साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

जानुको कृतिले नेपाली यात्रा–संस्मरणको  सिर्जनामा एक नवीन आयाम ल्याउनेछ 

देवीदेवता, तिनका मिथक र मुन्धुमको ससानो भए पनि पवित्र संस्कृति झल्का अनुभव गर्न यही पुस्तक पढ्नु अपरिहार्य छ । मिश्रित समाजमा लिम्बू भाषा जनजीवन, मान्यता र कृषि जीवनका झल्का हेरौं । उनीहरूको बोली र धारणाका ससाना बिम्बले सजिएको यो पुस्तक पढेर मान्छे अघाउने छैन ।

Chovar Blues Mobile Size

जानु काम्बाङ लिम्बूसित मैले अघिल्लो बेलायत यात्रामा एउटा सिङ्गो दिन  बिताएको थिएँ । उनको म नलाहुरेनी स्रष्टा  शीर्षक निबन्धमा त्यो कुराको उल्लेख छ । सन् २०१८ को विश्व नेपाली साहित्य महासङ्घको त्यो विशाल सम्मेलनमा क्यान्टर्बरीको एक विश्वविद्यालयमा भेट भयो । विश्वासदीप तिगेला मुख्य कन्भेनर थिए । दिनभरि आ–आफ्ना  कर्तव्य सम्पन्न गरेर सो साँझ हामी छुट्टिएका थियौँ । त्यसपछि  उनका कविता निस्केको पढेँ, गीत गाएका सुनेँ ।

गतवर्ष कोरोनाकाल  आरम्भ भएपछि उनका  एक दुई संस्मरणात्मक गद्य लिएर फाट्टफुट्ट अनलाइन प्रकाशन आउन थाले । फ्लाण्डर्स फिल्डमा  गोर्खाली, खोकलिङको लङ्के पिडालु, तीस वर्षमा माइती गाउँ जाँदाजस्ता रचना पढेपछि मलाई उदेक लाग्न थाल्यो ।

उनी मेरै गाउँकी बहिनी रहिछन् । त्यो पत्ता लागेर  म उनीसित  स्नेहवस निकट भएँ; उनी पनि निकट  भइन् । त्यसको सूत्र चाहिँ सम्झनाको सागरमा केही दिन (मेरो आत्मसंस्मरणात्मक निबन्ध संग्रह) थियो ।  हरि भाइले  त्यसका १८ वटै लेखलाई श्रुति–संवेगमा भरेर  यूट्यूबमा पठाएका थिए । जसमा पहिलो शीर्षक छ बालस्मृतिको पर्दामा  नित्य आइरहने त्यो हाङ्देवा; अर्को छ— बाल्यकालीन च्याङ्थापुको सम्झना ।

ताप्लेजुङ र पाँचथरमा बिताएका  ती सात वर्षबारेका  मेरा सम्झना  (अरू समेत) उनले सुनेपछि  मलाई फोन गरिन्, प्रत्येकजसोमा टिप्पणी लेखिन्  वा बोलिन्, प्रत्येकपल्ट अभिभूत भई, प्रस्तुत हुन्थिन् । वास्तवमा बहिनी हुर्केका  इखाबु, हाङ्देवा, बाँजागरा, साँघु, नाङ्खोल्याङ, तमोर, काबेली, हान्द्रुङ, लेलेप,  गोला यस्ता सयौँ स्थान–नामहरू मैले  बाल्यकालमा  सुने–देखेको, त्यहाँ मेरा पुर्खाहरू हुर्के बढेका रहेछन् । सम्झेँ— बूढा माओली भेट्न फुरुम्बू जान्थ्यौँ, ठूलाबा, ठूलीआमाको दर्शनमा  उता बाँजागरा, दोभान बजार डुल्न, हाङ्गदेवा ता झन् मावली गाउँ र काका–काकी, डुम्रिसे, तिरिङ्गे, ओसे, अमिनी बजार उताको नाङ्खोल्याङ, थेचम्बू, अझ उतातिर उता पर्तिर सिनाम, मिश्रटार, साब्लाखु, आफ्ना पितापुर्खाले हजारौँपल्ट डुलेका, खाइखेली गरेका ठाउँ र त्यहाँका  वृक्ष वनस्पति, नदी नाला अनि देवी देउरालीहरू मन वरिपरि छन् सधैँ । त्यही ठाउँमा जन्मे हुर्केकी रहछिन् बैनी  जानु । उनका रचना पढेर यो मन  भावविभोर भई उम्लियो । यो उनको संस्मरणात्मक आत्मजीवनी जस्तै हो । सत्रवटा  सुन्दर रचना (निबन्ध) कालक्रमिकताले प्रस्तुत गरी बनिएको ।

