१. विषयप्रवेश

साहित्येहासका विभिन्न प्रकार हुन्छन् । स्थलगत वा क्षेत्रीय साहित्यिक सर्वेक्षण पनि यसको एउटा प्रकार हो। यस्तो साहित्येतिहासको निम्ति आवश्यक कुरा हो। यसको आफ्नै महत्त्व हुन्छ। यसले कुनै एउटा जिल्ला वा त्यसभन्दा सानो भूभागको साहित्यिक गतिविधि र योगदानको सर्वेक्षण गरिएको हुन्छ। यसले तत्तत स्थानका प्रायः सबैलाई समेट्ने गरेको पाइन्छ। भविष्यका अनुसन्धाताका निम्ति यस्तोकिसिमको क्षेत्रीय सर्वेक्षणात्मक  साहित्येतिहास खुबै सहयोगी हुन्छ। यसले त्यस ठाउँको साहित्यिक गतिविधिको इतिहासलाई जतिसक्दो समेट्ने गर्छ। यसमा प्रवृत्तिपरकभन्दा सर्वेक्षणपरक तत्त्व हुन्छ। साहित्येतिहासका केही प्रकार हुन्छन्। कुनै साहित्यको समयको गिधाराको सोलोडोलो अध्ययन हुन्छ, कुनै समयका गतिसँगै प्रवृत्तिगत अध्ययन हुन्छ कुनै विस्तृत इतिहासको अध्ययन प्रस्तुत हुन्छ।

२. लेखक परिचय

रत्न कुमार शर्मा (फुयेंल) एकजना सिर्जनशील, जाँगरिला र दक्ष लेखक हुन्। उनक जन्म सन् १९५१ मा कालेबुङको दलपचन्द बस्तीमा भएको हो। उनी प्रणामी बालिका बिद्या मन्दिरमा धेरै वर्ष सेवारत भएपछि केही वर्षयता सेवानिवृत्त, स्वतञ्त्र, लेखनगत र सक्रिय जीवन बिताउनु हुँदैछ। साहित्यको सेवा गर्ने र समाजको निम्ति केही ठोस काम गर्न हुट्‌हुटी भएका एक सर्जक हुन्। आफ्नो लेखनमा कार्यमा सदा सरिक हुने, जागरूक रहने फुयेंलज्यू युवाहरूका निम्ति प्रेरणास्रोत हुन। नेपालको कुनै एउटा पत्रिकामा प्रकाशित पहिलो कविता यस्तै लाग्छ (सन् १९७१) देखि साहित्यमा सेवा गर्दै आएका हुन्। यस्तै हालसम्म उनका नौवटा पस्तक हामीले पाइसकेका छौं। उनका प्रकाशित पुस्तकहरूमा ‘तिम्रो प्रतीक्षामा’ (उपन्यास), ‘तिरस्कार’ (उपन्यास), ‘आइमाईको मन’ (उपन्यास), ‘बाध्यतै बाध्यता’ (उपन्यास), ‘मूर्ति चोरिएको मन्दिर’ (नाटक), ‘परिस्थितिले जन्माएका दागहरू’ (नाटक), ‘अभिव्यक्तिका रङ्गहरू’ (कवितासङ्ग्रह), बाल कवितासङ्ग्रह’ (कविता) र हालैको ‘कालेबुङको उपन्यास’ (संक्षिप्त इतिहास)। उनी नेपाली साहित्य अध्ययन समिति, कालेबुङ, साहित्य प्रकाशन परिषद्, कालेबुङ, गोर्खा दुःख निवारक सम्मेलन, कालेबुङ आदि जस्ता साहित्यिक संस्थामा सक्रिय छन् भने भारतीय गोर्खा परिसङ्घका पनि सक्रिय सदस्य हुन्। यस हिसाब उनी एक सफल साहित्यकार र सांगठनिक कर्मठ व्यक्ति हुन्। साहित्यका क्षेत्रमा उनी एक उपन्यासकार, नाटककार र कवि हुन्। हालैमा प्रकाशित कालेबङको उपन्यास लेखनले उनलाई एक समीक्षक र साहित्येतिहासकार पनि बनाएको छ।

नवीन पौड्याल (कालिम्पोङ)

