न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।

कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ।

(श्रीमद्भगवद्गीता, अध्याय ३ श्लोक ५)।

अर्थात् हरेक मानिसले प्रकृतिबाट अर्जित गुणहरुको अधीनमा रही तद्नुसार कर्म गर्नैपर्छ । कुनै पनि मानिस एक क्षणका लागि पनि केही न केही कर्म नगरी रहन सक्दैन ।

नेपालको सुदूरपूर्वी क्षेत्रको तेह्रथुमका स्थायी बासिन्दा एवम् संस्मरणकार बसन्त श्रेष्ठ जीवनमा आइपर्ने विविध कारणले परदेसिएर अमेरिकावासी बन्न पुगेका छन् । यस समीक्षकसँग पनि बसन्त श्रेष्ठको सन् २००० को सुरुवाती महिनामा अमेरिकाको राजधानी वासिंगटन डी.सी. मा चिनजान भएको हेक्का छ । अर्थात् यो पङ्क्तिकार सन् १९९८ को जुलाई ४ का दिन अमेरिकास्थित नेपाली दूतावासको तृतीय सचिवको पदभार सम्हाल्न पुगेको थियो र बसन्त श्रेष्ठजी म्यासाचुसेट राज्यको बोस्टनबाट बसाइँ सरी वासिंगटन डी.सी.को छिमेकी राज्य भर्जिनियामा आउनु भएको थियो । यसरी संस्मरणकारसँग चिनजान भएको पनि बाइस वर्ष भइसकेको छ । व्यक्तिगततवरमा नै चिनजान भएको र कतिपय साहित्यिक कार्यक्रमहरु समेत दुवैजना मिलेर फत्ते गरेका छौँ, बसन्तजी र मैले । यी कुराहरुबाट स्पष्ट हुन्छ कि बसन्त श्रेष्ठलाई नजिकबाट चिनेको छु मैले ।

नेपाली साहित्यिक क्षेत्रमा बसन्त श्रेष्ठ करिब आधा शताब्दी अगाडि वा वि.सं. २०२५ देखि नै प्रवेश गरेका हुन् । तेह्रथुममा माध्यामिक शिक्षा हासिल गर्ने क्रममा नै ‘तीनजुरे’ नामक हस्तलिखित पत्रिकाको सम्पादन गरेर आफू साहित्यप्रति आकृष्ट भएको कुरालाई प्रस्तुत गरेका थिए । तर समयको ताल र लयसँगै जिउने क्रममा तेह्रथुम, काठमाडौं हुँदै अमेरिकामा स्थानान्तर भई हालसम्म रहनु भएकोले साहित्यलाई निरन्तरता दिइरहन व्यवहारिक कठिनाइको पनि सामना गरिरहनु परेको पाइन्छ ।

तैपनि जीविकोपार्जनको समयबाट उब्रिएको समयलाई सदुपयोग गर्दै संस्मरणकार एवं कवि बसन्त श्रेष्ठले चारवटा कविता कृतिहरु– (बसन्त श्रेष्ठका कविताहरु, भावनाका लहरहरु, उज्यालो खोज्ने आवाजहरु र अर्को गोलार्धमा उभिएको मान्छे), नेपाली साहित्यको भण्डारलाई उपहार दिन सफल हुनु भएको छ ।

साहित्यलाई निरन्तरता दिने क्रममा उनका चारवटा कवितासङ्ग्रहहरु प्रकाशित भएकोबाट स्पष्ट हुन्छ कि बसन्त श्रेष्ठ संसारको कुनै पनि कुनामा पुगेर बसिरहेको किन नहोस्, उनको मन र हृदयभरि साहित्यले मगमगाएको हुन्छ । अझ भन्ने हो भने नेपाली साहित्यको आसामीजस्तै भएर गुण तिर्नमा आतुर भएका व्यक्तित्वले ओतप्रोत भएको आभास मिल्छ ।

