
बेलायतस्थित “ल्याड्ब्रोक्स कोरल” नामक “बेटिङ एण्ड गेम्ब्लिङ” अर्थात “सट्टेबाजी र जुवा कम्पनी” जसले लामो समयदेखि विभिन्न खालको सट्टेबाजीको काम गर्दै आएको छ । यो पहिले संयुक्त राज्य अमेरिका बाहिर हिल्टन होटेल ब्रान्डको स्वामित्वमा थियो र सन् १९९९ देखि २००६ सम्म “हिल्टन ग्रुप पिएलसी”को रूपमा चिनिन्थ्यो । सन् २०१६ को नोभेम्बरमा “ल्याड्ब्रोक्स”ले “गाला कोरल ग्रुप” प्राप्त गर्यो र यसको पछि नाम परिवर्तन गरी “ल्याड्ब्रोक्स कोरल” राखियो । जसले विभिन्न खेलकुदमा सट्टेबाजीको काम गर्नुका साथै क्यासिनो सञ्चालन, बिङ्गो खेल खेलाउनेदेखि लिएर वित्तीय सट्टेबाज लगायतको काम पनि गर्दै आएको छ । जसमा करोडौँ डलर बराबरको कारोबार हुन्छ र यो कानुन सम्मत सञ्चालन हुँदै आएको छ । पछिल्लो समय यसले नोबेल पुरस्कार प्रदान गरिँदै आएको पाँचै विधाका पुरस्कार प्राप्त गर्ने सम्भावित व्यक्तिहरूमाथि पनि यस किसिमको सट्टेबाजको काम गर्दै आएको छ । “ल्याड्ब्रोक्स” ले हरेक वर्ष आफ्नो हिसाबले नोबेल पुरस्कार पाउने सम्भावित व्यक्तिहरूको सूची तयार पार्छ । जसमा कहिले उत्कृष्ट १०, कहिले उत्कृष्ट २० त कहिले उत्कृष्ट १०० सम्मको नामावली तयार पार्छ । रमाइलो कुरा त यो छ कि अहिलेसम्म उसले तयार पारेको सूचीभित्रकै व्यक्तिले नै पुरस्कार जित्दै आएका पनि छन् । तर नोबेल पुरस्कार प्रदान गर्ने संस्थासँग भने यस कम्पनीको कुनै लिनुदिनु अथवा भनौँ कुनै सरोकार नरहने बताइन्छ । यता नोबेल कमिटीले भने यस किसिमको सूची कहिल्यै सार्वजनिक गर्दैन ।
“ल्याड्ब्रोक्स” एक स्वतन्त्र व्यवसायीक कम्पनी हो जसको विश्वभर ठुलो सञ्जाल रहेको छ । यस कम्पनीको आफ्नै अनुसन्धान टिम छ र त्यही टिमले विश्वभरिबाट गहिरो अनुसन्धान गरेर यस किसिमको सूची निकाल्ने गर्छ र यसमा सट्टाबाजहरूले पैसा लगाउँछन् । जसमा अर्बौँ रुपैयाँको चलखेल हुन्छ। यही सट्टेबाजी कम्पनीले सन् २०१२ मा साहित्यतर्फको नोवेल पुरस्कार पाउने सम्भावित १० जना साहित्यकारहरूको सूची सार्वजनिक गरेको थियो । त्यो सूची बेलायतबाटै प्रकाशित हुँदै आएको पुरानो र प्रतिष्ठित दैनिक पत्रिका “द गार्जियन” ले पनि प्रकाशित गरेको थियो । त्यस सूचीमा भारतीय नेपाली साहित्यका वरिष्ठ कवि तथा चिन्तक डा. राजेन्द्र भण्डारीको नाम पनि थियो । उहाँको नाम ९ नम्बरमा परेको थियो । यसले त्यो बेला नेपाली साहित्यमै एक किसिमको तरङ्ग उत्पन्न गराएको थियो । तर सो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार भने चिनियाँ उपन्यासकार “मो यान” ले पाएका थिए । उनी त्यस सूचीको ४ नम्बरमा थिए । यसअघि सन् २०११ मा पनि कवि डा. भण्डारी सोही कम्पनीले निकालेको सूचीको १०० नम्बरमा पर्नु भएको थियो । त्यतिबेला भने उहाँको खासै चर्चा हुन पाएन नेपाली साहित्यमा । यसरी त्यस खालको सूचीमा पर्नेमा समग्र नेपाली भाषी साहित्यकै तर्फबाट डा. भण्डारी पहिलो र अहिलेसम्मको एकमात्र साहित्यकार हुनुहुन्छ । यो हाम्रो लागि पनि गर्वको बिषय हो । तर स्वयम् कवि डा. भण्डारीलाई भने यसो भनिरहँदा अप्ठेरो महसुस हुन्छ । त्यो सूचीमा आफ्नो नाम कसरी पर्यो भन्ने कुरा डा. भण्डारीलाई पनि थाहा छैन । सूचीमा आफ्नो नाम देख्दा उहाँलाई पनि अचम्म लागेको थियो । त्यतिबेला नेपाली साहित्यमा यस विषयले पाएको चर्चा उहाँलाई खासै मन परेको थिएन । उहाँलाई एक किसिमले सरम लागेको थियो । अहिले पनि यो कुरा निकाल्यो भने उहाँ हाँस्नु हुन्छ र अप्ठेरो मानेजस्तो गर्नुहुन्छ । तर उहाँलाई जे जस्तो महसुस भए पनि नेपाली साहित्यलाई माया गर्नेहरुका लागि भने यो एउटा गर्वको विषय हो ।

डा. राजेन्द्र भण्डारी
चित्र : जीवित खड्का मगर
विगत ५ दशकदेखि भारतीय नेपाली साहित्यमा विशिष्ट योगदान दिँदै आउनुभएका वरिष्ठ कवि, चिन्तक, समालोचक, सम्पादक, अनुवादक तथा पूर्व प्राध्यापक यिनै डा. राजेन्द्र भण्डारीसँग सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रममा साहित्यिक भलाकुसारी गर्ने एउटा सु-अवसर मिल्यो । त्यो पनि कार्यक्रमको १०० औँ शृङ्खलाको विशेष बसाइमा । माता सावित्री भण्डारी र पिता भगीरथ भण्डारीको सन्तानको रूपमा सन् १९५६ सेक्टेम्बर २८ तारिखका दिन भारतको कालिम्पोङ स्थित गहिरी गाउँ बम बस्तीमा कवि भण्डारीको जन्म भएको थियो । तीन दाजुभाइमा उहाँ कान्छो हुनुहुन्छ । सानै उमेरबाट साहित्य लेखनको यात्रा सुरु गर्नुभएका कवि