सिन्धु पौडेल

जब कुनै सम्पन्न र पहुँचवाला

छिमेकी बच्चाको पिटाइ खाएर
रुँदै घर फर्कन्छ
एउटा निर्धो, निर्धन बालक
कुम च्यात्तिएको कमिज लगाएर
खेल्न निस्केका बखत
जिस्क्याउँदै भन्छन्
हुनेखाने सङ्गीहरू
ओइ ! दसैँमा तेरा बाले
नयाँ लुगा किनिदिएननन्  ?
यी सब दृष्य हेरि र सुनिरहेका
“बा” का आँखा छोराको आङमा
अडिन सक्दैनन् एकोहोरो
सर्छन् आँखा श्रीमतीको वदनमा
बर्सौँ पुरानो एउटै साडीमा बेरिएकी
श्रीमतीको प्रेमिल एक मुस्कानले
पग्लिन्छन् बा !
पछाडि फर्केर घुटुक्क
एक घुट्को तातो आँसु निल्छन्
छातीभित्रको अदृश्य घाउ लुकाएर
सुटुक्क ऐनामा हेर्छन् आफ्नो स्वरूप
तिलचामलजस्तै देखिने
आफ्नो कपाल
र दाह्री सुमसुम्याउँदै
प्रण लिन्छन् ।
जिन्दगीको मध्यान्तरमा भए पनि
मुटुभरि वेदना र
आँखाभरि आँसु लुकाएर
पाक्दै गरेको केश
र आफ्नो जिन्दगी
बन्धकी राखेर
एयरपोर्टको लाइनमा
हरियो पासपोर्ट बोकेर
ओठमा एक भुल्को हाँसो
जबरजस्ती च्यापेर
छोरालाई एक जोर
नयाँ कपडा किनिदिन
जिन्दगी  धितो राखेर साहुलाई
“बा” खाडी पस्छन् ।
***
सिन्धु पौडेल
भरतपुर :- चितवन
हाल:- ईजरायल