नेपालमा स्थायी बसोबास विराटनगर भएका सुशील नेपाल अहिले अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन सहरमा बस्नुहुन्छ । नेपाली साहित्यको विकासमा सदा सक्रिय रहने नेपाल साहित्यकारहरूलाई सम्मान गर्ने सन्दर्भमा सदैव अग्रपङ्क्तिमा रहनुहुन्छ । उहाँले बोस्टन सहरमा आफ्नै खर्चमा विभिन्न साहित्यिक कार्यक्रमहरूको आयोजना समेत गर्नुहुन्छ । नेपालले आफ्नै खर्चमा एक साहित्यिक पुरस्कारको स्थापना पनि गर्नुभएको छ । निकट भविष्यमा उहाँले आफूले लेखेको उपन्यास र कथासङ्ग्रह प्रकाशित गर्ने योजना पनि गर्नुभएको छ ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले सुशील नेपालसँग गरेको कुराकानीको सम्पादित अंश;

 अचेल के गर्दै हुनुहुन्छ ? कुनै कृति लेखनमा लाग्नुभएको छ कि?

अचेल फुटकर पुस्तक पढ्ने र केही सामान्य लेखपढ गर्दै छु । खासै व्यस्त छैनँ । अध्ययन भने म नियमित किसिमले गर्दछु ।

‘सन्त नेता’ का रूपमा ख्याति आर्जन गर्नुभएका कृष्णप्रसाद भट्टराईसँग तपाईँको कस्तो पारिवारिक सम्बन्ध हो ?

किसुनजी (कृष्णप्रसाद भट्टराई) हाम्री हजुरआमा दुर्गादेवी नेपालका कान्छो भाइ हुनुहुन्थ्यो र जेलबाट छुटेपछि नियमित हाम्रो घरमा आवतजावत थियो । किसुनजीलाई राजनीतिमा प्रवेश (माध्यम बनेर) हाम्रो हजुरबुबा चन्द्रप्रसाद नेपालले गराउनुभएको हो । २००३-२००४ सालतिर हुनुपर्छ हजुरबुबाले बनारसबाट किसुननजीलाइ विराटनगर ल्याएर त्यहाँका तत्कालीन राजनीतिक गतिविधिसँग परिचित गराउनुभएको कुरा किसुनजी स्वयंले २०४८ सालमा विराटनगर सहिद मैदानमा भएको आमसभामा भन्नुभएको कुरा अभिलेखमा पनि उल्लिखित छ ।

सुशील नेपाल

थाहा भएअनुसार तपाईँको परिवार (मातापिता) नेपाली राजनीतिप्रति निकै जागरूक परिवार हो । नेपालमा जनचेतना विकास र प्रजातन्त्रको पुनःस्थापनामा तपाईँको परिवारको केकस्तो योगदान रह्यो?

मेरा पिताले २००७ सालको क्रान्तिमा ठुलो सहभागिता जनाउनुभएको थियो । उहाँले आफ्नो पिताको इच्छाविरुद्ध नेपाली काङ्ग्रेसमा पसेर जेलनेल पनि खानुभयो । उहाँ सरोज कोइराला र विश्वबन्धु थापासँगै जेल पर्नुभएको थियो । सरोजबाबु र मेरो बुबालाई एउटै हतकडीमा बाँधेको हुनाले दिसापिसाब पनि सँगै जानुपरेको कुरा बुबाले बताउनुहुन्थ्यो ।

मेरो आमाको बुबा सुब्बा खिमानन्द विराटनगरमा सरुवा हुनुभएको थियो र त्यहीँ हाम्रो मातापिताको विवाह २००५ सालमा भएको हो ।

बुबा र मेरो ठुलो मामा काशीराज उपाध्याय सहपाठी हुनुहुन्थ्यो !

तपाईँ स्वयंको सक्रियता एवं खर्चमा स्थापना गर्नुभएको ‘राजमित्र स्मृति प्रज्ञा-प्रतिष्ठान’ कस्तो प्रतिष्ठान हो ? यसको स्थापना कहाँ, कसरी, कहिले भएको हो र यसको कार्यालय कहाँ छ ? यसको कार्य के हो ?

राजमित्र स्मृति प्रज्ञा-प्रतिष्ठानको स्थापना सन् २०१४ मा भएको हो । मोती जयन्तीका दिन एक समारोहको आयोजना गरेर यस प्रतिष्ठानको स्थापना भएको घोषणा गरिएको थियो । त्येही समयदेखि विधिवत् रूपमा यसको सञ्चालन भएको हो ।

राजमित्र स्मृति प्रज्ञा-प्रतिष्ठानको नामको पछाडि कुनै इतिहास वा खास अर्थ छ ?

