नेपाली साहित्य खासगरी गीत लेखनमा परिचित नाम हो, शिव पलाँस । लाखौँ नेपालीहरू समय, परिस्थिति र बाध्यतावश आप्रवासनमा छन् । उनी पनि यतिबेला अमेरिकाको नर्थ क्यारोलिनामा बसेर आफ्नो जीविकोपार्जन गर्दै नेपाली भाषा, साहित्यको प्रबर्द्धनमा  योगदानरत् छन् । देशबाहिर रहेर पनि नेपाली गीतसङ्गीतको क्षेत्रमा सक्रिय उनका गीतमा देशप्रेमको प्रचुरता र उच्च मानवीय चेत पाइन्छ ।

गीतकार पलाँसका गीतहरू सुन्ने क्रममा “माया गर्नुको अर्थ सिउँदो भर्नु होइन”, बिबी अनुरागीको सङ्गीत  र शिशिर योगीको स्वरमा रहेको गीत धेरैपटक सुनेकै हो, गीतको स्थायीले नै सबै कुरा बोल्छ । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका पलाँसले नेपाली साहित्यको आकाशमा आफ्नो प्वाँख  फिजाएका छन् । देश र आफ्नो भाषा, साहित्यलाई माया गर्न भूगोलले फरक पार्दैन भन्ने कुरा चरितार्थ गरेका छन् । उनले आफ्ना गीतहरूमा मानवीय संवेदना र  देश प्रेम अनि  जीवनका उतारचढाव भरेका छन् । गीत र सङ्गीतका माध्यमबाट मीठो झँकार भर्दै नेपाली साहित्काशमा प्रत्येक नेपालीको मनमुटुमा बस्ने गीत लेख्न सफल छन्, गीतकार शिव पलाँस ।

सिन्धु पौडेल (इजरायल)

गीतबाहेक कविता, गजल, मुक्तक र आलेखहरूमा पनि उनको कलम चल्छ र राष्ट्रिय पत्रपत्रिकामा उनका थुप्रै  कविता, गजल र मुक्तकहरू प्रकाशित पनि छ्न् । भर्खरमात्र रिलिज भएको उनको गीत “छोरी”ले मलाई असाध्यै छोयो, सायद म पनि छोरी नै भएकाले होला।

आफ्नो बाबालाई, अझ भनौँ हरेक घर घरका अभिभावकहरुलाई सन्देेश दिने खालको गीत हाे यो । र, सानो छोरीले आफ्नो बाबालाई विनम्रतापूर्वकको गरेकाे आग्रहले गाउँ-गाउँका, अझ भनौँ छोरीलाई पढाएर के हुन्छ र ? भन्ने सङ्कुचित सोच राख्ने हरेक अभिभावकहरूलाई मननीय सन्देशसहित सचेत गराउन सफल छ प्रस्तुत गीत।

गीतकार पलाँसका  गीतले प्रेममात्र बोल्दैन । देश बोल्छन् । मानवीय संवेदना बोल्छन् । र, नेपाल बोल्छन् । उनको गीतले, गीतमात्र गाउँदैनन्, सिङ्गो कथा भन्छन् । इनबक्समा प्राप्त उनका गीति हरफहरू छाम्दै जाँदा केही लेख्नै पर्ने भयो र यति लेख्ने कोसिस गरेँ ।

उनको प्रत्येक गीतमा सामाजिक चेतना भेटिन्छ, जो आवश्यक पनि छ । उनले खासगरी नेपाली सुगमसङ्गीतमा बढी कलम चलाएको देखिन्छ । यद्यपि लोक र पप शैलीका गीतमा पनि आफ्नो उपस्थिति प्रखर रूपमा राखिसकेका छन् ।

उनको प्रकाशित गीति पुस्तक “मायाँ गर्नुको अर्थ” मा ८१ वटा गीतहरू सङ्ग्रहित छन् । यहाँ समेटिएका गीतहरूमा क‍ोमलता, भावनात्मकता, गेयात्मकता र मिठास प्रचुर मात्रामा भेटिन्छन्।

भनिन्छ- साहित्य समाजको दर्पण हो । यो बुझ्नेको लागि शाश्वत सत्य पनि हो । त्यसैले गीतकार आफ्ना गीतको माध्यमबाट समाजमा हुने विकृति र विसङ्गतिको चिरफार गर्दै सुधारात्मक सन्देश दिन सफल देखिन्छन् ।