गाउँ–ठाउँ मिलेर मात्रै होइन जानुको  कलममा  एक प्रकारको जादू देखेपछि मलाई लाग्यो— यस्तो बरदान हजारमा एक स्रष्टाले पनि पाउन  सक्तैनन् होला ।  त्यसपछि उनले एक  सङ्ग्रह प्रकाशनको इरादा  सुनाइन् । मैले पनि त्यसैबेला पढौँला भन्ने वाचा गरेको थिएँ र उनी मिलाउँदै पठाउँदै म पढ्दै, भ्याएको समयमा   छलफल गर्र्दै  धेरै महीना लगायौँ । व्यस्त मान्छे उनी, म पनि त्यस्तै,  उनी पठाउँदै गइन्, म पढ्दै गएँ । लागेका त्रुटी संशोधनीय स्थानहरूमा इङ्गित  गर्दै, रङ दल्दै फेरि इमेलमै पठाउँथेँ । कवि भाइ स्वप्नीलले सपार्दै गए, भाइ भिषन राजभण्डारी मिल्ने तस्वीर रचना गर्दै । कत्रो  हार्मोनीमा,  कत्रो उत्साह र प्रेमले  यो कर्मलाई अघि बढायौँ । पुस्तकको तयारी  सिर्जनाकै महत्त्वपूर्ण खण्ड हो; झण्डै छ महीना लाग्यो । यद्यपि प्रत्येकले  गर्दा आफ्नो भागमा थोरै नै पर्छ । त्यसपछि प्रेस– प्रकाशनतिर जाँदा राम्रो हुन्छ ।

जानुको लेखन  कला अद्भुत छ । विशेष गरी शैलीले पाठकलाई अवश्य छुन्छ । यी संस्मरणात्मक  निबन्ध कत्रो  इमानदारीसाथ रचिएका छन् । उनी बाल्यकालीन पहाड छोडेर धरान झरिन् । त्यहाँदेखि  हङकङ फेरि बेलायत तर अनेकौँ वर्षपछि उनी बोल्दा त्यही ‘इनोसेन्ट टोन’ आउँछ, गाउँको त्यही सङ्लो र अप्रदूषित भाषा— मलाई तिरिङ्गेकी लिम्बूनी काकीसित बोलेझैँ लाग्छ । तिम्तिम्बुकी लिम्बूनी माइजूसित बोलेझैँ  लाग्छ र म पनि झस्केर  ब्यूँझन्छु । हजारौँ सपनाहरू लतार्दै भ्रान्तिहरूमा  गुजुल्टिएर निधाउन  खोज्छु यो काठमाडौँको महानगरमा ।

जानुको यो कृतिमा सत्र यात्रा–निबन्ध छन्; कुनै पदयात्रा कुनै हवाई । सङ्ग्रहमा झण्डै आधि रचना  स्वदेशका  छन् अरू परदेशका । यतिखेर नेपाली जाति भिन्न परिस्थितिलाई  यथार्थ बनाउन सहज, स्वाभाविक  र अकृत्रिम  बनाउन भनी विभिन्न  डायास्पोरा भूमिलाई  कोरल्दै छ । तीमध्ये  दुई प्रवल विन्दु हुन्— हङकङ र बेलायत । दुवै साँच्चो अर्थमा नेपाली लाहुरेले आर्जेका  भूमि हून् । उनीहरूको कर्मवादले, विश्वास र प्रेमले जितेका स्थानहरू । आज अलाहुरे पनि भरिएका  छन् ती दुवैमा;  वास्तवमा जानुका  त्यहीँ भिजिन् । लिम्बू परिवारका प्रत्येक सदस्यमा त्यो ‘लाहुरे तत्त्व’  प्रवल हुन्छ ।  जानुकाका पनि योद्धा बडाबाबुले वीर गति प्राप्त गरेको भूमि छ इटाली । उनको फ्ल्याण्डर्स फिल्डमा गोर्खाली शीर्षक निबन्धमा  त्यसको उल्लेख छ ।

