विषय प्रवेश :
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम प्रकाशक रहेको ‘युरोपका नेपाली कविताहरु’ नामक कवितासङ्ग्रह पढी सिध्याइ त्यसबारेमा आफूलाई लागेका विचार टिप्पणी सर्जक र पाठक समक्ष राख्ने जमर्को गरेको छु । कुनै पनि कृति वा सङ्ग्रहको व्याख्या विश्लेषण र समीक्षा गर्नु ज्यादै नै चुनौतीपूर्ण कार्य हो भन्ने जान्दा जान्दै चुनौतीलाई सिरोधार्य गरेर यस कविता सङ्ग्रहको समालोचनाको कैंची चलाउने जमर्को गरेको हुँ ।
सिर्जनामा कल्पनाशीलता हुन्छ भने समालोचनामा आलोचनात्मक दृष्टि प्रधान हुने भएकोले कुनै पनि कवि, प्रकाशक, सम्पादक, शुभकामनादाता तथा शुभचिन्तकहरूले यस समीक्षामा चित्त दुखाउनु हुने छैन भन्ने आशासमेत गरेको छु । यो सङ्ग्रहको बहुआयामिक कृति–सर्वेक्षण गर्ने पक्षमा पाठकहरुको समेत योगदान रहने भएकाले प्रतिक्रियाहरु प्राप्त हुने नै छन् । समालोचनाको सिद्धान्तभित्र रहेर मूल भाव र स्वरूपका आधारमा कविता तत्त्व, लयविधान,देश काल परिस्थिति,र अन्तर्वस्तुसँग सम्बन्धित विविध पक्षहरूलाई नछुटाई भएका र देखिएका कमजोर पक्षहरु पस्कने प्रयत्न गरेको छु। यसमा मलाई सबैको सकारात्मक वा नकारात्मक प्रतिक्रियाबारे कुनै गुनासो रहने छैन । तर प्रतिक्रियाको चाहिँ भोको छु है ।
एक समालोचकको हैसियतले कविताहरु पढेर यो कृतिको केन्द्रिय कथ्य पत्ता लगाएर त्यसको समग्र सार खिच्दा युरोपका सबै सर्जकहरुको स्तरीयतामा एकनासपन भन्दा पनि साहित्यप्रतिको लगाव र देशबाट बाहिर रहनुको पिडाभावलाई मूल रुपमा महत्त्व दिनुपर्छ भन्ने महसुस गराएको छ । बिछोड र दु:खका सुस्केराहरुले यो सङ्ग्रहका धेरै पानाहरु भरिएका छन् । मन आक्रोशित छ, कहीँकहीँ मुलुक पुनः फर्कने पारिवारिक पुनर्मिलनका झिल्काझिल्कीहरु देखिए पनि जताततै अराजक र निरासाजनक असन्तोष मात्र देख्न सकिन्छख। प्रायः जसो सर्जकहरुको मनमा देश छोड्नु पर्दाको पीडा रोएर कविताका हरफहरुबाट रसाइरहेको छ।
पुस्तकको बाहिरी आवरणमा देखिएको निलो रङ्गभित्र माथिल्लो भागमा नेपाली झण्डा र तल्लो भागमा रातो रङ्ग प्रयोग भएको देखिन्छ। आदिम कलमको प्रतिनिधित्व गर्ने प्वाँखलाई सृजनाको माध्यम स्वरुप बिचमा सजाइएको छ र त्यही प्वाँखको सीमाभित्र कविहरु भएको देशको सांकेतिक झण्डालाई सहजै देख्न सकिन्छ। सङ्ग्रहको आवरण पृष्ठ आकर्षक र रङ्गहरुको सन्तुलन मिलेको छ ।
चिरफार :