भण्डारीको सन् १९७९ मा प्रकाशित “हिउँदे यी चिसा रातका पर्दाहरूमा” उहाँको पहिलो कविता सङ्ग्रह हो । त्यसैगरी “यी शब्दहरु यी हरफहरू”, “क्षर अक्षर”, “शब्दहरूको पुनर्वास” र “इतिहासको बाडुली” गरी उहाँका पाँचओटा मूल कवितासङ्ग्रह प्रकाशित छन् भने एउटा प्रतिनिधि कविताहरूको सङ्ग्रह “प्वाँखहरू र आकाश” पनि बजारमा आइसकेको छ । त्यसैगरी कवि, समालोचक तथा प्राध्यापक महेश पौड्यालको सम्पादनमा कवि भण्डारीका प्रतिनिधि कविताहरूको अर्को सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ । उत्तर बङ्गाल विश्वविद्यालयबाट स्नातकोत्तर गर्नु भएका भण्डारीले “सिक्किमेली कथा परम्परा” माथि विद्यावारिधी अर्थात पिएचडी गर्नुभएको छ । सन् १९८५ बाट समालोचना लेखन थालनी गर्नुभएका भण्डारीका “खलिल जिब्रान व्यक्ति अनि कृतित्व “, “जापानी हाइकु परम्परा र महाकवि वाशो”, “कवि वीरेन्द्र सुब्बा कवितायात्रा”, “भारतीय नेपाली कथा : एक सर्वेक्षण”, “पारसमणी प्रधान : उहिलेदेखि अहिलेसम्म”, लगायत दर्जनौँ समीक्षात्मक लेखहरू प्रकाशित छन् । त्यसैगरी एक कुशल सम्पादकको रूपमा समेत परिचित भण्डारीले “दृष्टिकोण” नामक साहित्यिक पत्रिका र “प्रतिमान” नामक साहित्यिक कृतिको सम्पादन गर्नुभएको छ । त्यसका अतिरिक्त अन्य केही साहित्यिक कृतिहरूको सम्पादन गरिसक्नुभएका डा. भण्डारीले आफ्ना सिर्जनासहित अन्य सर्जकका सिर्जना अङ्ग्रेजीमा पनि अनुवाद गरेर आफूलाई अनुवादकको रूपमा समेत परिचित गराउनु भएको छ । कवि डा. भण्डारीका केही कविताहरू नेपाली भाषाका अलवा हिन्दी, अङ्ग्रेजी, बङ्गला, उडिसा, असमीय, पञ्जाबी लगायत भाषामा अनुवाद भएर प्रकाशित भइसकेका छन् । यिनै बहुआयामिक व्यक्तित्वका धनी डा. भण्डारीसँग कार्यक्रममा हामीले उहाँको साहित्य लेखनको यात्रासहित कविताका विविध पाटोमा केन्द्रित रहेर विशेष कुराकानी गर्ने कोसिस गरेका थियौँ ।

डिजी शर्मा (युएई)
महाविद्यालयको प्राध्यापन पेशाबाट सन् २०१६ मा अवकाश प्राप्त गरेपछि यतिबेला कवि डा. भण्डारी आफ्नो मूलथलो कालिम्पोङस्थित बम बस्तीमा बस्दै आउनुभएको छ । केही पुराना रचनाहरू संशोधन गर्ने, प्रेसमा दिने, आफ्नो विद्यावारिधीको थेसिसलाई मुद्रण गर्ने, लगायत कार्यमा उहाँका दिनहरू बितिरहेका छन् । यसका अलवा नयाँ कविताहरू पनि लेखिरहनु भएको छ र ती पनि बिस्तारै प्रकाशनमा पठाउने योजनामा हुनुहुन्छ । यस अर्थमा जागिरको अवकाशपछि उहाँलाई केही फुर्सद मिलेको छ । पहिले जागिरको समयमा अलिकति उमेर थियो । जाँगर थियो । अहिले उमेर घर्किएसँगै जिउ शिथिल त हुन्छ नै तर समयको हिसाबले फुर्सद चाहिँ मज्जाले मिलेको उहाँ बताउनु हुन्छ । त्यही फुर्सदको समयलाई मिलेसम्म सदुपयोग गर्ने काम भइरहेको छ । डा. भण्डारीले हालको नरबहादुर भण्डारी महाविद्यालय सिक्किममा तीन दशकसम्म प्राध्यापकको रूपमा रहेर सेवा पुर्याउनु भएको थियो ।
उहाँको बाल्यकाल नै साहित्यिक भोजनालयबाट सुरु भएको थियो । उहाँको परिवार साहित्यिक रूचि भएकै परिवार हो । उहाँका बुबा भगीरथ भण्डारीको एउटा कवितासङ्ग्रह छ । भावगत गीतालाई उहाँले झ्याउरेमा अनुवाद पनि गर्नुभएको छ । मुनामदनको शैलीमा लोक गीता भनेर अनुवाद गर्नुभएको छ । त्यसैगरी उहाँका दाजु स्थापित आख्यानकार हुनुहुन्छ । ८/१० ओटा आख्यान कृतिहरू, कथा, उपन्यास कविताहरू छन् । अर्का जेठा दाजु पनि साहित्यानुरागी हुनुहुन्छ । राम्रो पाठक हुनुहुन्छ । यसरी साहित्यको राम्रो पारख गर्ने परिवारमा उहाँको जन्म भएको हुनाले पनि उहाँलाई धेरै मद्दत पुगेको थियो साहित्यप्रति रुचि जगाउनमा । सानो उमेरबाट नै उहाँहरूको प्रभाव आफूमा परेको सम्झिँदै डा. भण्डारी भन्नुहुन्छ, “घरमा दाजुहरूले पत्र-पत्रिका ल्याउनु हुन्थ्यो । जेठा दाजुले त पुरस्कारमा जितेर भारतीय पत्रिकाको बण्डल नै ल्याउनु हुन्थ्यो । मेरोमा अहिले पनि एउटा बन्डलै छ पुरानो । सानो हुँदादेखि नै ती पत्रिका पल्टाउँदै म हुर्किएको हो । त्यसपछि, दियो, दियालो, धुँवा, लगायत अन्य पत्रिकाहरू माइला दाजुले पनि ल्याइरहनु हुन्थ्यो । दाजुहरूका साथीहरू घरमा आउने जाने भइरहन्थ्यो । उहाँहरुबाट पनि साटासाट भइरहन्थ्यो । यस्तो भइरहँदा घरमा लेखनको परिवेश , कविता यस्तो हुँदो रैछ, कथा यस्तो हुँदो रैछ , पत्रिका यस्तो हुँदो रैछ, साहित्य यस्तो हुँदो रैछ भन्ने कुराको ज्ञान इत्यादिको माहोल थियो घरमा सानैदेखि । मैले आँखा खोलेर पाँचौ कक्षादेखि नै अन्य किताबहरू पढ्न थालेको थिएँ । मलाई “पिँजडाको सुगा” नामक कविता त स्कुल सुरु गर्नुभन्दा पहिल्यै कन्ठस्थ भइसकेको थियो दाजुहरूले पढेको सुनेर । यसकारण पनि म साहित्यमा सजिलैसँग भिज्न सकेँ ।”