 कृतिः अँगालोभरिको अनुभूति

संस्मरणकारः बसन्त श्रेष्ठ

प्रकाशकः साहित्यपोस्ट, काठमाडौं

प्रकाशन वर्षः २०७९

प्रथम संस्करण ।

अब प्रवेश गरौँ सद्यः संस्मरण कृति ‘अँगालोभरिको अनुभूति’ तर्फ नै । यस कृतिमा २१ वटा शीर्षकमा आफ्नो बालापन, विद्यार्थी जीवन, वैवाहिक जीवन, अमेरिकाको यात्रा, कोरोनाको वितण्डा र अढाइ दशकपछि जन्मथलो म्याङ्लुङ बजार आइपुग्दासम्मको जीवनका ऊहापोह अनुभूतिहरुलाई आकर्षक र सुन्दर ढङ्गले प्रस्तुत गर्दै नेपाली साहित्यका पाठकहरुलाई समर्पण गर्ने काम गरेका छन् ।

जय छाङ्छा

यस कृतिमा बसन्त श्रेष्ठको मात्र जीवनका ओह्राली र उकाली लिपिबद्ध भएको  छैन, बरु आम नेपाली जनजीवनको चित्र छ । भोगाइ छ । पीडा छ । हर्ष छ । खुसी छ । आम अभिभावकलेजस्तै इञ्जिनियर बनाउने पिताजीको धोको रहेकोमा विविध कारणले जनप्रशासन पढ्नु परेको कुरालाई बडो इमान्दारीपूर्वक उल्लेख गरेका छन् । पिताजीको महाप्रस्थानपछि घरको जेठो छोरो भएको नाताले घरमूलीको भूमिकामा निभाउनु परेका क्षणहरुलाई पर्दामा सिनेमा हेरेकोजस्तै गरी आकर्षक वर्णनले पाठकहरुलाई आफ्नै भोगाइ हो भन्ने प्रतीत गराउने शिल्प रहेको छ । जस्तो कि विश्व महामारीको समयमा आफू बिरामी परी अस्पतालदेखि घर आइपुगेपछिको अनुभूति र भोगाइलाई चित्रात्मक तरिकाको मर्मस्पर्शी बयानले जो कोहीले शून्य भएर सोच्नु पर्ने स्थिति बनाउन सफल हुनु भएको छ ।

अमेरिका पुग्नुपर्ने भूमिका पनि बडो आश्चर्यलाग्दो छ । डर, त्रास र भयको बीचमा आफ्नी साहिँली बहिनीको विवाह परिवारका सदस्यहरू कोही नपुगेको र कोही आफन्त नभएको देशको नागरिक वा अमेरिकीसँग हुन पुगेको छ । पिताजीको महाप्रस्थानपछि घर व्यवहारको खम्बा बनेर भूमिका निर्वाह गर्दागर्दै साहिँली बहिनी रजनी श्रेष्ठ लेपर्डका सासुससुराले अमेरिका घुम्न आउन निम्तो पठाउँछन् । एकपल्ट पुगेर बहिनीको परिवार र अन्य वस्तुस्थिति बुझेर आउने विचारले अमेरिकी भिसा लिन्छन् । तर घर व्यवहारबाट हात उठाएर जाने कि नजाने द्विधामा परेको समयमा भिसाको म्याद पनि सकिन लागेकोले अमेरिका यात्राका लागि तयार हुन्छन् ।

