बन्दाबन्दी (लकडाउन)काे समयलाई सिर्जनात्मक बनाउन एवं साहित्यको प्रवर्द्धन गर्न नेपाली साहित्य समाज न्युजिल्यान्ड तथा स्रष्टा साँझ अमेरिकाले संयुक्त रुपमा सर्जकहरूको सामूहिक साक्षात्कार कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रम जुम एप्लिकेसन तथा फेसबुकमा आयोजना गरिएको थियो।

“साहित्यिक साक्षात्कार एवं रचना वाचन” भनिएको उक्त कार्यक्रममा अमेरिका र न्युजिल्याण्डमा बसोबास गर्ने नेपाली साहित्यानुरागीहरूले साहित्यको आदानप्रदान गरेका थिए । यसका लागि न्युजिल्यान्डबाट १२ जना तथा अमेरिकाबाट १२ जना स्रष्टाहरुले एक-एक रचना वाचन गरेका थिए । नेपालबाट अतिथि सर्जक दामाेदर बटुवा आचार्य एवं काैशिला रीशालले पनि साहित्य वाचन गरेका थिए।

अमेरिकाका स्रष्टाहरुमा प्रा. डा. शिलु घिमिरे, भगवती पाैडेल, बिटु केसी, छवि चापागाई, शशी भट्टराई, डा. कृष्ण पन्थी, दिनेश शर्मा, राधाकृष्ण काफ्ले, देवराज न्यौपाने, विजयराज भट्टराई, विश्वराज अधाकारी र सकुल काेइराला तथा न्युजिल्याण्डबाट राजेन्द्र पाण्डे, पशुपति कर्मचार्य, माेहन आचार्य, डा. वीरेन्द्र केसी, नमिता दवाडी, राजन बस्नेत, अरुण कार्की, सुरेन्द्र पौडेल, नारद कुँवर, विष्णु श्रेष्ठ, श्रीधर बस्न्यात र डा. जया तिवारीकाे उपस्थित थियो ।

पौने २ घण्टासम्म चलेको साक्षात्कार कार्यक्रममा कविता गजल र गीतहरू प्रस्तुत गरिएको थियो ।

“केही समय अगाडि न्युजिल्याण्डमा विश्व भुटानी साहित्यिक संगठनले आयाेजना गरेकाे अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन गर्ने सन्दर्भमा न्युजिल्यान्डका सक्रिय साहित्यिक व्यक्तिहरुसँग छलफल गरेदेखि नै हामीले केही न केही गर्ने अठोट लिएका थियौँ,” स्रष्टा साँझ अमेरिकाका संस्थापक तथा कार्यक्रमका एक सूत्रधार प्रा. प्रभात दीक्षितले भने, “अमेरिका भित्रका शहरहरुबीच पनि यस्ता कार्यक्रमहरु गर्ने योजना छ।”

कार्यक्रमका अर्का सूत्रधार तथा नेपाली साहित्य समाज न्युजिल्यान्ड अध्यक्ष सञ्जय शान्ति सुवेदीले साहित्यको कुनै सीमा नभए जस्तै भूगोलले पाठक/स्रष्टाकाे सीमा निर्धारण गर्न नसक्ने धारणा राखे । संसारभर छरिएका नेपाली पाठकले हर स्रष्टाहरूको सिर्जना पढ्न पाउने अवस्थाको वातावरण सृजना गर्नुपर्नेमा पनि उनको जोड थियो।

सहजकर्ता द्वय प्रा. प्रभात दीक्षित (अमेरिका) र सञ्जय शान्ति सुवेदी (न्युजिल्यान्ड)ले कार्यक्रम संचालन गरेका थिए । सहभागी स्रष्टा, दर्शक, पाठक तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रमको भिडियोः