ढोका बाहिर (आवरण र कविता सुरु हुनुभन्दा अगाडि) : कविताको पहिलो पृष्ठ अगाडि रहेको भागमा अर्थात् पिँढीतिर हेर्दा समालोचकको आँखा त्यसको केही कुराले तानेको छ । केही स्वाभाविक प्रश्नहरु जन्माएको छ । जस्तो कि, के आधारमा अनेसासद्वारा प्रकासित यो कृतिमा गोलो घेराभित्र ‘१’ राखियो ? के अनेसास बेल्जियमले प्रकासित गरेको यो कृति पहिलो हो ? हो भने पूर्व अध्यक्ष राजकुमार पुडासैनीको कार्यकालमा प्रकासित कृतिलाई कति नम्मर दिने ? यो प्रकासनको आधारमा पनि मिल्यो जस्तो लाग्दैन र सङ्ख्यात्मक आधारमा भन्ने हो भने त अनेसास बेल्जियमद्वारा अरु कृतिहरु पनि प्रकाशित गरिएका होलान् । खै तिनीहरुको विवरण ? कि विवरणबारे चासो राखिएन ? प्रकासित भएका छैनन् भने पनि ठिक छ । नम्बरको विश्लेषण हुनु आवश्यक छ, तर यसरी संस्थागत प्रकाशनको श्रेणी खलबलाउने छुट कसैलाई हुनु हुँदैन । साहित्यको प्रकासित तथ्य र न्यायिक आँखाले हेर्दा नम्बर राखेकोमा मेरो असहमति छ । साथीहरुको तर्क युरोपको सङ्ग्रह पहिलो हो नि भन्ने पनि होला । यसमा पाठकको के प्रतिक्रिया आउँला ? पाठक प्रतिक्रियाको लागि जिज्ञासु भएको छु ।
मेरो विचारमा अनेसास स्वयम् प्रकाशक भएको कृतिमा क्षेत्रगत, व्यक्तिगतजस्ता कुराको अर्थ हुँदैन । नेपाली व्याकरण बुझ्नेलाई थाहा हुनु पर्छ कि कृति संस्था जस्तै व्यक्तिवाचक हो, सामुहिक वा व्यक्तिगत रुपमा लेखिएका लेखकका कृतिहरु विमोचित भएपछि अन्तराष्ट्रिय साहित्यका समेत सम्पत्ति हुन सक्छन् । लेखकको सर्वाधिकार सुरक्षित हुने भनेको पुनः प्रकाशन र मूल्यमा मात्र हो । रचनाको सार्वभौमिकतामा पाठक वा समुदायको स्वामित्व हुन्छ । जो कसैका कृति कुनै विद्यालयका पाठ्य सामग्री बन्न सक्छन् । त्यसमा लेखक स्वयम्ले रोक्न सक्दैन र पाउँदैन।
आवरणपछाडिको अर्को पेजमा यो पुस्तकको मूल्य र प्रकाशित पुस्तकको संख्या राख्नु पर्ने हो, तर त्यो देखिएन । केही पारदर्शिताका न्युनतम सर्तहरुलाई प्रकाशक र सम्पादकहरुले विशेष रुपले ख्याल गर्नु पर्ने हुन्छ । विज्ञापन नभएका कृतिको अनिवार्य मूल्य र प्रकासित पुस्तकप्रति वा सङ्ख्या उल्लेख गर्दा प्रकाशित कृतिको महत्त्व र गरिमा पूर्ण रुपले बढ्दछ । अर्को कुरा, त्यसले लागत र आम्दानीलाई पारदर्शी बनाउन ठुलो योगदान दिएको हुन्छ ।
आवरण पृष्ठपछि क्रमशः बेनेलक्सका नेपाली राजदूत महामहिम गेहेन्द्र राजभण्डारीले यो कृति प्रकाशनलाई सकारात्मक भन्दै कृतिको अन्तर्यबारे शुभकामनाका शब्द कोर्दा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पदाधिकारीहरुद्वारा बेल्जियमको गतिविधि र सृजनात्मकतालाई प्रेरणा दिएको देखिन्छ । उहाँले प्रकासकलाई मात्र धन्यवाद दिँदा सर्जकहरुलाई अन्याय नहोस् भनेर दुई शब्द लेखिदिएको भए अझ राम्रो हुन्थ्यो । बिना सर्जक न संस्थाको कल्पना गरिन्छ न त कृतिको नै । सर्जकहरु कृतिका केन्द्रिय तत्त्वहरु हुन् । जे होस् विमोचन कार्यक्रममा संस्थागत रुपमा प्रकाशक र सर्जक सबैलाई उहाँले दिएको शुभकामनाले समेत प्रकाशक तथा सर्जक मनहरुलाई हौसला प्रदान गरेको छ ।