अन्ततोगत्वा अप्रिल १, १९९४ का दिन अमेरिका प्रस्थान गर्छन् ।

हवाइजहाजको पहिलो यात्रा भएकोले डर, त्रास, भय, असहज र रोमाञ्चका क्षणहरुसँगसँगै यात्रामा सहभागी हुन्छन् । अमेरिका पुगेपछि भने सङ्घर्षका दिनहरु सुरु भएको कुरालाई कत्ति पनि नलुकाई उल्लेख गरेका छन् । करिब एक महिनासम्म कोलोराडोको बोल्डर सहरमा रहँदा काठमाडौंमा अध्ययनको बेला चिनजान भएकी गायिका नीलम श्रेष्ठको सहयोग बारे हृदय खोलेर प्रशंसा गरेका छन् भने थुप्रै सम्भावनाको पोको र अवसरहरुको खोजीमा कोलोराडोबाट न्यूयोर्कका लागि प्रस्थान गरेका छन् र जोन अफ केनेडी विमानस्थलमा पुगेपछिका क्षणहरुलाई यसरी उल्लेख गर्छन् –‘न्यू योर्कको जेएफके विमानस्थलमा उत्रेर एक घण्टाभन्दा बेसी पर्खदा पनि मलाई लिन आउने मान्छे नआएपछि म आत्तिएँ । धेरै पटक फोन गर्दा पनि मलाई लिन आउने भनेको भाइको फोन उठ्दै उठेन । लिन आउँछु भनेको मान्छे नआएपछि मन चिसो भयो ।… जाने ठाउँको ठेगाना त थियो । तर जाने आँट आइरहेको थिएन । …ट्याक्सी लिएर जाने विचार गरेँ ।…धेरै ट्याक्सीको ड्राइभरलाई नियाली सकेपछि बल्लबल्ल एउटा पगरी गुथेको ट्याक्सी ड्राइभर देखेँ ।… उनीप्रति छिमेकीको विश्वास जागेर आयो । त्यसैमा चढें । … मलाई लिन आउँछु भन्ने भाइलाई मैले नेपालमै चिनेको हूँ । उसैले सकेको सहयोग गर्छु दाइ, आउँदा हुन्छ भनेकोले न्यूयोर्क आउने आँट गरेको थिएँ ।’ (अमेरिकाका ती सुरुवाती दिनहरु, पृ.५७)।

विदेशमा सबै नेपालीहरू नेपालीलाई सहयोग गर्ने भावनाका हुँदैनन् । जति अप्ठेरो परिस्थिति हुन्छ, त्यति नै असहयोग गर्नेतर्फ लाग्छन् भन्ने कुराको साक्षी बनेका छन् बसन्त श्रेष्ठ । उनकै शब्दमा –‘म न्यूयोर्क पुगेको पन्द्र दिनपछि महिनाको अन्त भयो । खर्चको हिसाब किताब त्यो भाइले गर्यो । उसले दुईपटक मलाई कोलोराडोमा फोन गरेको थियो । त्यसको हिसाब समेत राखेर मेरो भागमा पर्न गएको हिसाब मलाई दियो । फोन गरेको बिल कति नै पो थियो र ? त्यत्ति सानो रकम पनि राखेको देखेर अलिकति नमीठो चाहिँ लाग्यो ।…. काम सुरु नगरेको अवस्था थियो त्यो । पैसा समयमा नै दिनुपर्छ । बिल समयमै तिर्नुपर्छ, नत्र क्रेडिट बिग्रन्छ भनेर भन्न पनि भ्यायो ।’ (अमेरिकाका ती सुरुवाती दिनहरु, पृ.६०)।

समय र परिस्थितिको दास होइन्छ मान्छे । सोचेजस्तो र इच्छा गरेजस्तो पुग्ने भएको भए मान्छेहरुले दुःख, पीडालाई आत्मसात् गर्दै सङ्घर्षको मैदानमा उत्रनु नै पर्ने थिएन । सङ्घर्षका पलहरुबाट टाढिएर रहने भएको भए उन्नति र प्रगतिपथमा पुग्ने कोसिस नै गर्ने थिएनन् र स्थिरताको जीवनमा बाँच्ने थिए । यिनै कुराहरुलाई मनन गर्दै आफ्रनो उन्नति र प्रगतिका लागि न्यूयोर्क छोडेर म्यासाचुसेट राज्यको बोष्टन सहरतर्फ स्थानान्तर भएका छन् बसन्त । बोस्टनमा पुगेपछि ताप्लेजुङ बजारकी गीता श्रेष्ठ र उनका पति राजु उपाध्यायले अन्तरहृदयदेखि सहयोग गर्छन् । काम पाउँछन् र नर्थ सोर कम्युनिटी कलेजमा अध्ययन गर्न थाल्छन् ।

