साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भविलालका गजलमा बुढेसकालको सङ्कटको चिन्ता

लामिछानेले आफ्ना गजलमा समसामयिक युगचेतना, उत्तराधुनिक जीवनशैली, सांस्कृतिक‑सामाजिक‑मानसिक सङ्क्रमणात्मक छापलाई गजलमा उतारेका छन्। देशको राजनीतिको बिग्रँदो अवस्था, पुँजीवादी संस्कारबाट उब्जेको उपभोक्तावाद, बजारीकरण व्यवस्था इत्यादि कुरालाई स्वर दिएका छन् ।

Chovar Blues Mobile Size

१. आमुख

नेपाली कविताको परिप्रेक्ष्यमा भविलाल लामिछाने एक सम्मानित नाम हो। असम क्षेत्रबाट नेपाली कविता साहित्यका एक प्रखर प्रतिनिधित्व गर्ने लामिछाने चार दशकदेखि लेखनमा अनवरत रूपमा सक्रिय छन्। उनको जन्म असमको डिगबोइमा सन् १९५० सालमा भएको हो । आजसम्म उनका जम्मा नौवटा कवितासङ्ग्रह प्रकाशित भएका छन्। यसबाहेक एउटा कथासङ्ग्रह पनि प्रकाशित देखिन्छ।नेपाली गजल(लेखनमा असम प्रान्तबाट पनि प्रतिनिधित्व गर्दै गजलकारका रूपमा अहिलेसम्म प्रमुख रूपमा गोविन्द शाण्डिल्य र भविलाल लामिछाने देखिन्छन्। शाण्डिल्यको गजल गान्धार तथा लामिछानेका केही नज्म केही गजल २००७ र गजल २०११ प्रकाशित छन्।

२. गजलको सामान्य चिह्नारी

कविताको एक प्रयोगका रूपमा रहेको गजल निकै लोकप्रिय रहेको छ।मूलतः यो अरबी भाषाबाट आएको शब्द हो। पछिबाट यो शब्द फारसी, उर्दू, हिन्दी हुँदै नेपालीमा आएको हो। हो। गजलका तीनवटा अर्थ छन्,

अ. व्युत्पत्तिगत अर्थ गजल शब्द अरबेली भाषाको तीन शब्द मिली बनेको छ । ग को अर्थ बोली वा वाणी वा कुराकानी हो । ज को अर्थ नारी हो र अलको अर्थ साथ वा सँग हो। यसर्थ, गजल शब्दले नारीका साथ प्रयुक्त हुने वाणी अर्थात् प्रेयसीसित मधुर वार्तालाप बुझाउँछ।

sagarmani mobile size

आ. विस्तारित अर्थ गजल शब्दको अर्थ नारीसितको प्रेमालाप भन्ने व्युत्पत्तिगत अर्थका अतिरिक्त फारसी र उर्दूका अनेक विद्वानहरूले यसका विभिन्न अर्थ लगाएका छन्। एउटा रोचक उदाहरण यस्तो छ शिकार खेल्दा जब शिकारीको काँड हरिणको मुटुमा रोपिन्छ, त्यसबेला त्यो हरिणले विक्षत ह्रदयले गरेको आर्तनाद्लाई नै गजल भनिन्छ । यस उदाहरणबाट के प्रस्टिन्छ भने गजल भनेको अन्तर्मनका दुःख पीडा, आर्तनाद, विह्वलता, परिताप र छट्पटी व्यक्त गर्ने शब्द हो । यसर्थ, यसले गजलको अझै अर्थविस्तार भई प्रेमिकासित प्रेमको दुःख सुखादिबाहेक कुनै पनि प्रकारको पीडा व्यक्त गर्ने शब्द हो। अतः कुराकानी मात्र सीमित नभई एकाकी आर्तनाद्लाई समेत गजलले व्यक्त गर्ने भयो। आधुनिक गजलमा प्रणयको भावनाको मात्र नभएर समसामयिक हरेक कुराका संवेदना व्यक्त गर्ने भयो।

इ. आध्यात्मिक अर्थः गजलको व्युत्पत्तिगत अर्थले प्रेमालाप हो भन्ने बुझिएपछि फारसी र सुफी धारणामा त्यो कस्तो खालको प्रेम रहेछ बुझ्न सकिन्छ। फारसी प्रेम कवितामा परमात्मालाई नायिकाको र जीवात्मलाई नायकको रूप दिइन्छ। जीवात्म परमात्मा प्राप्तिका निम्ति सदा लालयित हुन्छ र त्यसका लागि सदैव प्रयत्न रहन्छ। नायिकास्वरूपा परमात्माको रूप सौन्दर्य र गुण सौन्दर्यमा मुग्ध भई मिलनका लागि आतुर रही अनुनय,विनय,प्रार्थना,अनुरोध गरिरहन्छ। अतः प्रेममा आध्यात्मिक अर्थ पनि सापेक्षित छ ।