प्रा.डा. गोविन्दराज भट्टराई

त्यो रक्त वंशकी जानुसँग  कृत्रिम नेपाली व्याकरण पनि छैन, कतिबेला लेख्तै जाँदा वाक्यमा लिङ्ग र वचनका  सङ्गति पनि छोडेर उफ्रिन्छ कलम छैन तर अग्र्यानिक  फलफूल अन्नपातजस्तो उनको  लेखन मोहक छ । प्रस्तुत कृति त्यही कुनै ‘पुरावस्तु’ जस्तो लाग्ने मोहक बोलीको प्रतिलिपि हो । जो कति सहज र स्वाभाविक अनि  मिश्रित समाज हुर्केकी जनजातीय बहिनीको हृदयग्राही वाणी । त्यही समाजको भएर म बुझ्दछु ।

कतै ढाँटेको छैन, कतै लुकाएको, सपारेको छैन । न आडम्बर छ न अहङ्कार, जे भोगियो त्यही छ । घरदेखि एक भारी कोदो बोकेर गोलामा पुर्याई १२ पाथी आलु साटेर छ दिनमा  घर पुग्ने चेलीको ढाकर तोक्मा सम्झिन्छु  तिनै जानु आज संसारको एक ‘लोभनीय’ सभ्यतामा पुगेर जीवन संघर्ष गर्दैछिन् ।  यो दुःखको वा सुखको कुरा होइन, धनी र गरीबको पनि होइन । हाम्रा मामाहरू चामल बेच्न जाने,  ढाकर–तोक्माले थामेर नून–तेल ओसार्ने ठाउँ त्यही गोला थियो ।

संग्रहमा  पितामाता प्रतिको  कति गहिरो श्रद्धा र प्रेम प्रकट छ । धेरै ठाउँमा  त्यो अभिव्यक्तिन्छ । वास्तवमा  बाल्यकालमै परिवारबाट विछोडिएर  जीवन संघर्षमा  होमिनु पर्दा आफ्नो ‘सांस्कृतिक खोपी’ (cultural niche) पनि छुट्यो र त्यसको  सम्झना पनि झन्  गहिरो भएर आउँदो रहेछ । आफ्नो परिवारको  अवस्थितिबारे उनी संक्षेपमा  बताउँछिन्—  धेरै वर्षपछि म गाउँ जाँदै थिएँ । बाजेका चार भाइ छोराका सन्तान हामी चारतिर छरिएर बसेका छौं । कान्छा काका बाहेक अरु भाइ कोही लाहुरे कोही जागिरे । जेठा तुम्बा बुधबारे झापामा, मेरो बुबा माइला भद्रपुर । त्यसैगरी साइँला काका धरान । पहाडको सबै जग्गाजमिन गरिखाने कान्छा काका पर्नुभयो (तीस वर्षपछि माइत जाँदा) ।