यस्तैमा सन् १९९५ को सुरुमै आफ्नी धर्मपत्नी विद्या र छोरा बबिन पनि नेपालबाट आइपुग्छन् । यसको साथसाथै ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी’ मा सम्मिलित भएर नेपाली चाड पर्वहरुका साथै नेपाली भाषा, साहित्य, संस्कृति फाँटमा सक्रियताका साथ सहयोग गर्नेतर्फ अग्रसर भएका छन् । यसै सन्दर्भलाई प्रकाश पार्न यसरी उल्लेख गर्छन्– ‘प्रवासमा आफ्नो भाषा, साहित्य र संस्कृतिले आफ्नो जातीय अस्तित्व र पहिचान कायम गर्नका लागि धेरै नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरा बुझेपछि मैले पनि नेपाली भाषा र साहित्यको जगेर्नाका लागि केही गर्ने अठोट गरेँ ।’ (स्थायित्वको खोजीमा बोस्टनतिर, पृ.६६)।

नेपाली साहित्यलाई अमेरिकामा बसेर पनि केही मात्रामा टेवा दिने प्रयास स्वरुप – ‘बोस्टन साहित्यिक सम्पर्क’ खोलेर कोठे कविता गोष्ठीको आयोजना गर्ने कार्यको थालनी गरेको थिए भने सन् १९९८ मा नेपाली साहित्य समाजको अध्यक्ष भएर कार्य गरेको कुरालाई सहर्ष उल्लेख गरेका छन् । त्यसरी सन् २००० मा बोस्टनबाट वाशिंगटन डी.सी.मा बसाइ सरेपछि ‘एसोसिएशन अफ द नेपलिजइन द अमेरिका’ र ‘नेपलिज एसोसिएसन इन द साउथ इष्ट अमेरिका’ सँगको संयुक्त बृहत् सम्मेलन जर्जिया राज्यको एटलाण्टा सहरमा ‘अन्तर्राष्ट्रिय कविता महोत्सव’को आयोजना समेत गर्ने कार्यमा नेतृत्वदायी भूमिका रहेको कुरा उल्लेख गरेका छन् ।

जीविकाका लागि कहिले जागिर गर्ने त कहिले अन्य पेशातर्फ पनि लागेर अमेरिकाको बसाइलाई जीवन्त राख्ने कार्यमा पनि लागेका छन् बसन्त । यस्तैमा भाइ हेमन्त श्रेष्ठ काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको सेवाबाट  राजीनामा दिएर अमेरिकामा नै बस्ने गरी आएपछि वासिंगटन डी.सी.मा सन् २००० मा ‘माउण्ट एभरेष्ट रेष्टुराँ’ सञ्चालनमा ल्याएका पाइन्छन् । उक्त रेष्टुराँमा पनि सन् २००१ मा स्थापना भएको ‘द एकेडेमी अफ नेपाली पोयट्स् एण्ड राइटर्स’ ले अमेरिकी तथा नेपाली पोयट्सको कविता सुन्ने र सुनाउने कार्यक्रम ‘ओपन माइक फोरम’ को आयोजना समेत गरेको कुरालाई उल्लेख गरेका छन् ।