यदि उहाँको पारिवारिक माहोल साहित्यिक नभइदिएको भए आजको कवि डा. भण्डारी जन्मिने सम्भावना रहन्थ्यो कि रहँदैन थियो होला ? भन्ने सवाल पनि पैदा हुनु स्वभाविक हो । यसको जवाफ दिन मुस्किलै नै छ उहाँलाई पनि । फेरि पनि सानैदेखि एउटा सम्वेदनशिलता थियो उहाँको मनमा । त्यतिबेलाको समाज उर्वर थियो । साहित्यानुरागी समाज थियो । स्कुलमा पनि गोष्ठीहरू भइरहन्थ्यो । कालिम्पोङ सहरमा पनि भव्य साहित्यिक कार्यक्रमहरू भइरहन्थ्यो । त्यसले पनि उहाँलाई प्रभावित पारिरहेको हुन्थ्यो । यसअर्थमा उहाँका दाजुहरू साहित्यकार अथवा साहित्यप्रति रुचि नभएको परिवार भएको भए पनि आजको कवि डा. भण्डारी जन्मिने सम्भावना भने सायद रोकिँदैन थियो होला भन्ने उहाँलाई लाग्छ । त्यसमाथि घरको वातावरणले त धेरै नै बल पुर्यायो ।
अहिले त समय परिस्थिति र सूचना प्रविधिमा आएको व्यापक परिवर्तनका कारण एउटा लेखकलाई आम पाठकमाझ पुग्न निक्कै सहज र सजिलो भएको छ । तर कवि डा. भण्डारीको समयमा यो अहिलेको जस्तो अवस्था बिल्कुल थिएन । सुरुवाती दिनमा पाठकमाझ आफ्ना सिर्जानाहरु पुर्याउन केही अप्ठ्याराहरु झेल्नु परेको उहाँ सम्झिनु हुन्छ । त्यो समयमा पत्र-पत्रिकामा सिर्जनाहरू छापिएर पाठकसम्म पुग्नु त धेरै परको कुरा, आफ्ना सिर्जनाहरू सम्पादकको नजरमा पर्नु पनि धेरै ठुलो कुरा हुन्थ्यो एउटा सर्जकको लागि । पत्रिकाहरू पनि धेरै निस्किँदैन थिए । त्यो बेला कालिम्पोङमा नाम चलेको “दियो” साहित्यिक पत्रिका थियो । त्यसपछी “दियालो” । “धुँवा” पनि बेलाबेला निस्किन्थ्यो । तर उहाँहरू भने प्रायः सिधै नेपालका पत्रिकाहरूमा भर पर्नुहुन्थ्यो । नेपालबाट “मधुपर्क”, “रुपरेखा”, लगायत साहित्यिक पत्रिकाहरू कालिम्पोङ पुग्थ्ये कसो-कसो गरेर । हुन त स्कुले जीवनमा नै स्कुल कलेजका पत्रिकाहरूमा डा. भण्डारीका सिर्जनाहरू छापिएका थिए । तर साहित्यिक पत्रिकामा उहाँको पहिलो पटक “मधुपर्क” मा “पूर्व पश्चिम” शीर्षकको कविता सन् १९७५ मा छापिएको थियो । पहिलो पटक मधुपर्कमा छापिँदा उहाँ निक्कै खुसी हुनु भएको थियो । त्यसले उहाँलाई आल्हादित बनाएको थियो । त्यो छापिए लगत्तै उहाँले अर्को पनि सिर्जना पठाउनु भएको थियो । त्यो पनि पहिलो सिर्जना छापिएको दुई तीन महिनापछि छापिएको थियो मधुपर्कमै । जसरी अहिले हामी मोबाइलमा व्यस्त हुन्छौँ अर्थात झुम्मिन्छौं त्यो बेला आममान्छेहरु पत्र-पत्रिकाहरूमा झुम्मिन्थे । मनोरञ्जनको साधन नै पत्रिकाहरू हुन्थे । त्यसकारण पनि एउटा कुनै पत्रिकामा छापियो भने पनि धेरैले पढ्ने र धेरैले थाहा पाउने अवस्था रहन्थ्यो । नेपालबाट सिर्जनाहरू छापिन सुरु भएपछि भने नेपालमा हुने गोष्ठी कार्यक्रम लगाययमा उहाँलाई पनि निमन्त्रणा हुन थाल्यो । यसरी आफू पाठकहरूमाझ जोडिँदै गएको उहाँ सम्झिनु हुन्छ । यसरी आफ्नो साहित्य लेखनको औपचारिक यात्रा मधुपर्कबाट सुरु भएको उहाँ बताउनु हुन्छ ।
त्यो बेला एक त माध्यम कम हुने र भएका माध्यममा पनि सबैलाई समेट्नु पर्ने बाध्यताका कारण पनि लेखनको सुरुवाती चरणमा निक्कै सकस भोग्नु परेका किस्साहरु अग्रज लेखकहरूबाट सुन्ने गरिन्छ बेलाबेला । आफ्नो सिर्जना राम्रो भएर पनि सम्बन्धित ठाउँसम्म पहुँच नपुगेका कारण भनौँ अथवा अन्य असुविधाका कारण पनि थुप्रैका थुप्रै सिर्जनाहरू नछापिएका घटनाहरू थुप्रै छन् । यसको मारमा कवि डा. भण्डारी पनि पर्नु भएको छ केही हदसम्म ।
त्यो परिस्थितिको सामना उहाँले पनि गर्नु पर्यो । त्यतिबेला रिजेक्ट गरेर फर्काउने चलन त थिएन । तर लामो समयसम्म पनि प्रकाशित नभएपछि आफू रिजेक्ट भएछु भन्ने कुरा बुझ्नु पर्थ्यो । कवि भण्डारी त्यतिबेला “वैंशालु” भन्ने पत्रिकामा आफूले पठाएको सिर्जना नछापिएको सम्झिनुहुन्छ । त्यसैगरी सिक्किमका एक-दुई ओटा पत्रिकामा पनि सुरुवाती चरणमा पठाएका रचनाहरु छापिएनन् । त्यसरी उहाँका सिर्जना नछापिएका केही उदाहरणहरू छन् । त्यसपछि चाहिँ लगातार उहाँका सिर्जनाहरू छापिन थाले । त्यहाँदेखि यता भने आफ्ना सिर्जनाहरु नछापिएको भन्ने अनुभव छैन उहाँलाई ।
