिष्ठित व्यक्तित्व जीवनशैली,मूल्यमान्यता र आदर्शका पूजारी हुन् उनी ।
सेसेल्सका तत्कालीन राष्ट्रपति डान्नी फाउर र नेल्सन मन्डेलाकि छोरी जेनानी मण्डेलाले दक्षिण अफ्रिकी राष्ट्रपतिको जन्मजयन्तीको अवसरमा सन् २०१९ जुलाइ १८ का दिन भिक्टोरिया सेसेल्सको शान्ति पार्कमा नेल्सन मण्डेलाको तीन मिटर अग्लो कास्य प्रतिमा अनावरण गरेका रहेछन् । नेल्सन मण्डेलाको नाम र उनको विरासतलाई संरक्षण गर्न पुरै विश्व लागेको देखिन्छ । दक्षिण अफ्रिका मात्र होइन सिङ्गो अफ्रिका महादेशका आइकन मण्डेलाको अहिल्यै बोल्लाजस्तो मुर्ति देखेर चकित भयौँ हामी । दक्षिण अफ्रिकाका प्रख्यात मूर्तिकार जेन डोयलद्वारा बनाइएको यो मुर्ति इडेन आइल्याण्डले एक लाख दश हजार लागत तिरेर सौजन्य गरेको रहेछ । स्मरणीय कुरा: जेन डोयल तिनै कलाकार हुन् जसले सेसेल्सका पूर्व राष्ट्रपति स्व. जेम्स मान्चमको मुर्ति पनि बनाएका रहेछन्, जुन मुर्ति त्यही वर्षको मे महिनामा त्यहीँ छेउमै अनावरण गरिएको कुरा थाहा पाइयो । सन् २०१० देखि जुलाइ १८ लाई ‘संयुक्त राष्ट्र मन्डेला दिवस’ को रुपमा मनाइने गरिएकोछ । यो दिनले द्वन्द्व समाधान, लोकतन्त्र, मानवाधिकार, शान्ति र मेलमिलापको दिशामा विश्वलाई लाने मन्डेलाको योगदान सम्झाउँछ ।
सन् १९६३ मा यिनै रङ्गभेदी आन्दोलनका प्रखर योद्धा दक्षिण अफ्रिकामा रंगभेद विरुद्धको मुक्ति आन्दोलनको नेतृत्व गरेको र स्वतन्त्र बाँच्न पाउने मानवाधिकारको पक्षमा अडान लिए बापत लामो समय जेल परेका थिए । सन् १९९४ देखि १९९९ सम्म दक्षिण अफ्रिकाको प्रथम लोकतान्त्रिक जननिर्वाचित राष्ट्रपति थिए । मन्डेलाले सन् १९९३ को नोवेल शान्ति पुरस्कार सहित सयौं प्रतिष्ठित पुरस्कार र सम्मान पाएका छन् । सानो हुँदा रेडियोमा बारम्बार नाम आइरहने अफ्रिकी नेशनल कांग्रेसका अध्यक्ष नेल्सन मण्डेलाको निर्जीव शरीरसँग आज सेसेल्सको नेशनल पार्कमा भेट भयो । सजिव भेट्न जुरेन, किनकि सन् २०१३ को ५ डिसेम्बरमा ९५ वर्षे सार्थक जीवन बाँचेर यो धराधम छोडिसकेका छन् उनले । नेपाली जननायक वीपी कोइरालाको सुम्निमाजस्तै नेल्सन मण्डेलाको ।ONG WA।K TO FREEDOM पढेर कहिल्यै अघाइन म । अझैसम्म यात्रामा बोकेरै हिँड्ने गरेको छु यी किताब ।