यिनीहरुको साथसाथै बसन्त श्रेष्टको अमेरिकास्थित विविध नेपाली संघसंस्थामा संलग्न भई विविध पदहरुमा रहेर सेवा गरेका छन् । जस्तै ‘छिमेकी गाउँ’, ‘अमेरिका नेपाली सोसाइटी’, ‘नेपाल पासापुच अमेरिकाएँ’, ‘अन्तरराष्ट्रिय साहित्य समाज’, ‘अमेरिका नेपाल सोसाइटी’, ‘कोठे कविता गोष्ठी’ आदिका साथसाथै विभिन्न पत्रिकाहरु सम्पादन गर्ने कार्यमा अग्रणी भूमिका निभाएको पाइन्छ ।

वास्तवमा राम्ररी पठन गर्ने हो भने यस कृतिको महत्त्वपूर्ण पक्ष भनेकै निम्नबमोजिम उदृत चाणक्य नीतिको कुराहरुसँग बसन्त श्रेष्ठको भोगाइ र व्यवहार सकरात्मक तबरले मेल खान गएको पाइन्छ । जसमा भनिएको छः

धर्मार्थकाममोक्षेषु यस्यैको अपि न विद्यते

जन्मजन्मनि मत्र्येषु मरणं तस्य केवलम् ।

(चाणक्य नीति, तृतीय अध्याय, श्लोक २०)।

अर्थात् जसले मनुष्यको जन्म पाएर पनि धर्म, अर्थ, काम, मोक्ष यी चारमध्ये एउटैको पनि प्राप्ति गर्न सक्दैन भने  त्यस्तो व्यक्तिले अनेक जन्म लिए पनि त्यसको फल केवल मरण मात्र हुनेछ ।

 यो चर्चा गरिँदै गरिएको संस्मरण सङ्ग्रहमा जन्म दिने पिता, माता र परिवारप्रति आदर, स्नेह र प्रेमले ओतप्रोत भएको पाइन्छ । वि.सं. २०३९ सालमा महाप्रस्थान गर्नु भएका पिता नारायणमान श्रेष्ठका सुकीर्तिहरु र परिवारप्रतिको गहिरो प्रेमका साथसाथै सामाजिक कार्यका अभियन्ताका रुपमा गरेका कार्यहरुलाई सविस्तार उल्लेख गर्दै पितृ ऋणबाट मुक्त हुने कार्यमा श्रद्धापूर्वक शब्दहरु खुला हृदयले उल्लेख गरेका छन् ।

त्यसरी नै आफ्ना माता सुभद्रादेवी श्रेष्ठको विवाहपछिका कष्टप्रद यात्रा, आफ्ना १० छोराछोरीहरुका लालनपालन गर्ने कार्य बोझले थिचिएकी आमाको सम्बन्धमा एउटा शीर्षक नै ‘आमाः मेरी आँटिली आमा’ राखेर आमाप्रतिको श्रद्धा, प्रेम र समर्पणलाई प्रकाश पार्दै लेख्छन्– ‘भगवान् जहीँतहीँ उपस्थित हुन सक्दैनन् त्यसैले आमा बनाइदिए ।’ (आमाः मेरी आँटिली आमा, पृ.७१)।

आफू गएको ४ वर्षपछि वा सन् १९९८ मा आफू बस्दै गरेको सहर बोस्टनमा नै आमालाई भेट्न पाउँदा अचम्म र खुसी लागेको कुरा उल्लेख गरेका छन् । साथै मुमाको माइती काठमाडौं भएको र कर्मघर तेह्रथुम भएकोले यातायातको अभावका कारण आफ्नो माइतीघरमा १२ वर्षपछि मात्र फर्कन सकेको कुरालाई बडो मार्मिक तबरले उल्लेख गरेका छन् । साहस, आँट, निर्भीक, सन्तानप्रतिकी अगाध प्रेमले भरिएकी आफ्नी माताले अमेरिकामै सेप्टेम्बर १४, २०११ का दिन सबैसबैलाई छोडेर महाप्रस्थान गर्नु भएको कुरालाई स्मरण गर्दै लेख्छन् – ‘आज प्रवासमा आमा सम्झेर यी पङ्क्ति कोर्दै गर्दा म ग्लानि र लाछी महसुस गर्छु ।… कतै कहीँ न कहीँ पर्याप्त मात्रामा आफ्रनो कमीकमजोरी आफूभित्र रहेको पाउँछु ।’ (आमाः मेरी आँटिली आमा, पृ.७९)।