त्यसपछि बेल्जियमका सम्पूर्ण कार्यसमिति लगायत पूर्व अध्यक्षहरुको तस्बिरले यो कृतिलाई युरोपबाट बेल्जियमको सिमाभित्र घसेटी दिएको छ । सर्जकहरुका तस्बिर कविताको शीरमा नै थिए। त्यहाँ कार्यसमितिका तस्बिरहरु विज्ञापनका लागि राखिए जस्ता देखिए । तस्बिरको सङ्ग्रहालय वृत्तचित्रमा मात्र सुहाउँछ । कवितासङ्ग्रहमा प्रकाशकको रुपमा अनेसास बेल्जियमको नाम र लोगो भएपछि त्यसले यो समितिका आदि-अन्त्य सबै जनालाई समेट्छ तर फोटो प्रदर्शनीको मोहले कृतिलाई अशोभनीय बनाएको प्रष्टै देखिन्छ। यसले सर्जक भन्दा हामी ठुला भन्ने भावलाई प्रदर्शित गरेको जस्तो सन्देश दिएको देखियो ।
मैले देखेको अर्को त्रुटि भनेको सम्पादक मण्डलको भद्दा प्रस्तुति हो । जसले यो प्रकाशनको लागि कुनै प्रकारले सहयोग गरेनन् , नाम,नाता,क्षेत्र र साथीको चित्त खुसीका लागि सम्पादक, व्यावस्थापक वा सल्लाहकारको बहानामा जो कसैलाई छिराउनु शोभनीय हुँदैन भन्ने कुरा प्रकाशकले हमेसा हेक्का राख्नु पर्ने विषय हो । बरु कभरको कम्प्युटर डिजाइन गर्ने पुस्तक डिजाइनर र शुद्धाशुद्धि हेर्नेलाई उनीहरुकै कामको आधारमा सम्मान गर्ने र पारदर्शिताको लागि पब्लिकेसनको नाम उल्लेख गरिनु पर्थ्यो । प्रचलनअनुसार कभर डिजाइनर, छापाखाना, कृति र सर्जक सम्मानको लागि यति कुरा मैले भन्नै पर्छ ।
प्रकाशक अनेसास भएकाले केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाको शुभकामना गहन छ। जसमा पूर्ण रुपले सर्जकहरुको सम्मानलाई प्रेरणादायी रुपले केन्द्रमा राखेर उहाँले शुभकामना दिनुभएको छ। उहाँलाई मेरो तर्फबाट पनि आभार सहित धन्यवाद छ ।
प्रकाशकीयमा अनेसास बेल्जियमका तत्कालीन अध्यक्ष परमानन्द सापकोटाले सबैलाई सम्झेर सर्जकहरुप्रति आभारी हुन बिर्सँदा प्रकाशकीय सारमा भन्दा रुपमा बगेजस्तो देखियो । प्रकाशक संस्थाको जिम्मेवार व्यक्तिले प्रकाशकीय लेख्दा वा बोल्दा सबैलाई सम्झनु पर्ने हुन्छ तर यो सङ्ग्रह कृतिको रुप चिनिनुको मुख्य श्रेय सर्जकहरुलाई दिइनु पर्छ । मेरो विचारमा भुलबस यो त्रुटि भएको होला । जे भए पनि कृति प्रकाशनको लागि निवर्तमान अध्यक्षको भूमिका अमूल्य छ । यो विषयमा मेरो भनाइ त्यति मात्र हो ।
