
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २०२२-२४ कार्यकालका लागि निर्वाचन यही जुलाई ९ र १० तारिख (अर्थात् असार २५-२७ गते) हुन गइरहेको छ । विद्युतीय माध्यमबाट हुने निर्वाचनमा यसपटक अध्यक्षको प्रतिस्पर्धामा वर्तमान वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र युरोपका क्षेत्रीय उपाध्यक्ष सुनिल सङ्गम उत्रिएका छन् ।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथा विश्वव्यापीकरणको उदेश्य राखेर तीन दशकअघि स्थापना भएको संस्था हो, अनेसास । यस संस्थाले आफूलाई विश्वभर छरिएर रहेका नेपाली स्रष्टाहरुको साझा मञ्चका रुपमा उभ्याउँदै आएको छ । संरचनागत रुपमा विश्वभर पाँच दर्जनभन्दा बढी च्याप्टरहरुमा फैलिएको यस संस्थाको निर्वाचन साहित्य वृत्तमा चासोको विषय हो । अझ भन्दा, नेपाली भाषा साहित्यको पृष्ठभूमिका संगठनात्मक रूपमा सबैभन्दा ठुलो संस्था हो यो । त्यसैले, अन्य क्षेत्रलाई नछोए पनि आसन्न निर्वाचनले नेपाली साहित्यिक क्षेत्रलाई भने तरङ्गित बनाएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचना अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र क्षेत्रीय उपाध्यक्ष (एसिया) का लागि मात्र निर्वाचन हुने भएको छ । अन्य पदाधिकारीहरुमा अमेरिका, ओसिआनिया र युरोपका लागि क्षेत्रीय उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् भने अफ्रिकाका लागि उपाध्यक्षमा कुनै उमेद्वारी परेका छैन । त्यस्तै, पाँच जना केन्द्रीय सदस्यहरुसमेत निर्विरोध निर्वाचित भइसकेका छन् । अमेरिका उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, ओसिआनिया उपाध्यक्षमा महेश्वर शर्मा, युरोप उपाध्यक्षमा सीता बराल, सचिवमा दीप पाठक र कोषाध्यक्षमा निजानन्द मल्ल एवं सदस्यहरुमा तारा अधिकारी, सरिता अर्याल, सुदीपभद्र खनाल, यादव देवकोटा र सुमित गिरी निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिको सूचनाअनुसार अब चुनावी मैदानमा अध्यक्षका लागि दुई, वरिष्ठ उपाध्यक्षका लागि दुई, महासचिवका लागि तीन र क्षेत्रीय उपाध्यक्ष (एसिया) का लागि दुई गरी नौ जना मतदान पक्रियाको चुनावी मैदानमा छन् । जुलाई ९ र १० मा हुने मतदानमार्फत अनेसासका २३८१ मतदाताले मतदानले नौ जनामध्ये ४ जना आकांक्षीलाई अनेसासको नेतृत्वको महत्वपूणर् पदमा जिम्मेवारी सुम्पिने छ भने ५ जना आकांक्षीले आफ्नो आकांक्षा पूरा गर्नका लागि अर्को दुई वर्ष पर्खिनु पर्ने हुन्छ ।
चुनावी मैदानमा अध्यक्ष हुने आकांक्षा राखेर वर्तमान वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा र युरोपका क्षेत्रीय उपाध्यक्ष सुनिल सङ्गम उत्रिएका छन् भने वरिष्ठ उपाध्यक्षका आकांक्षी अनेसासका वर्तमान महासचिव सर्वज्ञ वाग्ले र लालगोपाल सुवेदी रहेका छन् । त्यस्तै, महासचिवको रेसमा कृष्णकुमार गिरी, विमला निरौला र स्पन्दन विनोद रहँदा उपाध्यक्ष (एसिया) मा डा. रेणुका सोलु र शशी थापाको प्रतिस्पर्धा हुने पक्का भएको छ । स्मरण रहोस्, अनेसासका वर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’ दुई वर्षअघि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