तीस वर्षपछि माइत जाँदा कत्रो परिवर्तन आएको देख्न पाएर लेखकको हृदय आवेगिक मूडले भरिन्छ । अघिका  डरलाग्दा भीर छिचोलेर, डरलाग्दा पहिरा, एकान्तिक वन र सुनसान बस्तीभित्र  पनि बाटो  पुग्दैछ । भारी बोक्ने ट्याक्टर भीरतिर नाच्न थालेका छन् । सम्पूर्ण  अतीत मेटिएर नयाँ अक्षरले  अर्थोकै  लेख्तै छ  तर आफ्नो  हृदयमा  तिनै पुराना अक्षर अटल छन् । उनको हृदय यो देखेर हर्ष र पीडा मिश्रित भावले विह्वल बन्छ  । यो अति  शक्तिशाली निबन्धमा  यस्तो अतीत स्मृति छः त्यो बेलाका गाउँहरू आज सडक पुगेर बजार भएका छन् । जताततै घुम्ती दोकान, घर–घरमा पानीको धारा, घरका महिला अफिस, स्कुल र अन्य काममा लागेका छन् । लाग्छ, बल्ल गाउँघरको पालो आयो । सडक माथिमुनि मौसमी अलैंची, अम्लिसो, अदुवा र सखरखण्ड फलेका देखिन्छन् । साँच्चिकै रमाइलो र मनमोहक छ गाउँघर । गाउँलाई अविकसित र पिछडा सोच्नेलाई एकपल्ट गाउँ जान अनुरोध छ ।

तमोरको सुसेली नै एक प्रगाढ विम्ब बोकेको शीर्ष निबन्ध छ । त्यही  तमोर  खोला तल र माथि  वारि र पारि गर्दै व्यतीत भएको; त्यही परिवेशमा भिजेको उनको सांस्कृतिक बाल्यकालले लामो जीवन त्यहीँ फर्किने दिन पर्खिरहेको छ । त्यहाँ  पुग्दा उनी आफ्ना  परिवार भेट्छिन् । नातागोता, माइती, माओली, बालशखा, कुल कुटुम्ब, छिमेकी सबै कुरासँग लामो वियोगका  दिनमा मनले फकाइरहन्छ— एकदिन तिमी आउने छौ, एकदिन तिनै  दिनसँग भेटेर बोलौँला यो हृदय पनि खोलौँला । तर बलवान् समयले एकपल्ट ऐना  देखाएका  कुराहरू लुकाउँदो रहेछ, फेरि खोस्तो, सिध्याउँदो रहेछ । मनले  मात्रै रित्तोमा केही खोजिरहन्छ । त्यही हो अतीतस्मृति या नोष्टाल्जिया । यी तीनै तत्त्वले घनिभूत छन् ।

वास्तवमा  जानुको मनमा  गहिरो सम्वेदना जागउने  तत्त्व यही खण्डित–मनस्कता हो, एक विभाजित मन । मैले  स्वर्णभूमि छोडेर के  बिगारेँ  कि सपारेँ ? भन्ने द्वैधता ।

स्वदेशको सम्झना र परदेशको  संघर्ष बीचको  गहिरो   खोँचमा पसेर कति पुरानिए, मकाए परन्तु सम्झनाको तमोर नित्य सुसाइहरन्छ । उता दुई डाँडाका  चेपैचेप हतारले दौडिने तमोर जस्तै । प्रत्येक ‘डायास्पोरिक  जीवन’ भोग्ने  पात्रको मनमा यस्तै द्वैधता हुन्छन्— केही प्राप्ति र केही क्षतिका । अनि सम्झना झन्झन् प्रगाढ हुँदै जान्छ ।

दुईवटा भीरहरू कहिल्यै नभेटिने चेपैचेप भएर जीनव–तमोर बग्दोरहेछ । पान्थर ताप्लेजुङ छोडेर कतितिर ठोकिँदै काठमाडौँको कालीदहमा खसेको मेरो जीवन पनि त्यस्तै छ । त्यसरी हेर्दा यो नेपाली–बेलायती डायास्पोरा साहित्यको एक उत्कृष्ट सिर्जना विम्ब हो । यस्ता संस्मरणात्मक  निबन्धको त्यहाँ  अभाव छ । साथै आफ्नो  जन्मभूमिले सांस्कृतिक  जीवनलाई  प्रकाशनमा  ल्याउने यी सुन्दर रचना । अरु पनि  डायास्पोरिक लेखनको  चरित्र यस्तै रहन्छः तीस वर्षपछि म आफ्नो बाल्यकाल बितेको गाउँ आइपुगेको थिएँ तर रित्तोरित्तो पाएर एकदम अनौठो लागिरह्यो । आफू खेल्दै हुर्केको माराम पनि साँघुरिएको भान हुन्थ्यो । मारामको भित्तैभित्ता माहङ्वा खोल्सादेखि माङ्यक खेतसम्म ल्याइएको कुलोको डोबले एक जमानामा त्यहाँ पानी कुद्ने मात्र सङ्केत दिन्थ्यो । त्यही कुलोमा खेलेर हुर्केकी मलाई आज त्यै कुलो जस्तै मन भित्रभित्रै सुकिरहेका आफ्ना बाल्यकालका कथा उर्लिन थाल्यो । कुलो सुक्नु खेत मासेर घरैघर बन्नु थियो, बाल्यकालका याद सुक्दै जानु समयको खेल । लाग्थ्यो, दाँवले कुलो र म सँगसँगै हुर्कियौँ र सँगसँगै हरायौँ पनि गाउँबाट ।

