विषयप्रवेश

२०२० को विश्वव्यापी कोरोना महामारीको समयमा नेपाली साहित्य संसारमा नयाँ नयाँ सर्जक प्रतिभाहरू देखिए। यसै गरी असमतिरबाट केही नयाँ कवि लेखकहरूको उदय भएको देखियो। नयाँ हाँचका युवा कविहरूका कवितामा नयाँ भाव, शैली प्रस्तुति, ढाँचा र स्वादमा पढ्न पाइन्छ। यस परिप्रेक्ष्यमा हेर्दा नेपाली साहित्यको भविष्य उज्जवल देखिन्छ। यो सङ्कटकाल सर्जकका निम्ति वरदान सावित भएको छ। कविता लेख्नेहरूको ठुलो जमात देखिन थाल्यो । कथाकारको पनि निकै सङ्ख्यामा आगमन भएको पाइन्छ। अझ असमबाट नयाँ नयाँ कवि र कथाकारहरूको प्रादुर्भाव भएको पाइन्छ । नयाँ नयाँ वेबपोर्टल र फेसबुक आदिमा अनलाइन साहित्य कार्यक्रम, अनलाइन पत्रिका आदिमा नयाँ नाम, नयाँ अनुहार देखा परेका छन्।

यसै कोरोनाकालमा देखा परेकी पूजा उपाध्यायले यसपालि आफ्नो पहिलो कवितासङ्ग्रह असमर्थ सहर प्रकाशित गरेकी छन्। एकजना उदाउँदै गरेकी कविले आफ्नो प्रतिभाको प्रकाशन गर्नु भनेको नेपाली साहित्यका निम्ति शुभसङ्केत हो। उनको जन्म १ जनवरी, १९९३ मा हारमति, लखिमपुरमा भानु उपाध्याय र सीता उपाध्यायकी रूपमा जन्मग्रहण गरेकी हुन्। उनले बिएस्सी र स्नातकोत्तर अध्ययन गरेकी हुन् भने उनी शिक्षण पेशासित आवद्ध छिन्। उनी बाल्यकालदेखि नै साहित्यिक रुचि भएकी सचेत युवती हुन्। उनले आह्वान (स्मारिका, २०१५), दसभुजा (स्मारिका, २०१६), फाल्गुन (सम्पादन, २०२१) आदि पुस्तक-पुस्तिकाको सम्पादना गरेकी हुन्। यीबाहेक उनका नेपाली र असमिय भाषाका विभिन्न पत्र-पत्रिकामा उनका कविता प्रकाशित छन्। उनी युगसचेत र शैलीसचेत कवि हुन्।

पूजा उपाध्याय

प्रसङ्ग : असमर्थ सहर

उनका कविताले पाठकसामु नयाँ स्वाद, शिल्प र बान्की पाइन्छ। सङ्ग्रहमा रहेका कविताहरूमा बिम्बलाई यथास्थानमा दिएर पाठकलाई आकर्षित पारेको पाइन्छ। कवितामा शहरप्रति विमोह र गाउँप्रति आकर्षण, प्रकृतिदेखि नजिक कृतिमताप्रति विक्षोभ, स्वभाविकतालाई समर्थन र अस्वाभिकतालाई विरोध आदि पाइन्छ। कविका निम्ति अहिले संसार जटिल छ। पाइला पाइलामा सङ्घर्ष गर्नुपर्छ। यसै वर्ष २०२१ मा पूर्वायण प्रकाशन, गुवाहाटीको प्रकाशनमा रहेको यस कवितासङ्ग्रहमा लामा छोटा गरी जम्मा चालीसवटा कविता सङ्गृहीत छन्। यसमा पनि  ढुङ्गो तथा राधा शीर्षकका तीनवटा कवितामा १, २ र ३ गरी शृङ्खलाकविता प्रस्तुत गरिएको पाइन्छ। यद्यपि राधा शीर्षकका कविता छोटा छोटा मुक्तक हुन्।