विषय सूचीमा सूचीकृत हुन छुटेको म स्वयंको आफ्नै कविता अन्तिम पृष्ठमा रहेछ । यसो गर्न हुन्थ्यो वा हुन्थेन सम्पादक मण्डलले सोच्ने कुरा हो । अरुको कविता सूचीमा छुटाएर अन्तिममा लगेर टाँस गरेको भए क्षम्य मानिँदैनथ्यो । यसबारे म धेरै नबोल्दा नै राम्रो होला ।
सङ्ग्रहमा कविहरु आ-आफ्नै प्रकारले पोखिएका छन् । जम्माजम्मी ९१ वटा कविताहरुमा आफ्नै धुनमा पोखिएका भावहरुको मितेरी मुलरुपले देशभक्तिको रुपमा गाँसिएको भए पनि बिम्ब र प्रतिबिम्बका रागहरु फरक छन् । मोफसलका सर्जकहरु जुन भावमा पोखिएका छन् झण्डै त्यही लयमा यसको समालोचना गर्दा यो पुस्तकप्रति न्याय हुन्छ जस्तो लाग्छ । उसो त हामी सामाजिक प्राणी हौँ, यही समाजमा रहँदा बस्दा त्यहाँको सामाजिक परिवेश, वातावरण, जन्माइ हुर्काइ, संस्कार, पढाइ, लेखाइ, बुझाइ अनुसार नै हाम्रा आचरण, व्यवहार,सोच,चिन्तन र प्रवृत्तिले फल्ने फुल्ने वा विकसित हुने अवसर पाइरहेको हुन्छ । सामाजिक सत्ता यथार्थमा पदार्थजस्तो हुन्छ, त्यही समाजको गतिबाट नै चेतना निर्धारण हुने गर्दछ । यही वा त्यही सामाजिक परिवेश र वातावरणमा नै हाम्रा पारिवारिक सम्बन्ध, गाउँ टोल, छिमेक, साथीभाइ, इष्टमित्रसँग भातृत्व, अपनत्व, आफन्त पराया जस्ता सम्बन्धका डोरीहरु बाटिने गर्दछन् । यसरी सम्बन्धका डोरी बाट्दा वा प्रवास बसाइको बाध्यताभित्र भावना फुक्दै गर्दा सुख दुःखमा भरथेग गर्ने, आत्मीयता साट्नेदेखि सन्तोष, खलबली र नोष्टाल्जिया, जलन र छिरलिएको मनोदशा यी कविताहरु पढ्दा जसलाई पनि महसुस हुन्छ । सारमा, यो कविता सङ्ग्रह भावनाको तलाउमा फुलेका थरिथरिका कमलका फूलहरु जस्तै विभिन्न रङ र रसमा छिरलिएको छ।
जिन्दगी जिउने क्रममा आफ्नै बाध्यताका खातिर नजिकका आफन्तको सम्झना र नयाँ मान्छेहरूसँग आत्मीय, सहयोगी, भाइचारा सम्बन्धका बारेमा पनि कतिपय हरफहरु छन् यहाँ । ढोकाभित्र छिरेपछि कतिपय कविहरु विद्रोही भएर उभिएका छन् । मान्छेका बाहिर देखिने र भित्र देखिने अथार्त् अन्तर्यको पर्दाफाँस भएको अवस्था पनि कविता सङ्ग्रह भित्र छ । सम्बन्धको जालो भित्र नै हरेक मान्छेका निजि स्वार्थ, सामूहिक स्वार्थ, माया मोह, प्रेम, सम्मान, सदभाव, उपकार, भाइचारा, सम्बन्धदेखि घृणा, अपमान, निन्दा, भर्त्र्सनासम्मका मनोदशा कविता बनेर तैरिरहेका भेटिन्छन् । यसरी कविता सङ्ग्रहमा कुनै कुनै सर्जकहरुले आफ्ना दु:ख, गल्ती कमजोरीलाई आत्मसात र महसुस गर्दै सम्बन्ध बिग्रे भत्केकोलाई सपार्न वा सुधार्न लाग्दछन् भने कसैले देश समाज बिगार्नेहरुप्रति घृणा व्यक्त गर्दै बैगुनीहरुको उछित्तो काढ्नमा नै आफ्ना कविता समर्पित गरेका छन्। सरसर्ती हेर्दा कवितासङ्ग्रह युरोपका नेपालीको मनोदशाको साक्षी बनेर उभिएको मैले पाएँ ।
