आमुख
नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखा परेका हुन्। यद्यपि उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका प्रकाशित पुस्तकाकार कृतिहरूमा तीनवटा उपन्यास ‘अभीष्टको खोज’ (सन् १९९२), ‘द्रोह’ (सन् २००२), ‘विद्रोह’ (सन् २००५), एउटा कथासङ्ग्रह : ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् १९९२), दुईवटा कवितासङ्ग्रह : ‘समृद्ध व्यथा : कङ्गाल अभिव्यक्ति’ (सन् १९९७), ‘रगतको हस्ताक्षर’ (सन् २०००) तथा विविध : ‘विचार, क्रान्ति र परिवर्तन’। भीम दाहालको जन्म सन् १९५४ नोभेम्बर २९ मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्तीमा भएको हो। यिनले बी.ए. अनर्ससम्मको औपचारिक शिक्षा हासिल गरेका छन् भने पत्रकारिता पनि अध्ययन गरेका छन्। सिक्किम विधान सभामा केही समय अनुवादक भएर काम गरेका दाहाल सिक्किम हेराल्डको सहसम्पादक, जिल्ला सूचना अधिकृत हुँदै सिक्किम हेराल्डको सम्पादक पनि भएका हुन्। उनी राजनैतिक क्षेत्रमा पनि देखा पर्छन्। उनी सिक्किमको एक मात्र लोकसभाका तीनपटकसम्म सांसद बनेका हुन्।
भीम दाहालको औपन्यासिक प्रवृत्तिको संक्षिप्त अध्ययन–
सिक्किममा रहेर साहित्यका कविता, कथा, उपन्यास आदि विभिन्न विधामा कलम चलाएका भीम दाहालका तीनवटा उपन्यास प्रकाशित छन् । यी सबै उपन्यास मूलतः प्रगतिवादी चिन्तनमा आधारित रहेकाले यिनका औपन्यासिक यात्राको चरण विभाजन हुने स्थिति देखिन्न। आफु बाँचेको र आफुले भोगेको युगमा व्याप्त विकृति विसङ्गति र अनैतिकतालाई चिरफार गरेर प्रस्तुत गर्नसक्ने निडर, निर्भीक एवं आँटी आख्यानकारका रूपमा लिन सकिन्छ।
समालोचक लीला लुइँटेलले भीम दाहालका औपन्यासिक प्रवृत्तिमाथि गहन अध्ययन प्रस्तुत गरेकी छन्। उनले भीम दाहालका औपन्यासिक प्रवृत्तिहरू केलाउने क्रममा घटनाप्रधान, समाजवादी यथार्थवाद प्रगतिवादी, विचारप्रधान, द्वन्द्ववादी, सुधारवादी, समस्या समाधानमुखी, अधिक पात्रको प्रयोग गर्ने, स्थानीयताको दिग्दर्शन गर्ने, कथ्य भाषाको प्रयोग गर्ने उपन्यासकार हुन् भनी निर्क्योल गरेकी छन्। [1] श्रीमती लुइँटेलले उल्लेख गरेका प्रवृत्तिहरू अक्षरस स्वीकार्य ठहरिन्छ। उनका तीनवटा उपन्यासहरू पढ्दा उनी प्रगतिवादी, तार्किक विश्लेषण गर्ने, सामाजिक परिवर्तानाकाङ्क्षी, सुधारवादी, क्रान्तिमा विश्वास राख्ने, कथामा वस्तु र विचार पक्ष दुवै सन्तुलित रूपमा पाइने प्रवृत्ति भएका उपन्यासकार हुन्। उनका उपन्यासमा कतै श्याम-व्यङ्ग्यको प्रयोग पनि पाइन्छ। यसका साथै उनको उपन्यासिक लेखनको आधार स्थानीयतालाई लिएका छन्। उनी सिक्किमका विभिन्न गाउँका सामाजिक, राजनैतिक, आर्थिक, भौगोलिक स्थितिलाई केन्द्र गरेर लेख्ने गरेको पाइन्छ। सिक्किमको राजनितीलाई पनि तीनैवटा उपन्यासमा दिग्दर्शन गराएका छन्। सिक्किम भारतमा विलयको घटना र त्यसपछि उब्जेको मानसिक कुण्ठा, राजनिती र घटनाक्रमलाई उपन्यासहरूलाई झल्काएका छन्।
