मान्छे जन्मेदेखि नै यायावर हो । आदिम कालमा खानाको खोजीमा भौँतारियो त आधुनिक कालमा सुख सुविधाको खोजीमा मान्छे भौँतारिई रहेको छ । कर्याङ्कुरुङ चराहरू चिसोबाट बच्न महादेश नै पार गर्छन् भने मान्छेका के कुरा । यो प्रसङ्ग उठाउनुको तात्पर्य आफ्नो प्यारो देश नेपाल छोडेर परदेशिनु परेका सत्रजना इन्जिनियरहरुको संघर्ष र सफलताका संस्मरणहरूको सँगालो ‘आँगन छोडेपछि’को हो । लेखक आफू पनि इन्जिनियर भएको र त्यही नियति भोगेकाले सँगालो पढी सकेपछिका अनुभूति यहाँ प्रस्तुत गर्दैछु ।
क्यानाडाको एडमन्टन सहरमै बसोवास गर्नुहुने कवि शर्मिला पोखरेलले नेपालबाट ‘आँगन छोडेपछि’ किताब उपहार स्वरूप ल्याई दिनुभयो । शिखा बुक्सले प्रकाशन गरेको यो सँगालोको सम्पादन कृष्ण कुसुम र केशवराज ज्ञवालीले गर्नु भएको छ । ‘आँगन छोडेपछि’ सँगालोमा भारतमा पढेका दुईजना र अरू काठमाण्डौँ खाल्डो भित्रका इन्जिनियरिङ्ग कलेजमा पढेका इन्जिनियरहरू समेटिएका छन् । दश जना इन्जिनियरहरू कुनै न कुनै बेला इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसका विद्यार्थी रहेछन् ।
यी सबै इन्जिनियरहरू उस्तै उमेरमा नभएर जीवनका फरक फरक आयाममा विदेशिएका रहेछन् । कोही उच्च शिक्षा आर्जन गर्न, त कोही अमेरिकामा बसाइसराइ गर्ने चिठ्ठा परेर, त कोही जागिरको सिलसिलामा विदेशिएका रहेछन् । यतिखेर धेरै जसो इन्जिनियरहरू आफ्नै विषय अर्थात् इन्जिनियरिङ्ग पेशामा काम गरिरहेका छन्, भने कसै कसैले पेसा परिवर्तन गरेर आफूलाई मन पर्ने काम गरिरहेका रहेछन् ।
आफ्नो प्यारो देश छोड्दा कसको मन रुँदैन होला र ? यी सत्रवटा संस्मरणमा पनि प्रत्येकको मुटु देश सम्झी नरोएको दिन थिएन । कथाभन्दा पनि प्रत्येक इन्जिनियरले आफ्नो जीवनका भोगाइ, संघर्ष र सफलताका अनुभवहरू पस्केका छन् । भोगाइहरू मर्मस्पर्शी छन् । विदेशमा आइसकेपछि सबै मुटुहरूलाई नेपाल फर्कौ फर्कौ लागिरहने रहेछ । नेपाल फर्किन नसके पनि नेपालका निम्ति केही न केही गर्ने जाग्रत इच्छा सबैले बोकेका छन् ।
एउटा कलिलो सावकलाई आफ्नो बथानबाट एकलिँदा नयाँ ठाउँ, नयाँ परिवेशमा गोरेटो पहिल्याउन जुन अत्यासको सामना गर्नुपर्छ, त्यस्तै अत्यास आप्रवासी इन्जिनियरहरूले नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भाषा र नयाँ संस्कृतिसँग जुझ्दाका लागेको यस सँगालोमा व्यक्त गरेका छन्।
दाल, भात, तरकारी र अचारमा मग्न नेपालीलाई चिसो पाउरोटीको स्यान्डविच चपाउँदा काठ चपाएको जस्तो निरस लागेको छ । आफ्नो खान पान, रहन सहन नयाँ ठाउँमा नपाउँदा घरको यादमा विरही (कल्चर शक) अवस्थाबाट गुज्रेका छन् सबै इन्जिनियरहरू । यो अवस्था प्रत्येक आप्रवासीले संसारको कुनै पनि कुनामा पुग्ने बित्तिकै भोग्ने अवस्था हो । यही अवस्थामा कसै कसैले आफ्नो देश फर्किने निर्णय गर्छन् । तर हाम्रा सत्र जना इन्जनियरहरू संघर्ष गरेर भए पनि विदेशमा नै बसेका रहेछन् ।
