मान्छे भ्रमणशील प्राणी हो। उ एउटै ठाँउमा सधैं बसिरहन सक्दैन। मान्छेले आदिमकालको ओडारदेखि नै यात्रा गर्दै चन्द्रमा पर्यटन र मङ्गल ग्रहमा बस्ती बसाउने जमर्को गरिरहेछ। कुनै जाति पनि कुनै ठाँउको स्थायी बासिन्दा होइन। भारतीय परिप्रेक्ष्यमा हेर्नु हो भने यहाँ संसारका विभिन्न प्रान्तबाट मान्छे आई बसोबासो गरेको तथा यहाँबाट पनि गएर संसारभरि छरिएको पनि पाइन्छ। भास्को डि गामा, ड्रेक, कोलम्बस, मार्को पोलो, एमुण्डसेन, रोबर्ट पियरी इत्यादि जस्ता नाविक यात्रीहरूले संसारका विभिन्न प्रान्तहरूको परिचय गराइदिए। देश-विदेश भ्रमण पनि जीवनको एउटा अनिवार्य कर्तव्य हो। यसबाट प्राप्त हुने अनुभव र ज्ञान महत्वको कुरो हो। यस्तो अनुभव र ज्ञान कुनै पनि ग्रन्थ पढेर, सुनेर प्राप्त हुन सक्दैन। हाम्रो समाजमा अघि-अघि धार्मिक उद्देश्यले हाम्रो देशका विभिन्न प्रान्तका तीर्थस्थान जानेगर्थे। यस्तो तीर्थ- भ्रमण पनि देशाटन नै हो भने अहिलेका पुस्ता संसारका विभिन्न ठाउँ घुमेर, धन कमाएर, पढ़ेर आँउछन्। कतिपय देशले त विदेश भ्रमणलाई अधिक महत्व दिएर आफ्ना जनतालाई सहुलियतादि दिने गर्छन्।
भारतीय नेपाली नियात्रा साहित्यको परिप्रेक्ष्यमा भाक्सूका शेरसिंह रानामगरको सन् १९१३ मा प्रकाशित ‘मेरो लंदन राजतिलक यात्रा’ पहिलो प्रकाशित पुस्तक हो। उनी १\४ गोर्खा राइफल्समा हुँदा सन् १९११ मा पञ्चम जर्जको राजतिलक समारोहमा ब्रिटिस सरकारको निम्तोमा लन्डन पुगेका थिए। त्यहाँको हरेक दृश्य-परिदृश्यको विवरण डायरीमा टिपेर पुस्तकाकार रूप दिएका हुन्। उनले उक्त पुस्तकमा लन्डनको प्रकृति र जलवायु, अँग्रेजहरूको रहन-सहन, आर्थिक उन्नति र अन्य गतिविधिको विवरण प्रस्तुत गरेका छन्। फूटकर रूपमा यात्रा विवरण त अनगन्ती छन् तर पुस्तकाकार रूपमा भने थोरै छन्। दिलबहादुर नेवारको य़ात्रा-संकलन, लैनसिँह बाङदेलका यूरोपको चिट्ठी, स्पेनको सम्झना, प्यारिसको एउटा फुल र रोमको एउटा काँडा, डा शान्ति छेत्रीको मेरो यूरोप यात्रा, र अरब सागरको सूर्यास्त, सलोन कार्थकका समुद्रवारि- समुद्रपारि (सम्पादित), विदेशतिर रिङ्दै जाँदा, पदयात्रा गाँउको फन्को विदेशको, कविता सुब्बाको शैक्षिक भ्रमण र संस्मरण, सानु लामाको आँगन परतिर, जयनारायण लुँइटेलको दुबइ हुँदै अमेरिकासम्म, चन्द्रकुमार राईको यात्रा-संस्मरण आदि पुस्तक हामीसित छन्। यी सबैलाई उछिनेर श्री एम बी प्रधानको नयाँ पुस्तक मनका लहर र रहरहरू प्रकाशित छ। विषयगत, क्षेत्रगत र पुस्तकको कलेवरगत पक्षमा यो पछिल्लो पुस्तक महत्वपूर्ण छ।