नेपालबाट मधुपर्कमा छापिएपछि उहाँ मोटामोटी रूपमा एक किसिमले स्थापित नै हुनु भएको थियो । त्यो समयमा मधुपर्कमा सिर्जना छापिनुले निक्कै ठुलो अर्थ राख्थ्यो पनि । मधुपर्कमा छापिएपछि कुनै पनि लेखक स्थापित नै भएको मानिन्थ्यो र त्यसको एउटा प्रमाण पनि हुन्थ्यो मधुपर्क । त्यसले अरुलाई पनि यो मान्छेले लेख्ने रहेछ भनेर एक खालको सन्देश दिने काम गर्थ्यो । “हुन त म धेरै लेख्ने खालको मान्छे त होइन । एकदम कम्ती लेख्छु । त्यो मेरो प्रतिभाको कमी पनि हुन सक्छ । तर जति लेखेको छु ती सबै प्रकाशित हुँदै नै आएका छन् अहिले चाहिँ”, उहाँ भन्नुहुन्छ ।
हिजोका दिनमा छापिने माध्यम पनि थोरै हुने र भएका माध्यममा पनि धेरै सम्पादनपछि मात्र छापिने परिपाटीका कारण त्योबेला स्तरीय सिर्जनाहरू आउँथे भनेर अग्रज स्रष्टाहरूको दाबी रहँदै आएको छ र यो धेरैहदसम्म सत्य पनि हो । अहिले वर्तमान समयमा प्रकाशनका अनेक माध्यम र ती माध्यममा सम्पादनको पाटो निक्कै कम मात्रमा हुने अथवा कतिपय माध्यममा सम्पादन नै नहुने भएका कारण अहिलेका सिर्जनाहरूको स्तर कम हुँदै गएको छ भनेर एक किसिमको आरोप नयाँ पुस्ताले खेप्दै आएको पनि छ । फेरि यो आरोपलाई नकार्न पनि सकिन्न । यो कुरामा कवि डा. भण्डारी पनि सहमति जनाउनु हुन्छ । पहिले-पहिले छापिनुभन्दा पहिल्यै नै सम्पादकहरू एकदमै सचेत हुने गर्थे । जोसुकै सम्पादक पनि हुँदैनन् थिए । साहित्यमा निकै प्रबुद्ध व्यक्तिहरू नै सम्पादनमा हुने भएकाले त्यतिबेला निक्कै राम्रा-राम्रा कृतिहरू निस्किन्थे । अहिले पनि नराम्रो भन्ने त होइन । तर अहिले कमसल पनि र उत्कृष्ट पनि सबै निस्किरहेका छन् । जसले गर्दा पाठकहरूमा अन्यौलता सिर्जना भएको छ । कुन चाहिँ असल हो, कुन चाहिँ कमसल हो, कुन चाहिँ शुद्ध मनोरञ्जनको लागि हो, कुन चाहिँ अलिक गहन चिन्तनको लागि हो भन्न्ने कुरा छुट्याउन गाह्रो परिरहेको छ । मूल्य नभएका कृतिहरु पनि अहिले प्रशस्तै देखा परिरहेका छन् । हुन त यसले भाषालाई नै टेवा पुर्याउने काम गरिरहेको छ । तर सबै किसिमका सामाग्रीहरु एकै ठाउँमा मिसिँदा गम्भीर साहित्य ओझेलमा पर्ने हो कि भन्ने चिन्ता पैदा गरेको कवि डा. भण्डारीको भनाइ छ ।
कवि डा. राजेन्द्र भण्डारीलाई पूर्वीय र पाश्चात्य साहित्यको गम्भीर अध्येता भनेर चिनिन्छ । कैयौँपटक भारतीय नेपाली साहित्यको मात्रै नभई समग्र नेपाली साहित्यकै प्रतिनिधित्व गरेर महत्त्वपूर्ण सेमिनारहरूमा यूरोपका विभिन्न देशमा पुगेको एउटा गर्विलो नाम हो । सन् २०१७ मा जर्मनीमा आयोजित विश्व कवि सम्मेलन र इटलीमा आयोजित विश्व कवि गोष्ठी, त्यसैगरी सार्क साहित्य सम्मेलनमा आफ्नो सहभागिता जनाइसक्नु भएका कवि भण्डारीले भारत र नेपालका विभिन्न स्थानमा हुने साहित्यिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै आउनुभएको छ । त्यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरूमा गइरहँदा आफ्नो र अन्य देशको साहित्यलाई नजिकबाट बुझ्ने मौका पाउनुका साथै नेपाली कवितालाई त्यहाँसम्म पुर्याउने काम पनि गर्नुभएको छ । साथै हाम्रो कविता र उनीहरूको कविता लेखन शैली तथा कवितामा उठाइने विषयवस्तुका अन्तरबारे पनि बुझ्ने मौका पाउनु भएको छ । हाम्रा कविताका विषयहरू अहिले पनि गाँस बासको केन्द्रमा जकडिनु परेको छ । जातिगत अस्तित्व असुरक्षित भएको अवस्था अथवा राष्ट्रिय असुरक्षा बोध भएका अनि गरिबी र यस्तै तिक्त निम्नवर्गीय यथार्थमै जकडिएर हामी लेखिरहेका छौँ । तर पश्चिमेली कवि/साहित्यकारहरु त्यसदेखि अलिक भित्र पुगेर अलिक सुक्ष्मतातिर लम्किरहेका छन् । हाम्रा बिम्ब प्रतिक र प्रस्तुतीहरू अलिक स्थुल छन् । अलिक भावनात्मक छन् । अलिक कता-कता रोमान्सेली जस्ता किसिमका कविताहरू हामी लेखिरहेका छौँ । अनि त्यो नै हाम्रा पाठकहरूले पनि मन पराइरहेको पाइन्छ । तर उताका कविताहरू एकदमै सूक्ष्म अनि मानवीय गरिमाको खोजीमा बेसि लागेको पाइन्छन् । यता अफ्रिकन र अरबीयन क्षेत्रका कविहरूले भने हामीले जस्तै स्थुल यथार्थका कविताहरू धेरै लेख्ने गरेको कवि भण्डारीको अनुभव छ । तर अङ्ग्रेजी , जर्मनी, इटली तिरका कविहरूले भने सुक्ष्म यथार्थलाई नै खोज्ने गरेका छन् । हामीलाई जुन चाहिँ कविता होइनजस्तो लाग्छ त्यसमा उनीहरूले धेरै कविता लेखिसकेका छन् । जहाँसम्म हाम्रो अस्तित्वगत स्थितिले गर्दा पनि हामी त्यसरी त्यो किसिमको सुक्ष्मतामा जान नसकेको हो कि भन्ने भण्डारीलाई लाग्छ । तर यो हाम्रो पनि एउटा यथार्थ हो