महेश्वर पन्त गीत, कथा र कवितामा नयाँ शैली भित्र्याउने साहित्यकार हुन् । गायन र सङ्गीतमा पनि उनले आफ्नो पहिचान बनाइसकेका छन् । नेपाली काङ्ग्रेसका लागि निर्वाचन गीतसमेत तयार पारेका महेश्वर नेपाल छँदा राजनीतिमा सक्रिय थिए । उनले नेवि सङ्घका लागि “नेवि सङ्घ देशको कर्णधार हो” बोलको लोकप्रिय गीत लेखेका थिए ।
नेपाल भ्रमण वर्ष १९९८ र २००० कार्यान्वयनका लागि देश-विदेशमा पन्तको खटाइ स्मरण गर्नेहरू धेरै छन् । तर, व्यवसायिक असुरक्षाका कारण आफूले जन्माएको पर्यटन साम्राज्य छाडेर अचानक उनी अमेरिका पलायन भए । सन् २००१ मा अमेरिका बसाइँ सरेका पन्त गैरआवासीय नेपालीहरुको सङ्घठनअन्तर्गतको भाषा साहित्य विभागमा कार्यरत् छन् ।
प्रस्तुत छ, आफ्नो नवीनतम् उपन्यास ‘बौलाको डायरी’विमोचनका लागि नेपाल आएका पन्तसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको संवादको सम्पादित अंश;
उपन्यासको रुपमा “डायरी” किन आयो ?
एउटा ४०-५० वर्षको समयावधि लिएर लेख्दा उठान कसरी गर्ने, बैठान कसरी गर्ने जस्ता कुराहरु आए । मलाई लाग्यो – जीवनको सम्पूणर् पाटाहरु लेख्नका लागि डायरी लेखन नै उपयुक्त हुन्छ । त्यसैले मैले पहिले तेजबहादुरलाई उसको जीवनको डायरी लेखाएँ । तेजप्रसाद डायरी लेखेपछि पागल भयो । पहिलो त मेरा लागि उसको डायरी फेला पार्नु नै सकस भयो । दोस्रो प्रकाशक पाउन पनि कम दुख गर्नु परेन । अन्नतः उसको डायरीलाई मैले छापेँ । र, मेरो उपन्यास तेजबहादुरको डायरी भएकाले “बौलाको डायरी” बन्न पुग्यो । उपन्यासमा ४५-४६ सालदेखि कोभिडकालसम्मका तेजबहादुरका आरोहअवरोहको कथा उपन्यासमा छ ।
भनेपछि, तेजबहादुरमा तपाईँका भोगाइका हिस्साहरु पनि मिसिएका छन् !
यसो भनौँ, मेरो अंश, हिस्साभन्दा पनि उपन्यासमा अनुभव मिसिएको छ । विशेषगरी बाल्यकालमा मेरा कतिपय अनुभूतिहरु तेजबहादुरमा प्रतिबिम्बित भएका छन् । मेरो जीवनमा कतिपय पात्रहरु तेजबहादुरसँग ठोकिन पुगेका छन् ।
उपन्यासको केन्द्रीय पात्र तेजबहादुरमा माओवादी जनयुद्धको प्रभाव गहिरो देखिन्छ नि !
