‘बीसौँ शताब्दीकी मोनालिसा’ कथासङ्ग्रहबारे एक वर्षअघि कवि विशाल केसीले फोनमा वार्ता हुँदा प्रशंसाको पुल बाँधेका थिए। प्रशंसाको फलस्वरूप मैले पुस्तक पाउने प्रचेष्टा पनि राखेँ तर उहाँले पुस्तक उपलब्ध गराउने असमर्थता जनाइदिए किनभने त्यो बखत उहाँसँग पुस्तक थिएनछ। त्यसको केही महिनामा विशाल केसीद्वारा लिखित ‘विक्रमवीर थापा- मेरो आँखीझ्यालबाट’ पुस्तक लोकार्पित भयो । १९९९ मा साहित्य अकादमीद्वारा अलङ्कृत ‘बीसौँ शताब्दीकी मोनालिसा’ का कथाकारको जीवनवृतान्त जान्ने अवसर पाइयो। भारतीय सेनाबाट सेवानिवृत्त भएका विक्रमवीर थापा भारतेली नेपाली साहित्यमा चिरपरिचत नाम हो। ‘विक्रमवीर थापा- मेरो आँखीझ्यालबाट’ पुस्तकबाहेक पनि स्वयं विशाल केसीले विक्रमवीर थापासम्बन्धित निकै संस्मरण मसँग साझा गरेका थिए।
केही साता अघि बुकअंट वेभ पोर्टलमा ‘बीसौं शताब्दीकी मोनालिसा’ पुस्तक बेच्न राखेको फेला पारेँ। मलाई पढ्न मन लागेको पुस्तक फेलापरिसक्दा अर्डर गर्न समय नष्ट गरिनँ। हप्तादिनमै पुस्तक हात पर्यो। विशाल केसीले मलाई विक्रमवीर थापा आठ कक्षा मात्र पढेका हुन् तर उहाँको लेखाइ उच्चकोटिको छ भनेका थिए। तर आफूले नपढेसम्म अरूको कुरामा भर पर्न गाह्रै पर्छ। यद्यपि सामाजिक सञ्जाल विक्रमवीर थापाका लघु संस्मरण पढेर उहाँको भाषाशैलीबाट म प्रभावित थिएँ। यो कथासङ्ग्रह हात परेपछि पढ्दै गरेको उपन्यास फातसुङलाई साइड लगाएर ‘बीसौं शताब्दीको मोनालिसा’ पढ्न थालनी गरेँ। प्रकाशकीय लेखमा लेखिएको रहेछ-‘विक्रमवीर थापाज्यू नेपाली साहित्यकाशका प्रकाशपुञ्ज हुनुहुन्छ।’ यो वाक्यले मेरो मनलाई छिचोलेन कारण सामाजिक सञ्जालमा उहाँले लेखिएका अपच्य एवं अभद्र दिप्पणी एवं अरूले उहाँको टिप्पणीमा अभद्र भाषाको प्रयोगले खेदो गरेको पढेको थिएँ। महान साहित्यकारले कतै यस्तो असमाजिक एवं अस्वीकार्य सन्भर्द सामूहिक रूपमा लेख्छ र? साहित्यकार भनेको त सहज, सरल र बौद्धिकताको प्रतिमूर्ति पो हुन्छ त! यस्तै भावनामा बगेको थिएँ तर मैले उहाँको लोक व्यवहारमाथि तर्कविर्तक गर्ने विषय होइन अनि मलाई यसका लागि कसैले निर्णायक मण्डलीमा राखेको पनि छैन। सबैले स्वतन्त्रतासँग आफ्ना भावना व्यक्त गर्न पाइन्छ। जे अभिव्यक्त गरे पनि उहाँको स्वेच्छिक अभिलाषा हो, व्यक्तिगत कुरा हो।
चार बसाइमा मैले ‘बीसौं शताब्दीकी मोनालिसलाई’ सर्लक्कै पढेँ। जति कथा पढ्दै गएँ उहाँप्रति सम्मान बढ्दै गयो, नतमस्तक हुँदै गएँ। यथार्थमा वाह! वाह! पनि मनैमन भनेँ। पछिल्लो केही वर्ष यता वेभ पोर्टलमा, पत्रिकामा, पुस्तकमा नेपाली कथाहरू निकै पढेँ। ती मध्य कति कथासङ्ग्रह विभिन्न पुरस्कारबाट पुरस्कृत एवं दोस्रो संस्करणमा परिणित भएका थिए तर विक्रमवीर थापाका कथाका अगाडि फिक्का लाग्यो । साहित्य अकादमी पुरस्कार अर्जित गर्न पनि आजभोली लोबी चल्छ, निर्णायक मण्डलीलाई प्रभावित पारिन्छ इत्यादि यदाकदा सुनिन्छ तर विक्रमवीर थापाको पुस्तकले साहित्य अकादमी पुरस्कार पाएकोमा प्रश्न गर्न सकिन्छ जस्तो लागेन। यसको गुणवत्ता एवं सान्दर्भिक विषयवस्तुको प्रभावले योग्यता प्रमाणित भएकोमा कुनै दुईमत हुन सक्दैन।
