
बत्तीस भागमा विभाजित डा. रेणुका सोलुको १९८ पृष्ठको उपन्यास भीरमह लामोसमय लगाएर पढिसिध्याएँ । सगरमाथा प्रतिभा प्रतिष्ठानले यसलाई विक्रम सम्बत् २०७३ मा प्रकाशित गरेको रहेछ र सोही साल दोस्रो संस्करण र बिक्रम सम्बत् २०७४ मा तेस्रो संस्करण बजारमा आइसकेको रहेछ । रु ३००÷— पर्ने यो चिटिक्क परेको उपन्यास यति छोटो अवधिमा तेस्रो संस्करण निस्कनु भनेको यसभित्र पाइने आधा आकाश ढाकेर बस्ने ती सम्पूर्ण आमा, दिदीबहिनी, छोरी, भतिजी, भान्जी, नातिनीहरूको अस्तित्वको साच्चिकै विकास, उत्थान, उन्नति र विवेकका लागि प्रेरणादायी पुस्तक भएकै कारण हो जस्तो मलाई लागेको छ ।
म गाउँमै हुर्के बढेको मान्छे । मलाई पनि उकालीओरीली गर्न आउँथ्यो र सक्षम पनि थिएँ । भारीकैसाथ गोडाहरू कमाउँदै ओरालो नझरेको पनि होइन । तर ती सोलुका बुङ, नेले, मुक्ली, बासा आदिको वर्णन तथा चर्चाले मलाई अझ विकटताको आभास गरायो । म आफैँ त्यही उकालो चढिरहेको छु । उही ओरोली झरिरहेको छु । अनि तिनै सिगाँने बच्चाहरू दौराको फेरमात्र हल्लाउँदै दौडेर नयाँ मान्छे हेर्न आइरहेका छन् । ‘हलो’ भन्दै बोल्ने बहाना बनाउँछन् । केही नयाँ वस्तु दिर्इ पो हाल्छन् कि भन्ने आशा पनि गरिहेछन् । डा. रेणुका सोलु होइन म आफैँ यी दृष्यहरू हेरिरहेँ, भेटिरहेँजस्तो भइरहेको छ । केही शब्दहरू मैले नसुनेका, नपढेका पनि थिए । शायद ती स्थानीय शब्दहरू पनि हुन सक्छन् वा ठाउँको नाउँ पनि हुन सक्छ वा मैले थाहा नपाएकै पनि हुनसक्छ । मात्र १२ वर्षकी माइलीसँगको भेट, माइलीको माया र माइलीको पढ्ने चाहना र भाँडा माझेर कमाएको पैसाले एक दिन आएर मीठो बोलेर जाने मानिसका लागि उपहार किनेर दिने आँट उपन्यासको एकदमै मनछुने भाग हो । कतिपय ठाउँमा म झुक्किएँ पनि । वरिष्ठ नियात्राकार दाइ प्रतीक ढकालको नियात्रा पो पढिरहेको छु कि ? उहाँ पनि नारी उत्थान र सम्मानका लागि प्रशस्तै आवाज उठाउने लेखक हो । नारी उत्थान र सम्मानकै लागि प्रशस्तै साहित्य लेख्ने, सभा सम्मेलन गर्ने, पुरस्कारको व्यवस्था गर्ने, मैले आदर गर्ने दाइ नरेन्द्रराज प्रसाईँ हुनुहुन्छ । शायद यो भीरमहले उहाँहरूको त्यो इच्छा तथा चाहनालाई समेत केही हदसम्म पूरा गरेको हुनुपर्छ ।

राम खत्री (अमेरिका)
उपन्यास महिला हकहित तथा महिलाको साँच्चिर्कै सम्मानको लागि अगाडि बढ्दै जान्छ । विभिन्न कार्यक्रमहरू मार्फत देशका सम्पूर्ण महिला दिदीबहिनीहरूले आफ्नो घरपरिवारलाई जुन माया—प्रेम र सद्भावले एक ढिक्का बनाइरहेका छन् सोही अवस्था कायम राख्दै आमा, छोरी दिदीबहिनी सबैले छोराले जस्तै पढने, लेख्ने र सिक्ने समान अवसर प्राप्त गर्न सकेभने त्यो घरपरिवारको मात्र होइन देशकै कायापलट हुन्छ भनेर विश्वास दिलाउने प्रयास यो भीरमहले गरेको छ । वास्तवमा यो सही कुरा हो । नेपाल एउटा भाग्यमानी