यिनै पोका पन्तुरा, मनोदशा,सम्बन्धका आयामहरुलाई हृदयंगम गरी स्वयंसँग समेत वादविवाद गर्दै समालोचकले सङ्ग्रहको सामूहिक समालोचना पस्कने जमर्को गर्नु पर्ने हुन्छ । हाम्रा अभिभावक, शुभेच्छुकजन र उपदेशकहरुले सकारात्मक सोँच राख्नुपर्ने बताए झैँ केवल संसार एकोहोरो मात्र नभएर विपरित सोचहरुको भण्डार पनि रहेको, आज कहिल्यै नबाँचेर बितिसकेको हिजो बाँचेर केबल भोलिको लागि यो कृतिको महत्त्व महसुस गरिनेमा दुई मत छैन ।
ढोका भित्र(कविता प्रवेश) : जीवनप्रति गुनासै गुनासो भएको शशिकुमार ढकालको “जिन्दगी” कविताभित्र ‘जिन्दगीको खोजी गर्दै आँफैभित्र उनी हराउँदा होस् वा नेपालका चाडबाड सम्झेर निसास्सिदा सबैको मन अमिलो हुन्छ। ऋणले पिल्सिएका बाबुराम सापकोटाको भावार्थ भित्र पनि सिङ्गो प्रवासीहरुको पीडा रोएको पाइन्छ । धेरै कविहरुका मेहनत र दु:खका सुस्केराले सङ्ग्रहलाई बिछट्टै निरासातिर लगेको जस्तो देखिए पनि छिमेकीको इसारामा कलुसित खेल खेलेको भन्दै नेपाली नेताहरुलाई त्यसो नगर्ने चेतावनी दिने राम भण्डारीको भावलयले कतै कतै कविताको बाटो बदलेको भान हुन्छ । उनले विद्रोहको आभाष दिन खोजे पनि केही कविहरुले आफूलाई प्रवासी बनेकोमा आफ्नै कर्मलाई दोष दिँदै भाष्यलाई अन्तमा भाग्यवादमा पुराएर चित्त दुखाउँछन् ।
आफ्नो गाउँको सम्झना गर्दै धरधरी रुने हरि पौडेल वा नयाँ अस्तित्वको आगमनलाई स्वागत गर्न हतारिएका बिजी श्रेष्ठ दुबैले कविताको धारलाई छिरलिदिएका छन् । महेन्द्र पौडेलको मगन्तेद्वारा गरिएको दोहोरो वार्तालापयुक्त कविताले स्वतन्त्र छन्दमा नयाँ शैलीलाई पछ्याएको देखिन्छ । नेपालतिर सबैका आँखा गए पनि आमालाई सम्झेर आँसु झार्ने केही कविहरुमा सुनिल संगम पनि एक हुन् । साहित्यकार कृष्ण बजगाईंको ग्लोबल भिलेज पढ्दाभने आफू जहाँ रहे पनि गाउँमै रहेको भान हुन्छ । डिजिटल युगमा वैश्विक मानव एउटा गाउँ जत्तिकै नजिक रहेको कविताको भावले सबै प्रवासीहरुलाई एक किसिमको मनोगत राहत दिएको छ।
त्यस्तै प्रकृति चित्रणको सिङ्गो आयामलाई उचाल्न सक्ने कवितासङ्ग्रहमा नभए पनि केही कवितामा प्रकृति प्रेमका रुझानहरु प्रकट भएका छन् । गोपी सापकोटाको विक्षिप्त मनोभावले हुस्किको स्वाद लिँदा हामीले पनि सुस्केरा हाल्दै नशालु तालमा गीत गाएको सम्झना गराउँछ । उनको कविताले युगीन विसङ्गति र विकृतिप्रति आक्रोश तथा व्यङ्ग्य गरे पनि कविता पूर्ण रुपले अँध्यारोबाट उन्मुक्त हुन सकेको छैन ।