नारीवादको सामान्य परिचय –
नारीवाद मार्क्सवादी विचारधाराबाट उत्प्रेरित र उद्भूत राजनैतिक समतामूलक विचार बोकेको साहित्यिक आन्दोलन हो। पुरुष अधिकारको भञ्जन र नारी स्वतन्त्रता लेखन परम्परालाई नवीनकरण र मान्यता प्रदान गर्ने अभियानमा ओर्लेको यस सिद्धान्त सन् १९६० देखि द्रुतगतिमा अघि बढेको पाइन्छ। उदारता, सुधारमूलक मार्क्सवादी अवधारणा र मनोवैज्ञानिक सिद्धान्तहरूसँग सम्बन्धित रहेर नारीवाद उत्तरोतर विकासको निम्ति अग्रसर रहेको छ। नारीवादले नारीहरूको दमन र किनारीकरणसँग सम्बन्धित समस्यामा चासो राख्दछ। लैंङ्गिक अवधारणाको अध्ययन पनि नारीवादमा गरिन्छ। यो नारी स्तरको अध्ययन गर्ने एउटा वैज्ञानिक अवधारणा हो। पुरुषलिखित साहित्यमा नारीलाई कसरी हेरिएको हुन्छ र नारीका समस्यालाई कसरी सम्बोधन गरिएको छ? भन्ने कोणबाट भारी जातिको अध्ययन अवलोकन गर्नु नै नारीवादी साहित्यको मूल अभीष्ट देखापर्दछ।
पुरूषकेन्द्रित साहित्यगत प्रवृत्तिलाई लत्याएर समकालीन नारीवादी समालोचना परिप्रेक्ष्य लेस्वियनिजम् (स्त्री समलिङ्गी) साहित्यको अध्ययन र विश्लेषणको परम्परा पनि हुर्किएको छ। लेस्वियनिजम् दिदी-बहिनी (womanhood) भावको अभिव्यक्ति हो र यसले जीववैज्ञानिक सिद्धान्तलाई समेत चुनौती दिएको छ। पश्चिममा नारीवादी साहित्य समालोचनामा ब्ल्याक फेमिनिस्ट साहित्यको अध्ययन र विवेचना गर्ने प्रचलन पनि फस्टाएको छ। नारीवादमा पनि विभिन्न तर्क, वाद, विवाद, विभाजन, उपविभाजन, हाँगा-बिँगा छन्। चरम नारीवाद, नरम नारीवाद, समाजवादी नारीवाद, नारीवादी तेस्रो धार, मनोविश्लेषक नारीवाद आदि वर्गीकरण गरिएको छ।
अभीष्टको खोजमा नारीवाद–
भीम दाहालको अभीष्टको खोजलाई केही समीक्षकहरूले नारीवादी उपन्यासको रूपमा दर्याएका छन्। विशेषगरी समीक्षक पुष्कर पराजुलीले आफ्नो अध्ययनका क्रममा नारीवादी बुँदा र तर्कका आधारमा नारीवादी उपन्यासका रूपमा प्रस्तुत गरेका छन्।[2] पारसमणि दङ्गालले यसलाई नायिकाप्रधान उपन्यास भनेका छन्। [3] यसमा शान्ति नामकी मूल पात्रको जीवन चारित्रिक अवस्थालाई केन्द्र गरी नारीवादीको तोक लगाइनु स्वाभाविक नै छ। यसमा शान्तिको जीवनलाई नै उपन्यासको मूल विषय बनाइएको छ। उपन्यासको मूल विषयवस्तु नै शान्तिको स्वतञ्त्र जीवन र उसको यौनाचार हो। यद्यपि यसलाई नारीवादी उपन्यासका रूपमा दर्याउनका नारी अस्मितामाथि अति हलुका सोंच पाइन्छ। यसलाई मुख्यतः चारवटा कुराबाट नारीवादी ठर्याउने प्रयास गरिएको छ
