
युद्ध एवं हिंसात्मक आन्दोलन हुँदा स्थानीयवासी मारिन्छन्, विस्थापित भएर शरणार्थी हुन्छन्। विश्वमा विरलै देश होलान् जसले आफ्ना नागरिक विस्थापित भएको अनुभव गरेका छैनन् । वर्तमानकै कुरा गर्दा सिरिया युद्वका शरणार्थी, अफगानिस्तानमा तालिबानले सत्ता परिवर्तन गरेपछि भएका शरणार्थी, रूस एवं युक्रेनबीच भइरहेको युद्धले लाखौँ सङ्ख्यामा परिवार विस्थापितको उदाहरण मानवताको दृष्टिकोणमा अभिशाप समान लाग्दछ। भारतकै सन्दर्भमा उल्लेख गर्दा भारत देश अङ्ग्रेजबाट स्वतन्त्र भएपछि भारत-पाकिस्तान विभाजनमा भएका शरणार्थीको घाव अझै पनि आलै छ। सन् १९९० मा कश्मीरबाट हिन्दू कश्मीरी पण्डित लेखेटिएका सरकारी तथ्याङ्क अनुसार ढेड लाख कश्मीरी पण्डित विस्थापित भएका थिए। उनीहरूमाथि घटेको नरसंहारको दुःखद क्षण अझ पनि काँचै छ। यस प्रकारका घनटनाले विश्वको इतिहास कालो स्याहीले पोतिएको छ जहाँ रोदन छ, पीडा छ, विछोड छ, कष्ट छ, वेदना छ । यसलाई शब्दमा बाधेर कहिले सकिन्दैन । जाति, धर्म, संस्कृति, क्षेत्रवाद, भाषिक भिन्नता, भेषभूषा, रङ-रूपको कारकले उत्पन्न हुने शासन एवं राजनीतिको प्रपञ्चले युद्ध, आन्दोलन भएको इतिहास साक्षी छँदै छ। कुनै पनि जनयुद्ध, जातिबीचको युद्ध, गुहयुद्ध, देशबीचको युद्ध निर्धारित उद्देश्य, सीमा सुरक्षा, जाति, धर्म एवं संस्कृति अस्मिताको प्रबलताका लागि लडिन्छ जहाँ मानवता एवं निर्दोष जनताको कुनै स्थान नै हुँदैन। युद्धमा सफलता एवं विफलता परिणाम जे आए पनि यसले संहार गर्छ, निर्दोषहरूको प्राण लिन्छ, घर परिवार उजाडिदिन्छ, आर्थिक, धार्मिक, संस्कृति, शैक्षणिक, सामाजिक रूपले पछाडि लगिछिन्द जसको सम्वर्द्धनका लागि पिँढी दरपिँढी खपिनु पर्छ ।
उक्त भूमिकाको सन्दर्भमा लेखिएको यस बखत उपन्यास ‘१९८६ वास हराएपछि’ मेरो हात लागेको छ। यो पुस्तक पढ्नु अघि गोर्खाल्याण्ड आन्दोलनको सन्दर्भमा लेखिएका दुई पुस्तक पढिसकेको थिएँ- सुबु छेत्रीको ‘म उभिएको धर्ती’ एवं मुन्नु गौतमको ‘पर्वत सोमरा र गोम्बेहरू’। आन्दोलनमा घटेका जनमानसका अकथित पाटा पढ्दा गोर्खाल्याण्ड आन्दोलन सम्बन्धी अझ पढ्नलाई उत्सुकता थियो । आन्दोलन गोर्खाल्याण्ड छुट्टै राज्य पाउनका लागि गरियो र अझै पनि कुनै न कुनै रूपमा यसको माग चलिरहेको छ। गोर्खाली जातिको महान उद्देश्यका लागि आन्दोलन त भयो तर यहाँ असङ्ख्य परिवार एवं निर्दोषहरूको हत्या भयो, विस्थापित भए जसलाई न आन्दोलनको स्वरूप थाहा थियो न उद्देश्यको ज्ञान। आन्दोलनको प्रकोपमा कैयौंका घर जले, परिवार तितिरबितिर भए, अजन्म शिशुदेखि लिएर वृद्धसम्म मारिए । यस्तै कहालीलाग्दो घटना एवं वेदनाको साक्षी भएर अक्षरमा बाधिको छ बबिता मादेनको उपन्यास ‘१९८६ वास हाराएपछि’।