नेपाली नियात्रा साहित्यको क्षेत्रमा केदारमणि आदी, घनश्याम राजकर्णिकार, तारानाथ शर्मा, लैनसिंह बाङदेल, जय छाङ्छा, सृजन लम्साल, युवराज नयाँघरे, प्रकाश ए राज, इत्यादिका अतिरिक्त यता भारततर्फका श्री सलोन कार्थक र अहिले श्री एम बी प्रधानको योगदान महत्त्वपूर्ण छ। हाम्रा धेरै मानिस देश विदेश घुम्छन् तर त्यस्ता यात्रा अनुभवलाई सबैले लेख्दैनन्। लेखे पनि सबैको लेख रसिला र नियात्रापरक हुँदैनन्। सबै यात्रा-संस्मरण नियात्रा हुँदैनन्। यस्तोमा सरस, निजात्मक, निबन्धात्मक अथवा साहित्यिक गुणयुक्त हुनुपर्छ भन्ने भनाई तारानाथ शर्माको छ। कालिम्पोङका श्री एम.बी. प्रधानको हालै प्रकाशित मनका लहर र रहरहरूले नेपाली नियात्रा साहित्यको क्षेत्रमा एउटा विशिष्ट योगदान स्थान ओगटेको छ। शायद आजसम्म प्राकशित नेपाली नियात्रा पुस्तकमध्ये यो सबैभन्दा ठुलो कलेवरको हुनसक्छ। यो ग्रन्थ जम्मा २९६+२२ पृष्ट र ३१ अध्यायमा आवद्ध रहेको छ। यस ग्रन्थका बारेमा यसका भूमिकाकार डा दिवाकर प्रधानले गम्भीर अध्ययन र मूल्याङ्कन प्रस्तुत गरेका छन्। यस सन्दर्भमा कालिम्पोङका अर्का नियात्राकार श्री सलोन कार्थकको पनि नियात्रा साहित्यतर्फको लेखनमा विशिष्ट योगदान रहेको छ औ उनको उचित मूल्याङकन् भएको छैन। उनका पनि विदेशतिर रिङ्दै जाँदा (सन् १९९१), पदयात्रा गाउँको फन्को विदेशको (सन् २०००) र विदेश-एउटा पल्लो गाउँ (प्रकाशोन्मुख) उल्लेखनीय छन्।
यी दुई नियात्राकारका लेखनगत तुलना गर्नुपर्ने धेरै पक्षहरू छन्। दुवैका लेखनमा संवेदनशीलको तीब्रता पाइन्छ। अझ जातीय संवेदन पक्षका आधारमा सलोन कार्थक अघि छन्। म्यानमार जाँदा उनी नेपाली गाउँ-घर घुमी-घुमी त्यहाँका नेपालीहरूका सुख-दुःखका भाव बुझ्छन् र उनीहरूको नेपालप्रेम, त्यहाँ दोस्रो स्तरीय नागरिक भएर बस्नुपरेको पीडालाई च्याप्पै समातेका छन्। उनी जहाँ गए पनि प्रायः नेपाली कै घरमा बसेर त्यहाँको मनोभावको अध्ययन गरेको छन्। यद्यपि श्री प्रधानले पनि सकेसम्म लेपाली नेपाली समाजको खोजी गरका छन्। अमेरिकामा होटलमा बसेका बेला दुई भुटानी शरणार्थी नेपाली चेलीहरू देख्दा उनीहरूको सुख-दुःखको स्थितिबारे जानकारी लिन्छन्। जापानमा खुकुरी रेस्टोरेन्ट जान्छन्, ओरेगनमा हरि शर्माको विदेश बस्नुको पीडा र आफ्नो भाषा बोल्नुको तल्तल्को कुरा उठान गर्छन्।। जे होस् दुवै बेजोडका नियात्राकार हुन्।
प्रस्तुत पुस्तकको नाम मनका लहर र रहरहरू-ले भने पुस्तकमा रहेको व्यापकता र भव्यतालाई समेट्न र पक्रन सकेको छैन। यसमा त घुम्ने लहर र रहर मात्र होइन, यूरोप, अमेरिका र पूर्वी एशियाको विविध पक्षको वर्णन छ, जानकारीको सागर छ ज्ञानको भण्डार छ र अनुभवको ठोस रेखाङ्कन छ। यसर्थ यात्रा संस्मरणको व्यापकता र भव्यतालाई आँक्ने अर्कै शीर्षकद्वारा