भने उनीहरूको पनि त्यो अर्को यथार्थ हो । यसलाई हामी चुकेको भन्न अलिक मिल्दैन र भन्नु पनि हुँदैन । हाम्रो ठाउँमा हामी ठिकै छौँ र उनीहरुको ठाउँमा उनीहरू पनि ठिकै छन् । तर हामीले पनि उनीहरूका त्यस्ता कविताहरूको रसस्वादन प्रचुर मात्रामा गर्न सकेको खण्डमा हाम्रोमा पनि अलिकति डाइभरसिटी अथवा बहुस्वर आउन सक्थ्यो होला भन्ने कवि डा. भण्डारीको विश्वास छ । अहिले हाम्रो कविताको एउटा ठुलो समस्या भनेको एक-रसता पनि हो । हुन त भाषा शैली अलग-अलग छन् । तर विषय क्षेत्र हेर्ने हो भने मोटामोटी झण्डै एकै खालका कविताहरू पाइन्छन् नेपालमा र भारतीय नेपाली साहित्यमा पनि । जुन आन्तरिक यथार्थ हो त्यतातिर हाम्रा कविहरु त्यतिबेसी उन्मुख नभएको जस्तो महसुस हुन्छ र त्यो नै एउटा ठुलो फरक हो हामी र उनीहरूमा ।
त्यसो हुनुमा हामीमा हाम्रो परिवेशभन्दा बाहिरको अध्ययन धेरै नहुनुले पनि काम गरेको हुन सक्ने भण्डारीको बुझाइ छ । हामी आफ्नै समस्यामा अल्झिरहेका छौँ । आफ्नै स्थिति, परिस्थिति र आफ्नो अध्ययनको सिमितासँग जकडिएका कारण नै हाम्रो सिर्जनाको क्षेत्र पनि अलिकति सिमित बन्न पुगेको हो कि ? भन्ने त्यो एउटा राम्रो कारण हुन सक्छ । उनीहरूका सिर्जनालाई प्रशस्त मात्रामा अनुवाद गराएर हामीले हाम्रो अध्यनको क्षेत्र पनि बढाउन सकेदेखि हाम्रो कवितामा पनि उनीहरूको जस्तै बहु-स्वरता आउने थियो र हाम्रा कविताहरू पनि अलिक फराकिलो हुन्थ्यो होला भन्ने उहाँलाई लाग्छ । फेरि पनि हामी आ-आफ्नो ठाउँमा ठिकै छौँ । कविता लेखन र विषय वस्तुका अलवा कविताको प्रस्तुतीकरणमा पनि केही भिन्नता देख्नुहुन्छ उहाँ । हामी जुन किसिमले पाठक स्रोता समक्ष स्रोताको कानसम्म एउटा पञ्च लाइन पुर्याउन चाहने एउटा जुन हुट्हुटी हुन्छ, कहीँ पुगेर कसैले वाह ! वाह ! गरोस् अथवा वाह ! भनोस् भनेर त्यस्तो खालको पङ्क्तिहरू लेख्ने, कवितामा त्यस किसिमको प्रभाव दिने एउटा परम्परा छ हाम्रोमा । त्यो चाहिँ उनीहरूमा पाइँदैन । कविहरूले पढिरहँदा बिलकुल पिनड्रप साइलेन्स । सबैजना चुप लागेर बस्ने र कविले पनि हल्ला नगरी सानो स्वरमा ढिलोगरी बिस्तारै पढ्ने अनि पढिसकेर पनि कवि उत्तेजित नहुने । भित्रभित्रै गम्भीर हुने । त्यस किसिमको कविता प्रस्तुतीकरण युरोपका धेरै ठाउँमा देखेको डा. भण्डारी आफ्नो अनुभव सुनाउनु हुन्छ । त्यसो गर्दा कविताको गम्भीरतालाई बुझ्न सजिलो हुन्छ अथवा भनौँ अलिकति सुक्ष्मतातिर गइयो भने बाहिर वाहवाही गरिरहनु पर्दैन भन्ने पनि हो । त्यो भित्रैभित्रै भिज्छ । यसोहुँदा कुनै एउटा लाइनले, कुनै एउटा पङ्क्तिले हिर्काउनै पर्छ भन्ने पनि रहेन । समग्रमा त्यो कविताले नै एउटा गम्भीर बिम्ब दिएको हुन्छ । तर हाम्रोमा चाहिँ कविले वाचन गरिरहँदा वा ! वा! गर्ने, हात उठाउने, उत्तेजित हुने त्यस्तो खालको चलन प्रायः देखिन्छ ।
कथा, निबन्ध र समालोचनामा पनि कहिलेकाहीँ कलम चलाए पनि लामो समयदेखि विशेषगरी कवितामै समर्पित हुँदै आउनु भएका कवि डा. भण्डारीलाई यसले नै एउटा विशिष्ट उचाइमा पुर्याएको छ । आज पनि उहाँ कविता नै लेखिरहनु भएको छ । यतिका वर्षदेखिको तपस्या, साधना, कवितामाथिको चिन्तन र थुप्रै अनुभवहरू हुँदा पनि कविता के हो ? अथवा कविता कस्तो हुनुपर्छ ? भन्ने सवालमा भण्डारीसँग पनि ठ्याक्कै जवाफ छैन र कविता यस्तै हुनु पर्छ भनेर भन्न सकिने कुरा पनि होइन जस्तो लाग्छ उहाँलाई । यो अलिक व्यक्ति सापेक्षिप कुरा पनि हो । तर पनि यो कविता भयो अथवा भएन भनेर भन्ने नै गरेको पाइन्छ । त्यस अर्थमा कविताबाट कमसेकम केही त खोजिँदो रहेछ । केही न केही त आशा गर्छन् नै पाठकले । हाम्रो दृष्टिकोण अलिक फराकिलो बनाउँदै लान सकेदेखि हाम्रो कविता पनि फराकिलो हुँदै जाने थियो । अहिले पनि फराकिलो छैन भन्ने त होइन । तर अहिले हामी हाम्रो अस्तित्वको सुरक्षाको लागि अथवा असुरक्षा बोधका कविताहरु मात्रै लेखिरहेका छौँ । नुन भुटुनका कविताहरू । गरिबीका कविताहरू । जातीय असुरक्षा बोधका कविताहरू । राष्ट्रिय संकटका कविताहरू । राजनीतिक व्यङ्ग्यका कविताहरू । यस किसिमका कविताहरु हामीले प्रशस्तै लेखिसक्यौँ । तर योदेखि बाहेक हामी मान्छे मात्रै पनि त हौँ । एउटा सार्वभौमिक मान्छे मात्र पनि हौं । सर्वकालिक मान्छे मात्र पनि हौँ हामी र त्यो पक्ष चाहिँ हाम्रो कवितामा केही छुट्दै गएको छ । हामी परिस्थितिमा बेसी बाँधिन थाल्यौँ कि ? परिस्थितिले हामीलाई बेसी जकड्यो कि ? जब कि एउटा कवि एउटा राजनीतिज्ञभन्दा अलिक फराकिलो होस् जस्तो सबैलाई लाग्नु स्वभाविक पनि हो । एउटा कवि चिन्तक पनि हुनु आवश्यक छ । एउटा चिन्तक पनि, एउटा योगी पनि र एउटा दार्शनिक पनि कवि भइदिने हो भने हाम्रो कवितामा एकदमै सुनमा सुगन्ध हुन्थ्यो होला जस्तो डा. भण्डारीलाई लाग्छ ।