यसरी नै बसन्त श्रेष्ठको ‘अँगालोभरिको अनुभूति’लाई सरसरती सिंहावलोकन गर्दा ‘विदुर नीति’ मा ठिकै भनिएको रहेछ भन्ने आभास हुन्छ –

अग्नौ प्रास्तं तु पुरुषं कर्मान्वेति स्वयंकृतम् ।

तस्मात्तु पुरुषो यत्नाद्धर्मं सञ्चिनुयाच्छनैः ।

(विदुर नीति, आठौं अध्याय, श्लोक १८)

अर्थात चितामा लगाउनु ठीक्क पारिएको मृत पुरुषको साथमा सिर्फ उसको कर्म जान्छ । यसर्थ पुरुषको कर्तव्य यत्नपूर्वक आफ्नो धर्मको सञ्चय गर्नु हुनेछ ।

 आफ्ना मातापिता, दिदी बहिनीहरु र भाइहरु लगायत आफ्ना परिवार जनमा यथासक्य कसैको चित्त नदुःख्ने गरी इमान्दारीपूर्वक मन,वचन र कर्म गरेको कुरा विदित हुन्छ । त्यसरी आफन्त, इष्टमित्र तथा साथीसङ्गीहरुलाई समेत उदार हृदयले सहयोग गर्ने गरेको स्पष्ट हुन्छ । साथै कोही कसैले आफूमाथि अन्याय गर्दा पनि बदलाको भावना नलिने दिलदार हृदय भएको व्यक्तित्वका धनी भएको पाइन्छ बसन्तलाई । तर यसो भन्दैमा कुनै त्रुटि विहीनको सद्यः कृति छ भन्न सकिन्न । गौण गरेर केलाउँदा सानातिना गल्तीहरु अवश्य छन् । जस्तो कि विश्व मानचित्रमा नभएको देश बाली भन्ने देश (पृ.५०) मा उल्लेख हुनु र सन् २००० मा जर्जियामा आयोजित ‘अन्तरराष्ट्रिय नेपाली कविता महोत्सव’को आयोजक ‘अन्तरराष्ट्रिय साहित्य समाज’ र आयोजकहरुमा बसन्त श्रेष्ठ, शिव गौतम, जय छाङ्छा र किरण ढुंगाना रहेको आफैं साक्षी भए पनि केही मानवीय भूलवश नै हुन सक्छ उल्लेख हुन छुट भएको । (पृ.८८) । तर यस्ता ऐतिहासिक कुराहरुको उल्लेख गर्दा छुटाउँदा सच्चा इतिहास ओझेल पर्न सक्छ । त्यस बखतका सच्चाइहरु आएको भए अझै सुनमा सुगन्ध हुने थियो भन्ने लाग्यो ।

केही कुरालाई अपवादका रुपमा सम्झने हो भने सद्य कृतिको समग्र अध्ययनबाट बसन्त श्रेष्ठको साङ्गोपाङ्गो स्थिति त छर्लङ्ग हुन्छ नै त्यसभन्दा पनि परतिर एक व्यक्तिको दायित्व परिवारमा के हुन्छ ? समाजमा के हुनुपर्छ ? भाषा साहित्यप्रतिको चिन्तन के कस्तो हुनुपर्छ भन्ने कुरा पनि जान्न र बुझ्न पाइन्छ । त्यसैले सर्जक बधाइका हकदार हुनुहुन्छ भन्दा कत्ति पनि अत्युक्ति हुँदैन ।

इति ।