थाहा छैन, फेरि त्यो कुलोको डोबमा कुलकुले पानीको जीवन फर्केला नफर्केला । म निष्ठुरी भने एक जुगपछि गाउँ फर्केको छु र एउटा पुरानो सम्झनाले झ्याप्प छोपिएको छु (तमोरका सुसेली सुसेल्दै) ।

यही शृङ्खलामा छ अर्को निबन्ध मावल गाउँको स्पर्शमा;  यसै क्रमको यस्तै मनोभाव बोकेर । यस प्रकृतिका  उनका लेखमा  लिम्बू उच्चारणका शब्द आउँछन्, स्थाननाम आउँछन, नातागोताका शब्दहरू, अनि लिम्बू   खाद्यवस्तु, सांस्कारिक विम्ब, धर्म–दर्शन, मुन्धुमका कुरा आउँछन् । यो संग्रह लिम्बू संस्कृतिको एक दर्पण पनि हो । नव पुस्ताका  अध्येताले यसबाट त्यता  प्रवेश गर्नेछन् । साह्रै राम्रो भाषामा  बुझाएकी छन् ती कुरा पुस्तकान्तमा  भिन्न  शब्दको अर्थ पनि  दिएर ।

लोकोक्तिहरू उनलाई कण्ठै छन् । लिम्बू बोली राम्ररी आउँछ तमोर खोला लिम्बू सभ्यताकै एउटा आद्यभूमि हो ।

मैले पनि लिम्बू स्रष्टाको नेपाली साहित्यमा योगदान शीर्षक एउटा वृहत योजनामा निकै वर्ष चढाएँ । त्यसको च्याङ्थापुका भाइ सारांशलाई प्रदीप बेघाले समण्वेषण शीर्षक ग्रन्थमा छापे । समग्रमा इमानसिंह चेम्जुङदेखि वर्तमान कालसम्मका ८२ लिम्बू स्रष्टाको संक्षिप्त परिचय प्रस्तुत छ । जसमध्ये नारी स्रष्टा सातमात्र रहेका छन् । जानु काम्वाङ प्रकाशमा आइसकेकी भए आठ पुगेको रहेछ तर उनी छोपिएकी रहिछन् । भर्खर उदाएकी ओयाम (पान्थर) की बहिनी सरस्वती सुब्वा र ताप्लेजुङकी जानु काम्वाङ क्रमशः अब आउनेमा थपिनेछन् । दुवै बेलायती–नेपाली डायास्पोराका संघर्षरत सफल स्रष्टा हुन् ।

दोस्रोपल्ट बेलायत जाँदा (सन् २०११) मै स्रष्टा भाइहरूले जानुको नाम लिएका थिए । आफ्नै ठाउँकी बहिनीसित एक झल्को भेट पनि भयो तर युद्ध मैदानको सिपाही जस्ती थिइन् अनि विस्तारै थाहा पाएँ उनी जर्मनको धावामा रहिछन् । म पनि अरुले पखेटा टाँसेर उडाएको पात्र एक महीनासम्म आफ्नो आनन्दमा अरुकै लागि उडीबसेँ— तल फोक्स्टनदेखि माथिको वेल्स, आयरल्याण्ड हुँदै स्कटल्याण्डसम्म । धेरैतिर तिर्खा मर्नेगरीका भेटघाटको समय पुगेन ।