देश हो जसले एक्कै पटक देशको सर्वोच्च पद राष्ट्रपति, सभामुख र प्रधान न्यायाधिशजस्तो गरिमामय पद महिलाको हातमा सुम्पियो । तर आफ्नै पौरखबाट उक्त पदमा नपुगेका कारण उक्त समय नेपाली महिला हक, हित, सम्मान तथा समानताको युद्धका लागि व्यर्थ सिद्ध भयो । त्योभन्दा बढी नवमहारानीको व्यवहारको जन्म भयो भन्ने समेत चर्चा उठ्यो । उमेरमा आफूmभन्दा पाका ओहोदाले पनि सम्माननीय प्रधान न्यायाधीशसम्मका व्यक्तिलाई पनि सारा संसारले देख्नेगरी आफ्नो सामुन्नेमा घुँडा टेकाएर टीकाजमारा प्रदान गरियो साथै देशको प्रधानमन्त्रीलाई आधिकारिक कार्यक्रममा शपथ ग्रहण गराउँदा कानुनले निर्धारित ढाँचामा शपथ गराउन नसकी घरमा श्रीमान—श्रीमतीबीचको कुराकानी तथा हँस्सीमज्जाकको रूपमा टेलिभिन मार्फत सम्प्रेषित सन्देशले उनको काविलियताप्रति प्रश्न चिन्ह खडा गरायो । भीरमहले त्यस्ता महिला खोजेको छैन । यसले खोजेको नारी ती हुन् जो पढेकी हुन्, जो विवेकी हुन्, जो ज्ञानी छिन्, जो अरूको नचाइमा नाच्दिनन्, जो तर्क गर्न सक्छिन्, तर्कमा विजय हासिल गर्छिन्, जो अरूले दिएको कोटामा आश्रित बन्न चाहान्नन् ।
भीरमहको माग के हो भने सन्तान छोरा होस् वा छोरी दुवै ईश्वरका वरदान हुन् । दुवैलाई जन्माउन, हुकाउन, बढाउन पालनपोषण गर्न आमाबाबुले उत्तिकै दुःख र मिहनेत गरेका हुन्छन् । माया दुवैको उत्तिकै लाग्छ भने किन छोरीलाई मात्र घरको काममा लगाउने, छोरालाई मात्र किन स्कूल पठाउने, कसरी त्यही आमाबाबुले एउटै कोखबाट जन्मेका सन्तानलाई असमान व्यवहार गर्न सकेको, पापधर्मको केही सम्झना आएन ती आमाबाबुलाई, आफ्नै जन्मदिने आमाबाबुले छोरीलाई हेलाँ गर्न सक्छन् भने समाजले छोरीलाई कुन दृष्टिले हेर्ने, त्यसैको फल हैन र नमिता, सुमिता तथा निमर्लाजस्ता चेलीहरूको विविध काण्डको जन्म, यिनै चेतनाको बिगुल फुकेको छ भीरमहले ।
काठमाण्डौको नव—धनाढ्य वर्गको सानो चर्चाले ठूलो उपदेश दिन खोजेको छ । एकातिर १०/११ वर्षकी सुन्तलीको जीवन निर्वाहको परिस्थिति छ भने अर्कोतिर स्नोपीको २४ घण्टे स्याहार सुसार छ । अकुत धनराशी आर्जन गर्नेहरूले मानिसलाईभन्दा जनावरलाई बढी माया गर्ने बेला आइसकेको हो त ? उनीहरूले आर्जित धनसम्पत्ति मिहेनतकै कमाइ होला त । देशभरि त गरिबी व्याप्त छ । सोच्न बाध्य बनाउछ भीरमहले । समग्रमा भन्ने हो भने महिलाको विकास, उन्नति, सम्बृद्धि नभई सिङ्गो परिवार, समाज र देशको उन्नति हुँदैहुँदैन । आधा समाजलाई कानो बनाएर कसरी सिङ्गो देश विकासको आशा गर्ने, आधा समाजलाई अझै मूर्ख बनाइ रहेको कुरा भीरमहले प्रष्टसँग देखाइरहेको छ । यस्तो अवस्थामा कसरी सिङ्गो समाजको उन्नतिको आशा राख्ने, एकपटक पढेर चेतना बाँड्न पछि नपरौँ भन्ने मेरो आग्रह सबै पाठकवृन्दहरूमा रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