३. कालेबुङको परिचय

भारतको पश्चिम बङ्गाल राज्यको २०१६ मा गठित नयाँ जिल्ला कालेबुङ हो। यसका आधिकारिक नाम कालिम्पोङ भए पनि जनजिब्रामा प्रचलित नाम कालेबुङ हो। यो द्राघिमाङ्श 27.59° उत्तर र 88.4695 ° पूर्व रहेको सुरम्य पहाडी स्थान हो। कालेबुङ जिल्लाको मुख्य शहर कालेबुङ बजार हो भने अन्य ससाना बजारहरू छन्। यसका जम्मा तीनवटा खण्ड छन्- कालेबुङ १, कालेबुङ २ र गोरूबथान। कालेबुङ जिल्लामा लगभग १५ लाख जनसङ्ख्या रहको छ। यसभित्र जम्मा ३६ वटा ग्राम पञ्चायत र तीनवटा चियाकमान रहेका छन्। यसको सिमाना पूर्वमा भोटाङ, पश्चिममा दार्जिलिङ, उत्तरमा सिक्किम र भुटान, दक्षिणमा सिलगडी र जलपाईगढी रहेका छन्।  कालेबुङको आफ्नै इतिहास, भूगोल, जीवनयापन, सामाजिक व्यवस्था, राजनैतिक, भूभाषिक र आर्थिक स्थिति छ। जलवायुको हिसाबले कालेबुङ नातिशितोष्ण छ भने यहाँका मानिसहरूको कृषिमा निर्भर छ। चारैतिर गाउँ-बस्ती रहेको कालेबुङको आफ्नै अस्तित्व, महत्व र गरिमा छ। नेपाली साहित्यको क्षेत्रमा कालेबुङको पनि विशिष्ट योगदान रहेको छ। शिक्षा, साहित्य, खेलकुद, राजनिती, अध्यात्म, कृषि आदि क्षेत्रमा कालेबुङको योगदान र स्थान रहेको छ। साहित्य क्षेत्रमा डा. पारसमणि प्रधान, रामकृष्ण शर्मा, महानन्द पौड्याल, भाइचन्द प्रधान, सानुमति राई, एम एम गुरूङ, नरबहादुर दाहाल, हरिभक्त नवपानीय (मूलमा कालेबुङका), कुमार छेत्री, राजेन्द्र भण्डारी, देव भण्डारी, सिके श्रेष्ठ, सलोन कार्थक, एम बी प्रधान, ललित गोले, मधुसूदन लामा, सञ्जय विष्ट, सुधीर छेत्री आदिजस्ता सर्जक-समालोचकहरूको मूलथलो हो।  कालेबुङबाट प्रकाशित पत्र-पत्रिका, पुस्तक आदिको सूचि लामो नै देखिन्छ।

४. कालेबुङको उपन्यासको संक्षिप्त अध्ययन

यस वर्ष २०१९ को अन्तमा कालेबुङका एक जाँगरिला साहित्यकार रत्न कुमार फुयेंलको नयाँ कृति कालेबुङको उपन्यास हाम्रो सामु देखा परेको छ। यसमा कालेबुङका लेखक र कालेबुङबाट प्रकाशित उपन्यासहरूको इतिहास केलाइएको छ। पारसमणि प्रधानको अनूदित उपन्यास हिरण्मय चरित्र (१९१८) को प्रकाशनपछि कालेबुङ नेपाली उपन्यासको मानचित्रमा पस्नसकेको थियो। प्रस्तुत पुस्तकमा कालेबुङका उपन्यास भनेर दुईवटा अर्थमा लिइएको पाइन्छ। कालेबुङका लेखक र कालेबुङमा प्रकाशित भएको उपन्यास। यसमा कालेबुङबाट प्रकाशित र कालेबुङका लेखकहरूको उपन्यासहरूको एकसरो सर्वेक्षण छ।

५. पुस्तक पढ्दा हामीलाई दुईचार विशेष कुरा थाहा लाग्छ

५.१. कालेबुङबाट दार्जीलिङ र नेपालको सरह उल्लेखनीय, माइलखुट्टी सिद्ध भएको उपन्यास प्रकाशित भएको पाइन्न । भ्रमर, मुलुकबाहिर, लङ्गडाको साथी, आज रमिता छ झैं उल्लेखनीय उपन्यास प्रकाशित भएको पाइन्न । यद्यपि आज रमिता छ उपन्यासको प्रकाशन भने कालेबुङकै गोरूबथानको हो।