हो । उसकै माध्यकबाट उपन्यासकारले ४५ सालदेखि कोभिडकालसम्मका घटनाहरु देखाउने कोसिस गरेको हुँ । तेजबहादुरको जीवन-यात्रामा ४० सालको परिवर्तनदेखि गणतन्त्रपछिको नेपालसम्मका घटन-परिघटनाहरुको प्रभाव छ । उसले जति पात्रहरुसँग भेटेको छ, तिनीहरुका आआफ्नै कथाव्यथा छन् । तेजबहादुर मात्र होइन, अरु धेरै बौलाएका छन् । जनयुद्धमा हराएको छोरो खोज्दै काठमाडौँ आएर बौलाउँदै हिँडेको बुबाको कथा छ । ऊ आफैँ माओवादी जनयुद्धमा होमियो पनि, तर गणतन्त्रको प्राप्तिपछि कतिका सपना पूरा भए ? पत्रहरुको जीवन आफैँमा प्रश्न पनि छ । आफ्नो डायरीमा बारबार तेजबहादुरले भनेको पनि छ – रोल्पा, रुकुमका जनताहरुको पुच्छरमा अगाडिबाटै बारुद थियो । विभिन्न मुद्धाको वकालत गर्दै पुगेका कम्युनिस्ट नेताहरुले त्यहाँका सोझा जनताहरुको पुच्छरमा आगोमात्र लगाइदिएको हुन् । र, उनीहरु लङ्का जलाउन उडेका हुन् । तेजबहादुर स्वयंको पुच्छरमा पनि विभिन्न कारणले आगो लगाइएका छन् । र, त्यही आगोले ऊ आफैँलाई पोलेको छ । जलेको पनि छ ।
प्रोजेक्टका लागि २-३ वर्ष म पश्चिम बसकेको पनि हुँ । त्यसैले त्यहाँको माओवादी युद्धको पृष्ठभूमिको कथा, त्यहाँका जनताको जीवनयापन र मनोविज्ञान केहीहदसम्म मलाई थाहा छ । र, त्यस समयमा मसँग ठोकिन आइपुगेका धेरै पात्रहरु तेजबहादुरमा पनि ठोकिएका छन् । माओवादी जनयुद्धको मात्र होइन, त्यसभन्दा अघिका राजनीतिक तथा समाजिक व्यवस्थाको प्रभाव उपन्यासमा प्रशस्तै छ । मलाई लाग्छ – आजको युवापुस्ताले यो कथा थाहा पाउनै पर्छ । अझ्, विदेश जाने लाइनमा बसेका र विदेशमा पसिना बगाइरहेका युवाहरुले त पढ्नै पर्छ ।
तपाईँले आफैँलाई केन्द्रीय पात्रमा बनाएर उपन्यास लेख्न पनि सक्नुहुन्थ्यो । तेजबहादुरलाई नै चाहिँ किन रोज्नु भयो ?
कुरो यसो छ – मैले आफैँलाई सुरुदेखि अन्तिमसम्म मुख्य पात्र बनाएर उपन्यास तयार पारेको भए पाठकमा विश्वासनीयताको कमि आउन्थ्यो । किनकि, तेजबहादुरले जुन कथानक बोकेको छ, त्यो पात्र म हुन सक्दिनँ । म विद्रोही परिवारमै हुर्किएको भए तापनि म तेजबहादुरझैँ पिछडिएको र दलनमा परेको परिवारको प्रतिनिधित्व गर्दिनँ । तेजबहादुरले जिजुबाजेबाट कमाराको पृष्ठभूमि बोकेका छ । बाजेले सात साल लडेका थिए । सुरुवाती अवस्थामा काङ्ग्रेस तेजबहादुर पछि कम्युनिस्ट बने । त्यसैले उनीको परिवार सधैँ परिवर्तनको लडाइँमा अग्रपंक्तिमा उभिएका थिए । तर, उनीहरुले लडेर ल्याएको परिवर्तनले उनीहरुकै जीवनमा परिवर्तन ल्याउन सकेन । त्यसैले, तेजबहादुर धेरैको प्रतिनिधित्व गर्ने, सबैले देखेको पात्र हो । फेरि, म त अमेरिका गइसकेको मान्छे । बाहिर भए पनि नेपालको राजनीतिसँग सधैँ नजिक छु । मलाई लाग्यो – म राजनीतिक उपन्यासलाई न्याय गर्न सक्छु, तर लेखकका रुपमा । पात्रका रुपमा न्याय गर्न तेजबहादुरको बिकल्प म हुन सक्दिनँ ।
किताबको अन्तिम पृष्ठमा राजकुमार सरले लेख्नुभएको छ, “नेपाली राजनीतिको डार्क कमेडी हो बौलाको डायरी” । यसलाई राजनीतिक उपन्यास भन्न सकिन्छ ?