हाम्रो सिर्जनाको क्षेत्रमा केही मात्रामा संकुचन आउन थालेको हो कि ? सङ्ख्याका हिसाबले त कुनै प्रश्न नै उठ्दैन । प्रशस्तै सिर्जनाहरू भइरहेकै छन् । तर गुणात्मकता र बहु-स्वरताको दृष्टिकोणले केही स्वरहरू कवितामा हराउँदै गएका हुन् कि ? भन्ने महसुस हुन थालेको छ । अहिले केही प्रयाय कविताहरू लेखिरहेका छन् । यो राम्रो लक्षण हो । प्रेमका नयाँ-नयाँ बान्कीहरू कवितामा केही मात्रामा भए पनि आउन थालेका छन् । यो प्रेम त संसारमा सधैँ अमर रहने कुरा हो । तर प्रेमका नयाँ बान्कीहरू जति लेखिनु पर्ने हो त्यति हाम्रो कवितामा लेखिएको पाइँदैन । साथै जीवनको महत्त्वपूर्ण प्राप्ति अथवा आध्यात्मिक चिन्तन अथवा जीवनको सुक्ष्मतम पाटोलाई उत्खनन् गरेर लेख्ने परिपाटी बसेदेखि हाम्रो साहित्य दैनिक जीवनभन्दा अलिकति फराकिलो हुने थियो । दुखै परेको बेलामा पनि अथवा जुलुसमा हिँड्दै गरेको बेलामा पनि मान्छेले आफूलाई म यसरी जुलुसमा हिँड्दैछु र म मान्छे मात्रै पनि हुँ भन्ने त बिर्सेको हुँदैन । उसले सम्झिराखेकै हुन्छ । त्यस्तै एकान्तमा एकछिन आत्मस्मरण गर्ने अथवा आत्मचिन्तन गर्ने व्यक्ति दिउँसो कुनै एउटा समस्यामा बाँधिन पनि सक्छ । त्यसको अर्थ यो होइन कि ऊ त्यो समस्या मात्रै हो । ऊ जुलुसमा हिँड्ने मान्छे मात्रै पनि होइन । ऊ एउटा अभाव र संकटग्रस्त मान्छे मात्रै हो भन्ने पनि होइन । ऊभित्र अर्को एउटा बृहतर मान्छे अथवा सुक्ष्म मान्छे जिउँदो नै हुन्छ सधैँ र त्यो मान्छेलाई पनि हामीले उत्तिकै महत्त्व दिएर लेख्नु पर्छ । यी कुराहरूलाई पनि लेख्न सकेको खण्डमा कवितामा नयाँ आयमहरू थपिने थियो भन्ने कवि डा. भण्डारीको धारणा छ ।
कविताको शिल्प र शैलीको विषयमा त भन्न मिल्दैन । किन भने यो शिल्प नै सही शिल्प हो, यो शैली मात्र सही शैली हो भन्ने कुरा हुँदैन कवितामा । यो त युग-युगमा नयाँ-नयाँ शिल्प र शैली आइरहेका छन् । विचारको घनत्त्वको विषयमा मात्रै यी कुराहरू भन्न उपयुक्त हुन्छ । एउटा सानो मान्छे, एउटा छोटो मान्छे अथवा एउटा होचो मान्छे हामी नबनौँ । एउटा सिङ्गो मान्छे, एउटा विशाल मान्छे, एउटा सर्वकालिक मान्छे, एउटा गहन मान्छे, एउटा चिन्तनशिल मान्छे हामी बनौँ र कवितामा त्यो सबै आओस् र ती आउन सके राम्रो हुन्थ्यो कि भन्ने कवि भण्डारीको एउटा विश्वास हो । उसो त अहिले त्यतातिर पनि हाम्रा केही कविहरू आक्कल झुक्कल लम्किरहेका छन् नै ।
एक समय प्रयोगवादी कविताहरू धेरै लेखिन्थे । जस्तो मोहन कोइराला, ईश्वर वल्लभ, वैरागी काइँला, इन्द्रबहादुर राई लगायतका साहित्य बुझ्न सामान्य पाठकहरूलाई धेरै कसरत गर्नुपर्थ्यो । जसले गर्दा त्यस्ता जटिल साहित्यका बौद्धिक पाठकहरु पनि तुलनात्मक रूपमा न्यून नै हुने गर्थे । तर त्यसखालका लेखनबाट पाठकहरूको बौद्धिक कसरत हुने र कविताको एउटा छुट्टै स्तरको मापन हुने भएकोले अहिले पनि त्यस्ता कविताहरूको अनुयायीहरु भइरहनुपर्थ्यो भन्ने डा. भण्डारी बुझाइ छ । तर अहिले हामी “जङ्क फुड” जस्ता कविताहरू लेखिरहेका छौँ । बजारमा गएर प्याकेटको किनेर खाने । अचेल त खाना पनि घरमा नपकाएर बजारको तयारी खाना किनेर खाने त्यस्तो खालको परिस्थिति मौलाउँदै गएको छ । मान्छे व्यस्त बनेको छ । मनोरञ्जनका साधनहरू धेरै आइसकेका छन् । मोबाइलबाटै मान्छेले संसारका सारा गतिविधिहरू चाल पाउन सक्छन् । त्यसले गर्दा पनि अहिलेका मान्छे हतारमा छन् । जसले गर्दा गम्भीर साहित्यबाट मान्छे केही हटेको हो कि जस्तो लाग्छ । यो लाग्नु स्वभाविक पनि हो । हाम्रो जस्तो देशमा यो खालको गतिविधि अलिक बेसी छ । किन भने टेक्नोलोजी हामीसँग एकदम नयाँ छ । अन्य विकसित देशमा यो टेक्नोलोजी अलिक पुरानो भइसक्यो । उनीहरु यो स्क्रिनदेखि अलिक थाक्न थालेको जस्तो पनि लाग्छ । कहीँ कतै जाँदा मान्छे हातमा किताब बोकेर यात्रुहरू हिँड्दै गरेको देखिन्छ । पुस्तक मेलातिर धेरै भिड जमेको देख्न सकिन्छ । हाम्रोमा अलिकति अध्ययन र लेखनको सिमा पनि आएको छ । तर यो होइन कि हामी साँच्चै नै सधैँभरि