५.२. कालेबुङबाट हालसम्म ६३- ६४ वटा जति मात्र उपन्यास प्रकाशित भएका छन्। यहाँका उपन्यासकारहरूका सूचि हेर्दा पारसमणि प्रधान, धर्मरत्न बौद्ध, नरबहादुर दाहाल, जय धमाला, भूषण हुमागाइँ, ज्ञान सुतार, भगीरथ रावत, सलोन कार्थक, अनिल गुरूङ, दिल सुब्बा, प्रकाश राणा, शिवशमशेर रसाइली, मोहन दुखुन, रत्नकुमार शर्मा, देव भण्डारी, ललित परियार, दिनेश खाती, प्रदीप गुरूङ, हायमनदास राई, छुदेन काबिमो देखा परेको उल्लेख गरेका छन्।  यद्यपि यसमा हेमकान्त भण्डारीको नाम छुटेको पाइयो। उनका पनि दुईवटा उपन्यासहरू – मृत्युपछि (१९८४) र आजभोलि (१९८५) प्रकाशित भएका छन्। यसका साथै यसमा गोपाल धितालको अन्य अन्धविश्वास मुर्दावाद, हाइमनदास राईक   देउराली (२०१७) उपन्यासको नाम छुटेको छ।

५.३. कालेबुङबाट पनि केही लोकप्रचलित उपन्यास लेखन पाइन्छ। प्रकाश राना, दिल सुब्बा, अनिल गुरूङ, जय धमाला यसतर्फ सक्रिय देखिन्छन्। संख्यात्मक हिसाबले प्रकाश राणालाई कालेबुङका प्रकाश कोविद भन्ने सकिन्छ। ५.४. कालेबुङबाट अनूदित उपन्यास लेखन अति अल्प देखियो। पारसमणि प्रधानको हिरण्मयी चरित्र र भाइचन्द प्रधानको ड्र्याकुला उल्लेखनीय छ। अन्य भने शिवशमशेर रसाइलीको विराज दुलही र पुष्पोद्यान (२००१) स्वस्तिका छेत्रीको सती () मात्र पाइयो।

५.५. कालेबुङमा सत्तर-अस्सीको दशकमा उपन्यास लेखन निकै प्रचलित थियो। उपन्यास पठन र बिक्री पनि निकै उच्च थियो। यद्यपि सन् १९८६ देखि हालसम्म नै अति अल्प उपन्यास प्रकाशित भएका छन्। मनोरञ्जनको साधनको अन्य विकल्पहरू बढी भएपछि उपन्यास पठनको संस्कार घटदै गयो, पाठक घट्दै गए।

५.६. कालेबुङमा नारी उपन्यासकार पनि शून्यप्रायः देखियो। अनूदित क्षेत्रमा स्वस्तिका छेत्रीको ‘सती’ उपन्यास र मौलिकतर्फ सुष्मा शर्माको सृष्टि (२०११) मात्र पाइयो।

५.७. भगीरथ रावतका ‘बास सल्किरहेछ’, ‘माटोको माया’ भने गोर्खाको इतिहासबारेको गहकिला र उल्लेखनीय उपन्यास हुन्। प्रदीप गुरूङको ‘पोस्टर र लात’ भने सफल सूत्रउपन्यास हो। बालश्रममाथि केद्रित गरेर लेखिएको रत्नकुमार शर्माको बाध्यतै बाध्यता उपन्यास हो।

५.८. लेखक जहाँसुकैको भए पनि कालेबुङबाट प्रकाशित भएकाले कालेबुङकै उपन्यास भनेर यहाँ उल्लेख गरिएको छ। इन्द्रबहादुर राईको ‘आज रमिता छ’, नकुल काजीको ‘सागर’, व्यथित सिपाहींको ‘म विवश छु’, प्रकाश कोविदका तीन उपन्यास आदिलाई कालेबुङकै मानिएको छ।