अवश्य सकिन्छ । मलाई लाग्छ, यहाँ हरेक नेपाली राजनीतिज्ञ छ । तेजबहादुरका बा खाट्टी काङ्ग्रेस थिए । तेजबहादुरलाई उनले भनेका थिए, “तैँले काङ्ग्रेस छोड्लास् नि ! माथिबाट तेरा बाजे-जिजुबाजेले गाली गर्छन् नि !” तर उसलाई काङ्ग्रेस छोड्नै पर्ने बाध्यता आइलाग्यो । कमेडीचाहिँ मैले कति सक्छु थाहा छैन, तर पाठकमैत्री होस् भने प्रयोग गर्छु ।
यो राजनीतिक उतारचढावका कारण बौलाएका, बौलाजस्ता भएका वा बौलाउन बाध्य पारिएका तेजबहादुरहरु हाम्रो समाजमा कति जति होलान् ?
एकदमै धेरै छन् । यो त भयङ्कर ठुलो अध्ययनको विषय हो । यो कथा कतिमा जान्छ, मलाई थाहा छैन । तर बाबुराम भट्टराई, प्रचण्ड, अझै पनि लड्नै जान्छु भन्ने मोहन वैद्यलगायतलाई पढाउनु छ । जसले यो पुस्तकको पाण्डुलिपी पहिलोपटक पढ्नुभयो, उहाँले मलाई भन्नुभएको छ, “कृपया, यो किताब मोहन वैद्यकामा पठाइदिनु होला ।”
हिजो प्रचण्डले भारतसँग सुरुङ युद्ध लड्छौँ भनेर तेजबहादुरहरुलाई युद्धमा उतारेका थिएन । तर आज तेजबहादुरहरु भारतमा भाँडा माझ्दै छन् । सुरुङ युद्ध यही हो ? तेजबहादुरले त सुरुङ युद्ध सम्झेर आफैँलाई थुकेको छ । साहुले ऊतिर घुरेर हेरेपछि उसले फेरि अर्कोपटक थुक्नसम्म सकेको छैन । तेजबहादुरको यो अवस्थाको कारण को हो ? यो पनि गहिरो प्रश्न हो । कति पागल छन् नेपालमा ? अँ त, यो अध्ययनको प्रश्न हो ।
तपाईँ नेपाल छँदा राजनीतिमा नेपाली काङ्ग्रेसमार्फत सक्रिय नै हुनुहुन्थ्यो । व्यवसायिक रुपमा पनि राम्रै थियो । तर फेरि केले विस्थापित गरायो ?
हो, प्रजातन्त्र आउनेबित्तिकै राजनीतिमा मेरो सक्रियता र प्रभाव राम्रै थियो । त्यसपछि दुई-चारवटा चुनावहरु भए । मलाई लाग्यो – राजनीतिक रुपमा म उति न्याय गर्न सक्दिनँ । र म ब्याक भएँ ।
तपाईँ जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा विदेशिनु भएको हो नि !