अध्यक्षका प्रत्यासी गोवर्द्धन पूजा अनेसासका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल अनेसासको महासचिव भएर काम गरिसकेका छन् । गजलमञ्चका संस्थापक अध्यक्ष, हिमालयन लायन्य क्लब बोस्टनका अध्यक्षसमेत रहेका पूजाले सांगठानिक क्षेत्रमा कुशल नेतृत्वकर्ताको छवी बनाएका छन् । विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरुलगायत कविताकृतिका साथै एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् ।
अनेसासमा सक्रिए भएका कारण यो साता मात्र अनेसास कोरिया च्याप्टरबाट सक्रियता पुरस्कार र नइ रजत महोत्सव पदकसमेत प्राप्त गरेका पूजाले अनेसासलाई ‘अनेसास” नै बनाउने उदेश्यका साथ सबैलाई समेटेर आफूले दुई वर्षको लागि नेतृत्व लिन तयार भएको बताएका छन् ।
आजीवन सदस्यलाई आजीवन सदस्यताको परिचय पत्र र अनेसासको पिन समर्पण गर्ने, साहित्यिक अनलाइन पत्रिका अनेसास दर्पणको प्रकाशन गरेर अनेसासका गतिविधि र साहित्यक रचनाको नियमित प्रकाशन गर्ने, अनेसास केन्द्रीय कार्यसमितिको मासिक बैठकलाई अनलाइनमार्फत प्रत्यक्ष प्रशारण गर्ने, अनेसास भवन खरिदका लागि रकम संकलन समूह गठन गरी भवन खरिद र व्यवस्थापनको लागि काम गर्ने, अनेसासका अजीवन सदस्यहरूको कृतिलाई सम्पर्क सचिवालयमार्फत वितरणको व्यवस्था गर्ने, अनलाइन साहित्यक प्रशिक्षणको व्यवस्था गरी साहित्य लेखन प्रशिक्षणमार्फत स्तरीय साहित्यिक लेखनका लागि अभियान चलाउने, क्षेत्रीय समिति गठन गरी भूगोलका कुनाकुनासम्म अनेसासको गतिविधिलाई विस्तार गर्ने, नेपाली साहित्यलाई विश्व साहित्यमाझ परिचित गराउन अनुवाद र प्रकाशन, भाषिक सभा-सम्मेनन र गोष्ठी गर्ने, अनेसासका पूर्व नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गर्ने, बाल कार्यक्रम तथा प्रतियोगिता, महिला साहित्यिक गोष्ठी तथा प्रतियोगिता, अन्तर्राष्ट्रिय सभा सम्मेलन, साहित्यिक उत्सव गर्ने, विधागत अनुवाद कृति प्रकाशित गर्ने, पाँचै महादेशका सर्जकहरूको प्रतिनिधि सिर्जनाहरूलाई समेटेर संयुक्त कृति प्रकाशित गर्ने, महिला सशक्तीकरण सम्बन्धी गोष्ठी र कृति प्रकाशन गर्ने, आजीवन सदस्यहरूको परिचय पुस्तिका प्रकाशन गर्ने र विगतका कार्यसमितिले गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिने गरी पूजाले १५ बुँदे प्रतिवद्धता प्रस्तुत गरेका छन् ।
अध्यक्षका प्रत्यासी सुनील सङ्गम वर्तमान केन्द्रीय कार्यसमितिको उपाध्यक्ष हुन् । लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा इजरायल हुँदै युरोपमा बसोबास गरिरहेका सङ्गम अनेसास इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष रहिसकेका छन् । रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक आधुनिक सङ्गीत सम्मेलन-२०५७ मा शब्द रचनातर्फ दोस्रो स्थान प्राप्त गरेका सङ्गमका “थोपा-थोपा” गीतिसङ्ग्रह-२०६६, “लाभेन्दरका परागहरू” संयुक्त साहित्यसङ्ग्रह-२०७६, “याद” गीति एल्बम २०५६, “इच्छा” गीति एल्बम २०५७ र फुटकर कथा, कविता, गीत, गजल, मुक्तक तथा लेखहरू प्रकाशित छन् ।