५.९. कालेबुङका अधिकांश उपन्यासमा प्रेम-प्रीतिका मिलन-विछोड, बेरोजगारी, सामाजिक, राजनैतिक आर्थिक गरीबी आदि विषयवस्तु पाइन्छ। प्रयोगका क्षेत्रमा पनि दुईचार उपन्यास रहेका छन्। प्रगतिवादी, नारी मनोभाव, युद्धवर्णन आदिजस्ता विषयवस्तु पनि पाइन्छन्। यद्यपि कालेबुङबाट युगप्रदर्शक, माइलखुट्टी, बहुचर्तिच र उल्लेखनीय उपन्यास भने पाइन्नन्।

५.१०. यस पुस्तकले इन्द्रबहादुर राईको आज रमिता छ, हाइमनदास राई किरातको होय च्याङबा, रत्नकुमार फुयेंलकै तीन उपन्यास, भगीरथ रावतको बास सल्किरहेछ, देव भण्डारीको कथा आफ्नै, प्रदीप गुरूङको पोस्टर र लात, ज्ञान सुतारको करूणा भाउजू र छुदेन काबिमोको फातसुङ उपन्यासबारेमा केही मात्रामा प्रकाश पारिएको छ भने अन्यका बारेमा उपन्यास र लेखकको नामोल्लेख मात्र गरिएको छ।

५.११. कालेबुङबाट व्यावसायिक रूपमा उपासक प्रकाशन, सागर प्रकाशन र सरिता प्रकाशनले मात्र उपन्यास प्रकाशित गरेको तथ्य पाइयो। अन्य प्रायः आफ्नै खर्चमा उपन्यास प्रकाशित भएका रहेछन्।

(क) कालेबुङकै उपन्यासकार र उनीहरूका उपन्यास सूचि यस्तो देखियो-

१. पारसमणि प्रधान – राधारानी (१९१९),

२. धर्मरत्न बौद्ध (यमी) –समाजको यौटा झलकमा (१९३८)

३. नरबहादुर दाहाल- मध्यरातको तारा (१९६५)

४. ज्ञान सुतार – यौवन लुटिएपछि (१९६६), पर्खिदिने है माया (१९७९), करूणा भाउजू ()

५. दिल सुब्बा – कमलफूल (१९६८), मरेको मान्छे (१९६९), विश्वासको फूल (१९८५)

६. सलोन कार्थक- अशेष प्रीत (१९७०), बिहानको तारा (१९७०), जोवन बोकेका दिनहरू (१९७६)

७. जय धमाला- पागल (१९७१), अर्घेलो समाज (१९७५), रातो मिनि स्कर्ट (१९७४), उजाड वसन्त ( ?), रगतको    पसिना (१९७८), कहीँ अँध्यारो कहीँ उज्यालो (१९८०), शेष जीवन छोटो फ्लासव्याक जीवन (१९८१)

८. आर्नोल्ड रोङ्गोङ – अमर साँझ (१९७१), वर्षा (१९७९)

८. प्रकाश राणा- अभिशाप (१९७२), शीतको सपना (१९७२), मेरो देवता (१९७३), मुटुभित्र (१९७६), जलेका प्रीतिहरू (१९८३), चिसो स्पर्श (१९७८), मेरी मायालु (१९८३), मृगतृष्णा (?)

९. भूषण शर्मा हुमागाईँ- जीवन दीप (?), अस्थिपञ्जर (?), अमितवासना (?),

१०. मोहन दुखुन – कर्तव्यता (१९७३), बौरा (१९७३), झरी बतास र फागुन (१९७९)

११. भगीरथ रावत – आफन्त (१९७३), बिरानो (१९७२), ओस (१९७२), म रूँदिनँ (१९८०), बास सल्किरहेछ (), माटोको माया (), स्रष्टाको सङ्घर्ष (२०१९)

१२. देव भण्डारी – यही बाटो भएर (१९८०), शब्दहीन (१९८१), किनारा (१९८२), कथा आफ्नै (२००४)।

१३. देवकुमार प्रधान- अनामिका (१९८०)

१४. अनिल गुरूङ – उपहार (१९८३), अन्तिम मिलन (१९८६), मोनालिसा (१९९६)

१५. गोपाल धिताल – उपहासको पात्र (), अन्धविश्वास मुर्दावाद (१९८४)

१६. हेमकान्त भण्डारी – मृत्युपछि (१९८४) र आज भोलि (१९८५)

१७. शिवशमशेर रसाइली-  दुई चिता अन्तिम सुस्केरा (१९९७)।

१८. दिनेश खाती – जीवन पथ (१९९७)

