आचार्य प्रभा (अमेरिका)

हाम्रो प्रेम
अविच्छिन्न रहनुमा
हाम्रो विश्वास र
स्वच्छ मनको
नतिजाको कारण
हुनुपर्छ,
नत्र जीवनमा
किन आएनन् र !
बडेमानका
जग हल्लाउनेजस्ता
भुईँचालाहरू
जसले झन्डै-झन्डै
हाम्रो जीवन थाम्ने
मेरुदण्ड नै
भाँच्ने दुस्साहस गरेको थियो ।

जीवनको यात्रा एकोहोरो चलिरहनु
साथसाथै सँगै यात्रा गरिरहनु
पनि त, धैर्य र सहनशीलताको
जरुरी पर्दो रहेछ ,
उसो त,
हरेक बिहान उदाउने सूर्यमा पनि
कहिले तापको अभाव हुन्छ
कहिले रापको,
त्यसै गरी साँझमा चम्किने
जून, ताराहरू पनि कहिले
मधुरा हुन्छन्,
मात्र टिल्पिल-टिल्पिल
गर्नुको अभिनयमा
कहिले बादलको
कब्जाभित्र लपेटिन्छन् ।
हो त्यस्तै हो मान्छेको
जीवनलीला पनि
तर पनि यी सब बाधा, अड्चनलाई
आत्मासात् गरेर
अघि बढ्नुको उपहार नै
अविच्छिन्न प्रेमप्राप्ति रहेछ
त्यसैले त हामी अझै
हिँडिरहेछौँ
निरन्तर प्रेमपथका
अप्ठ्यारा गोरेटाहरूमा
लड्दै, उठ्दै, घिस्रिँदै
अविच्छिन्न प्रेमको
डोरी समातेर ।