नामकरण हुनुपर्थ्यो भन्ने प्रतीत हुन्छ। प्रस्तुत पुस्तकमा दुईवटा प्रमुख पक्ष पाइन्छन्- यात्रा संस्मरण र स्थलगत जानकारी। यद्यपि यसमा संस्मरणभन्दा जानकारी पक्ष बढी प्रबल छ। यसलाई यूरोप, अमेरिका र पूर्वी एशियाको ज्ञानकोश भन्दा अत्युक्ति नहोला। यसमा लेखक पुगेको प्रत्येक ठाँउ र शहरको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक, सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक व्यवस्थाको बारेमा चित्रण-वर्णन गरिएको छ।
एक जना साहित्यिक मनोवृत्ति भएको मानिस र एक जना साधारण असाहित्यिक मानिस संसार घुम्दा धेरै अन्तर पर्छ । यहाँ लेखक नै साहित्यिक मनोवृत्ति भएकाले भ्रमणको हरेक वर्णन-विवरण सरस, रोचक र मिठास छ। प्रत्येक लेखको थालनीमा आफ्नो ज्ञान र अनुभव प्रस्तुत गरिएको छ भने सबै वर्णन-विवरण साहित्यिक चास्नीमा डुबेर निस्केका छन् । भ्रमण गर्दाका आफ्नो आँखादेखि वर्णन मात्र नगरी त्यहीकै स्थानिय बासिन्दाले झैं प्रस्तुत गरेको विवरण पाइन्छ। प्रत्येक शहर जाँदा त्यहाँको मानचित्र , परिचय पुस्तिका आदि पढ्ने गरेको बुझिन्छ। यस पुस्तकमा विषयवस्तु धेरै छन्। यसमा धेरै कवि लेखकहरूले ठाँउ पाएका छन्। लन्डनको वेस्ट मिलिस्टर एब्बेमा कुन- कुन कवि लेखकहरूले समाधिको स्थान पाएका छन, ती सबैको लेखा-जोखा छ। साथै केही कविहरूका जीवनीबारे पनि प्रकाश पारिएको छ। संस्मरणमा कतै हिमालको सौंन्दर्य वर्णन छ, कतै मरूभूमि, कतै शहरको अनेक पक्ष वर्णित छन्। अमेरिकाको जनजातिको ऐतिहासिक पृष्ठभूमि र सामाजिक स्थितिको परिचय, त्यहीँकै आमोस जातिको धार्मिक-सांस्कृतिक पक्षको परिचय, कुनै पनि ठाउँको ऐतिहासिक पृष्ठभूमि, ती ती ठाँउका मुख्य खान-पीन, क्षेत्र र क्षेत्रफल, भौगोलिक बनोट, मुख्य भाषा, साहित्यकार, संस्कृति आदि कुराको उल्लेख गरिएको छ। धर्म-संस्कृति, कृषि, पशुपालन, उद्योगको अवस्था, गिर्जाघर, मठ-मन्दिर, समुद्र किनार, वायुयानभित्रको वर्णन आदि कुरा यस ग्रन्थका मुख्य खुराक हुन्।
यस ग्रन्थमा मुख्य गरी नेपाल, थाइल्याण्ड, क्यानाडा, इँगल्याण्ड, जापान, अमेरिका, बेल्जियम, होलेण्ड, जर्मनी, फ्रान्स, कमबोडिया, हङकङ आदि देशहरू ब्रमण गरिएको विवरण छ। यी देशहरूका अनेक शहर चित्रित छन्। चित्रण गरिएकाध्ये अमेरिका, यूरोप र पूर्नी एशिय़ाका मुख्य शहरहरूमा हङकङ, टोकियो, काठमाडौं, पोखरा, कोलोन, म्युनिख, एम्स्टर्डन, ब्रुसेल्स, साल्स्वर्ग, लन्डन, एडिनबरा, ब्याङ्कक, क्राबी, न्यूजर्सी, भर्जिनिया, न्यूयोर्क, होनोलुलु, लसबेगस, क्यालिफोर्निया, सेनफ्रान्सिस्को, सियटल, वाशिंटन डिसी, पेन्सिल्भिया, विलियम्सबर्ग, जेम्सटाउन, योर्कटाउन, टोरोन्टो, मोन्ट्रियल, क्वेबेक, सेमेन्दो आदि गरी लगभग ३४–३५वटा जति हुन्। यत्रा शहर र देशका अनेक पक्षको वर्णनमा लेखकले आफ्नो धेरै परिश्रम गरिका छन्। अमेरिकाको न्यूयोर्कको मूर्तिसित एकालाप गरेको प्रसङ्ग छ जो फ्यान्टासीको रूपमा प्रयोग गरिएको छ।