केही प्रतिनिधि कविताहरुलाई मानक मानेर हेर्दा प्रभात किरणको राँके भुत उज्यालोको बिम्ब बन्दै पाखामा मुस्कुराए पनि प्रबल वैयक्तिकता,तीव्र कल्पनाशीलता, भावनात्मकता, अद्भुतता, हार्दिकता, कोमलता, भावगत मुक्तता, अनियन्त्रितता,स्वच्छन्दता, सहजता, स्वप्निलता, स्वाभाविकता, अतिशय भावुकताका कुनै पनि अंगलाई समातेर थिरिन सकेको छैन। सुर्य गिरीको मुकदर्शकमा पोखिएको मनोदशा उज्यालो नहुँदै बाटोमा बिलाउँछ। विष्णु माया बिभुले नारीवादको जलपमा विद्रोहको बिगुल फुकेकी छन् तर बिम्बहरुको संयोजनमा बेलाबेलामा शब्द अपुग भएजस्तो देखिन्छ।
हरिहर अर्यालको मातृभूमिमा मर्ने धोकामा लयात्मक तथा भावगत मुक्तताको जति प्रशसा गरेपनि कम हुन्छ। बिम्बहरुको भावगत संयोजनताले मनोदशालाई भरिलो बनाएको छ।
त्यस्तै खड्क न्यौपानेको मनको रहरमा मुनामदन पढ्दाको झल्को आए पनि यशु थापाको ‘ऐयास’ कवितामा जस्तो जिउ नै सिरिङ्ग पार्ने कम्पन मनको अन्तरामा पैदा हुँदैन । खयर दुवै कविता प्रेमिल रसले भिजेका राम्रा छन् । श्रीराम प्रसाई ‘कविता’ शीर्षककै कविताले सिधा र सोझा मान्छेहरुको मनोदशालाई कोतर्नु कोतरेको छ तर निकास दिएको छैन । कविताका हरफहरु पढ्दै जाँदा शब्दहरुको गोलचक्करमा कविता आँफैभित्र उसिनिएर वैलाएको जस्तो लाग्छ ।
ब्रह्म वाग्लेको बलिदान कविताले प्रगतिवादी प्रवृत्तिलाई जोड दिएको छ, जसलाई यो सङ्ग्रहको मौलिक धार र प्रस्तुतिको रुपमा बुझियो । काव्य रचनाको तिर्सनालाई कविताबाट मेट्ने अभिलाषा लिएर स्रग्विणी छन्द प्रवेश गराएकी प्रतिमा थापा र स्पन्दन विनोदद्वारा तोटक छन्दमा लेखिएको ‘भानुको सम्झना’ सहित कवि खड्क न्यौपानेले यो सङ्ग्रहलाई शास्त्रीय छन्द, स्वतन्त्र छन्द (आधुनिक ),झ्याउरे वा लोक छन्दको त्रिवेणी बनाउन ठुलो योगदान गरेका छन् ।
विनय श्रेष्ठले ‘गुलाफ बाँच्छ’को शीर्षकमा प्रकृतिमा रङ्ग भरिदिएका छन् । जसले प्रवासीको पीडालाई भुलाउन मद्दत गरेको जस्तो लाग्छ । तर एउटा जिज्ञासु बालकले झैँ प्रश्नै प्रश्नमा कविता बनाएका नवीन थपलियाको कविता बुनाइ अलिक फरक छ । लक्ष्मण देवकोटाको विद्रोही कविता ‘देश चपाइरहेको मान्छे’मा जेहादी कल्पनाले मान्छेलाई उचाली रहेको देखिन्छ तर जाने गोरेटो अलिक मधुरो छ । डिल्ली अम्माईको आधुनिक उन्मादले आधुनिक मानवको चिरफार गर्न खोजे पनि बिचमा अल्मलिएका छन् । कवितामा हुनुपर्ने भरपुर मजा र रस छैन । कारण त्यहाँ पनि विस्मयवाचक चिन्ह हुनु पर्नेमा युनिकोडको रुपान्तरणलाई नसच्याएकोले तीन ठाउँमा अनावश्यक रुपले अन्तमा “र” आएको छ । लाक्षणिक भाव उत्तम हुँदाहुँदै पनि अनावश्यक थोपरिएको शब्दले कसरी रचनालाई निलिदिन्छ, त्यसको उपयुक्त उदाहरण हो उहाँको उक्त कविता ।