३. गजलको संरचनागत पक्ष

गजलमा मतला, मतला‑ए‑उला, मतला‑ए‑सानी, मकता, काफिया, रदीफ, तखल्लुस, मिसरा, बहर, शेरजस्ता संरचनागत पक्षहरू रहेका हुन्छन्। गजलको छन्दलाई बहर भनिन्छ। नेपाली गजलमा बहरको प्रयोग भने नगन्य पाइन्छ।गजलको एउटा पंक्तिलाई मिसरा भनिन्छ औ दुई मिसराको एक शेर हुन्छ। गजलको पहिलो शेरलाई मतला औ मतलाको पहिलो मिसरालाई मिसरा‑ए‑उला तथा दोस्रो मिसरालाई मिसरा‑ए‑सानी भनिन्छ। मतलाका दुवै पंक्तिमा पूर्वान्त्यानुप्रास र अन्त्यानुप्रास मिलेको हुनुपर्छ। पूर्वान्त्यानुप्रासलाई काफिया र अन्त्यानुप्रासलाई रदीफ भनिन्छ। काफियाले गजलमा ठुलो भूमिका हुन्छ। गजलको मध्यभागको पहिलो मिसराले केही कुराको प्रस्तावना राख्छ औ दोस्रो मिसलाले त्यसलाई पुष्टि गरेको हुन्छ। मतलाबाहेक गजलका अरू शेरको दोस्रो पंक्तिमा काफिया र रदीफ हुनपर्छ। अन्तिम शेरलाई मकता भनिन्छ। कसैले प्रायःजसो मकतामा आफ्नो नामोल्लेख गरेको हुन्छ। यस्तो नामोल्लेखलाई तखल्लुस भनिन्छ।

नवीन पौड्याल (कालिम्पोङ)

४ .भविलाल लामिछानेका गजलका विषयवस्तुगत पठन

भविलाल लामिछानको पछिल्लो गजलसङ्ग्रह गजलमा जम्मा साठीवटा गजल सङ्ग्रहित छन् । प्रस्तुत गजलसङ्ग्रहमा विषयगत विविधता पाइन्छ। कतै जातगत छुवाछुतको विरोध छ त कतै बुढेसकालको सङ्कटको चिन्ता छ । यस सङ्ग्रहमा उनी एक तत्वबोधी, चिन्तक, दार्शनिक, सामाजिक पर्यवेक्षक, विश्लेषक र कतै रोमान्टिक बन्नपुगेका छन्। उनले जीवनमा भोगेका तिता‑मिठा यथार्थलाई गजलको स्वर बनाएका छन् । उनका केही गजलमा प्रेमका केही भाव छचल्किएका भने बेसी जसो प्रेमइतर छन् । यद्यपि समग्रमा हेर्दा उनका गजललाई दुई भाव बन्धनमा विभाजन गर्न सकिन्छ, वैयक्तिक अनुभूति र सार्वभौमिक अनुभूति । वैयक्तिक अनुभूतिअन्तर्गतका गजलहरूमा नरनारीबिचका प्रेमानुराग र त्यसका घातप्रतिघात, पीडाको अनुभव, हृदयको टाडा नजिकका कुरा इत्यादि छन् भने अन्य अधिकांश गजलको मूल स्वर सार्वभौमिक अनुभूति छन्। विश्वबोध, मानवता, अन्तराष्ट्रिय आतङ्कवाद, परमाणु हतियारको होडबाजी, गरीबी र यसबाट उब्जेका नैराश्य, युद्ध चेतना, भू‑उष्णता,राजनैतिक स्वार्थान्धता, विकृत राजनैतिक परिदृश्य र नेतागिरीप्रति आक्रोशजस्ता विषय सार्वभौमिक स्वरभित्र समाविष्ट छन्।

लामिछानेले आफ्ना गजलमा समसामयिक युगचेतना, उत्तराधुनिक जीवनशैली, सांस्कृतिक‑सामाजिक‑मानसिक सङ्क्रमणात्मक छापलाई गजलमा उतारेका छन्। देशको राजनीतिको बिग्रँदो अवस्था, पुँजीवादी संस्कारबाट उब्जेको उपभोक्तावाद, बजारीकरण व्यवस्था इत्यादि कुरालाई स्वर दिएका छन् । भूमण्डलीकरण प्रक्रियाबाट देशका कर्णधारहरू देशबाहिर गई पलायन भएका, महँगाइको मारमा आमजनता पिसिएका,जाति धर्म र अर्थका आधारमा ऱाजनितीको सस्तो खेल खेली देशमा विकृति फैलाइएको कुरालाई यसरी व्यक्त गरेका छन्—

कुर्सीको मोह छैन, सिँहासनमा आँखा ताक्छन्
छोरा मरे मर्छन अरूका, यी रस्तामा हिँड्दैछन्।

