अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को सातौँ अन्तर्राष्टिय सम्मेलन भर्चुअल माध्यमबाट डिसेम्बर २६ र २७ का दिन सम्पन्न हुने भएको छ । सम्मेलनको समुद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गर्नुहुनेछ ।
सम्मेलनको पहिलो दिन आमन्त्रित वक्ताका रूपमा प्रा. डा. जीवलाल सापकोटा र साहित्यकार गोविन्द गिरी प्रेरणा रहनुहुनेछ । सापकोटाले “पूर्वीय र पाश्चात्य कवितामा छन्दपरम्परा, समानता र भिन्नता” शीर्षकमा तथा प्रेरणाले “नेपाली साहित्यको विश्वयात्रा” शीर्षकमा बोल्नुहुनेछ ।
सम्मेलनकाे दोस्रो दिन आमन्त्रित वक्ताका रूपमा प्राडा. ज्ञानु पाण्डे र साहित्यकार महेश पौड्याल रहनुहुनेछ । पाण्डेले “नेपाली प्राज्ञिक वृत्तमा लैङ्गिक चेतको उठान : चर्चा प्रारम्भिक परिप्रेक्ष्यको” शीर्षकमा तथा पौड्यालले “नेपाली साहित्यको अनुवाद: अन्तर्राष्ट्रियकरणको आधार “ शीर्षकमा बोल्नुहुनेछ !
पहिलो दिन उद्घाटन सत्रमा शुभकामना मन्तव्यहरू रहने छन् भने दोस्रो दिन खुल्ला कविता वाचनको पनि कार्यक्रम रहेको छ । कार्यक्रमको अध्यक्षता अनेसासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाले गर्नुहुनेछ ।
अनेसासले पहिलो अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको न्यूयोर्कमा सम्पन्न गरेको थियो भने पछि जापान, अष्ट्रेलिया, बेलायत आदि देशमा सम्पन्न गरिसकेको छ । कोरोना महामारीको कारण पहिलोपटक भर्चुअल रूपमा अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न गर्न लागिएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।