त्यो हाम्रोलागि महत्त्वपूर्ण दिन थियो । पुस महिनाको जाडोलाई चुनौती दिँदै हामी सबैजना बिहान 6-30 बजे स्कूल प्राङ्गणमा एकत्रित भएका थियौँ , वर्षमा एकचोटि सबैजना एकसाथ मिलेर त्यो विशेष दिनको आयोजना गरिन्छ, त्यसैले सबैजनाको उत्साह असीम हुन्छ । विगतवर्ष भन्दा पनि राम्रो ठाउँमा गएर एकछाक मीठो खाने र घुमघाम गर्ने र त्यो विशेष दिनलाई अझ विशेष बनाउने सबैको इच्छा भएकोले गर्दा हामी पनि जान भनेर निस्केका थियौँ । कहाँ जाने त्यो अघि नै तय भइसकेको हुनाले हामी खुरुखुरु बसमा चडेर आआफ्नो आसनमा आसिन भयौं । हामी तीसजना स्कूल साथै हाम्रा केही छात्रहरू त्यसै रमाइलो । गुरु-शिष्यको मुक्त मिलन, बडो आनन्द आएको थियो । असम पर्यटन स्थल हो , यहाँ धेरै मनमोहक picnic spots हरू छन् । पुस र माघ महिनामा असममा पिकनिक जानेहरूको ताँती धेरै पाइन्छन् । सबै अनुष्ठान-प्रतिष्ठानसँग जडित व्यक्तिहरू अथवा परिवारका सबै सदस्य मिलेर वर्षमा एकचोटि पिकनिक नखाई छोड्दैनन् । त्यसैले हामी शिक्षक-छात्रको टोली पनि केही रमाइलो गर्न तथा घुमघाम गर्न भनेर निस्केका थियौँ ।

निलीमा आचार्य (असम)

बिहान करिबकरिब 7 बजे सबै भेला भएपछि हाम्रो बसले बिस्तारै गति लिन्छ । कोही गीत गाउँदैछन् त कोही ताली ठोक्दै छन् । को शिक्षक को छात्र ठम्याउनु नसकिने सारै मनोरम दृश्य । मलाई यहाँ भारतका महान् दार्शनिक तथा राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णको भनाइ याद आयो _” Imparting of knowledge isn’t education . It is the interactiont between the pupils and teachers only. The absence of personal relationship makes education a mechnical process which is not fair.” हो हामीले छात्र-छात्राहरूसँग गुरुको साइनो मात्रै राखेर हुँदैन उनीहरूलाई बुझ्न र जान्न छ भने उनीहरूको साथी, भाइ अथवा आफन्त पनि बनिनु पर्छ । त्यसैले हामी शिक्षकगण पनि भरसक कोसिस गर्छौं कि छात्रछात्रालाई सही मार्गमा हिँडाउने र उनीहरूलाई उचित शिक्षा दिने। विश्वनाथ चारालीको “नागशङ्कर” नाम गरेको ठाउँमा स्थित भव्य शिवालय दर्शन गरेर हाम्रो बस उत्तर दिशातर्फ लाग्छ, करिब एघार बजेतिर हामी त्यो विशेष ठाउँमा पुग्छौं ।

चारैतिर पहाड , मीठो चिसो हावा , कलकल बगेको नदी, सुन्दर प्राकृतिक छटा । तर माइकमा घन्न घन्किएका उग्र स्वरका संगीतले नदीको साथै चराचुरुङ्गीको मधुर आवाज हरेको थियो । कानै छिचोल्ने सङ्गीत !! कस्तो नमिठो हाम्रो टोली पनि त्यहीँ एउटा ठाउँ रोजेर पकाईबनाई गर्न थाल्छ । चियापान गरेर हामी बच्चाहरूलाई लिएर घुम्न गयौँ । “सिजुसा ” अरुणाचलको सुन्दर पर्यटन स्थल , धेरै मानिसहरू पिकनिक खान भनेर आएका छन् । हामी पनि बच्चाहरूलाई लिएर त्यहाँ स्थित पुलमा चड्न गयौं । नदीको तटको परिवेश देखेर मेरो मन कस्तो बिचलित भएको थियो वर्णन गर्ने शब्दै छैनन् । जुत्ता नलगाई हिँड्नु भने बोतलका धारिला चोइटाले हाम्रा खुट्टा रक्ताम्य हुने थिए होला ! किन यसरी नदीको तटमा बोतल फोरेका होलान् मान्छेले !! “म्याडम ! बर्खामा त नदीको पानी बड्छ होइन ?” अचानक एकजना छात्रले सोधे ।

“हो बाबू बड्छ ।”

“उसो भए त यी सबै काँचका चोइटा नदीको छातीमा गाभिन्छन् ! माछाहरूले खाए भने के हुन्छ ?”

“त्यही त बाबू ! मानिस जति शिक्षित भए पनि, जतिसुकै ज्ञान बटुले पनि अज्ञानीको जस्तो काम गरेका छन् । केही नसोची प्रकृतिलाई ध्वंस पारेका छन्, आफ्नो अधिकार जमाएका छन् प्रकृतिमाथि ।”

“आउनुहोस् म्याडम हामी यी चोइटा बटुलेर एकठाउँमा थुपारौँ ।”

ती बच्चाको आग्रहलाई मैले नकार्न सकिनँ । म पनि बटुल्न थालेँ बोतलका चोइटाहरू ।

“जान्नु हुन्छ म्याडम !! प्रकृतिका सबै जैविक चीजहरू बोल्नु भने पक्कै मानिसको खिलाफ आवाज उठाउने थिए होलान् ! “राक्षस” नाउँ दिन्थे प्रकृतिका सबै चीजहरूले मानिसलाई । छि: यस्तो जघन्य काम पनि कसरी गर्न सकेको ।” भन्दै ती छात्र सिसाका चोइटा बटुल्न थाले एक दुई गर्दागर्दै धेरै छात्रहरू भेला भए र त्यहाँ भएका प्लास्टिकका थैलाहरू पनि बटुल्न थाले ! केहीक्षणमै एउटा एउटा गरेर धेरै थुप्रा खडा भए । हामीलाई देखेर अरूअरू पिकनिक टोली पनि यो कार्य अनुकरण गर्न थाले । खुसीले मन गदगद भयो ।

केहीक्षण पछि टाढाबाट कसैले खाना खाने बेला भएको सङ्केत दिन्छन् बच्चाहरू दगुरेर खाना खान जान्छन् । म पनि पछिपछि लागेँ । मलाई लाग्यो “शिक्षा तब मात्र सम्पूर्ण हुन्छ, हामीले पढेको र सिकेको कुरा जब हाम्रो आचरणमा झल्किन्छ ।” भन्ने कुनै महान् दार्शनिकको भनाइ सही हो । धन्य हाम्रा बच्चाहरू !! उनीहरूले किताबलाई मात्र नरटेर प्राकृतिलाई पनि पढे । उनीहरूले गर्दा मात्रै आजको हाम्रो दिन विशेष बन्न पुग्यो ।