सर जेम्स मान्चम गणतन्त्र सेसेल्सका प्रथम राष्ट्रपति हुन् । सन् १९७६ मा सेसेल्स बेलायतको उपनिवेशबाट स्वतन्त्र भएपछि यिनै पहिलो प्रजातान्त्रिक राष्ट्रपति भएछन् । प्रजातन्त्र, मानवाधिकार, स्वतन्त्रता र शान्तिका हिमायती जेम्स मान्चमलाई आधुनिक सेसेल्सका पिता पनि भनिँदोरहेछ । सेसेल्सको आर्थिक सुधारका शुत्रधार जेम्स मान्चमले अपनाएको पर्यटन र अर्थनीतिकै जगमा आज सेसेल्सले राष्ट्रिय समृद्धि हासिल गरेको देख्दा म हाम्रा नेताहरुको अदूरदर्शी अर्थनीति सम्झेर फतक्कै गल्छु । सर जेम्स मान्चम कस्ता, उनको क्षमता र योगदान कस्तो यी सबको बारेमा कुनै दिन थप लेख्ने कोशिस गरौंला । मेरा लागि अर्को उत्सुकता- जेम्स मान्चम सेसेल्सका प्रख्यात कवि तथा लेखक पनि थिएछन् । थुप्रै पुस्तकहरु प्रकाशित रहेछन् उनका । ती पुस्तकहरु खोजेर पढ्ने उत्सुकताले सेसेल्सका युवा कवि स्टेफान फिगारो जो मेरा क्याजुअल सहकर्मी पनि हुन्, उनलाई सम्पर्क गरेँ । उनले सहयोग गर्ने वचन पनि दिएका छन् । सेसेल्स गणतन्त्रका संस्थापक राष्ट्रपतिको आत्मकथा पढ्ने हुटहुटी छ । सन् २०१७ जनवरी ८ का दिन ७७ वर्षे अर्थपूर्ण जीवन भोगेर यी पनि महाप्रस्थानमा निस्के ।
अहिले यी दुवै महानुभाव यो धराधाममा छैनन् । निर्जीवन भए पनि यिनले छोडेर गएका सजिव कामको सम्मानमा शिर नत गरियो । हाम्रो काठमाडौं शान्ति पार्कमा ठिङ्ग उभिएका नेपाली प्रजातन्त्र सेनानी, शान्तिनायक, लौहपुरुष गणेशमानको झलझली याद आयो । शालिक बनाएर ठड्याउनु मात्र सम्मान होइन तिनीहरुप्रतिको कर्तव्य निर्वाहले पो खास महत्त्व र अर्थ राख्ने हो त । यी दुई महान् व्यक्तित्वका प्रतिमासँग अनि झण्डा जतिसक्दो पुरै आउनेगरी फोटो खिच्यौँ ।
दुई रोल्पाली युवाहरु देखा परे मदिराले दिउँसै झ्याप भएर । फोटो खिचिदिन अनुरोध गरे, मैले खिचिदिएँ । घाम अस्ताउनु र पानी पर्नु एकसाथ भयो । हामी कारभित्र छिर्यौँ र इडेन आइल्याण्डतर्फ सोझियौँ । साँझमा भिक्टोरिया सहर हेर्नुको मजा लुट्दै र नाइट फोटोग्राफी गर्दै इडेन आइल्याण्ड पुग्यौँ, त्यहाँको रमझम चित्ताकर्षक थियो झन् । लाग्छ-इडेन आइल्याण्ड धनाढ्यहरुको मात्रै हो । हुन पनि संसारका पैसावाल मान्छेहरुले मात्र कार्यव्यापार गर्छन् यहाँ । घर, होटेल, अपार्टमेन्ट,व्यवासाय सबै महङ्गो । सुनिन्छ- कहिलेकाहीँ त विश्वकै नामुद माफियाहरुको पनि चलखेल हुन्छ रे यहाँ । सेसेल्स हरेक दृष्टिकोणले शान्त र सुरक्षित देश हो । इडेन आइल्याण्ड चौबीसै घण्टा व्यस्त रहन्छ, यहाँ कहिल्यै बत्ति निभ्दैन । रात्रीकालिन इडेनलाई आवरणमा हेरेर फर्कियौँ हामी । खेसेना र चन्द्रलाई उनीहरुको निवासमा ड्रप गरेर पन्तजी र म घर आयौँ । अघि लन्च न डिनरको खाना खाएकोले पेटमा भोक थिएन । केहीबेर गफ गरेपछि जुस पिएर सुत्यौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