यस्तै खालको हल्काफुल्कामै बाँचिरहन्छौँ भन्ने पनि होइन । त्यसलाई मान्न पनि सकिँदैन । किन भने मान्छेले जहिल्यै पनि आफूलाई खोजिरहेको हुन्छ । मान्छे केही सानो मनोरञ्जनमा केही समयका लागि रमाउन सक्छ । एक खालको कवितामा मान्छे केही समयसम्म रमाउन सक्छ । तर मान्छेले जहिल्यै पनि आफ्नो अस्तित्वको सार, आफ्नो जीवनको सार, आफ्नो सम्पूर्ण जीवन बचाइको एउटा युगान्त अनुभव के हो त ? भन्ने कुरा खोजिरहेकै हुन्छ । त्यसो भएको हुँदा गम्भीर कविताहरू पनि ढिलो चाँडो माथि आउँछन् नै । पाठकमा गम्भीर साहित्यप्रतिको रुचि जाग्छ नै भन्ने उहाँको ठहर छ । यो स्क्रिनको थकान अथव भनौँ इन्टरनेटको थकानले कुनै दिन मान्छेलाई एकान्तमा बसेर कागजसित हेलमेल गर्ने अथवा प्रिन्ट मिडिया र प्रिन्टेड सामाग्रीहरूसँग हेलमेल गर्ने रहर जगाउँने काम गर्नेछ । त्यो एउटा “होम सिक्नेस्” जस्तो पनि हुन सक्छ मान्छेलाई । किन भने धेरैलाई त्यस्तो हुन थालिसकेको छ अहिले पनि । हामी देख्छौँ हिजोसम्म अनलाइनमा सधैँ व्यस्त हुने साथीभाइहरू अहिले खासै भेटिदैनन् अथवा कम भेटिन्छन् प्रायः । यो स्क्रिन र मोबाइलप्रतिको जुन प्रलोभन छ हामीमा त्यो आफ्नो ठाउँमा छँदैछ । त्यो पूर्णरूपमा हटेर जाने कुरा पनि आउँदैन । तर मान्छेले यसबाट पनि मुक्ति चाहन्छ होला कुनै दिन । फेरि एकान्त खोज्छ होला । एकान्तमा किताब छातीमा राखेर निदाउने, पन्ना पल्टाएर दोबारेर बस्ने, त्यसलाई फेरि दोहोर्याइ-दोहोर्याइ पढ्ने र किताबलाई सुँघेर रमाउने दिनहरू फेरि आउछँन् र गम्भीर साहित्यपट्टि मान्छेको झुकाब बढ्नेछ भन्नेमा कवि डा. भण्डारी आशावादी हुनुहुन्छ ।
जुन किसिमले अहिले कविताको लेखन र प्रस्तुतीकरणमा परिवर्तन आइरहेको छ यसले भोलिको कविता कस्तो होला भनेर अहिले नै अनुमान लाउन सकिने अवस्था छैन । किन भने कविता यस्तो विधा हो जसलाई आजसम्म कसैले पनि पूर्णरूपमा परिभाषित गर्न सकेका छैनन् । धेरैले यसलाई परिभाषित गर्ने कोसिस त गरेका छन् तर ती सबै परिभाषाहरूलाई एकातिर फालेर नयाँ रूपमा कविता देखा परिरहेको छ । नयाँ ढङ्गले चिन्तन गर्नेले पनि कवितालाई पुनर्भाषित गर्ने काम पनि गर्दै आएको पाइन्छ । अहिले पश्चिममा मूलुकतिर हाम्रो पूर्वको जस्तो बिम्बै बिम्बले भरिएको परम्परालाई त्यागेर सम्पूर्णतामा सिङ्गो कवितालाई नै एउटा बिम्ब बनाउने चलन बढ्दै गएको छ । त्यसभित्रका अवयवहरू सपाट अभिधात्मक बनाउने, त्यस खालको परम्परा पनि धेरै आएको छ । कथा र निबन्धको नजिकमा पुगेर कविता लेख्ने परम्परा पनि आएको छ अहिले । यसकारण भोलिका दिनमा कविताको स्वरूप यस्तै नै हुन्छ होला भनेर अहिले भन्न गाह्रै पर्छ । तर कविताको आफ्नो जुन क्षमता/शक्ति छ त्यो चाहिँ कहिल्यै पनि गुम्दैन र कविताको सत्ता युगयुगसम्म बाँचिरहन्छ भन्ने कुरामा कवि डा. भण्डारी ढुक्क हुनुहुन्छ ।
समय र पुस्तान्तरणसँगै कविता पनि जटिलबाट सरलतिर गइरहेको छ । यसमा दुई मत नहोला । आजका कविता शैली, कला र भाषिक सौन्दर्यप्रधान भन्दा मुद्दा केन्द्रित बन्दै गएको पनि पाइन्छ । मुद्दा केन्द्रित भइरहँदा मुद्दाको अन्त्य भएसँगै त्यो कविताको आयु पनि सकिने एउटा डर पनि छँदैछ । यस्तो अवस्थामा आफ्नो समय अनुसारको, आफू बाँचेको समयमा सिर्जित मुद्दामा टेकेर कविता लेख्ने कि नलेख्ने ? अथवा कति लेख्ने, कसरी लेख्ने ? भन्ने सवाल पनि पैदा हुन थालेको छ । त्यसरी मुद्दामा आधारित कविताको आयु कति लामो हुन्छ भन्ने कुरा त्यो कस्तो खालको मुद्दा हो भन्ने कुरामा पनि भर पर्ने डा. भण्डारीको भनाइ छ । उहाँ हाँस्दै भन्नुहुन्छ, “कतिसम्म पनि लेखिन्छ भने सिनेमा हेर्न गयो, टिकट पाएन, एकदम भावुक भयो अनि कविता लेख्यो । कुनै सामान किन्न गयो, दाम एकदम बेसी भयो अनि कविता लेख्यो । जागिर पाएन अथवा अरु केही भएन अनि कविता लेख्यो । यस किसिमका कविताहरु चाहिँ छिट्टै मर्छन् ।” तर मुद्दा केन्द्रित लेख्नै हुँदैन भन्ने त पक्कै पनि होइन । कुनै दीर्घजीवी हुने खालका मुद्दाहरू पनि छन् । जस्तो अहिले विश्वयुद्धले हाम्रो दैलो ढक्ढकाइरहेको छ । यो मानवीय प्रश्न हो । तेस्रो विश्वयुद्ध हुन्छ कि जस्तो अथवा फेरि पनि शीत युद्ध सुरु हुन्छ कि जस्तो, यस्ता मानवीय गरिमाका मुद्दाहरु त सेलाउने कुरा आएन । युगयुगसम्म यिनीहरू बाँचिरहन्छन् । क्षणिक मुद्दा र अति क्षेत्रीय मुद्दाहरूमा लेखिरहेको पनि पाइन्छ । त्यस्ता कविहरू त्यही क्षेत्रमा सिमित समयको लागि चर्चित पनि हुन्छन् । वाहवाही पनि बटुल्छन् । तर ती दीर्घकालिक अलिक हुन्नन् । यसकारण मुद्दामा आधारित लेखिनु हुँदैन भन्ने त होइन तर साह्रै क्षणिक मुद्दालाई समातेर नलेख्दा नै ठिक होला कि भन्ने उहाँको बुझाइ छ ।