मेरा पिताको नाम राजेन्द्रप्रसाद नेपालबाट राज र मेरी माताको नाम मित्रबिन्दा नेपालबाट मित्र झिकेर यस संस्थाको नामकरण राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठान गरिएको हो ।

विश्वराज अधिकारी

राजमित्र स्मृति प्रज्ञा-पुरस्कारस्वरूप के प्रदान गरिन्छ ? कति कति वर्षमा प्रदान गरिन्छ ? प्रदान गरिने आधार के हो ? अहिलेसम्मम ककसले र के योगदानका लागि पाए ?

थोरै रकमवाट सुरु भएको पुरस्कारको राशि २५१/- डलर छ । पुरस्कृत साहित्यकारलाई उक्त रकम प्रदान गर्नुका साथै प्रमाणपत्र पनि प्रदान गरिन्छ । पुरस्कार एक समारोहबिच दिने प्रचलन रहेको छ । पुरस्कार र सोसम्बन्धी खर्चहरू मेरो परिवारले बहन गर्ने गरेको छ । अमेरिकाको बोस्टन नगरमा रहेर नेपाली साहित्यको सेवा गर्ने स्रष्टालाई यो पुरस्कार प्रदान गरिन्छ । कसलाई पुरस्कार दिन भन्ने निर्णय छनोट समितिले गर्ने गरेको छ । यो पुरस्कार प्रत्येक वर्ष एक व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । जुन देशको साहित्यकार भए तापनि नेपाली भाषाको सेवा गर्नेलाई यो पुरस्कार दिने व्यवस्था छ ।

यो पुरस्कार निम्न व्यक्तिहरूलाई निम्न वर्षमा प्रदान गरिएको छ :

नाम:                    वर्ष (सन्)

१ भारती गौतम                              २०१४

१. दिनेश राजभण्डारी                    २०१५

२. गोवर्धन पूजा                              २०१६

३. लालगोपाल सुवेदी                       २०१७

४. दीपा राई पुन                             २०१८

५. महेश्वर पन्त                              २०१९

६. हरि थापा                                    २०२०

राजमित्र स्मृति प्रज्ञा-प्रतिष्ठानको उद्देश्य के हो?

साहित्यकारहरूलाई सम्मान गरेर मेरा मातापिताको सम्झना गर्नु हो । नेपाली साहित्यको विकास एवं प्रवर्धन गर्नु हो ।

नेपालमा नयाँ पुस्ताका साहित्यकारहरूले पुराना पुस्ताका साहित्यकारहरूबाट कमै उत्प्रेरणा एवं हौसला पाएका छन् । यो भनाइ तपाईँलाई सही हो जस्तो लाग्छ ?

मलाई यो भनाइ सही हो जस्तो लाग्दैन तर यस्तो भन्नेहरू धेरै छन् भन्ने मलाई पनि लाग्छ ।

मनले कल्पना गरेका कुराहरू लेख्न रुचाउनुहुन्छ वा विशेष किसिमका सामाजिक मुद्दा लेख्न रुचाउनुहुन्छ?

दुवै किसिले म लेख्न रुचाउँछु तर सामाजिक मुद्दामा लेख्दा मलाई एक किसिमको सन्तुष्टि हुन्छ ।

तपाईँलाई मन परेको विधा कुन हो?

मलाई मन परेको विधा कथा र कविता हो । साथै राजनीतिक लेख वा सामग्रीहरू पनि मलाई मन पर्छन् ।

नेपालमा स्थापित साहित्यकारहरूले कमै मात्र नोवदित साहित्यकारहरूको कृति पढ्ने चलन छ । यो भनाइ सही हो?

हो, यो भनाइ मलाई सही लाग्छ ।

‘मेरो पढिदेऊ, तिम्रो पढ्दै गरुँला’ यस्ता भन्नेहरू हामी कहाँ धेरै छन् रे । हो?

हो, यो भनाइ पनि सही हो तर हामी यस्तो मनोवृत्तिबाट बाहिर आउन आवश्यक छ । यस्तो मनोवृत्तिले पठनसंस्कृतिको विकास हुन कठिन हुन्छ ।

साहित्य किन लेखिन्छ?

साहित्य मुख्यतः आफ्नो सन्तुष्टिका लागि लेखिन्छ । आफ्ना विचारहरू पाठकसमक्ष पुऱ्याउन लेखिन्छ तर साहित्यले समाजलाई सही दिशामा डोऱ्याउनुपर्दछ भन्ने कुरा पनि हामीले हेक्का राख्नुपर्दछ ।

तपाईँले हालै पढ्नुभएको पुस्तक कुन होला?