विमल गिरीको कविताले बटुवा गुन्द्रुक भिजाएर गरिबीसँग पिउँदै गन्तव्यलाई चुमेको छ । दिपेन्द्र केसीको ‘इतिहास र आमा’ले समयलाई गिजोल्दै गिजोल्दै इतिहास केलाएर विगतलाई आगतको बाटोमा पथप्रदर्शक बनाउने प्रयास गरेको छ । केसीको कवितामा इतिहासको त्यो नेपाल अहिले आफ्नो चकाचौँध अतीतको पौरख र गौरव सम्झिँदै रुग्ण मनोदशामा रातदिन धुरुधुरु रोइरहेको सहजै महसुस गर्न सकिन्छ। राजकुमार पुडासैनी लगायत धेरै सर्जकहरुले कल्पनाका पाउरोटी चपाउँदै आमालाई सम्झेका छन् ।
जेवी शेर्पा गजल सुनाउने प्रेमिल समयमा मौसमलाई उदास बनाउदै भक्कानिएका देखिन्छन तर स्वदेश फर्किने वाचा गरेका युवराज गुरुङले झैँ आफ्नो मनलाई सम्झाउन सकेका छैनन् ।
त्यस्तै जमुना गैह्रेको कविता सशक्त हुँदाहुँदै पनि सपनाको द्वन्द्वमा आशाको अनुभूतिले भन्दा बेचैनीले वातावरण निरस बनाएको छ । खिम गुरुङको बिम्ब प्रयोगले मनलाई तान्छ । उनले मुखाले थुतुनोलाई ‘च्यातिएको मुख’ भनेर प्रतीकात्मक बिम्ब कसेका छन् । कविता नपत्याउँदो तरिकाले माथि उठेको छ ।
अर्जुन कुमार श्रेष्ठको ‘अभियान’ले रुपचन्द्रले उचालेको ”थाहा” अभियानको स्मरण गराएको छ । यो मानिसलाई भिन्नै आदर्शमा आशावादी बनाउने कविता हो भन्छु म ।
डाक्टर रुपक श्रेष्ठको कविताले समयलाई मात्र गिज्याएको छैन, कवि स्वयंलाई पनि जिस्क्याएको अनुभूति गराउँछ । देश सम्झेर रुने बेथामा बिस्तारा परेका उनका आँखाले एकोहोरो हेरेको अनुभूति गराए पनि सबैले पढ्नु पर्ने कविता हो त्यो । मुकेश राई यस सङ्ग्रहका उम्लेका पानी हुन् । उनको कविताको रापले पुरै किताव (सङ्ग्रह) तातेको अनुभूति हुन्छ तर उनको बाटो पनि गन्तव्यको पहिचानमै रोकिन्छ र कता हो कता अलमलिन्छ ।
अन्त्यमा, शौरभ कारंजितकै भावनाले अधिकांश सङ्ग्रहलाई देशमुखी शोकको शिकार बनाएको छ । प्रवासको सम्झनामा नेपाल ठोक्किएको छ र एकखालको प्रवासप्रतिको वितृष्णाले प्रायः कवि मनहरुलाई मनोरोगी बनाएको पाइयो । अरु धेरै कविताहरु पठनीय छन् तर सार र धारको बाटोमा प्रतिनिधि छान्दा ती छुटेका छन्, माफ गर्नु होला ।
निष्कर्ष :