कुनै पनि कथासङ्ग्रह पढ्दा सङ्ग्रहमा सङ्ग्रहित कथामध्य धेरै भन्दा धेरै तीन-चार कथाले पाठकको मनमा छाप छोड्छ जसमा कथासङ्ग्रहको मुटु अड्किएको हुन्छ। यो सन्दर्भ ‘बीसौँ शताब्दीकी मोनालिसमा’ लागु गर्न सकिन्दैन। एकाध कथालाई छोडेर प्रत्येक कथा पाठकीय मनमा अङ्कित हुन् भएर बस्छन्। कथा बलिया एवं ठोस छन् जसमा दृष्टिपात गर्दा प्रशंसा गर्नबाट बाँचिदैन।
उक्त कथासङ्ग्रहको समीक्षा गर्न सायद मेरो मतिष्कमा त्यति बल त नहोला यद्यपि कथाले मेरो मन-मष्तिष्कमा निकै प्रभाव पारेको हुँदा केही प्रतिक्रिया लेख्ने प्रयत्न गर्दैछु। सङ्ग्रहका सप्पै सोह्र कथाहरू मेरो जन्म नहुँदै साठीदेखि असीको दशकमा लेखिएका रहेछन् तर आज पनि उत्तिकै रसिला एवं नैसर्गिकतामा बाचेका ।
कथासङ्ग्रहको अद्योपान्त गर्दा कथाकारको विषयवस्तु नारीवादको छेउछाउ घुमिरहन्छ विशेषगरी वेश्यामा जसलाई समाजले उच्छृङ्गलता, अपहेलित एवं अस्वीकार्य ठानेको हुन्छ। कथाकारले वेश्यालाई फगत वेश्याको रूपमा नहेरेर नारीको प्रतिमूर्ति मान्दै समाजको अगाडि उनीहरूप्रति राखिएको सोच एवं मानसिकताको विरूद्ध वकालत गर्दै ढाल बनिएर समाजलाई वज्रघात हानेको बुझिन्छ।
विक्रमवीर थापा स्वयं अविवाहित, एक्लो बस्ने चित्रकार एवं साहित्यकार हुन् तर नारीको यति सूक्ष्मतामाथि सूक्ष्म विन्दुहरूलाई बटुलेएर कसरी लेख्न सकेका ? प्रश्न अवश्यै आउँछ कथा पढ्दा । कथा पढ्दा यस्तो लाग्छ स्वयं कथाकार नारीको रूपमा परिवर्तित भएर उसले भोगेका पीडा, समाजबाट अपेक्षित भएर मनबाट निस्केको ज्वालामुखी लाभा अक्षरमा बाँधिदिएकी हो। कथाकारले वेश्याको चरित्रलाई निकै गहिरो गरी अध्ययन गरेको भान लाग्छ या वेश्याबाट उहाँले स्वयं कथा सुनेको हुनुपर्छ। यहाँ वेश्याको सन्दर्भ राख्दा सबैलाई लाग्न सक्छ कि पुस्तकमा अश्लील दृश्य एवं वर्णनन् होलान् तर यस्ता तत्वहरू फेला पर्दैन कथामा। सायद यस्तै सोचलाई कथाकारले विषयवस्तु बनाएर समाजलाई ठोस संदेश दिन खोजेका छन्।
साहित्यमा वेश्यामाथि रचना एवं कृति लेखिएको नयाँ कुरा होइन। अझै पनि वेश्यावृत्तिमाथि कथा, कविता, निबन्ध, आलेख, उपन्यास लेखेको देखिन्छ, पढिन्छ । यहाँसम्म कि चित्रकारले पनि अधिक वेश्याकै चित्र बनाइदिन्छ । वेश्यालाई भोक-वासनाको वस्तु बनाइयो तर कला र साहित्यमा पनि यसको बखान गर्न पछाडि कदापि छैनौँ । उनीहरूलाई साहित्यमा स्थान दिएर एकातिर सम्मान गरिएको छ भने अर्कातिर उपहास गरिएको