म अहिले “कर्णाली ब्लुज” पढ्दै छु ।

साहित्यमा कृतिकारको कल्पना एवं भावनाहरू आउने हो कि समाजलाई सही दिशामा डोऱ्याउने सन्देशहरू आउनुपर्ने हो?

दुवै कुराहरू आउनुपर्छ तर समाजलाई सही दिशामा डोऱ्याउनु साहित्य र साहित्यकारहरूको कर्तव्य हो भन्नेमा मलाई पूर्ण विश्वास छ ।

नेपालमा पठनसंस्कृतिको विकास गर्न के-के गर्नुपर्ला?

नेपालमा पठनसंस्कृतिको विकास गर्न सर्वप्रथम त हामी सबैले पुस्तक खरिद गर्ने बानीको विकास गर्नुपर्छ । जति हामीलाई लुगाफाटो आवश्यक छ त्यति पुस्तक पनि आवश्यक छ भनी हामीले सम्झिनुपर्छ ।

सफल साहित्यकार हुन अनुभव, अध्ययन वा भावनाको धनी हुनुपर्छ?

एक सफल साहित्यकार हुन जति भावनाको धनी हुन आवश्यक छ त्यति नै वा त्योभन्दा बढी अध्ययनशील हुन आवश्यक छ । जति बढी अध्ययन गऱ्यो त्यति नै उम्दा कुरा लेख्न सकिन्छ ।

विश्वेश्वरप्रसाद कोइरालाले भन्ने गर्नुहुन्थ्यो, “साहित्यमा म समाजवादी हुँ भने राजनीतिमा अराजकतावादी”, यो भनाइको अर्थ तपाईँले कसरी लगाउनुहुन्छ?

उहाँको भनाइसँग म शतप्रतिशत सहमत छु । साहित्यलाई एक निश्चित घेराभित्र राख्नु हुँदैन । साहित्य आकाशजस्तो हुनुपर्छ, सीमाहीन । साहित्यकारले मनमा लागेको कुरा निर्धक्क भएर लेख्न पाउनुपर्छ ।

तपाईँलाई अति मन परेको पुस्तक कुन हो?

ताना शर्माले लेख्नुभएको नियात्रासङ्ग्रह “बेलायततिर बरालिँदा” मलाई अति मन पर्ने पुस्तक हो ।

त्यो पुस्तक किन मन पऱ्यो?

पश्चिमी दर्शन, पश्चिमीहरूको आर्थिक विकासको अवधरणा, पश्चिमी समाज आदिबारे यस पुस्तकले रोचक किसिमबाट बयान गरेको छ ।

अन्त्यमा, केही थप भन्न चाहनुहुन्छ कि?

सन् २०१३ तिरको कुरा हो, मैले साहित्य नियमित किसिमले लेखपढ गर्ने भए तापनि अमेरिकामा कामको दबाबले गर्दा केही लेख्न वा कुनै पनि कार्यक्रममा म सहभागी हुन सकिरहेको थिइनँ । मलाई मेरा विराटनगरका मित्र र हावार्ड युनिभर्सिटीका प्रोफेसर शिव गौतमले धनुश्चन्द्र गौतमको स्वागत समारोह र साहित्यिक कार्यक्रममा सहभागी हुन कर गरेर लिएर जानुभयो । उहाँको त्यो आग्रहले मेरो साहित्यिक ऊर्जा पुनः ताजा भएर आयो ।

त्यसपछि यम पौडेल र हरिप्रसाद काफ्ले “शैव” ले मलाई अति सहयोग गर्नुभयो । उहाँहरूको सहयोग र सद्भावले गर्दा नै राजमित्र स्मृति प्रज्ञा-प्रतिष्ठान जन्मिन सक्यो ! उहाँहरूको यो अमूल्य योगदान मेरो हृदयमा अङ्कित छ, जुन कहिले मेटिने छैन ।

साथै मेरी पत्नी ईश्वरी अधिकारी (सुमन नेपाल) को अनवरत सहयोग मलाई प्राप्त नभएको भए म एक्लैले यो संस्था (राजमित्र स्मृति प्रज्ञा-प्रतिष्ठान) कदापि स्थापना गर्न सक्थिनँ । म, मेरी पत्नीलाई हृदयदेखि आभार व्यक्त गर्दछु । सुमनजस्तो पत्नी पाएकामा म आफूलाई भाग्यमानी पनि ठान्दछु ।