‘हामीले हेर्यौं-मान्छे काटेर डोको-डोकोमा हालेको रैछ, लाशलाई खोलामा बगाएर डोको पनि त्यहीँ फ्याँकी राखेर उनीहरू फर्किए। हामी बिहान उठेर हेर्न जाँदा टाउको नभएको दुइवटा लाश त्यही ठूलो ढुङ्गाको चेपमा अल्झिरहेको रहेछ। डोकोबाट चुहिएर बाटोभरि खुनै खुनको भल बगेजस्तो भइराथ्यो।’ उद्धरण चिन्हमा राखिएको सन्दर्भ कुनै क्राइम पेट्रोलको पटकथा होइन अपितु बबिता मादेनद्वारा आफ्नै नेत्रले देखेको गोर्खाल्याण्ड आन्दोलनको एउटा दर्दनाक घटनाको परिदृश्य हो । यस उपन्यासकी उपन्यासकार बबिता मादेन स्वयं उपन्यासकी मुख्य पात्र हुन्। अध्ययन, शोध एवं सुनेर लेखेको रचनाभन्दा स्वयंको भोगाइ एवं अनुभव लेख्दा त्यसमा सत्यता एवं मौलिकता आउँछ। बबिता मादेनले स्वयं आन्दोलनको चपेटमा परेको पीडा आफ्नै शब्दमा लेखेर होला उपन्यास अद्योपान्त गढ्दा पाठकले स्वयंमा बबिता मादेन पाउनु हुन्छ। लेखिका, उहाँको परिवार एवं परिचितले भोगेका पीडादायक घटनालाई पुस्तकको रूप दिँदा मलाई यो लेख्न अतिशयोक्ति लागेको छैन कि बितेका दुःखदायी घटनालाई स्मरण गरेर लेख्दा यहाँको मन गाँठो परेर भावशून्य भएन ! जातिका लागि लड्नु-मर्नु, सभा गर्नु, भाषण गर्नु, जुलुस निकाल्नु सजिलो होला तर यसैको फलस्वरूप हुने हिंसाको चपेटमा निर्दोष जनताले पाएको पीडा एवं कष्टको मूल्य के छ ? आन्दोलनको मूल उद्देश्यलाई छोडेर परिणाम केलाउँदा आन्दोलनले पीडा मात्र दिएको छ, यही सन्दर्भलाई उपन्यासले वकालत गरेको पाइन्छ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)
सलल बगेको, सरल एवं मिठो भाषा शैलीमा लेखिएको उपन्यास पढ्न आनन्द त लाग्छै लाग्छ तर यसभित्र विराजमान पीडा एवं कष्ट पढ्दा त्यसै त्यसै मन खल्लो एवं दया र भावनाले भरिन्छ। बबिता मादेनले यो उपन्यासलाई संस्मरणको पिरामा बसेर उहाँको बचपमनमा घटेका घटनालाई स्मरण गर्दै भिन्नभिन्न पात्रलाई उभ्याएर १९८६ को गोर्खाल्याण्ड आन्दोलन एवं आन्दोलनले दिएको कष्टहरूलाई जीवन्त पारेकी छिन्।
बबिता मादेनको परिवार, सुसम्पन्न थियो । बाबा समाजमा प्रतिष्ठित व्याक्ति हुनाले समाजमा ठाँटबाँटको कमी थिएन। आन्दोलन सुरु हुन्छ, उनका बाबालाई मारिने धम्की आँउछ, धम्की मात्र होइन टाउको काटेर सार्वजनिक गर्ने घोषणा हुन्छ। यस्तो परिस्थितिमा उनका बाबा सिक्किम लाग्छन्। उपन्यासकी एक प्रमुख पात्र साइँलीको देखरेख बस्नछन् तर एक दिन उनीको घरमा राता फेटा बाधनेहरू आएको देखेर आफ्ना भाइ-बहिनी लिएर भाग्छिन् बबिता मादेन। लुक्नलाई एउटा याक्साभित्र पस्छिन् जहाँ पहिले नै एकजना बुढामान्छे आफ्ना दुइटी नातिनी लिएर ज्यान बचाउन बसेका हुन्छन् । मध्य जाडोको बेला रात बिताउन कत्ति कष्टदायक हुन्छ त्यो कल्पना मात्र गर्दा पनि मन कष्टले भरिन्छ। छ वर्षकी बबिताले भयभीत समय भोग्दा आन्दोलन नकारात्मक पाटाले पनि रङगिएकोबाट अवगत हुइन्छ। त्यही याक्साबाट उनले आफ्नो घर धुँधुँ गर्दै जलेको देख्छिन् ।