छ । यही सन्दर्भमा गास्न चाहन्छु- वेशाली जनपदकी राजनर्तकी एवं गणिका आम्रपाली एवं महात्मा गौतबुद्धको भेट सबैले सुनेकै हो। आम्रपालीको आतिथ्य स्वीकार गर्दा महात्मा गौतम बुद्धका शिष्य अचम्भित थिए। शिष्यले प्रश्न पनि गर्छन् वेश्याको आतिथ्य स्वीकार गर्नेको अभिप्राय? तब महात्मा बुद्धले भन्छन्-‘मैले आम्रपालीको हृदयमा मायाको अनुभूति देखेँ। उनको आग्रहमा शर्तरहित आत्मा भेटेँ जसमा शुद्धता थियो, प्रेम थियो। उनी आज मलाई भेट्न वेश्याको रूपमा नआएर भक्तिको रूपमा आएकी हुन् तब मैले उनको निमन्त्रणा कसरी स्वीकार नगर्ने? चाहे त्यो वेश्या होस् या सन्न्यासी, शुद्ध आत्माको सम्मान गर्नु हाम्रो धर्म हो।’ भगवान बुद्धको यो अभिप्रायले बुझ्न सकिन्छ कि वेश्याले अनकौं पुरूषसँग शारीरिक सम्बन्ध राखेर अपवित्र (तथाकथित समाजले राखेको धारणा) भए तापनि ऊ हृदयले पवित्र एवं सम्माननीय हो। सायद यही सोचलाई हाम्रो समाजले अनादिकालेदेखि स्वीकार्न सकेको छैन। दिनमा वेश्यावृत्तिको विरूद्ध कुरा गर्ने व्यक्ति अँध्यारोमा वेश्याको ओछ्यानमा लडिबडि गर्न पुग्छ।
के यहाँ पुरूषमाथि प्रश्न गर्न सकिँदैन? के पुरूष वेश्यालयमा नजानु भने नारी वेश्या हुने थिई होला? हालैमा हिन्दी सिनेमा जगतमा सत्य कथामा आधारित एउटा चलचित्र आएको थियो ‘गंगुबाई कठियापाडी’। उक्त चलचित्रमा देखाएको छ कसरी एउटी प्रतिष्ठित घरकी चेली वेश्या हुन पुग्छे। कोही पनि स्त्री स्वेच्छाले वेश्यावृत्तिको बाटो स्वीकारेको कथा बिरलै होला। यही चलचित्रमा गणिका गंगुबाइले एउटा सम्भाषणमा भन्छे- दुनियाँको सबैभन्दा पुरानो पेशा वेश्यावृत्ति हो। हाम्रो बिना त स्वर्ग पनि अधुरो छ। अलिकति त हामीलाई पनि समाजले सम्मान दिनुपर्छ। तिमीहरूको एकचोटि इज्जत गयो त गयो तर हामीले दिनरात इज्जत बेचे पनि कहिल्यै सकिँदैन। अलिकति दिमाखमा जोड दिएर सोच त वेश्या नहुनु भने समाजको के हाल हुन्छ ? नारी हवसको शिकार भएर लुछालुछ हुनेछे, पुरूषको वासनाको आँधीमा नारीको नारीत्व विलय हुनेछ, परिवार तोडिने छ, समाज उजाडिनेछ, सभ्यता नाश हुनेछ।’ यो चलचित्रको कथानकले वेश्याको बढावा त पक्कै गरेको होइन र गर्नु पनि हुँदैन तर उनीहरूले पनि समाजमा अरू महिलासरी सम्मान पाउनु पर्छ भन्ने उद्देश्य हो । पुरूष एवं पारिवारिक उत्पीडन, अर्थाभावको पीडा एवं आत्मनिर्भरता हुन नदिएर जीविकोपार्जन गर्नलाई वेश्यावृत्तिको बाटो जान बाध्य पार्ने पनि यही समाज हो । यही तितो सत्यलाई केन्द्रविन्दु बनाएर कथाकारले वेश्याको अधिकारलाई समाजबिच प्रस्तुत गर्नका निम्ति ठुलो साहस बटुलेको अनुभव लाग्छ ।