वर्तमान अवस्थाप्रतिको असहमति    

सहरको विकृतिलाई चिकित्सकीय शब्दावलीमा उतारेकी छन्। उनले बुझेको ‘सहर’ भनेको ‘अहङ्कार’, ‘व्यस्तता रोग’, दोस्रो स्टेज, ‘रोगग्रस्त शरीर’, ‘भीडको कोलस्ट्रल’, ‘अनियञ्त्रित रक्तचाप’, ‘अनिन्द्रित आँखा’, ‘पक्षघात’, ‘ह्विलचेयर’, ‘द्रौपदीको साडीजस्तो’, ‘चर्केको ऐना’, ‘तरङ्गहीन पानी’, ‘कागको राज’, ‘डाक्टरी रिपोर्ट’, ‘डस्टबीनहरूमा भोकको विज्ञापन’, ‘पाषाण हृदय’, ‘एक्युरियमको माछा’, ‘प्रताड्नाहरूको सपिङ मल’, ‘कङ्क्रिटको जङ्गल’ ‘असीम विवशता’, ‘फ्लाइओभर’ हुन्।

नवीन पौड्याल (कालिम्पोङ)

यसमा रहेका कविताहरूका आ-आफ्ना विषयवस्तु रहेका छन्। प्रत्येक कविताले कुनै न कुनै सन्देश र विचार बोकेका छन्। शृङ्खला कविता ढुङ्गो- मा पनि अहिलेका मानिसहरू संवेदना मर्दै गएको सङ्केत पाइन्छ। ‘मेरो गाउँमा भोट बर्सेनी आओस्’ मा राजनैतिक चेतना, ‘नारीदिवस’ मा नारी चेतना, ‘युद्ध चलिरहेको छ’- कवितामा युद्धको आभास, ‘आइसोलेटेड’ कवितामा वर्तमानको वास्तविक एकान्तोन्मुखता, ‘राधा’ – कविताले मिथकीय सन्देश, ‘पर्खाल’ कविताले विभेदको पर्खाल, एक प्रस्ताव महिनावारीको कविताले सामाजिक भ्रम निवारण र नारी विद्रोह चेतना, ‘मेरी हजुरआमा’- कविताले शरीर र कर्मले आधुनिकता भए पनि मानिस संस्कारले भने पुरानै रहन्छन् भन्ने सन्देश चेतना आदि पाइन्छ। ‘भोक’- कवितामा वर्तमान शासन व्यवस्थाको असफलताको फलस्वरूप गरिबी बढेको छ। यसबाट समाजमा उब्जेका अनैतिकता, असामाजिक र अमर्यादित गतिविधिलाई सङ्केत गरिएको छ। ‘चस्मा’- कविताले पनि वर्तमान मान्छेको आडम्बर, पाखण्डपन, नैतिकतादेखि विमुख भएको भाव पाइन्छ। ‘समय’ कवितामा पनि समयको भिन्न पक्षबाट, ‘पर्खाल’ कविता भने मानिसले सभ्यताका नाममा विभिन्न पर्खाल खडा गरेको छ। मानिसले भौतिक र मानसिक पर्खाल लगाएर विभाजनकारी संस्कार बढेको छ।

‘पुरानो लुगा’ कवितामा उमेरको गतानुगतिकको सत्यको उद्घाटन गरिएको पाइन्छ। ‘खबरमा गाउँ’ कवितामा गाउँको चेतना भन्नु नै प्रशासकीय अवहेलना, वञ्चना र देखाउने वस्तु मात्र भएको वास्तविकता बोध हुन्छ। गाउँप्रतिको सरकार र समाजको मनोभावलाई दर्साइएको छ। मेरो कोठाको झ्याल कविताले मानवीय संवेदनालाई पस्केको छ। ‘मनमायाको निद्रा’ कविताले गरिबीको उदाङ्गो नक्सा उतारेको छ। ‘घर’, ‘होमवर्क’, ‘एउटा प्रेमको कविता’, ‘राजनिती’, आदि कविताले पनि वर्तमानका विकृति, कुरूपता, विद्रूपतालाई सङ्केत गरेको छ।  कविका निम्ति अहिले विश्वमा भौतिक रूपमा युद्ध नभए पनि त्योभन्दा डरलाग्दो स्थिति देखा परेको छ। घर-घरमा टोल-टोलमा खानु लाउनु र सङ्घर्षका युद्ध चलिरहेको छ। ‘भाइका सर्टिफिकेटहरू’ कवितामा वर्तमानको बेरोजगारी र मूल्य विघटनको स्थिति देखाइएको छ।