एउटा लेखकको जीवनभरि बारम्बार झम्टिरने विमार भन्नु त्यही पूर्वस्मृति नै रहेछ । विश्वविद्यालयमा अग्निपूजा सङ्कलनभित्र हेर्नु दशैँ ती नफर्कने दिन निबन्धमा च्याङथापूमा लिम्बू संस्कृतिको कस्तो ध्वनि छ अनि त्यहाँदेखि  ताप्लेजुङको फावाखोला ओसे (मूलघर) र हाङदेवा मावल पुग्दा मिश्रटार, कटेर काबेली तरेर  अहिलेको जानुकै घर कटेर माइतीतिर कुदेको बाटो मनमा आइरहेको छ ।

प्रस्तुत कृतिले नेपालको प्रव्राजी (माइग्रेटरी) जातिको चरित्रलाई चिनाउँछ । सर्वप्रथम बाबुबाजे लाहुरे भए । तीमध्ये कोही हङकङ गए । त्यस नाताले छोराछोरी हङकङ आइडी–होल्डर बने । पछि फेरि बेलायतले पनि उनीहरूलाई त्यो अधिकार दियो र बेलायतका पनि निवासी भए । अरु जाति पनि थपिएका छन् तर त्यो अतीत गौरव र बलिदानी गाथासित जोडिएर होइन ।

यतिखेर नेपालको पहाड, मधेश—काठमाडौँ—हङकङ, बेलायत चारैतिर   मन छरिएका, बसाइँ सरेका हजारौँ नेपाली नागरिक छन् । यताका सम्झनाले तानेर, उताको मायाले छोपेर त्यसको भयले र सङ्घर्षले घेरेर यिनीहरूको मन प्वाल परेको कपडा जस्तो भएको छ  । तिनै छन् प्रस्तुत सङ्ग्रहमा तर  लेखाइको सुन्दरा छ सारा कुरा भुलाउने । पहाडमै बसिरहेका  स्रष्टाले यस्तो लेख्नु मुश्किल छ ।

एकदिन उनले “मेरो भाषा त्यति राम्रो छैन होला, दाजु” पनि भनेकी थिइन् तर पढ्दै जाँदा मलाई कतिबेला सकौँ जस्तो भयो अनि त्यो सकेपछि कहिल्यै नसकिए हुन्थ्यो जस्तो पनि भयो अर्को मन । त्यति राम्रो छ, त्यति सुन्दर छ । नेपाली भाषाको सुन्दर गहना र आभूषणले यो सजिएको । उनको बोलीमा बाल्यकालको मिश्रित समाजमा सिकेको नेपाली बोली छ तर लिम्बू संस्कृतिका विम्वले बेलाबेलै सजिएको छ ।

यताका बीस वर्षमा मैले यस्तो निर्दोष मनले, अनि निश्चल भावले आफूलाई प्रस्तुत गर्ने यस्तो निबन्ध कला पढेको थिइनँ । ढाँट्नु पर्ने छैन, देखाउनु पर्ने छैन, एक सम्पूर्णरुपले यथार्थवादी दृष्टिकोणको अति सुन्दर प्रस्तुति  । हाम्रा पहाडलाई यसरी लेखिदिने को छ ? एक शक्तिशाली कलम थिए अमर नेम्वाङ लिम्बू, उनले  बिदा लिए,  एक छन् वृद्धत्वले  आक्रान्त  ताना शर्मा ।  अब ता अघिको  जादू गर्न असमर्थ छन् ।

जानुको मन यतै पोखिन्छ उतै पोखिन्छ, फेरि भत्किन्छ अनि टालिन्छ । छोटो जीवनमा चारपल्ट उखेलिँदै फेरि सारिँदै गरेको कतै पनि सर्न नपाएको बोट जस्तै— बडाबा विश्वयुद्धमा इटालीया बित्नु भो, पितामाता ताप्लेजुङमा, दाजु भाइहरू बेल्जियम बस्ने, दिदी हङकङ, आफू बेलायत, सन्तान कता कता पुग्लान ?