जनयुद्धका कारण तेजबहादुरले मात्र होइन मैले पनि दुख पाएको छु । व्यवसायिक प्रयोजनका लागि विदेश आउने-जाने गरिरहन्थेँ म । अन्तिम समयमा म पर्यटन व्यवसायमा संलग्न थिएँ । सन् २००१ को कुरो हो जतिबेला म व्यवसायकै सिलसिलमा अमेरिका गएर भर्खरै फर्किएको थिएँ । त्यतिबेलासम्म पनि मलाई देश छोड्छु भन्ने थिएन । तर म आएकै दिन दरबार हत्याकाण्ड भयो ।
अर्को कुरा, सन् १९९९ मा म अमेरिका अध्ययन गर्न गएँ । जब म अमेरिकाबाट पनि पर्यटक ल्याउछु भनेर देश फर्किदै थिएँ – अमेरिकाले माओवादीलाई आतङ्कवादीको सूचीमा राख्दै आफ्नो नागरिकलाई नेपाल नजानु भन्ने सूचना निकाल्यो । दूतावासको वेबसाइडमा नेपाललाई “ब्याड” देशको रुपमा राखियो । व्यवसायमा मेरो सम्पूणर् प्रचारप्रसार र लगानी खेर गयो ।
अर्कोचाहिँ, भन्न त सबैले यही भन्छन्, महेश्वरले पनि उही भन्यो भन्लान् – तर मैले छोराछोरीलाई यहाँ विद्यालय पठाउन सकिनँ । मेरो छोरो ४ वर्षको थियो । भर्खरै एक बोर्डिङ स्कुल जान्थ्यो । दुईपटक आन्दोलनमा पर्यो । एकचोटि त साइकलले हानेर नाकको खालै उछुट्याएर आयो । साइकल हानेर भागे छ, ऊ १५ मिनेटसम्म लडेको लडै भए छ । छोराछोरीलाई विद्यालय पठाउन सक्ने अवस्थै रहेन । म ३-४ पटक अमेरिका ओहोरदोहोर गरिसकेको थिएँ । फेरि सन् २००१, सेप्टेम्बरमा अमेरिका गएँ । त्यसबेला मैले उतै बस्ने मन बनाएर गएको थिएँ । तर परिवारलाई भने थाहा दिएको थिइनँ ।
भनेपछि नेपालमा असुरक्षाको कारणले अमेरिकै बस्न थाल्नुभयो ?
होइन । मेरो लागि व्यक्तिगत असुरक्षा केही थिएन । माओवादीहरुलाई केही गरेका वा भनेका पनि होइनन् । तर व्यवसायिक असुरक्षा महसुस भएको चाहिँ पक्का हो । मेरो एउटा गल्तीचाहिँ के भयो भने – म विश्वविद्यालयमा अधिकृत भएर आन्तरिक लेखा परीक्षणमा काम गरिरहेको मान्छे । सुब्बाको जागिर १२ सय ५० रुपियाँ तलबबाट सुरु गरेर अधिकृत बन्दा मासिक ५४ सय पुगिसकेको सरकारी कर्मचारी । त्यसैलाई निरन्तरता दिएको भए हुन्थ्यो होला । तर बिचमा प्रोजेक्टमा जोडिएँ । जागिर छुट्यो । प्रोजेक्टमा प्रशस्त पैसा कमाइयो । त्यसपछि ट्राभल एजिन्सीतिर लागेँ । त्यहाँबाट अझ बढी पैसा आयो । त्यसपछि असुरक्षा के भयो भने, ट्राभल एजेन्सीमा डलर एकाउन्टमा पैसा हुन्थ्यो । बाहिर जाँदा दूतावासमा हामीले त्यो अकाउन्टको स्टेटमेन्ट देखाउनु पथ्र्यो । अमेरिकाको भिसा पाउन ४०-४५ हजार डलर अकाउन्टमा हुनुपथ्र्यो । मलाई २००१ मा ५ वर्षको अमेरिकाको भिसा लगाउँदा दूतावासले केही नमागिदिए हुन्थ्यो भन्ने लागेको थियो । त्यतिबेला डलर अकाउन्टमा मेरो बढीमा ५ हजार डलरमात्र थियो । यो मैले किन भनेको भने, व्यवसाय अत्यन्तै असुरक्षित बनिसकेको थियो । यसर्थ, अरु जे-जे भए पनि म अमेरिका लाग्नुको मुख्य कारणचाहिँ व्यवसायिक असुरक्षा नै हो ।
प्रवासको बसाईमा सबैभन्दा बढी देश खड्किनेचाहिँ कहाँ रहेछ ?