उत्तर अमेरिकामा जो कोही आप्रवासीले सुरुका दिनहरूमा भोग्ने भनेको पेट पाल्नलाई जे जस्तो काम पनि सहर्ष गर्ने हो । पहिलो कुरा त नेपालीले उच्चारण गरेको अङ्ग्रेजी त्यहाँका बासिन्दाले बुझ्दैनन् । दोश्रो कुरा त्यहाँ कुनै पनि काम पूरा जिम्मेवारी लिएर गर्नु पर्ने संस्कृति छ । हामी नेपालीलाई लटर पटर गरेर काम सिध्याउने संस्कृतिमा बानी परेको छ । त्यसैले आप्रवासी नेपालीको पहिलो जागिर भनेको ग्यास पम्प, रेस्टुरेन्टको किचेनमा भाँडा माझ्ने जस्ता कामहरू हुन् । अधिकांश इन्जिनियरले कुनै न कुनै बेला यो अवस्थाबाट गुज्रिएका रहेछन् ।
विदेशिएपछि काममा जान आउन गाडीको आवश्यकता पर्दछ । त्यसैले विदेशमा गाडीलाई आफ्नै खुट्टासँग दाँज्ने गरिन्छ । तर सुरुमा गाडी चलाउँदा समस्या आउँछ । नेपालमा गाडी ‘राइट ह्याण्ड ड्राईभ’ को प्रणालीमा चलाउन बानी परेकालाई परदेशमा ‘लेफ्ट ह्याण्ड ड्राईभ’ प्रणालीमा चलाउँदा उल्टो बाटोबाट चलाएजस्तो हुन जान्छ । त्यसको साथसाथै परदेशका ट्राफिक नियमहरू कडा छन् र लागू पनि भइरहेका छन् । यति भएपछि नेपालीको छोराले गाडी दुर्घटना गराउनु भनेको हिँड्दा ठेस लागे सरह हो । गाडी दुर्घटनाका तीता अनुभव पनि सँगालोमा बग्रेल्ती भेटिन्छन् ।
धेरै जसो संस्मरणहरूमा नेपाल छोड्नु पर्दाका दुखद र नमिठा कारणहरू छन् । धेरै जसो संस्मरणहरूमा आफूले नेपालमा इन्जिनियरको जागिर पाउन नसकेको या पाएको भए पनि सन्तोष प्रद नभएको दर्शाएका छन् । सरकारी जागिर खाइसकेकाले जागिरभित्रै संघर्ष गर्नु परेको, जागिर जोगाउन तिकडम गर्नुपरेको जस्ता कारुणिक कथाले मनै रुन्छ ।
सबै इन्जिनियरहरूले नेपालमा सरकारी होस् या गैर सरकारी क्षेत्रमा होस् काम गरिखाने वातावरण र पद्धति (सिस्टम) राम्रो नभएको गुनासो गरेका छन् । लेखक आफैंले पनि आफ्नो सरकारी जागिरबाट दिएको राजीनामा स्वीकृत गराउन असफल भएपछि विदेश लागेको र पछि एक बहुलठ्ठक मन्त्रीको ‘विदेशमा बस्ने कर्मचारीको जागिर खाइदिने’ भन्ने नियमले बल्ल जागिर सकिएको तीतो अनुभव सँगालेका छन् ।
यो सँगालोमा भएका सबै संस्मरणले मानिस जहाँ गए पनि सुरुमा संघर्ष गर्नै पर्ने र त्यसको फल आफ्नो लगाव अनुसार मिल्ने कुरालाई राम्रोसँग देखाइएको छ । उत्तर अमेरिकाका चाहे अमेरिका होस् या क्यानाडा यसबाट के शिक्षा लिन सकिन्छ भने परदेशमा पैसा फल्ने रुख छैनन् र परदेशमा आफ्नो मिहेनत अनुसारको फल पाइन्छ ।
अर्को कुरा पेशाले इन्जिनियर भए पनि अधिकांश इन्जिनियरहरू नेपाली साहित्यमा स्थापित साहित्यकारहरू हुन् । सरल र सरस भाषामा लेखिएका संस्मरणहरू छोटा र कौतुहलले भरिपुर्ण छन् । एउटा हरफ पढी सकेपछि अब के हुन्छ भन्ने उत्कण्ठ उत्पन्न हुन्छ । पढ्न सुरु गरिसकेपछि नसकिँदासम्म छोड्न मन लाग्दैन । सबै इन्जिनियरहरुले नेपाली साहित्यमा कलम चलाइसकेका हुनाले संस्मरणहरू स्तरीय छन् ।
‘आँगन छोडेपछि’ सँगालोले नेपाली साहित्यमा एउटा भिन्दै स्थान बनाउने छ भन्ने दरिलो प्रमाण पेस गरेको छ । यो सँगालो साहित्यका विद्यार्थी, विदेशिन खोज्ने युवा पुस्ता र तिनका अभिभावकले पढ्न अति जरुरी छ । सँगालोमा भएका संस्मरणहरू सफलताका कथाहरू भएकाले स्कूलदेखि विश्वविद्यालयसम्मका पाठ्यपुस्तकमा समावेश भए विद्यार्थीले राम्रो शिक्षा प्राप्त गर्ने छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।