कति मिठो छ, मलाई उनको टिपिकल छुने कुरा लोकल रैथाने भाषाले नै हुन्छ । यस्ता छन् शब्द र पदहरू भदाइ– (भदाका ठाउँमा ); भाइहरूले कारको अनुहरू लोपारिरहनु प¥यो; मेन्जो, फक्ताडलुङ, हो माहो, आ—आफ्नै सपना टाल्नु, पल्लो घरमा आगो लिन गए जस्तो, घिर्लिङ, एक कल्ली, वाजेवोजु, लगार्नु, कराइ पठाउनु, लुङवा,   हिउँ बिल्नु, विजुवा बराबर काप्न लाग्यो, फच्चा जानु, खुट्टाको गोलीगाँठो फुस्केला जस्तो, पालाम नाच्ने, मावला, नाम्लोले आधा थाप्लो कुच्चिएको जस्तो लाग्यो, बादलका टुक्रा पन्साउँदै पन्साउँदै हङकङ पुगेछ हाम्रो बहिनी, सम्झिदै म थकाइ र अनिन्द्राले सपना जस्तै भएकी थिएँ, ब्रसेल्स आगोको रापझै झलमल्ल थियो, यो मन थाम्नै नसक्ने गरी समुन्द्रको छाल झै उर्लिरहेको थियो ।

अनुसन्धनहरू गर्दा साहित्य तथ्याङ्क सर्वाधिक प्रामाणित मानिन्छ । साहित्यमा मात्र होइन समाजशास्त्रमा अनि संस्कृति इतिहास, र मानवशास्त्रमा पनि । लिम्बू जातिको आद्यथलो, सांस्कृतिक भूमि र फक्ताङबुङ पनि हो तमोर  खोला क्षेत्र । वैरागी काइलाको म गंगा नीलो बग्छुलाई  नयाँ पुस्ताले  म तमोर नीलो बग्छु बनाए, तमोर उँभो बग्छु पनि बनाए अकारण होइन ।

देवीदेवता, तिनका मिथक र मुन्धुमको ससानो भए पनि पवित्र संस्कृति झल्का अनुभव गर्न यही पुस्तक पढ्नु अपरिहार्य छ । मिश्रित समाजमा लिम्बू भाषा जनजीवन, मान्यता र कृषि जीवनका झल्का हेरौं । उनीहरूको बोली र धारणाका ससाना बिम्बले सजिएको यो पुस्तक पढेर मान्छे अघाउने छैन । कस्तो प्योर, मिठो, लोभलाग्दो भाषामा लेख्न सकेकी छन् अथवा जानेकी जानुले । अनेक ठाउँमा ठोकिदै बग्दै, ठुलाठुला दहमा मिसिदै जम्दै गरेपनि, भुमरी पर्दै खस्तै गरेपछि बाल्यकालमा पक्रेको भाषा संस्कृतिको त्यो निर्मल रुप छोएर आनन्द लिने रहरले यो कृति दोहो¥याएँ तर झन तिर्खा बढायो ।   यस्तो लोभलाग्दो गद्य शिल्पी बहिनी जानु काम्बाङ लिम्बूलाई मेरो  नित्य प्रेम र स्नेह पुगोस भन्ने कामना गर्दछु ।  नेपाली साहित्यलाई  सुदृढ बनाउने यिनै अदेखा हात र  कलम हुन्, भावना र कला हुन् । यस्ता प्रतिभालाई  नेपाली जातिले  चिनोस्, नेपाल राष्ट्रले  र नेपाली  डायास्पोरा जगत्ले चिनोस् । जानुको यो सुन्दर लेखन पढेर नअघाउने मोहनी चढेको छ ।   उनी भित्रको यो मूल कदापि नसुकोस् । यात्रा र संस्मरण मिश्रित यस कृतिले  नेपाली साहित्यमा  एक नवीन आयाम थप्नेछ । कुनै नेपाली नारी स्रष्टामध्ये संस्मरणात्मक  निबन्ध  लेख्ने यस्तो मनोहारी कलम (मैले पढेको) अर्को छैन ।

प्रतिक्रिया
Loading...