आजीवन सदस्यहरूको व्यवस्थित रूपमा पंजीकृत गरी अनिवार्य प्रमाण-पत्र, परिचय पत्र र ब्याचको व्यवस्था गर्ने, अनेसासको वेबसाइटलाई व्यवस्थित र स्तरीयतामा ध्यान पु-याई अनेसासका गतिविधिहरू निरन्तर अपडेट गरिने छ । साथै साहित्यिक पत्रिकाहरू अन्तर्दृष्टि र अनेसास दर्पण (अनलाइन) को नियमित स्तरीय प्रकाशन गर्ने, हरेक च्याप्टरमा बालबालिकाको निम्ति नेपाली भाषा पठन पाठनको व्यवस्था मिलाइने र अनेसास बाल पाठ्यक्रम तयार गर्ने, नेपाली भाषा साहित्यको विकासको निम्ति विधागत रुपमा विश्वव्यापी प्रतियोगिताहरू गरिर्ने, अनेसास पुरस्कारका लागि छुट्टै अक्षय कोषको स्थापना गर्ने, च्याप्टरको अधिवेशनपश्चात निर्वाचित कार्यसमितिका सदस्यहरूलाई केन्द्रद्वारा प्रमाणपत्रको व्यवस्था गर्ने, च्याप्टरहरूको विधान र अधिवेशनको समयलाई न्यूनतम एकरूपता ल्याउने, नेपाली भाषीहरूको बाक्लो उपस्थिति रहेको मुलुकहरूमा नयाँ च्याप्टर स्थापनाको पहल गर्ने, विधागत रुपमा कार्यशाला गोष्ठी एवम् प्रशिक्षणको व्यवस्था गरिनेछ साथै महिला तथा बालबालिकाको सहभागिताका लागि छुट्टै व्यवस्था गर्ने, नेपाली भाषामा लेखिएका स्तरीय र चर्चित पुस्तकहरूलाई क्रमशः विभिन्न भाषामा अनुवाद गरी विश्व साहित्यिक बजारमा पु-याउने, आजीवन सदस्यहरूद्वारा लिखित पुस्तकहरूको प्रकाशन, विमोचन र वितरण (च्याप्टरसम्म) को व्यवस्था गर्ने, अग्रजहरूलाई उचित सम्मान र पुरस्कृत गर्दै नयाँलाई प्रोत्साहन गर्ने, अनेसास भवन निर्माण तथा खरिद सम्बन्धमा विशेष चासोका साथ बोर्ड अफ ट्रष्टीसँग समन्वयनकारी भूमिका खेली आवश्यक कदम चाल्ने, बोर्ड अफ ट्रष्टी र च्याप्टहरूसँग सधैँ समन्वय गरी कार्यक्रमहरू तय गर्ने र विगतका कार्यसमितिहरूले गर्दै आइरहेका विभिन्न सभा-सम्मेलन, साहित्यिक उत्सव, कार्यक्रम र अन्य राम्रा कामहरूको निरन्तरता दिने गरी सङ्गमले पनि १५ बुँदे प्रतिवद्धता प्रस्तुत गरेका छन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षका प्रत्यसी रहेका छन्, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वर्तमान महासचिव सर्वज्ञ वाग्ले । एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत संगठनमा रहेर लामो संगठनात्मक अनुभव बटुलिसकेका वाग्लेले अनेसासको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
“अनेसास देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीभाषीहरूको साझा मञ्च हो । यो संस्थाले तीसौँ वसन्त पार गरिसके पनि अझै धेरै साहित्यकारहरूलाई एकीकृत गर्न सकेको छैन ।”, वाग्लेले साहित्यपोस्टसँग भने, “मैले दुई वर्ष महासचिव भएर काम गर्दा पूर्वकेन्द्रीय समिति, ट्रष्टिज, केन्द्रीय कार्य समिति एवं च्याप्टरलाई मात्र नभई आजीवन सदस्य, साहित्यकारज्यूहरूलाई अनेसासको अभियानमा जोड्ने सार्थक प्रयत्न निरन्तर गरिरहेँ । अब वरिष्ठ उपाध्यक्ष बनेर संस्था तथा नेपाली भाषा साहित्यलाई थप उचाईमा पुर्याउने भूमिका निर्वाह गर्न चाहन्छु ।”
संगठनात्मक अनुभवलाई प्रयोग गर्दै सबैको साझा, स्मार्ट, पारदर्शी र सबैको अनेसास बनाउने पवित्र अभियान सफल बनाउन आफ्नो जितको ठुलो भूमिका रहने वाग्लेको भनाइ छ । साहित्यकार तथा समकालीनहरूको माया, विश्वास र साथले शुभचिन्तक तथा शुभेच्छुकहरूको इच्छाअनुसार आफूले उमेद्वारी घोषणा गरेको उनले बताएका छन् ।