प्रायः कवि/लेखकहरू एउटा कालखण्डमा आफ्ना सिर्जनाहरूमा खरो रूपमा भौतिकवादको वकालत गर्ने, बडो क्रान्तिकारी कवि/लेखकको रूपमा आफूलाई प्रस्तुत गर्ने, माक्र्स-लेनिनको प्रभाव परेजस्तो गरी लेख्ने तर लेखनको अन्तिम बिन्दुमा आइपुग्दा, अथवा जीवनको उत्तरार्धतिर आइपुग्दा त्यही कवि/लेखक अध्यात्मवादी हुँदै ईश्वरीय चिन्तनतिर गइरहेको पाइन्छ लेखनमा पनि र चिन्तनमा पनि । डा. भण्डारीका अनुसार बुढ्यौली हुँदै गएपछि अध्यात्म चिन्तनपट्टि लाग्नु स्वभाविक नै हो । यो मानवीय गुण पनि हो । किन भने युवा अवस्थामा ठुलाठुला बिद्रोह गर्नु, बिद्रोहका नारा लगाउनु, त्यो बिद्रोहबाट व्यवस्था परिवर्तन भइहालोस्, आमूल परिवर्तनहरू भइहालोस् भन्ने चाहाना राख्नु पनि स्वाभाविक हो । यो रगतको खेल पनि हो । केमिस्ट्रीको खेल पनि हो । युवा अवस्थामा त्यस्तो हुन्छ पनि । तर केही परिपक्क हुँदै गएपछि उसले धेरै कुरा बुझ्न थाल्छ । त्यसरी क्रान्तिबाट अध्यात्मतिर गएका धेरै उदाहरणहरू नेपाली र विश्वसाहित्यमा धेरै पाइन्छन् । कतिपय क्रान्तिकारी कविहरूले यो क्रान्तिको एउटा मिथ्यात्वलाई बुझेर आत्महत्या गरेका उदाहरणहरु पनि छन् संसारमा । बिद्रोहको सिमिता अथवा बिद्रोहले कहीँकतै नपुर्याएको दुस्परिणाम देखेर निराश भएर अर्को अध्यात्ममुखी भएका उदाहरणहरू पनि थुप्रै छन् । वास्तवमा धेरैजसोले जीवनको उत्तरार्धकालमा जीवनबारे चिन्तन गर्ने परिपाटी राम्रो पनि हो । यो भनेको मान्छेले घुमिफिरी आफ्नो अस्तित्वको जरालाई कोट्याएको जस्तो मात्रै हो । त्यो स्वभाविक हो । यो एउटा स्वस्थ मानवीय प्रवृति हो भन्ने उहाँलाई लाग्छ ।
डा. भण्डारीको सवालमा भने कविताहरू अत्यन्त परिस्कृत, नवीन शिल्प-शैली र भाषिक सौन्दर्यलाई बडो मिहिन ढङ्गले खिपिएको हुन्छ भनेर पाठक तथा समालोचकहरूले भन्ने गरेको पाइन्छ । जस्तो कुनै सग्लो ढुङ्गालाई कुनै विशिष्ट मूर्तिकारले सुन्दर मूर्तिमा रुपान्तरित गरेजस्तो । यसरी कवितालाई धेरै पोलिस गरिरहँदा कहिलेकाहीँ कविताको वास्तविक अनुहार हराउँछ कि अथवा कविताले भन्न खोजेको खास कुरा नआउला कि भन्ने पाठकहरूको चिन्ता पनि रहँदै आएको छ ।
एउटा परिपूर्णतामा नपुगिञ्जेलसम्म कविता भयो भन्ने कुरालाई कवि भण्डारी मान्नुहुन्न । एक दुईपल्ट, प्रेसमा गएर फेरि ल्याएर प्रुफ हेर्दा अन्तिम समयसम्म पनि उहाँ आफ्नो कवितामा परिस्कार गरिरहनुहुन्छ । डा. भण्डारीलाई कवितामा सपाट बयान अलिक मन पर्दैन । जसले गर्दा कवितालाई हल्का रङरोगन गरेर चिरिच्याट्ट पार्न खोज्नु हुन्छ । त्यसले गर्दा पनि पाठक र समीक्षकहरूले त्यसो भनेको हुन सक्ने उहाँको अनुमान छ । तर गम्भीर भएर पढ्ने पाठकले कवितामा उसले खोजेको कुरा पाउँछ नै । अरु किसिमका पाठक जसले केवल सतही कुराहरू मात्रै खोजिरहेका हुन्छन् उनीहरूले आफ्नो कवितामा त्यो जटिलता देख्नु ठिकै हो भन्ने उहाँको धारणा छ । यसमा पाठकले पनि कविता पढिरहँदा केही कसरत, केही व्यायम र केही अध्यन गरून् भन्ने उहाँको चाहना छ । जस्तो कुनै गायकको गायनलाई राम्रोसँग सुन्न पनि कानलाई केही अभ्यास दिलाउनु पर्छ । यसरी पाठकहरूले पनि कविले जस्तै केही अध्ययन र केही अभ्यास गर्न सकेको खण्डमा उहाँका कविताहरू सरल नै लाग्नेछ्न् । यति लामो समयदेखि साहित्यमै समर्पित भएको एउटा सर्जकको लागि लेखनबाट पाउने सबभन्दा ठुलो सन्तुष्टि के हुँदो रहेछ ? भन्ने सवालमा डा. भण्डारी भन्नुहुन्छ, “मेरो अनुभवमा आफ्नो लेखनबाट पाएको सबैभन्दा ठुलो सन्तुष्टि भनेको त्यो रचना कसैले पढेर त्यसलाई ठिक ढङ्गले बुझ्यो भने अथवा ऊ त्यसमा रमायो भने त्यो नै ठुलो आनन्दको कुरा लाग्छ र मेरो प्राप्ति नै पाठकहरू हुन्। झन मेरा अलिकति गम्भीर कविताहरू पनि बुझिदिएदेखि अझै मलाई ठुलो सन्तुष्टि मिल्छ । त्यही नै मेरो जीवनको सबैभन्दा ठुलो रचनात्मक आनन्द र उपलब्धि हो ।”
“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज तथा युटुब च्यानल “ए एस ईन्टरटेन्मेन्ट” मार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदैआएको कार्यक्रम ” स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