नारीका विभिन्न अवस्था र दृष्टिकोण-

प्रस्तुत कवितासङ्ग्रहमा नारीका विभिन्न अवस्था र यथार्थको प्रत्यक्ष र परोक्ष रूपमा वर्णन र संकेतन गरिएको पाइन्छ। परम्परादेखि गाडिएर बसेर नारीप्रतिको व्याख्या-अपव्याख्या, अनुदारवादी धारणालाई कविले असन्तुष्टि र असहमति प्रत्यक्ष- परोक्ष अभिव्यक्त प्रकट गरेकी छन्। राधा भन्ने शृङ्खलाकवितामा पनि परोक्ष रूपमा असहमति देखाएकी छन्। नारीको मासिक धर्मप्रति समाजको आमधारणाप्रति उनले विद्रोहात्मक असहमति जनाएकी छन्-

यहाँ

केवल तपाईँको सुस्वस्थ्यको चर्चा गरिने छ

तपाईँले पालन गर्नुपर्ने स्वच्छताको पाठ पढाइने छ

तपाईंको शरीरलाई आराम गर्ने मौका जुराइने छ

तपाईका शारीरिक परिवर्तनहरूलाई

सामान्य मानिने छ

अन्धविश्वासको पिन्जराबाट

तपाईँलाई मुक्ति पारिने छ।

कविका निम्ति नारी अबला होइन तर शक्तिकी केन्द्र हो। समाजमा पुरूषसमान अघि बढ्ने सक्छे भन्ने धारमा पाइन्छ।

द्वन्द्वात्मकता र विपर्यास –

यहाँ सङ्गृहीत कवितामा द्वन्द्वात्मकता र विपर्यासको संयोजन गरिएको छ। वैचारिक सामाजिक, राजनैतिक आर्थिक भौगोलिक आदि पक्षहरुमा विपर्यास स्थितिको अङ्कन गरिएको पाइन्छ। यस सङ्ग्रहमा रहेका कवितामा पुस्तैनी, परम्परा र वर्तमानको, वास्तविकता र आदर्शताको बिचको, संस्कार र सभ्यताको बिचको, वास्तविक संसार र भर्चुवल संसार, नैतिकता र अनैतिकताको, संवेदनशीलता र यान्त्रिकताको, सामुहिकता र वैयक्तिकताको, शहर र ग्राम्यताको, प्रकृति र कृतिमताको युद्ध र शान्तिको, इतिहास र वर्तमानको, हिंसा र अहिंसाको, भाग्यरेखा र कर्मरेखा आदिका बिचमा द्वन्द्व देखाइएको छ। कवितामा अर्थगत समानन्तरता, विपर्यास, समतुल्यता आदिको प्रयोग गरिएको पाइन्छ।

पूजा उपाध्यायका कविताको संरचना

पूजा उपाध्यायका कवितामा वर्तमानको सामाजिक, राजनैतिक, नैतिक आदिका विकृति, विसङ्तिहरूलाई विभिन्न ढङ्गले प्रस्तुत गरेका छन्। प्रायः जम्मै जसो कवितामा अहिलेको वास्तविकता देखाएर नैतिक पक्षको खोजी गरेका छन्। अहिले युगमा बाँच्ने क्रममा भोगाइलाई कवितात्मक अभिव्यक्ति दिइएको पाइन्छ। कविता जम्मै छोटा छोटा आयामका छन्। थोरै शब्दमा प्रभावकारी ढङ्गमा धेरै भन्न सकेको पाइन्छ। उनी शैली सचेत कवि हुन्। कवितामा प्रगीतात्मकता, संक्षिप्तता, मितव्ययिता, शब्दशय्यागत सचेतता, संश्लिष्टता, विपर्यास प्रस्ततु, आर्थी विचलन, आर्थी समानान्तरता, विषयगत केन्द्रीयता, प्रतीक र मिथकको सन्तुलित प्रयोग, विम्ब प्रयोगको जञ्जालभन्दा सरलता, व्यङ्ग्य चेतना, विषयगत व्यापकता आदि प्रस्तुतिगत विशेषता पाइन्छन्। विकृतिमा सौन्दर्य सिर्जना, युगीन प्रतिबिम्बन, सन्देशमूलकता आदि उनको कथ्यगत विशेषता हुन्। कता कता व्यङग्य चेतना, मनोसंवाद र सम्बोधनात्मकता पनि पाइन्छन्।

