लेखक परिचय
स्रष्टा एवम् द्रष्टा डम्बर दाहाल (१९५८) नेपाली साहित्यको फाँटका मलिला प्रतिभा हुन् । सन् १९७२ देखि लेखन आरम्भ गरेका दाहाल अझ असमेली नेपाली साहित्यको क्षेत्रमा साधनारत अग्रज सर्जकका रूपमा पनि स्थापित छन् । दाहालले डिमापुरबाट प्रकाशित ‘युवक’ पत्रिकामा सन् १९७३ मा पहिलो ‘वसन्त’ कविता र सन् १९८० को ‘बिन्दु’ पत्रिकामा ‘यसरी दुःखीको दिन गुज्रन्छ’ पहिलो कथा प्रकाशन गरी साहित्यमा औपचारिक प्रवेश गरेका हुन् ।
दाहालका आविष्कार (सन् १९८६, लघुकथा), यात्राक्रममा (सन् २००८, लघुकथा), हाम्रा केही मार्गदर्शकहरू (सन् २००८, जीवनी), उकुस मुकुस (सन् २००९, हाइकु), अतीतका पाइलाहरू (सन् २०१२, कविता), निबन्ध सम्भार (सन् २०१३, निबन्ध), विगत तीन वर्षलाई फर्केर हेर्दा (सन् २०१६), शुभेच्छा सम्भार (सन् २०१६), स्मृति प्रवाह भाग–१ (सन् २०१८, संस्मरण), निबन्ध पुष्प (सन् २०२१), सिर्जना सन्दर्भ (सन् २०२१), व्यक्ति सान्निध्य (सन् २०२१), स्मृति प्रवाह भाग–२ (सन् २०२१), हाइकु प्रवाह (सन् २०२१), मनका पाहुना (सन् २०२१), गाउँदै जाऔँ, सिक्दै जाऔँ (सन् २०२१) आदि कृतिहरू नेपाली भाषामा प्रकाशित छन् ।
भन्नै पर्छ– ‘डम्बर दाहाल बहुमुखी प्रतिभाका धनी नै हुन् ।’ झन्डै ५० वर्ष साहित्य साधनामा व्यतीत गरेर पनि अझै साहित्यमै तल्लीन भएर लागि परिरहेका दाहाल कथाकार, कवि, हाइकुकार, अनुवादक, सम्पादक, बाल साहित्यकार र निबन्धकार पनि हुन् । यसका अतिरिक्त नेपाली र असमिया भाषामा एक दर्जनभन्दा बढी पाठ्यपुस्तक, स्मृतिग्रन्थ, स्मारिका, बुलेटिन र पत्रपत्रिका सम्पादन समेत गरिसकेकाछन् । यहाँ दाहालका केही पुस्तकहरूको संक्षिप्त चर्चा गरिएको छ ।
१. ‘मनका पाहुना’ युग्मकसङ्ग्रह
नेपाली साहित्यमा हालसम्मकै युग्मकको तेस्रो सङ्ग्रह र सम्भवत असमबाट प्रकाशित पहिलो युग्मक सङ्ग्रह डम्बर दाहालको मनका पाहुना (२०२१) यही नै पहिलो हुनुपर्छ । दाहालको यस सङ्ग्रहमा सङ्ख्यात्मक दृष्टिले दुई सय दुईओटा युग्मक रहेकाछन् ।
वण्र्य विषयको समग्रतालाई समेटेर प्रस्तुत गर्न सक्ने उपयुक्त पद वा पदावली नै शीर्षक हो । युग्मकमा पनि प्रस्तुत गरिने भाव वा विचारहरूलाई समेट्न सक्ने उपयुक्त प्रकृतिको शीर्षक चयन अनिवार्य रहन्छ । त्यही शीर्षक अनुसारको विषयवस्तुले समग्र युग्मकको अस्तित्वलाई वहन गरेको हुन्छ ।
युग्मककार डम्बर दाहालले मनका पाहुना (२०२१) सङ्ग्रहभित्रका युग्मकमा शीर्षक राख्दा पद सङ्ख्याका दृष्टिले बढीमा दुई पदसम्मका शीर्षक राखेको पाइन्छ । प्रयोजनपरक सर्वेक्षण अनुसार दाहालका युग्मकमा युगीन स्थिति अनुकुल शाश्वत मूल्ययुक्त समसामयिक विषयवस्तु अभिव्यक्त गरेकाछन् । एकातिर विद्रोह, विरोध र क्रान्ति, जीवनको सत्यनिष्ठ प्रस्तुति, व्यङ्ग्य, परिवेशगत सुक्ष्म यथार्थ सन्दर्भ सहित विषयवस्तु उठाएकाछन् । अर्कातिर जीवनका विवशता, निरर्थकता र असन्तुष्टि आदिलाई पनि व्यक्त गरेकाछन् । काहीँ काहीँ विरोध, विद्रोह र क्रान्ति पनि सामाजिक रूपान्तरणको लागि स्वयम सौन्दर्य र जीवनगाथाको रूपमा देखापरेका छन् । तर पनि यो विरोधले, यो विद्रोहले र यो क्रान्तिले नकारात्मक पक्षलाई अस्वीकार गरेको पाइन्छ । तसर्थ समाजको प्रतिबिम्ब युग्मकमा छ । यज्ञ सापकोटा र मेनका सापकोटा प्रकाशक रहेको यस पुस्तकको मूल्य पचास रहेको छ ।
२. स्मृति प्रवाह भाग– २