लेखकमा लेखनगत इमानदारिता देखिन्छ। उनी आफु गएका प्रत्येक ठाँउ-शहरको सकेसम्म धेरै जामकारी हासिल गरेर पाठकहरूलाई लाभान्वित पारेका छन्। ठाँउ- ठाँउमा पाउने काने र लाउने चिजस ती-ती ठाँउका मुख्य पेशा, परिवेश, रहन-सहन को चर्चा गरेका छन्। ठाँउ-ठाँउमा पाइने किसिम-किसिमका वाइनको चर्चा निकै रोचक ढंगमा गरिएको पाइन्छ। यसैगरी लेखकमा इतिहास चेत छ। उनी प्रायः हरेक भ्रमणमा इतिहास केलाँछन्। क्याम्बोडिया र अङ्कोर भाटको इतिहास, गुफाहरूको इतिहास, अमेरिकाका जनजाति, प्यारिसको आइफेल टावर, एन फ्रेन्कको डायरीका प्रसङ्गमा हिटलरको ग्याँस च्याम्बरको चर्चा, नाजी बर्बरताको इतिहास केलाउँछन। भ्रमणमा देखिएका संसारका विभिन्न ठाँउका विकृति पक्ष पनि उल्लेख गरेका छन्। थाइल्याण्डमा विद्यमान खुल्ला यौन व्यापारको पनि चर्चा गरेका छन्।
जहाँ गए पनि लेखकलाई आफ्नो माटो प्यारो छ। उनी घरि घरि दार्जीलिङलाई सम्झन पुग्छन्। प्रायः जसो लेखमा पहाड-पर्वत, सफा-सुग्घर, भैतिक आधारभूत सुख-सुविधा, बाटा-घाटाको चर्चा गर्दा हाम्रो दार्जीलिङ पनि यस्तै भइदिए हुन्थ्यो भनी कल्पना गर्छन्। हाम्रो यो दार्जीलिङमा पनि विभिन्न सुन्दर प्राकृतिक छटा छ, यसलाई हामी चिनौं भन्ने उनको चाहना छ। यहाँ रहेका अव्यवस्थित बजार, फोहोर-मैला, कामचोरीपन, भ्रस्टाचारजस्ता विकृति पन्साएर स्वस्थ, हरियाली र सुव्यवस्थित दार्जीलिङको कामना राखेको बुझिन्छ। यसैगरि उनले नेपाली जाति, परम्परा र संस्कृतिप्रति सचेत छन्। अमेरिकामा नेपाली समुदायबिच नेपाली रीति-रिवाज खोज्छन्। त्यहाँ नेपाली युवतीहरू देख्दा खुशी भई उनीहरूबारे जानकारी लिन्छन्। आफ्नो भाषा, जाति, संस्कृति, परम्परा, धर्म-संस्कारलाई उनले आन्तरिक तहबाटै प्रेम गरेको पाइन्छ। यसैगरि उनमा नेपाली लोक सांस्कृतिक चेतना पनि प्रबल रूपमा पाइन्छ। नेपाली लेकगीतको भाका, लोकबोली, पनि ठाँउ-ठाँउमा प्रस्तुत गरेका छन्। भीरबाट लडे मरिन्छ सोझै नभनेर नेपाली लोकभाकामा त्यहाँबाट ‘झरिगए छैन मायालु’ भनी संकेत रूपमा प्रस्तुत गर्छन्। उनको निम्ति अमेरिकाको आमिस जातिमा पनि चरचरेको लहराबाट हल्ला हुन्छ। यस ग्रन्थका सबै पानाहरूमा रोचकता बर्ने प्रयास गरेका छन्। लेखकले विभिन्न प्रान्तमा बनाइने विभिन्न फल-फूलका वाइनको रोचक वर्णन गरेका छन्। कतिपय प्रसङ्गहरू घरि-घरि दोहोरिएका छन् जसले लेखकलाई निकै प्रभाव पारेको प्रतीत हुन्छ।एम्स्टर्डमका डच दम्पति मिस्टर र मिसेज एल्कोको प्रसङ्ग र सान्निध्यको उल्लेख घरिघरि पाइन्छ। यसबाट लेखकको ती डच दम्पतिसँग निकै आत्मीय सम्बन्ध रहेको बुझिन्छ।