यस सङ्ग्रहमा सङ्गृहीत जम्मै कविताहरू पढ्दा सबै कविताका कुनै न कुनै सम्बन्धसूत्र रहेको छ। सबै कविताका मूलोद्देश्य र कथ्यको समानता सूत्रको खोजी गर्नु सकिन्छ। प्रायः सबैमा वर्तमानप्रति असन्तुष्टि, सहरप्रति वितृष्णा, गाउँप्रति मोह, नैतिकताको प्रश्न उठान, आदर्शता, शाश्वत चिन्तनमूलकता, आदि सबै कविताका कथ्यसूत्र हुन् भन्न सकिन्छ। अझै उनका कविताहरूको संरचनागत, प्रस्तुतिगत, प्रवृत्तिगत, शब्द प्रयोगगत अध्ययन गर्न सकिने ठाउँ प्रशस्त छ। यसमा समयको चेतनाबाट उब्जेका अङ्ग्रेजी शब्द प्रयोग प्रशस्त पाइन्छ। अझ यसमा असमको स्थानीय भाषिकागत शब्द भने त्यति देखा पर्दैनन्। यसमा स्थानीयता भन्दा वैश्विकता र शाश्वततको चिन्तन पाइन्छ। सूक्ष्मताभित्र नै सार्वजनीनता, व्यष्टिभित्र समष्टि र अणुमा विश्व यसमा रहेका कविताहरूको खुबी रहेको पाउन सकिन्छ। भीडभित्र उनको आफ्नै टड्कारो काव्यिक अस्तित्व र उपस्थिति देखिने सम्भावना छ।

मूल्याङ्कन र उपसंहार

अन्तमा, उनको नयाँ कवितासङ्ग्रह असमर्थ सहर आफू भने आम पाठकको मन जित्न समर्थ बनेको छ। यसको कृतिको समुचित मूल्याङ्कन हुँदैगरेको, समालोचकहरूको दृष्टि परेको छ भन्ने ठानेको छु। यसले प्रकाशित हुनेबित्तिकै समालोचनाको आलोक पाएको छ। धेरै पाठक आकर्षित भएका छन् । समालोचकहरू पनि घोत्लिन पुगेका छन् । छोटाछोटा संरचनामा रहेका कविताको अर्थ, सन्दर्भ, विम्ब, प्रतीक आदिले कविता सघन, सार्थक र सफल बनेका छन् । कवितामा पंक्ति-पंक्तिमा भाव सघनता र उक्ति वैचित्र्य पाइन्छन्। थोरैमा धेरै कथ्य प्रस्तुत गर्न देखिन्छ। कविताहरूमा विद्रोहको भाव पनि सन्निहित छ। कतिपय परम्परागत संस्कार, मानसिकता र व्यवस्थाप्रति परोक्ष विद्रोह चेतना पाइन्छ। परम्परागत मानसिकताले नारीहरूलाई कतिपय प्रसङ्गमा समस्यामा परेको पनि पाइन्छ। मासिक धर्म पालनका प्रसङ्गमा यहाँ कवि उपाध्यायले आफ्नो विमति व्यक्त गरेकी छन्।

प्रस्तुत कवितासङ्ग्रहको भूमिकामा सिक्किमको वरिष्ठ समालोचक र अध्येता पेम्पा तामाङले पुजा उपाध्यायको कविताकारिता विषयमा थोरै शब्दमा भए पनि आफ्नो सारगर्भित समीक्षा गरेका छन्। समालोचक तामाङले उनका कवित्वमा विद्रोह चेतना, युगीन चेतना र कवित्वचेतना रहेको तथ्यलाई अघि सारेका छन्। यसैगरी राजेन्द्र भण्डारी र इन्दुप्रभादेवी र नवीन पौड्यालले संक्षिप्त रूपमा भए पनि पुजा उपाध्यायको कवितासङ्ग्रहका मूल वस्तुको ठम्याउने प्रयत्न गरेका छन्। चारैजनाको मन्तव्यअनुसार पुजा उपाध्याय एक झरिली, अब्बल र सबल कवि हुन्, नेपाली कविताको एक दह्रिली स्तम्भ हुन् र भविष्यकी उज्जवल कवि व्यक्तित्वको सम्भावना हुन्।