- शान्तिकी आमा धनमायाले आफु बिधवा भएपछि दोस्रो विवाह गर्नु,
- शान्तिले आफु सक्षम बन्न गान्तोक गई नोकरी गर्नु तर पुरूषको वासनाको शिकार हुनु तथा पछिबाट आफैं खुल्ला यौनाचार गर्नु,
- शान्तिले आफुले चाहेको युवक मरेपछि बिहे नगरी स्वतञ्त्र जीवन बाँच्ने निर्णय गर्नु।
- शान्तिकी काकी पनि लोग्ने हुँदाहुँदै केही परपुरूषसित यौनाचार गर्नु।
यति हुँदा हुँदै पनि उपन्यासकारले शान्तिलाई न्याय दिनसकेका छैनन्। शान्तिको कमजोरी देखाएर नारीवादी चिन्तन गरिएको छ। नारीवाद भनेको नारीको कमजोरी होइन। कमजोरी त पुरूषको पनि झन बेसी हुन्छ। शान्तिले आफ्नो लागि गरेको संघर्षले न्याय पाउन सकेको छैन। संघर्ष गर्दा पनि उ विफल भएकी छ। उसको अभीष्ट नै देखिदैन। पुरूषप्रधान समाजमा नारीको स्थिति चिन्ताजनक हुन्छ। नारीलाई अनेक लाञ्छना, अपगाल, अन्याय, अत्याचार गरिन्छ। शान्तिले पुरूषप्रधान समाजको नारीको स्थिति विस्तारै बुझ्दै जान्छे। यद्यपि पुरूषबाट यौनभोग गरिएकी शान्तिले पछिदेखि त बानी परेर सम्भोग नभई बस्नै नसक्ने स्थितिमा पुग्छे। सुन्दरी, सुबानी र आमा बाबुको लाड-प्यार पाएकी शान्ति केही पछिदेखि भने खुल्ला यौनाचार गर्ने, जाँड-रक्सी खाने जस्ता कुलतमा फँस्छे।
उपन्यासकारले मानवीय यौ चाहनालाई ‘जीववैज्ञानिक तृष्णा’, ‘बासनाग्रस्त शरीर’ भनेका छन् । मानिसलगायत समस्त पशु-प्राणीमा यौन चाहना सामान्य कुरा हो । मानिसलाई भोक तिर्खा झैं यौन-प्यास लाग्नु स्वाभाविक कुरा हो । धनमाया र लीलाराम कँडरिया दुवैजनाले दोस्रो बिहे गर्नु, शान्तिकी काकीले लोग्ने हुँदा हुँदै परपुरूषसित सम्भोग गर्नु, थापा बाबु, मञ्जुर, खँड्का, आग्या साइँला, ड्राइभर, सानुभाइ आदि पनि यही यौन चाहनाले डोहोरिएर काकीसित सुटुक्क आउनु सबैको मूल कारण यही हो। शान्तिले धेरैजनासित यौन सम्पर्क राख्दा खासै ठुलो कुरा होइन। समाजमा लोग्नेमान्छेले जति स्वास्नीमान्छेलाई यौन सम्पर्क राखे पनि ठुलो कुरो मानिन्न। त्यस्तै स्वास्नीमाऩ्छेले एकाधिक यौनसम्पर्क राख्दा केही हुने होइन। यद्यपि उपन्यासकारले चाँहि शान्तिलाई तीब्र यौन लालसा भएकी, घरिघरि यौनसन्तुष्टि चाहिने, एकपछि अर्को लोग्नेमान्छेको स्वाद लिने कामुक बनाएका छन्। यो नारीवाद नभएर अमर्यादित र अश्लीलता हो। शान्तिले पछिबाट बिहे नगर्नाका पछाडि निम्न कारण केलाउन सकिन्छ-
- उसले पुरूषहरू नेत्र साहेब र सानोभाइबाट पाएको धोकाबाट पालेको घृणा,
- उसले रूचाएको इन्द्रकमल थपलियासित बिहे हुन नपाउँदाको कुण्ठा,
- एकजनासित बिहे गरेर एकल यौन भोगाइभन्दा बहुपुरूषबाट प्राप्त हुने चरम सन्तुष्टि
- बहुपुरूषको यौन भोगाइबाट निकासस्वरूप यौनचाहनामा ह्रास।
