धनक बहादुर थापा

सात समुद्रका पर्खालहरूले
हुन दिएन हाम्रो पुनर्मिलन
पर क्षितिजको डुब्दो घामले
गिज्याइरह्यो मेरो विवशतालाई
पर्खाइ यति लामो भयो कि
सायद भेटिन्थ्यो होला क्षितिज
हिँडिरहेको भए !

चार वर्षअघिको हाम्रो भाइटीका
अन्तिम खुसी रहेछ
अब कहिल्यै पाउने छैनन् स्याहार
ती बारीकान्लाका  सयपत्री र मखमलीहरूले
मेरा गलामा लगाइने ती सुकुमार माला
कपाल र गालाहरूमा तिम्रो हातको त्यो न्यानो स्पर्श !

मध्यरातमा आकाश खस्यो
जून ताराहरू खै कहाँ अलापिए ?
चट्याङ पर्यो यो मुटुमा
तिम्रो जीवनयात्राको पूर्णविरामले
निसास्सिइरहेछ यो छाती ।

म चाहन्छु
मेरा आँसुका सागरले
यो मरुभूमि नडुबोस्
मिस यु सिस्टर
रेस्ट इन पिस ।