यो पुस्तकलाई दाहालले लेखक र पाठकको साझा मञ्च भनेका छन् । यो पुस्तक ५ जनवरी २०१८ का दिन पश्चिम कार्बी आङलङ जिल्लाको तुम्प्रेङमा असम नेपाली साहित्य सभाको स्थापना दिवसका अवसरमा विमोचित स्मृति प्रवाह भाग– १ को निरन्तरता हो । स्मृतिप्रवाह ५० सम्म भाग– १ मा रहेको हुँदा यस पुस्तकमा अनौठो वनभात शीर्षकको स्मृतिप्रवाह– ५१ बाट शुरु गरेर कविता संशोधनको कुरा एकसय चार स्मृतिप्रवाहमा गएर पुस्तक समापन गरिएको छ ।
सन् १९७३ तिर छात्रजीवनको कुरा, सन् १९७७ मा आफन्तलाई भेट्न धनगढी आएदेखि सन् १९८० तिर हरिप्रसाद शर्मा खनालसितको पहिलो भेट, १९९४ अप्रेल १७ गते आइतबारका दिन आफ्नै आँखाले देखेका इन्द्रबहादुर राईदेखि लिएर कलागुरु विष्णु राभाले समेत असमका प्राचीन बासिन्दाहरू कार्बिहरूलाई असमका कलम्बस भनेको प्रसङ्गको सम्झनासमेत गरेका छन् । दुर्गा दाहाल प्रकाशक रहेको यस पुस्तकको मूल्य एक सय रुपयाँ रहेको छ ।
३. सिर्जना सन्दर्भ
यस पुस्तकमा १४ ओटा लखेहरू समावेश रहेका छन् । यी लेखहरू एउटै विधामा सीमिति छैनन् । पुस्तकमा भारतको पूर्वाञ्चलमा नेपाली साहित्य लेखनको सुरुआतबाट आजसम्मको स्थिति केलाएर पाठकलाई काव्य साहित्यको एउटा लामो इतिहास समावेश गरेकाछन् । असीको दशकदेखि नै निबन्ध लेखेका डम्बर दाहालको प्रतिनिधिमुलक निबन्ध, कथा, कविता, गीत, समालोचना र सान्दर्भिक ऐतिहासिक लेखहरूमा मनोनिवेशले नेपाली साहित्यलाई उर्जासहितको थप हौसला मिलेको देखिन्छ । अधिकांश लेखमा विधागत विषयको उद्भव, विकास र तबदेखि आजसम्मको स्थितिसँग परिचय पनि गराइएको छ । थानेश्वर गौतम र जानुका गौतम प्रकाशक रहेको यस पुस्तकको मूल्य एक सय रुपयाँ रहेको छ ।
४. गजल सिद्घान्त एवम् विकासयात्रा
‘गजल लेखनको ढाँचा र शिल्प नपुगे पनि भारतीय नेपाली गजल लेखन परम्परा सुरु गर्ने पारसमणि प्रधान हुन् । सन् २००१ मा सञ्जीव छेत्री र सन्तोष गुप्ताको तरल मुटुहरू सम्भवत भारतीय नेपाली साहित्यमा प्रकाशित पहिलो पुस्तक हो । जस्ता ऐतिहासिक तथ्यहरू समेटिएको छ । पुस्तकमा डा.देवी नेपालको गजलको सौन्दर्य शास्त्र, प्रा.डा. भीम खतिवडाको गजलको विधागत विशिष्टता र विधान्तर सम्बन्ध, प्रा.डा. कृष्णहरि बरालको गजलमा सेरको कार्य, डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ को गजलको लोकप्रियताका कारणहरू, घनेन्द्र ओझाको गजलः विश्व सन्दर्भ, दक्षिण एसिया र नेपाल, सुरेश सुवेदीको नेपालमा गजलको वर्तमान अवस्था, नवीन पौडेलको भारतमा नेपाली गजल लेखन परम्पराः सर्वेक्षण एवम् प्रवृत्तिगत अध्ययन र मोहन सुवेदीको गजलः सिद्घान्त, प्रवृत्ति र लेखन परम्परा लेखहरू रहेका छन् ।
असम नेपाली साहित्य सभाका सभापति समेत भएका डम्बर दाहाल यस पुस्तकका प्रकाशन संयोजक हुन् । स्वत्वाधिकारी असम नेपाली साहित्य सभा रहेको यस पुस्तकको भारतीय मूल्य दुई सय रहेको छ ।
निष्कर्ष :
पुस्तकहरू अध्ययन गर्दा लाग्छ – डम्बर दाहाल सामाजिक दायित्वमा अघि बढेका छन् । साहित्य समाजको चित्रण हो र समाज निर्माणमा स्रष्टाहरूको परिश्रमको लेखाजोखा कृतिहरूले गर्छन् । त्यसैले पनि कृति हेर्दा हेर्दा लेखकीय इमान्दारी लेखनका सन्दर्भमा डम्बर दाहालले आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति भएर रहेको देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।