बिम्ब, प्रतीक र अलङ्कारको प्रयोग, सहज, सरस, स्वतःस्फुर्त भाषा शैलीय विन्यास, लयात्मक, आनुप्रासिक र सङ्गीतात्मकता, रस,कवितातत्वहरुको उचित संयोजन नभएका कवितालाई कविताको दर्जा दिनु पर्छजस्तो मलाई लाग्दैन । त्यस्ता कविताले कृतिको महत्त्वलाई रसातलमा पुर्याउँछ । नवीन प्रयोगका नाममा कृतिमतापूर्वक जबर्जस्ती जटिल, दुरुह र दुर्बोध कविताको नाममा शब्द थुपार्नुलाई मात्रै प्रयोगवादी सिर्जना भन्न मिल्दैन । सरलता र सुबोधताकै सीमाभित्र रहेर पनि सर्वग्राहृय ढङ्गले नवीन-नवीन प्रयोग गर्न सकिन्छ र त्यस्तो प्रयोग मात्र चीरस्थायी हुन्छ भन्ने मेरो ठम्याइ हो । सर्जकहरुले यो समालोचनालाई सकारात्मक रुपमै लिइदिनुहुनेछ भन्ने लाग्छ ।
रचनागर्भमा चिन्तन, कथ्य र शिल्पको मनग्य परिपाक नपाएका कोरा मौसमी कवितामा केको रस,साधनाको रंग र सन्देश हुन्छ र कविताको उपमा दिनु ! सन्देश नबोकेका लालित्यविहीन एवं निरस रचनाले सृजनाको मूल्य मात्र घटाउँदैन, रचनाकार पनि उपहासको पात्र बन्दछ । त्यस्ता कविताहरु सम्पादकले सकभर छनौट गर्दा सङ्ग्रह पठनीय बन्दछ । एउटै लेखकले लेखेका कविताहरु मध्ये पनि स्तरीय कविताहरु छानेर वा पुनर्लेखन गरेर पुस्तकको रुप दिनु पर्छ।
केही कविताहरु पाना भर्नकै लागि लेखिएको भन्दा सर्जकहरुलाई चित्त दुख्ला,तर दुख नमान्दा हुन्छ,अभ्यासको क्रममा प्रायः त्यस्तो हुन्छ । सृजनाको अभ्यास मात्र गर्नु पनि आफ्नो ठाउँमा राम्रो कर्म हो । समावेश गर्दा ध्यान दिनुपर्ने सम्पादकले हो, सर्जकको के दोष !
केही कविता अत्यन्त स्तरीय र सङ्ग्रह योग्य छन् । यस सङ्ग्रहका केही कविता हालसालै नेपालको पाठ्यक्रममा पनि समावेश गरिएको सुन्नमा आएको छ, त्यो हाम्रो लागि मात्र नभएर अनेसासकै लागि गौरवको कुरा हो । कृष्ण बजगाईंको ‘ग्लोबल भिलेज’ नामक कविता नेपालको माध्यामिक तहको पाठ्यक्रममा राखिएको छ भन्ने सुनियो। तथ्यगत कुरा त सोधीखोजी गर्दा थाहा हुने नै छ। सारमा पुस्तक पठनीय र सङ्ग्रह योग्य नै छ । युरोपका प्रायशः प्रतिभाहरुलाई घरबाट सृजनात्मक मैदानमा ल्याइपुर्याउने यो सङ्ग्रह अवश्य पनि अनेसास बेल्जियमका साहित्यिक मनहरुको अथक प्रयासबाट सम्भव भएको हो।
तर पनि हामी आफ्ना प्रयासलाई सिक्दै अगाडि बढाइरहनु पर्दछ । समीक्षाको क्रममा सबै सर्जकको घरघर पुग्न नसक्दा अलिकति खल्लो खल्लो लागे पनि एक समालोचकको हैसियतमा मैले मुख्य मुख्य प्रवृतिहरुको मात्र विश्लेषण गर्न भ्याएँ। सर्जकहरुको कारण कविता निफन्ने मौका पाइयो । यो कुरा पुनः दोहोर्याएर भन्दै छु,आगामी कालमा कविता वा अन्य विधाका सङ्ग्रहहरु प्रकाशन गर्दा स्तरीयतालाई ख्याल गरियोस,व्याकरण र प्राविधिक त्रुटि सच्याउन विशेष ध्यान दिइयोस् । अन्त्यमा, यतिमात्र अनुरोध गर्दै यस सङ्ग्रहका कविताहरु कन्याउने काम बन्द गरेँ । जदौ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।