कथाकारले नारीको अन्तनार्द पीडालाई, नारीको नारीत्वलाई, ममत्वलाई, समाजबाट अपहेलित भएको कष्टलाई कथानकको पासोमा अल्झाएर समाजको कुसोचमाथि प्रहार गरेका छन् । कथामा आमाको ममता, उसमा विराजीय संतानप्रतिको अथाह प्रेम, वेश्यावृत्तितिर जाने बाध्यता, वेश्याको अन्तर्द्वन्द्व, वेश्यामा लुकेको ईश्वरीय शक्ति, वेश्यामा विद्यमान नारीत्व, वेश्यामा लुकेको दयाभावना, उसको अन्तर्मनमा धिपधिप जलेको पारिवारिक जीवन व्यतित गर्ने इच्छाशक्ति, उसले समाजबाट पाएको निरादर, पाश्चात्य समाजको प्रभावले नारीको नारीत्वमा परेको दुष्प्रभाव, पतिबाट पाएको अपहेलनाजस्ता जीवन्त सन्दर्भलाई विषयवस्तु राखेका छन् भने साहित्यमा सङ्लग्न प्रतिष्ठित साहित्यकार एवं प्रकाशकहरूप्रति पनि नवीन साहित्यकारलाई उपयुक्त अवसर प्रदान नगरेको गुनासो पोखेको पहिलो क्रमको कथा ‘मेडको प्रभाव’ मा भेटिन्छ । स्वयं विक्रमवीर थापा नेपाली भाषी हुनाले कथाको माध्यमबाट नेपाली र गोर्खालीको बिचमा जातियताको विषयमा जुन बहस चल्दै आएको छ त्यसलाई विषय वस्तु बनाएर ‘स्व’लाई पहिचान गर्ने संदेश दिएको पाइन्छ । कथाकार यहाँ थामिन्दैनन् उहाँले गोर्खाली समाजमा चलिआएको विडम्बना- पुस्तक पढ्नु भन्दा रक्सी खानेतिर प्राथमिकता दिएको सन्दर्भमा प्रकाश हालेर ठोस संदेश हामीबिच राखेका छन् ।
विक्रमवीर थापाको भाषाशैली र शिल्पमा नियाल्दा कथा अब्बल दर्जाका फेला पर्छन् । कथा पढ्दा मलाई भाषा कताकता प्रेमचन्दको उपन्यासमा पढेको भाषाशैली जस्तो लाग्यो। कथाकारको भाषामा निःसंदेह जादु छ। पात्रको पात्रत्व अनि भाषिक श्रृङ्गारले आकर्षण प्रदान गरिको छ। लेखन एवं वर्णन शैली अति साहित्यिक एवं भिन्न लाग्छ। पुराना नेपाली गाउँले अनि संस्कृत शब्दले सजिएको भाषाले शब्दकोश हेर्न बाध्य पार्छ भने खाँटी साहित्यिक पुस्तक पढेको अनुभव गराउँछ। यी नै कथाका बलिष्ट पक्ष हुन पुग्छन्। शिल्प निर्माण यति राम्रो छ कि कथा शुरू र अन्त भएको पाठकलाई अनुमान लगाउन गाह्रो पर्छ। वर्णनन् शैलीको मिठासले पाठक कथाभित्र विचरण गरेको स्वयंलाई पाउँछ।
कथानकको भित्र जहाँ स्थान पाउँछन् विषयवस्तुलाई बल्याउन चोटिला ज्ञानका कुरापनि राखेको पाइन्छ जुन चैँ दार्शनिक, अध्यात्मिक र सांस्कृतिक तत्वले ओतप्रोत भएका छन्। भाषाशैली र शिल्पकला छोडेर पनि कथामा अन्य विशेषता भेटिन्छ। कथा काल्पनिक भए तापनि कथामा आएको स्थानको वर्णनन्, ऐतिहासिक कुराको समावेशी एवं सान्दर्भिक तत्वको जोडाइले कथालाई सत्य तुल्याउन सहायक हुन्छन्। कथाकारको व्यक्तिगत जीवनको अनुभव एवं भोगाइले प्रभावित पारेको छ। कथानकमा कथाकारको व्यक्तिगत सोच एवं चरित्र अवश्यै प्रतिबिम्बित भएको हुन्छ। यही स्वरूपमा विक्रमवीर चित्रकार एवं सैकिनमा आबद्ध हुने भएर यहाँले देखको एवं भोगाइको अनुभवीय मिश्रणले कथालाई पल्लवित बनाएको भान लाग्छ। स्वयं कथाकारले लेखेको भूमिकामा आफू आठ कक्षा पढेको जिक्र गर्दिएको हुँदा पुस्तक नपढी कथाको स्तरमाथि निम्नताको अनुमान लगाइन्छ तर अद्योपान्त गरेपछि कथा कुनै सिद्धस्त प्राध्यापकले लेखिके झै भान लाग्छ। कथाकारले सिद्ध गर्छन् कि अध्ययनशील हुनु र लेखनकलाको बिउ मन-मस्तिष्कमा उम्रेको छ भने कथा उच्चकोटिका फुल्नेछन्।