यसमा सूचनाको भण्डार छ। कहाँ कस्ता-कस्ता किसिमका हवाइ-जहाज सेवा, रेल सेवा, पारा-ग्लाउडिङ, डुङ्गा सेवा जस्ता कुराहरू पाइन्छन्, सबै खुलस्त पारेका छन्। यसैगरी अमेरिकामा आदिबासीहरू कुम-कुम जाति हुन्, कसरी बस्छन इत्यादिबारो उल्लेख गरिएको पाइन्छ। नाभाहो, चिरोकी, अपाची, चेन्नी, चिनुक, हाइदा, ओमाहा, पायुट, मोहाक, ओनिडा, साहनी, सेनेका, सुक्स तथा सोसोनी मुख्य हुन् भनी उल्लेख गरिएको छ। यी आदिम जातिहरू पनि अमेरिकामा संरक्षण र राजनैतिक सुरक्षा नपाई विलुप्त हुनलागेको तितो यथार्थ ब्यक्त गरिएको छ। यसका साथै अमेरिकामा कुन कुन जाति कुन देशबाट आई कहाँ कहाँ के-के पेशा अवलम्बन गरेका छन् सबै उल्लेख गरिएको छ। हलेन्डको मुख्य पैठारी वस्तु चिज र अङ्गुरको वाइन, जर्मनीको कोलोनको र फ्रान्सको कृतिम सुगन्ध, हलेन्डको भौगोलिक बनावट अनौठो किसिमको रहेको उल्लेख गरेका छऩ्। त्यहाँका विन्डमिलद्वारा समुद्री पानीको निकासी र अन्य काममा सदुपयोग गरेको बताइएको छ।
लेखकमा सौंन्दर्य चेतना प्रबल छ। त्यही सौंन्दर्य चेतनाले डोहोरिएर उनी संसार डुलेका हुन्। उनलाई प्रकृति असाध्य मन पर्छ। विभिन्न प्रकारका प्रकृतिलाई नजिकबाट नियाल्न घरी अमेरिकाको ग्रेण्ड केनियन, घरी हलेण्डको फूलबारी, घरि जापानको फुजियामा, घरी क्राबीको सुन्दर समुद्रतट, घरी क्याम्बोडियाको अङ्कोर भाटको सौंदर्य, घरी साल्सबर्ग पुग्छन्। उनको निम्ति संसार सुन्दर छ। मोनालिसालाई नजिकैबाट हेरी त्यसमा विभिन्न रूप दर्शन गरेका छन र पाठकलाई पनि रसास्वादन गराएका छन्। समुद्री किनारको अनुपम सौन्दर्य छटा, त्यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको मनोहारी दृश्य, विभिन्न गुफा चहार्छन र स्वीजर्ल्याण्ड र अस्ट्रियाका पर्वत देखेर रमाउँछन्। लेखक प्रकृतिमा नै सम्पूर्ण रहस्य र परिपूर्णता रहेको कुरा प्रकाश पार्छन्।
प्रस्तुत ग्रन्थको भाषा र शैली रोचक रहेको पाइन्छ। विवरणात्मक र गुम्फित शैलीमा कुरा सजिएका छन्। सुन्दर लागेका कुरालाई तत्सम शब्द प्रयोग गर्दै भनाईलाई प्रभावकारी बनाएका छन्। यसमा रहेका वाक्यहरू लामा र मिश्र वाक्यद्वारा संश्लिष्ट बनेका छन्। एडमन्ड हिलरी र टोनी हेगेनसितको अन्तर्वार्तामा संवादात्मक शैली पाइन्छ। शब्द-प्रयोगको क्षेत्रमा पनि सचेत देखिन्छन्। जतिसक्दो ठेट नेपाली शब्द प्रयोग गरिएका छन् भने परिस्थिति र प्रसङ्गअनुसार कतै अङ्ग्रेजी शब्द प्रयोग गरिएको पाइन्छ। उनले आफुपछि अमेरिका-यूरोप