“सामाजिक तथा साहित्यिक यात्रामा मैले केही अनुभव बटुलेको छु । आफू बुझ्ने भएदेखि विद्वान्-विदुषीहरूसँग सङ्गत गरेकाले होला, सधैँ सकारात्मक सुझाव पनि पाएको छु ।”, आफ्नो उमेद्वारीलाई जितमा परिवर्तन गर्ने सवालमा वाग्ले भन्छन्, “अनेसासलाई विश्व साहित्यको साझा मञ्च बनाउन मेरो प्रयत्न रहने छ । आफ्नो काम र कर्तव्यलाई आत्मसात गर्दै ममा काम गर्ने निःस्वार्थपन, कार्यशैली, भावना छ । अग्रजप्रति सधैँ सम्मान रहने छ । सबैलाई सम्मान गर्ने मेरो बानी तथा मतदाताहरूको मप्रतिको अपार विश्वास नै मेरो जितको आधार बन्ने छ भन्ने कुरामा म विश्वस्त छु ।”
अर्का वरिष्ठ उपाध्यक्षका प्रत्यासी हुन्, लालगोपाल सुवेदी । अनेसासको केन्द्रीय तहमा सचिव पदमा रही सुवेदीले काम गरिसकेका छन् । बोस्टन च्याप्टरका महासचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रमा सचिवको जिम्मेवारी पूरा गरेका सुवेदीले एमए (नेपाली) मा त्रिभुवन विश्वविद्यालयका गोल्डमेडलिस्ट हुन् ।
‘धन हाेइन मनमा हुन्छ साहित्य । अबकाे अनेसास बाैद्धिक र प्राज्ञिक अनेसास ।’ काे नारासहित चुनावी मैदानमा उत्रिएकाे सुवेदीले अनेसासलाई राजनीतिक अखडा नबनाई अनेसास नै बनाउनाउने उदेश्य लिएका छन् । साथै, अनेसासलाई नेपालको त्रिभुवन विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानकै हाराहारीमा लैजानका लागि विधानलाई अक्षरशः पालना गर्दै पर गएकाहरुलाई घर फर्काउने, दुखेका मनहरुमा मलम लगाउने प्राज्ञिक कर्महरु गर्ने र नेपाली भाषा साहित्यको विश्वव्यापीकरण गर्नेमा आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।
अनेसासको महासचिवका लागि चुनावी मैदानमा कृष्णकुमार गिरी, विमला निराैला र स्पन्दन विनोद गरी तीन जना रहेका छन् ।
साहित्यकार कृष्णकुमार गिरीले २०२२-२०२४ को दुई वर्षे कार्यकालका लागि उनले महासचिवका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । अनेसासकाे महत्त्वपूर्ण अङ्ग तथा च्याप्टरहरूमा रहेर जिम्मेवारी निर्वाह गरिरसकेका गिरीले निर्वाचित भएपछि गर्ने १० बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
“निर्वाचनले संगठन अप्ठ्यारोमा पर्छ कि भन्ने चिन्ता लिने कुरा स्वभाविक नै हो । निर्वाचनमा विजेता र उपविजेता हुनु पनि स्वाभाविकै हो। यद्यपि निर्वाचनपश्चात् हामी सबै पुन: अनेसासको हराभरा वृक्षको छहारीमा उही न्यानोपनका साथ एकीकृत हुने कुरामा म विश्वस्त छु । र यसका लागि मेरातर्फबाट सक्दो पहल हुने विश्वास दिलाउन चाहन्छु ।”, गिरी भन्छन्, “निर्वाचनको गणितीय परिणाम आफ्नो वा अर्को साथीको पक्षमा जाँदैगर्दा कोहीले अर्जुन र कोहीले कर्णको नियति भने भोग्नु हुँदैन। बरु सबै मिलेर हस्तिनापुरलार्इ अझै फराकिलो, समृद्ध , सबल, पारदर्शी र सुरक्षित बनाउनुपर्छ । र, बनाउन सकिन्छ भन्ने मेरो मान्यता छ ।”
महासचिवका अर्का उमेद्वार हुन् साहित्यकार विमला ढुङ्गाना निरौला । हाल सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिरहेकी निरौलाले निर्वाचित भएपछि आफूले गर्ने कामलाई लिएर १३ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छिन् । ‘प्रवासका हाम्रा सन्तान बनेर गाैरव नेपाली, ढाकेर जगत् सुवासले गाैतम र शिखर हिमाली !’ नारासहित उमेद्वारी दिएकी निराैलाले अनेसास च्याप्टर र केन्द्रको संस्थागत विकासका लागि विशष भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेकी छिन् ।