चाडपर्वहरु । उदारहण दसैँको लिऊँ न । नेपालमा दसैँ लागेपछि माहोल नै घमाइलो बन्छ । तर, परदेशमा दसैँ लागेपछि मन अमिलो हुन्छ । अर्को भनेको चाहिँ आफ्नो भाषा नै रहेछ । हामी त अलिकति भए पनि साहित्यमा, सङ्गीतमा, राजनीतिमा लागेको मान्छे भएकाले केही सहज हुन्छ । सुरु सुरुमा त नेपाल भाषा बोल्नै पनि मान्छे खोज्नुपर्ने अवस्था थियो । आफू उर्केको ठाउँ, खेलेका पाखा पखेरा, गाउँघरको याद आउने त भइहाल्यो । साहित्यक तथा भावुक भएर पनि होला, सुरुका दिनहरुमा मलाई चाहिँ यी कुराहरुले ज्यादै सताएको थियो ।
भाषाको कुरा आयो । पहिलो पुस्ताका रुपमा जो-जो अमेरिकालगायत विभिन्न देशहरु पुग्नुभयो, तपाईँहरुसँग नेपाली भाषा, संस्कृति, संस्कार, सङ्गीत र साहित्य सुरक्षित छ । तर दोस्रो, तेस्रो पुस्ता हुँदै जाँदा यिनीहरुको अवस्था कस्तो रहला ?
यहाँचाहिँ एउटा प्रश्न छ, यताबाट जाने कुन पुस्तालाई अन्तिम पुस्ता भन्ने ? म गएँ, मेरा छोराछोरीको पुस्ता दोस्रो पुस्ता भयो । तर अब तपाईँ जानुभयो भने तपाईँ आफ्नो लागि पहिलो पुस्ता भए पनि उता मेरो छोराछोरीको पुस्तामा दरिनुहुन्छ । त्यसैले, यताबाट जाने पहिलो पुस्ता रहुन्जेल भाषा, साहित्य, संस्कृतिहरुको आदानप्रदान भई नै रहन्छ । यदि कुनै दिन यताबाट जाने पहिलो पुस्तामा पूणर्विराम लाग्यो भनेचाहिँ केही फरक परिदृश्य आउन सक्छ ।
फेरि अहिलेको समय प्रविधिको हो । रुपान्तरणको हो । भोलि हाम्रो लोकगीत, भाषा तथा संस्कारहरुले रुपान्तरित रुपमा अङ्ग्रेजीकरण हुनसक्छन् । अर्को भनेको, नेपालका कला, संस्कृति, समाज साहित्यका माध्यमबाट अङ्ग्रेजीमा लेखियो भने वास्तविक नेपालको चित्र विश्वले थाहा पाउने छ । यो कुरा सत्यमोहन जोशीले पनि भन्नुभएको छ । हुन त नेपाली भाषालाई नै विकास गरेर स्पेनिस जतिको बनाउन सके धेरै राम्रो हो । तर मुख्य कुरोचाहिँ भाषा भनेको माध्यम रहेछ । संस्कार, संकृति, रीतिरिवाजचाहिँ बाँच्नु पर्ने रहेछ । देश भाषामा भन्दा बढी संस्कार, संस्कृति र कलामा बाँचेको हुँदो रहेछ । अङ्ग्रेजीमा कुरा गर्नु नेपाली नहुनु होइन रहेछ । बरु अङ्ग्रेजीमा पनि नेपालकै कुरा गर्नुचाहिँ नेपाली हुनु रहेछ ।
भाषासाहित्यको क्षेत्रमा रहेर विभिन्न काम गर्दै आउनुभएको छ । देशको भूगोलबाहिरको नेपालको अनुहार कस्तो देख्नुभएको छ ?
भाषासाहित्यकै कुरा गर्दा चाहिँ विशेष दुईखालको अनुहार पाएको छु मैले । पहिलो, जो भाषा र साहित्यलाई गहिरो रुपमा बुझेका छन्, पढेका छनु, र लेखेका पनि छन् । दोस्रोचाहिँ, देश, घरपरिवार र साथीभाइसँगको विछोड वेदनालाई साहित्यको साहारा लिएर भुलाउने, पोख्ने पनि छन् । दुवै खालका अनुहारले नेपाली भाषासाहित्यलाई कुनै न कुनै किसिमले, सेवा-टेवा पुर्याएका छन् । समग्र नेपालीको कुरा गर्दाचाहिँ समाज जोडिन्छ । समाजमा राम्रा-नराम्रा दुबै खाले अनुहारहरु छन्, जस्तो नेपालमा छन् । यसरी हेर्दा विभिन्न किसिमका अनुहारहरु छन् । भूगोलबाहिरको र भूगोलभित्रको अनुहारमा उति धेरै भिन्नता मैले चाहिँ पाएको छैन । प्रकृति र प्रवृत्ति उस्तै हुन् ।
विशेषगरी विकसित मुलक पुगेका नेपालीहरुमा कुन उपाय लगाएर हुन्छ पुस्तकचाहिँ निकालिहाल्नुपर्छ भन्ने मनोविज्ञानले काम गरेको जस्तो देखिन्छ । यसको कारण के होला ?