जाति धर्म इमानदारी, द्वेष कौशल सबै
निलामीको बजारभरि, यी सस्तामा बिक्तैछन्।

आतङ्कवाद, अशान्ति, परमाणु हतियारको होडबाजीले ल्याएको विश्वब्यापी संत्रास र हिंसात्मक मानसिकतालाई गजलकार लामिछानेले मार्मिक स्वरमा कथ्य विषय बनाएका छन्। धार्मिक संगठनहरू धर्मका नाममा झगडा गर्छन् तर वास्तविक धर्म भने हराइसक्यो। यहाँ सुधारका पक्ष पनि छन्। सामाजिक, आर्थिक, राजनैतिक, नैतिक सुधारको आग्रह छ।

५‌ .भविलाल लामिछानेका गजलको संरचनागत पठन

प्रस्तुत गजलसङ्ग्रहको भावपक्ष सबल र सफल छ भने यसको संरचना र शैली पक्ष भने सामान्य छ। गजल सैद्धान्तिक संरचनामा लामिछाने त्यति जम्न सकेका छैनन्। गजल पठनबाट जुन तासिर आनन्द पाउनुपर्ने हो, सो त्यति पाइन्न। गजलका सामान्य नियमअन्तर्गतका काफिया, रदीफ प्रयोगमा समेत कमजोरी पाइन्छ। उनले अधिकांश गजलमा आंशिक काफियाको प्रयोग गरेका छन्। कुनै कुनै गजलमा त कापिया नै छैनन्। जस्तै,

मेरो जिन्दगी तिमी बन्दकी राखिलेऊ
मेरा सपनाहरू राख, केही विपना देऊ।

कतै भने काफियाको सफल प्रयोग भने नपाइने होइन। जस्तै,

बगिजाने खोला जस्तै बगिजान्छन् मेरा आँसु
दुनियाँको चलन यस्तै, खसिजान्छन् मेरा आँसु।

गजलमा बहरको प्रयोग त छैनन् नै यद्यपि यसमा हुनुपर्ने भाव सघनता, प्रभावकारिता, शब्द सम्प्रेष्यता जस्ता कुरा पनि त्यति पाइन्न।

६. निष्कर्ष

गजल अभिव्यक्तिको सुन्दर माध्यम हो । यसमा कोमल,कलात्मक र प्रभावकारी ढंगमा काव्यात्मक अभिव्यक्ति प्रस्तुत गरिन्छ। मूल रूपमा यो गाइने भएकाले यसमा गेयात्मकता पाइन्छ। यसमा रचनागत नियमावली हुन्छन् जसमा बहर, काफिया, रदीफ, मतला, मतला‑ए‑-उला, मतला‑ए‑सानी, मकता जस्ता कुरा पर्छन्।

भारतीय परिप्रेक्ष्यमा वास्तविक गजललेखनको परम्परा त्यति लामो छैन। सन् २००१ सालमा प्रकाशित सञ्जीव छेत्री र सन्तोष गुप्ताको संयुक्त गजल संग्रह तरल मुटुहरू नै यताको पहिलो गजल सङ्ग्रह मानिन्छ भने त्यसदेखि यता लगभग बाइसवटा जति गजल सङ्ग्रह प्रकाशित भएका छन् ।
भविलाल लामिछानेको पछिल्लो गजल सङ्ग्रह गजलमा जम्मा साठीवटा गजल रहेका छन्। आजको बदलिँदो सामाजिक यथार्थता, गिर्दो नैतिकता र विकृति‑विसंगतिलाई लामिछानेले स्वर दिएका छन्। भाव पक्षमा लामिछाने निकै सफल र सबल छन् भने शिल्प संरचनागत पक्षमा भने त्यति सफल र सबल छैनन्। यद्यपि कतै कतै आलङ्कारिक, स्वाभाविता, सुधारात्मकता, व्याख्यात्मकता, प्रतीकात्मकता, सूचनात्मकता, व्यङ्ग्यात्मकता जस्ता कुरा वस्तुचयनका रूपमा पाइन्छन्। जे होस, मोटामोटी रूपमा भन्नुपर्दा भविलाल लामिछाने गजल लेखनमा पनि निकै सक्रिय, सफल छन् र नेपाली गजल क्षेत्रमा पनि उनले आफ्नो प्रतिभा देखाएका छन्।

सहयोग लिएका पुस्तकहरूः

१.डा कृष्णहरि बरालस गजल सिद्धान्त र परम्परासकाठ। साझा प्रकाशन २०६४।
२.देवी पन्थी गजल सिद्धान्त र समालोचनासकाठ । साझा प्रकाशन २०६४।
३.कृष्ण गौतमस नेपालीमा गजलसाहित्य,पृष्ठभूमि, परम्परा र मूल्याङ्कन गरिमा,समालोचना विशेषाङ्क, पूर्णाङ्क १३७, वैशाख,२०५१,प्र. सम्पा. डा तुलसीप्रसाद भट्टराई .पृ।१२—३७।

लेखक परिचय
नवीन पौड्याल
प्रतिक्रिया
Loading...