निरौलाका अन्य प्रमुख प्रतिबद्धताहरूमा प्रवासमा रहेका बालबालिकाहरूका लागि विभिन्न माध्यमबाट नेपाली भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी कार्यक्रमहरू सञ्चालनमा ल्याउने, युवा, महिला र बालबालिकालाई अनेसाससँग जोड्न भूमिका खेल्ने, अनेसासको बेव पेज चुस्त र दुरूस्त बनाउने, विदेशमा रहेका बालबालिकाहरूका लागि नेपाली पाठशाल सञ्चालन गर्न पहल गर्नेलगायत रहेका छन् ।
महासचिवका अर्का युवा उमेद्वार हुन् कवि तथा गजलकार स्पन्दन विनोद । पोर्चुगल बस्दै आएका स्पन्दनले अनेसास पोर्चुगलको कार्यसमितिमा सचिव, महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन् भने हाल वरिष्ठ सल्लाहकारको भूमिकामा छन् । स्पन्दनले प्रतिबद्धतामा युरोप, अमेरिका, एसिया, अफ्रिका र ओसियाना गरी पाँचवटा क्षेत्रमा नेपाली पुस्तकहरू समेटिएको एक-एक साझा पुस्तकालय सञ्चालन गर्ने महत्त्वकांक्षी योजना राखेका छन् ।
स्पन्दनका अन्य प्रमुख प्रतिबद्धताहरूमा अनेसासको भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने, नेपालको डायस्पोरा डेक्स सञ्चालनलाई व्यवस्थित गर्ने, हरेक च्याप्टरका बालबालिकाहरूका लागि निःशुल्क भाषा कक्षा सञ्चालन गर्न सहयोग गर्ने र च्याप्टरलाई आवश्यक पाठ्यक्रम वितरण गर्ने, हरेक च्याप्टरमा एक जना विदेशी/अनुवादक सल्लाहकार अनिवार्य राख्ने, हरेक कार्यलयमा कम्तिमा एउटा नेपाली मूर्धन्य साहित्यकारको पुस्तक सम्बन्धित देशको भाषामा अनुवाद गर्न सहयोग गर्ने, हरेक देशको विश्वविद्यालयमा अनुवादित नेपाली साहित्य पाठ्यक्रममा राख्न सम्बन्धित पक्षसँग पहल र समन्वयन गर्नेलगायत रहेका छन् ।
अन्य क्षेत्रका उपाध्यक्षहरू निर्विरोध छानिँदा एसियाबाट क्षेत्रीय उपाध्यक्षका लागि दुई आकांक्षी मैदानमा छन् – डा. रेणुका सोलु र शशी थापा पण्डित ।
पण्डितले १३ बुँदे प्रतिबद्धता जारी गर्दै नेपालमा रहेको अनेसासको डायस्पोरा डेक्सलाई थप व्यवस्थित बनाउन पहल गर्ने बताएकी छिन् । उनका अन्य प्रतिबद्धताहरूमा एसियाका विभिन्न च्याप्टरहरूबाट साहित्यक र साँस्कृतिक पुस्तक तथा पत्रिका निकाल्न पहल गर्ने, महिला सशक्तीकरणका लागि अनेसासलाई अग्रसर गराउनेलगायत रहेका छन् ।
यसअघि अनेसास, केन्द्रीय सदस्यको भूमिकामा रहिसकेकी रेणुका सोलु उपाध्यक्ष भएर नेपाली भाषा साहित्यलाई विश्वबजारमा पुर्याउन नेतृत्वदायी भूमिका खेल्न चाहन्छिन् । नेपालमा रहेको अनेसास सचिवालयलाई व्यवस्थित गर्ने, अनेसासका काम र हरहिसाबलाई व्यवस्थित र पारदर्शी बनाउने, अनेसास एसिया क्षेत्रमा निष्कृय रहेका च्याप्टरलाई सक्रिय बनाउने, अनेसास क्षेत्रीय सम्मेलन आयोजना गर्नेलगायत रहेका छन् ।
अन्त्यमा, नेपाली साहित्यको आयतन सानो भए पनि भूगोल अब ठुलो भइसकेको छ । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भेटिन्छन् । नेपाली भाषा र साहित्य भेटिन्छ । अझ भनौँ, नेपाली भाषा, साहित्य र कला संसारभर छिरोलिइसकेको छ । अनेसासजस्तो संस्थाले ती छरिएर रहेका हाम्रो भाषा, संस्कृति, साहित्य र कलालाई एकीकृत गर्दै संवर्धन र संरक्षण गर्नु पर्छ । नेतृत्वको लडाइँ तत्कालिक हो, तर अनेसासले गर्नु पर्ने कामहरूको अर्थ दीर्घकालसम्म रहन्छ । जित्नेले हार्नेलाई सँगै हिँडाउने, र हार्नेले जित्नेलाई सकरात्मक सहयोग गर्ने परम्परालाई आउने नेतृत्वले स्थापित गरोस्, शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