जम्मै कथाका उद्देश्य सममाजप्रति तेर्सिन्छन्। समाजको सोच एवं धारणालाई उदाङ्गो पारेर सामाजिक समानता एवं संतुलनका लागि संदेश छोडेका छन्। कथा सङ्ग्रहका विषय वस्तुमा बहस गर्दा निश्चत रूपमा यी नै विषयले विजय प्राप्त गर्छन् तर समाजले हार स्वीकारे पनि अमल गर्न अझैसम्म सकेको छैन। सायद भविष्यमा गर्छ भन्न पनि संशय लाग्छ। जस्तैः वेश्याले समाजमा विवाह गरेर नयाँ जीवन सुरू गर्न सक्नेछन् सन्दर्भमा बुद्धिजीवि पक्षधार हुँदा, संविधानले अधिकार दिँदा पनि समाजले स्वीकार्न गाह्रो गर्छ। यो कटुसत्य छँदाछँदै पनि कथाकारले यो सोचमाथि मजाले प्रहार गरेर पुनः सोच्न बाध्य बनाउँछन्।
सङ्ग्रहमा कथाकारले नारीवादी विषयलाई उठान गर्दा नारी सुशील, शोभनीय, लज्जाशील एवं सांस्कृतिक परिधान अपनाउनेमा बल दिएको पाइन्छ। छोटा-छोटा पहिरन लगाउँदा पुरूषको वासना जाग्ने, यस्ता पहिरनले नारीत्वमा आघात लाग्ने, नारी जातिको अस्मिता हराउने जस्ता कुरामा कथाकार सहमत भएको लाग्छ। वर्तमानको कुरा गरौँ भने यो बहसमा कथाकारको हार हुने अधिक सम्भावना देखिन्छ। आजभोली पहिरनले भन्दा पनि मान्छेको स्वच्छ सोच हुनुपर्छ भन्ने कुरातिर सबैको सोच विकसित भएको छ। पहिरनले पुरूषको वासना जाग्नु त फगत एउटा कुसोच हो भन्ने सबैले प्रमाणित गर्न लागेका छन्। कथाकारको सोच यथार्थमा अस्वीकार्य होइन तर पनि अर्को पक्षमा हेर्दा चैँ नारीलाई सीमित दायरामा राख्न प्रयत्न गरेको जस्तो लाग्छ। आजभन्दा चालिस वर्ष अघि यी कथा लेखिएका हुनाले पनि अहिले बहसको विषय बन्न पुगेको हुन सक्छ। जम्मै कथामा नारीको उत्पीडन एवं वेश्यावृत्तिको विषयवस्तु अधिक हुँदा कुनै-कुनै कथा दोह्रोएको जस्तो पनि लाग्छ। गहिरो चिन्तन गर्दा नारीवादको अन्य पाटाहरूको पनि उल्लेख गरेर सङ्ग्रहमा स्थान दिएको भए अझ नारीवादको व्यापाक सन्दर्भ आउने थियो जस्तो लाग्छ।
दुई दशकपिछ ‘बीसौँ शताब्दीको मोनालिस’ को दोस्रो संस्करण आउनुबाट नै अर्थ स्पष्ट छ- पुस्तकको उचाइ, गुणवत्ता, भाषाशैली एवं शिल्पकला उत्कृष्ट छन्। यी कथाले समाजलाई संदेश मात्र नदिएर आउने नवीन साहित्यकारलाई लेखनका गुण सिकाउन सक्षमता प्रदान गरको छ भन्न आँट लाग्छ।
‘बीसौँ शताब्दीकी मोनालिसा’ पढ्दा स्वयं मलाई व्यक्तिगत रूपमा साहित्यिक ऊर्जा बढोत्तरी भएको अनुभव लागेको छ। आशा छ यो कथा सङ्ग्रह यसरी नै पिँढीदरपिँढीले मन पराउनेछन्।
कथाकारप्रति हार्दिक सम्मान प्रकट गर्दै अन्तमा शुभकामना लेख्न चाहन्छु।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।