यसरी घर जलेको उनको मात्र थिएन कैयौं पहाडवासीका घर जले, गाईबस्तु जलेर मरे जसको आन्दोलनसँग कुनै वास्तै थिएन । भोकै-तिर्खा बबिता भाइ बहिनीसँग सिक्किमको सीमा पुग्छिन् जहाँ उनका माता पितालाई भेट्छिन्। यहाँबाट सुरु हुन्छ अझ कष्टको यात्रा, शरणार्थीको जीवन, अभावको जीवन। बबिता मादेनको परिवारको भिन्नै समाजमा मान-सम्मान हुने भएर शरणार्थी बसेको ठाउँमा पनि अत्यधिक कष्ट पाउँदैनन् तर अरू शरणार्थीको जीवन कष्टपूर्ण थियो। आन्दोलनले उनका परिवार एवं गाउँका परिचितहरूलाई दिएको घाव औ उजाडियएको जीवन देखेर उपन्याकार आन्दोलनप्रति अनेकौँ प्रश्न गर्छिन्- ‘आन्दोलन कसका लागि र कसको विरुद्धमा गरिएको थियो ! बङ्गालको पत्ता पनि हल्लिएन उल्टा मानिसहरू आफ्नैहरूकै खुनको प्यासी थिए । कलम थमाउनुपर्थ्यो कि तलवार तर भुत्ते खुकुरी हातमा थमाएर आफ्नैहरूको गर्दनमा निशाना लगाउन बाध्य किन बनाइयो ? कैयौं यस्ता परिवारहरू पनि थिए जसले राजनीतिको ‘र’ सम्म बुझेका थिएनन्, गोर्खाल्याण्ड शब्दको अर्थसम्म जानेका थिएनन, ती निर्दोषहरूलाई निशाना किन बनाइयो?’ यस्तै प्रश्नहरू उनले जहाँतहाँ आन्दोलनकारी, नेता एवं सरकारसँग राखेकी छिन्। बबिता मादेनसँग जोडिएका पात्रले पनि आन्दोलनलाई विनासकारी एवं कष्टदायक तुल्याएर आँसु पुछेका छन्। जस्तै- आन्दोलनको आडमा बदमासे आन्दोनकारीले गाउँमा गएर, कुखुरा, बाख्रा, सँगुर लिएर जान्थे। चार दिनको सुत्केरी महिलाले अढाइ घण्टा पैदल हिँडेर सिक्किम पुग्नु, सुत्केरी जिउ हुनाले बाटैभरि रक्ताम्मे हुनु अनि पालन पोषणको अभावले शरणार्थी हुँदा शिशुको अकाल मृत्यु हुनु कुनै सानो वज्रघात होइन ।
लाटी फुपूको पात्र अझ दयालाग्दो छ। आन्दोलनको आडमा आन्दोलनकारीले लाटी फुपूको बलात्कार गर्छन् अनि ऊ अनजान बलात्कारीको शिशुलाई जन्म दिएर जीवनभर पालन-पोषण गर्न बाध्य हुन्छिन् । लाटी फुपूजस्ता असङ्ख्य महिलाको बलात्कार गरियो । पाडेनी काकीको लोग्नेको हत्या भएपछि काखमा अनि कोखमा भएको नानी लिएर कसरी बाच्नु पर्यो ? यस्तै बीभत्स घटनाका पात्रहरू साक्षी भएर उपन्यासमा प्रश्न मात्र राखिदिएका छन् जसको उत्तर कसैसँग छैन, हुनेले पनि जातीय उद्देश्यको तल थिच्नु परेको छ। के जातीय उद्देश्यका लागि आन्दोलनको स्वरूप योजनाबद्ध हुनु पर्ने होइन जहाँ एक जना पनि निर्दोष जनताको हत्या नहोस् ? यो प्रश्न ती असङ्ख्य आन्दोलनमा मर्ने एवं उनीहरूका परिजनका आँसुले सोधेको भान पाइन्छ उपन्यासमा ।