यसलाई नारीवादी उपन्यासको बर्को ओडाउनु उपयुक्त छैन। शान्तिको चारित्रिक पतन नारीवाद होइन। शान्तिले सबैभन्दा पहिले सानोभाइबाट यौनभोग गर्छे। त्यसपछि नेत्रसाहेबको प्रेमिका हुने र बिहे गर्ने आशाले उसबाट यौनभोगपछि गर्भ धारण गर्छे। पछि नेत्रसाहेबबाट गर्भाधानको रकम असुल्छे। काकीको घरमा रहँदा रक्सी नभई नहुने कुलतग्रस्त बन्छे। मञ्जुरको बलिष्ठ शरीर देखेर शान्तिमा यौन प्यास बढेर उसलाई आफै यौनभोगको निम्तो दिन्छे। यो नारीवाद नभएर नारीको चरित्र हनन हो। एउटी सोझी, सरल बाला शान्तिलाई यौनको निपुण खेलाडी बनाउनु कुनै नारीवाद होइन। शान्तिले जीवनमा कुनै उपलब्धि हासिल गर्न सक्तिन। उसको बिहे पनि हुँदैन, चाहेको पुरूष पनि पाउँदिन, जानी जानी सानोभाइ जस्तो अनैतिक पुरूषसित जाकिन्छे, चारैतिरबाट हारेकी छ भने कसरी नारीवादी उपन्यास मान्नु? हाम्रो समाजमा बिहे नगरी बस्ने नारीहरू छन् तर नारीवादी होइनन्। दोस्रो बिहे गर्छन्, ती पनि नारीवादीमा पर्दैनन्। शान्तिको काकीले झैं धनको निम्ति रक्सी पसल चलाई शारीरिक सम्भोग गराउने नारीहरू पनि छन्, ती पनि नारीवादी होइनन्। यी त सामान्य कुरा हुन्।
यस उपन्यासलाई केही नारीवादी मान्नुभन्दा नारी चिन्तन गरिएको उपन्यास मान्न सकिन्छ। यद्यपि यसमा नारीको अस्मितामाथि खेलाँची गरिएको छ। शान्तिलाई बरू बिहा गराइदिएर लोग्नेको दासत्वबाट मुक्ति पाएको वा छुटानाम गराइदिएका भए नारीवादी हुनसक्ने थियो। अथवा उसको लिम्बूनी काकीले झैं लोग्ने हुँदाहुँदै अरू परपुरूषसित सहवास गर्ने गरेको देखाएको भए हुनेथ्यो। यदि लोग्ने मान्छेले चैं आफ्नी स्वास्नी हुँदा हुँदै पराइ स्त्रीसँग सहवास गर्न पाउँछन् भने नारी चैं किन पाउँदिन भन्ने तर्क राखेका भए यसलाई विशुद्ध नारीवादी उपन्यास मान्न सकिने ठाउँ थियो। यसमा त उपन्यासकारको पुरूषवादी चिन्तनले नै बढी प्रबल भूमिका खेलेको छ।
यौन मनोविश्लेषणात्मक उपन्यासको रूपमा अभीष्टको खोज –
यस उपन्यासलाई नारीवादी भन्दा बरू यौन मनोवैज्ञानिक उपन्यास मान्न सकिन्छ। यौन मान्छेको आदिम तत्व हो। शान्तिमा यौन चाहना हुनु स्वाभाविक कुरा हो। यद्यपि यही यौनलाई नै बढाइ-चढाइ गरी शान्तिको अभीष्टको रूपमा नै देखाउन खोजेका छन्। उपन्यासकारले शान्तिको अभीष्ट नै यौन परितृप्ति रहेछ भनेझैं पाठकलाई जनाउन खोजेका छन्। फ्रायडका अनुसार मान्छेको मनका तीनवटा अवस्था हुन्छन् – चेतन, अर्धचेतन र अचेतन। चेतन मन भौतिक जगत्सित सम्बद्ध हुन्छ। यस अवस्थामा वर्तमान क्षणका विभिन्न संवेदना र अनुभूतिहरू हुन्छन्। यो मानसिक जीवनको सानो भाग मात्र हो। यो नैतिकवान, आदर्शवान, तात्कालिक हुन्छ। अर्द्धचेतन मनलाई