घुम्न जानेहरूका निम्ति आफ्ना तिता-मिठा अनुभव बताई सजिलो पारिदिन चहान्छन्। प्रधानको यस पुस्तकलाई यात्रा-साहित्यको सैद्धान्तिक कसीबाट अध्ययन गर्न सकिन्छ। यद्यपि नेपाली साहित्यमा यस्तो सैद्धान्तिक आधार तयार भएको छैन। विश्व साहित्यमा भने यो विकसित भइसकेको छ। प्राचीन कालमा भारत भ्रमण गर्ने ह्वेनसाँग र फाहियानले गुप्तकालिन भारतको सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक र प्रशासनिक व्यवस्थाबारे प्रकाश पारेको छन औ त्यही लिखित दस्तावेजको आधारमा आज इतिहास लेखिएको पाइन्छ। दार्जीलिङको इतिहास हेर्नुपर्दा हुकर दार्जीलिङ आउँदा देखेको कुरालाई नै हामीले ऐतिहासिक आधार लिएको देखिन्छ। निबन्ध विधाअन्तर्गत परेता पनि नियात्रा एउटा छुट्टै उपविधाका रूपमा रहेको छ। यसमा औपचारिक शैली अपनाइएको हुन्छ। यो एक प्रकारले ज्ञानको स्रोत हो। नियात्राकारले देखे-भोगेका कुराले नै धेरै सूचना प्रवाह हुन्छ। श्री प्रधानको यस पुस्तकमा सर्वराह गरिएको ज्ञानबाट धेरै पाठक लाभान्वित हुनसक्छन्। लेखकले यस पुस्तकमा आफ्ना अनुभवभन्दा आफुले बटुलेको ज्ञान बाँड़ेका छन्। लेखकका सुपुत्र र सुपुत्रीहरूले हाम्रा यी लेखकलाई संसारै घुमाइदिएर यात्रा अनुभवी तुल्याएका छन् र हाम्रो नेपाली साहित्यमा एउटा सुन्दर नियात्रा पुस्तक पाएको छ।
निष्कर्षः
जे होस्, नेपाली नियात्रा साहित्यको परिप्रेक्ष्यमा श्री एम बी प्रधानको मनका लहर र रहरहरू पनि गतिलो कलेवरसहित विभिन्न विशेषतायुक्त एउटा नौलो कृतिको रूपमा देखा परेको छ। शेरसिँह राना र केदारमणि आदीदेखि जय छाङ्छा हुँदै सलोन कार्थक र एम बी प्रधानसम्म आइपुग्दा नेपाली नियात्रा साहित्य निकै झाँगिएको पाइन्छ। यद्यपि नेपालीमा यस्तो किसिमको साहित्य लेखनको कुनै सैद्धान्तिक मानदण्ड, अनुसन्धानगत परिपाटी र परम्परा बसेको छैन। अर्थात् नेपाली नियात्रा साहित्यबारे सम्यक अध्ययन भएको छैन र भविष्यका शोधकर्ताका निम्ति यो एउटा ठुलो क्षेत्रको सम्भावना देखिन्छ। यस ग्रन्थमा अमेरिका, यूरोप र पूर्वी एसियाका लगभग बाह्र–चौधवटा जति देशका चैतीस-पैतीसवटा जति शहर र अझै अन्य केही स्थलहरूका सामाजिक, राजनैतिक, आर्थिक, धार्मिक, भौगोलिक, ऐतिहासिक, सांस्कृतिक पक्षहरूको विस्तृत र कतै संकेतित वर्णन- विवरण पाइन्छ। यसलाई विदेशको यात्राको ज्ञानकोश भन्दा कुनै अत्युक्ति नहोला। यस ग्रन्थमा विषयवस्तुको व्यापकता, प्राञ्जल भाषा-शैलीमा संसारका विभिन्न प्रान्तको भ्रमण गर्दा देखिएका प्रकृतिक र भौगोलिक स्थितिका साथै आफूले बुझेका सामाजिक लगायतका विभिन्न स्थितिबारे प्रकाश पारिएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।