उपन्यास लेखौँ, कथा लेखौँ, निबन्ध लेखौँ या अन्य विधा तर त्यहाँ समाजिक व्यवस्था, संस्कृति एवं कुरीतिको व्याख्या नआई सम्मन्न हुन गाह्रो हुन्छ। उपन्यासकारले आफ्नो घर समाजमा हुने धर्म संस्कृतिको स्मरण गर्दै ग्रहजाप, सत्यनारायणको पूजा, पाठाको भोग लगाएर देवीको आराधान, भीमसेनको पूजा, जङ्गलको पूजा, खोलाको दोख, नयाँको पूजा, धान पाकेको बेला सुँगुर काटेर शाखा-सन्तान र छरछिमेकीलाई भोजजस्ता आफ्ना संस्कृतिबाट अवगत गराउछिन् भने रूढिवादीको शिकार भएर कलावतीको मृत्यु हुनु, गाउँदेखि अस्पताल टाढा भएको एवं गाउँले आफ्नै काल्पनिक मान्यताको आडमा, महिलाहरू प्रसव पीडाले मृत्यु भएको बबिता मादेन वर्णन् गर्छिन्।
उपन्यासमा यस्तै घटिएका अप्रयि घटनाको बखान छ । बबिता मादेनले आफ्नै आँखाले देखेको भेगोको व्यथालाई अति पठनीय रूपमा लेखेकी छिन्। कथ्य शैली रोचक छ। उहाँले आफ्नै क्षेत्रीय शब्द एवं बोलाइको मिश्रणले भाषा मिठो भएको छ। अङ्ग्रेजी भाषाको प्रयोग देखिएको छैन भने हिन्दीको मिठास कता-कता भेटिन्छ । भिन्नभिन्न खण्डमा कथिएका पात्रको अन्त आन्दोलन एवं शरणार्थी जीवनमा गाँस्दै आफ्नो पात्रको सामीप्य ल्याएर सबै पात्रको एकीकरण गर्ने प्रयास गरेको बुझिन्छ जहाँ सबै पात्रको उपस्थिति सान्दर्भिक लाग्छ। आवरण पानामा जलेको दृश्यलाई भित्र वर्णित घटनाले न्याय गरेको छ। यो पुस्तक मात्र उपन्यास नभएर गोर्खाल्याण्ड आन्दोलनको दस्तावेज हो। जसलाई पनि गोर्खाल्याण्ड आन्दोलन जान्न इच्छा लाग्छ यो उपन्यास लाभकारी सिद्ध हुन्छ । सम्मपूर्ण सत्य जान्नलाई मात्र सरकारी आँकडा पढेर हुँदैन भोग्नेहरूको भोगाई जान्न आवश्यक छ। अनि यो उपन्यासमा बबिता मादेनको आफ्नो भोगाइ भेटिन्छ।
यो उपन्यास पढ्न लागेपिछ नबिसाई सिध्याउ मन लाग्छ। यो उपन्यास सामान्या जनताले पढ्नभन्दा पनि गोर्खाल्याण्ड आन्दोनलको नेतृत्व गर्ने नेता, सरकारी तन्त्रमा बसेका कर्मचारी, राजनेताले पढ्न आवश्यक छ, ता कि आन्दोलनको सत्य बुझेर भविष्यमा फेरि आन्दोलन गर्नु पर्यो भने पुनः निर्दोषहरूको ज्यान नजाने, कष्ट नपाउने योजना बनाऊन् ! गल्ती नदोर्होयाऊन् !
उपन्यासको अन्ततिर बबिता मादेनले आन्दोलनका प्रमुख नेता छत्रे सुब्बासँग भेटेको उल्लेख गरेकी छिन् जसलाई आन्दोलनको सम्पूर्ण राजनीतिक सत्य बुझेको कुरा गरिएको छ तर त्यो सम्पूर्ण सत्य उपन्यासकारको अपरिहार्य बाध्यताले होला उपन्यासमा उल्लेख आएको छैन । आन्दोनलका ती सबै अप्रिय घटना पढेपछि सत्य जान्न उत्सुकता हुन्छ तर उल्लेख नहुँदा पाठकीय मन निराश हुन्छ । उपन्यासमा पात्रको पात्रत्वमाभन्दा स्वयंमा केन्द्रित भएकाले अरू पात्र कमजोर भएको आभास लाग्छ । सुरूदेखि अन्तसम्म उपन्यासकारकै प्रभाव हुँदा संस्मरणात्मक उपन्यास हो भन्न सकिन्छ!
‘१९८६ वास हराएपछि’ उपन्यास पठनीय छ । प्रसंसनीय छ । ८६ को आन्दोनलबारे बुझ्नलाई उत्तम चुनाव सिद्ध हुनेछ पाठकीय मनहरूमा।
पुस्तकको व्यापक सुफलताका लागि अशेष शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 