स्मृति क्षेत्र पनि भनिन्छ। मानवीय मनको महत्त्वपूर्ण अवस्था अचेतन हो। यसमा दमित, कुण्ठित मानवीय इच्छा रहन्छन्। यो स्वेच्छाचारी, अनैतिक, अराजक, सुखेच्छामा लिप्त रहने हुन्छ। यही अचेतन मनले यौन सुखलाई बढी महत्त्व दिन्छ। धनमाया, काकी र शान्तिले यौन सुखको चाहना गर्नु अचेतन मनमा रहेको लिबिडोको उत्खनन हो। उपन्यासमा जति पनि पात्रगत गतिविधि छन्, तिनमा अधिकांश अचेतन मनले सञ्चालित छन्। शान्तिका बाबु आमा चेतन मनका प्रतीक हुन्। उनीहरूमा सामाजिक मर्यादा, निष्ठा, नैतिकता विद्यमान छ।
परिश्रमलाई नै जीवनको अभीष्ट ठान्ने आदर्शता छ, जुन चेतन मनको अहमको रूप हुन्।। काका र काकी अचेतन मनका प्रतिविम्बन हुन्। काकाले मातेर सामाजिक, राजनैतिक, चारित्रिक अवस्थाबारे साँचो कुरा बक्नु मान्छेको अचेतन मनमा रहेको कुण्ठा र पीडकतोषको विद्रोहात्मक युक्तिकरण हो। त्यसैगरी काकी मान्छेको लिबिडो (यौनसुख)को प्रतिरूप हो। छजना छोरा छोरी जन्माइसकेर पनि यौन लालसा अझ तीब्र हुनु, काका हुँदाहुँदै थुप्रै परपुरूषलाई यौनभोग गराउनु, बिहानपख उसको जीउमा कपडा लथालिङ्ग, खुल्ला स्तनको अवस्था आदि देखिनु जस्ता क्रियाकलाप अचेतन मनको लिबिडोको प्रतिविम्बन हो। काकीको त्यस्तो अवस्थाबाट नै शान्तिको मनमा सुषुप्त अवस्थामा रहेको यौन लालसाको लिबिडोले जाग्रत भई त्यसको प्राप्तिको निम्ति युक्तिकीकरण गर्छ। शान्तिमा रहेको आदर्श-स्व र कायिक–स्वको द्वन्द्वको परिणामस्वरूप शान्तिमा उन्माद, खण्डित व्यक्तित्व, अपराध भावना, व्यभिचार जस्ता दुराचारहरूमा संलग्न रहेकी छ। यसको समायोजन गर्नका निम्ति रक्षा युक्तिहरू जस्तै स्वैरकल्पना, प्रतिगमन, मनस्ताप, प्रक्षेपण आदि गरेकी छ। उसले आफ्नो बिहेको कल्पना गर्नु स्वैरकल्पना हो। यौनले सताएर उसले हस्तमैथुन गर्नु पनि युक्तिकीकरण हो। रक्सी खाएर मञ्जुरलाई सम्भोगको निम्ति निम्तो दिनु पनि युक्तिकीकरण र प्रक्षेपण हो। कायिक-स्वको तुष्टीको निम्ति उसले भड्किलो र छोटो जामा लाउँछे, पुरूषको भोगको इच्छा गर्छे। यी गतिविधिलाई यौन चाहनाको क्षतिपूरणको अंश पनि मान्न सकिन्छ। शान्तिले य़ौनानन्द भोगिसकेर नेत्र साहेबबाट धन असुल्नुमा उसभित्रको परपीडन ग्रन्थीको भूमिका छ। उसले एक प्रकारले ढाँटेर (Blackmailing) गरेर मोटो रकम हडपने काम गर्छे। उक्त रकमलाई उसले आदर्शमूलक र सामाजिक काम गरेर क्षतिपूर्ति गर्छे।