(हाँस्दै) हो । यो मैले पनि महसुस गरेको कुरा हो । म फुटकर कविता, कथाहरु नेपालमा छँदै लेखिएको मान्छे । आईए पढ्दै पूरा उपन्यास लेखिसकेर, हराएर, पछि मुसाले काटेको अवस्थामा भेटाएको मान्छे पनि म नै हुँ । अमेरिका गइसकेपछि सन् २०१० तिर नेपालीहरु मिलेर शनिबार बसेर कविता, गजलहरु लेख्ने, सुनाउने र विमर्श गर्ने लगायतका काम गर्न थालेका थियौँ । मचाहिँ विशेष गजल लेखेर सुनाउथेँ । भनौँ न, गजल लेख्न सिक्दै थिएँ । नेपाल आउनेक्रममा एक जना साथीले सोध्नुभयो, “तपाईँका गजल कतिवटा भए ?” मसँग गजल जस्ता ६०-६५ वटा रचना थिए । म अमेरिकामै थिएँ, उनले कृति प्रकाशन गर्न तातो लगाए । म तयार थिइनँ । तर उनले सबै काम आफैँ गरिदिहाल्ने बताए । मैले भन्न खोजेको के भने, कहिलेकहीँ उताका मान्छे तयार नहुँदा नहुँदै यताका मान्छेले पनि तयार गरिदिन्छन् । यसको अर्थ के भने, यता र उता दुबैतिरका मान्छेका केही न केही स्वार्थ पुस्तकसँग गाँसिएका छन् । मलाई अहिले लाग्छ – मैले गजलसङ्ग्रह निकालेर गल्ती गरेको हुँ । खासमा म अहिले पनि गजलसङ्ग्रह निकाल्नका लागि तयार रहेनछु । मेरो गजलसङ्ग्रह जस्तै धेरै किताबहरु निस्किएका छन् । त्यसमा दुबैतिरका मान्छेको हतारो मिसिएको छ । त्यसैले उताकालाई मात्र दोष दिने पक्षमा चाहिँ म छैन ।
उताचाहिँ दुखमा जोकोहीले साहित्य लेख्दो रहेछ । यता परिवारको सदस्यको मृत्यु हुन्छ, उता कोरामा बसेर पनि साहित्य लेखेको छ । आमा मर्दा मेरो श्रीमतीले पनि कविता लेखेकी थिइन् । केही न केही लेखिसकेपछि भने आफ्नो साहित्यलाई पुस्तकको रुपमा देख्ने सपना जन्मदो रहेछ । र, पुस्तककारको रुप लिँदो रहेछ ।
मतलब, एक्लोपनको भावुकताले साहित्य जन्माउँदो रहेछ !
त्योभन्दा पनि आमाको काखभन्दा टाढा, आफ्नो माटोभन्दा टाढा भएपछि केही न केही लेखिँदो रहेछ । अझ भनौँ, मुटुमा देशको माटो बोकेर बाँच्नेहरू साहित्य लेख्दा रहेछन् । कसैको अलि छिटो निस्कन्छ । कसैलाई ज्ञान हुँदैन । कसैले चाहिँ काटकाटु पारी गजल वा कविताजस्ता बनाएर हामीलाई नै नेपाल आउँदा पठाउनुभएको पनि छ । कसैले किताबै वर्ड फाइलमा पठाएर हेर्न लगाउनुभएको पनि छ । कति किताब मैले नै “सम्पादकमा मेरो नामचाहिँ नलेख्नुहोस् है !” भनेर सम्पादन गरिदिएको पनि छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।