१९. ललित परियार – माटोको मोल (१९९७)

२०. हायमनदास राई किरात – होय च्याङ्बा (२००४), देउराली (२०१७)

२१. प्रदीप गुरूङ – पोस्टर र लात (२०१०)

२२. कुबेर छेत्री- आँसुको मोल ()

२३. सुष्मा शर्मा – सृष्टि (२०११)

२४. छुदेन काबिमो- फातसुङ (२०१९)

 (ख) उपन्यासकार अन्यत्रका तर प्रकाशन भने कालेबुङका उपन्यासहरू-

१. व्यथित सिपाही – म विवश छु (१९६३)

२. अच्छा राई रसिक  – दोभान (१९६४, नवयुग नेपाली मन्दिर, गोरूबथान)

३. इन्द्रबहादुर राई – आज रमिता छ (१९६४, नवयुग नेपाली मन्दिर, गोरूबथान)

४. नकुल काजी – यौवनको तृष्णा (सागर प्रकाशन, कालेबुङ)

५. सुरेश राई – ठिहीको रात (१९७०)

६. प्रकाश कोविद – दुई आँसु एक मुसकान (), प्रेमपत्र (), आशिर्वाद ()

७. लक्ष्मीकान्त ज्योत – शारदा ()

८. दीपलाल राई – पगली, (१९७३)

९. चन्द्रकुमार राई – जीवन एक समर्पण (१९७७)

६. कालेबुङका उपन्यासहरूको उपन्यास सङ्ख्या वितरण

कालेबुङका जम्मा २४ जना उपन्यासकारहरूका जम्मा ६३- ६४ वटा र अन्यत्रका उपन्यासकार तर कालेबुङको प्रकाशनमा रहेका नौजना उपन्यासकारका एघारवटा उपन्यास देखिन्छन्। यस सङ्ख्यालाई हेर्दा कालेबुङबाट उपन्यास लेखन त्यति फस्टिएको पाइन्न।  उपन्यासहरूको उपन्यास सङ्ख्याको वितरण यस प्रकारको पाइन्छ।

प्रकाश राणाका सातवटा, जय धमालाका छवटा, रत्नकुमार फुयेंलका चारवटा, देव भण्डारीका चारवटा, ज्ञान सुतारका तीनवटा, दिल सुब्बाका तीनवटा, मोहन दुखुनका तीनवटा, सलोन कार्थकका तीनवटा, भूषण हुमागाईँका- तीनवटा, अनिल गुरूङका तीनवटा, हाइमनदास राई किरात- दुईवटा, आर्नोल्ड रोङ्गोङका दुईवटा, गोपाल धितालका दुईवटा, हेमकान्त भण्डारीका दुईवटा, बाँकीका एकेकवटा उपन्यास प्रकाशित छन्।

७. अन्तमा पुस्तकबारे

प्रस्तुत पुस्तकमा कतै कतै अङ्ग्रेजी शब्दको अनावश्यक प्रयोग जस्तै लेटेस्ट लेटेस्ट मोडेल लेखिएको पाइयो। यसको बद्ली नेपाली शब्द नै प्रयोग गर्न सकिने थियो। यसमा लेखक फुँयेलले अलिक हतारो गरेर किताब प्रकाशित गरेका हुन् भन्ने लाग्यो। हिज्जे, वाक्य विन्यास, कृतिको नाममा विशेष चिन्ह, कसैको बढी व्याख्या कसैको नाममात्र उल्लेख, पुस्तकीय सज्जा र प्रुफ संशोधनको कमी, परिच्छेद वितरणमा लापर्वाही, कुनै उपन्यासकार र उपन्यासको नामै छुट्नु, प्रकाशित उपन्यासको प्रकाशन सालको अनुल्लेख, कुनै कुनै उपन्यासको भिन्नै प्रकाशन सालको उल्लेख आदि जम्मा सामान्य कमी-कमजोरी पक्ष पनि नपाइने होइन। यद्यपि आफ्नो खोजमूलक कार्यमा अघिसरेर महत्वपूर्ण काममा लागिपर्ने फुयेंलज्यूलाई सह्राहना गर्नुपर्छ। कालेबुङका आफ्नो इतिहास लेखनमा अघि सरेका लेखकलाई मुरीमुरी साधुवाद छ।