अन्य पात्रहरू जस्तै ललित सर, रत्नलाल र पदमेको भूमिकामा पनि अचेतनको प्रभाव देखिन्छ। बाहुनका छोरा भई रत्ने र पदमेले जाँड रक्सी खाएर अनेक विधि चर्तिकला देखाउनु पनि अचेतन मनकै प्रकटीकरण हो। नेत्रसाहेब र उसकी पत्नीको गतिविधि पनि अचेतन मनद्वारा नै सञ्चालित छन्। नेत्रसाहेबकी स्वास्नी प्रणिता पनि लोग्नेद्वारा आफ्नो यौन सन्तुष्टि नभएर त्यसको निकासका निम्ति रामे भन्ने नोकरसित सुखभोग गर्छे। अचेतन मनभित्र रहेको लिबिडोले यौनभोगको लालसा राख्नुका साथै अन्य किसिमका सुखभोगको चाहना गर्दछ। यो मनले नैतिक, अनैतिक जसरी भए पनि आनन्द, सुख र मोजको चाहना गर्दछ।
उपसंहार –
भीम दाहालको उपन्यास अभीष्टको खोजलाई नारीवादी उपन्यासका रूपमा ठानिए तापनि वास्तवमा भने यो सफल यौन मनोवैज्ञानिक उपन्यास हो। यसमा नारीवादी चिन्तन भने नभएको होइन तर मनोविज्ञानका पक्ष नै बढी पाइन्छन्। उपन्यासमा समाजको अध्ययन गरिएको छ। स्वतञ्त्र देश सिक्किम भारतमा विलय भएपछि त्यहाँ सामाजिक, राजनैतिक, आर्थिक, मानसिक आदिको संक्रमण अवस्थालाई उपन्यासमा दर्शाइएको छ। सिक्किम भारतमा विलय भएकामा कुण्ठित मानसिकताको लप्का छ। शान्तिको काका जस्ता पात्रहरूले नै यस कुण्ठालाई अभिव्यक्त गरेका छन्। यसमा श्याम व्यङ्ग्यको माध्यमबाट समाजमा विद्यमान नैतिकता, अध्यात्मवाद, राजनैतिक व्यवस्थाप्रति व्यङ्ग्य कसिएको छ। यसमा नारीले भोग्ने सामान्य अवस्था देखाइएको छ। हाम्रो समाजमा नारीले जे जे भोग्ने गर्छन्, तिनैलाई उपन्यासकार देखाएका छन्। यसमा नारीवादी चिन्तनभन्दा यौन मनोवैज्ञनिक चिन्तन बढी प्रबल पाइन्छ। अतः भीम दाहालको प्रस्तुत अभीष्टको खोजलाई नारीवादीभन्दा विशुद्ध यौन मनोवैज्ञानिक उपन्यास हो भन्न सकिन्छ।
सन्दर्भ ग्रन्थ –
- राजेन्द्र सुवेदी र डा लक्ष्मणप्रसाद गौतम, रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड), रत्न पुस्तक भण्डार, काठमाडौं, २०६८।
- महानन्द पौड्याल (प्रधान सम्पादक), सन्धान, अङ्क १, २००५, क्वालिटी स्टोर्स प्रकाशन, गान्तोक।
- मोहन पी दाहाल (सम्पादक), नेपाली जर्नल, अङ्क १, वर्ष १, २००१ उत्तर बङ्ग विश्वविद्यालय।
- भीम दाहाल, अभीष्टको खोज, जनपक्ष प्रकाशन, गान्तोक, दो. सं. १९९८।
- लीला लुइंटेल, उपन्यासकार भीम दाहालको ‘द्रोह’ उपन्यासको विश्लेषण, samakalinsahitya.com.
- सुदर्शन श्रेष्ठ, महिला सशक्तीकरण र सिक्किम, हिमालयन रिभ्यू पब्लिकेसन, गान्तोक,, दो.सं. २०१३।
- कृष्णप्रसाद भण्डारी, फ्रायडको मनोविश्लेषण, काठमाडौं, साझा प्रकाशन, २०५८।
[1] लीला लुइटेल, www.samaklnsahitya.com.
[2] पुष्कर पराजुली, समकालीन नेपाली आलोचनाका सन्दर्भमा अभिष्टको खोज, नेपाली जर्नल, अङ्क १ वर्ष १. उ.ब.वि.वि.स. पृष्ठ १०९,
[3] पारसमणि दङ्गाल, समकालीन सिक्किमेली उपन्यासका केही नारी पात्र, दिल प्रधान (सम्पा.) आधुनिक भारतेली नेपाली उपन्यास, वीरपाडा कलेज, २०१४, पृष्ठ १७६।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।