अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार सूची सार्वजनिक; भूपिनको मैदारोलाई २ लाख ५५ हजार
अरू कुन कुन पुस्तकले पाए सर्वोत्कृष्ट पुरस्कार ?
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले अनेसास सवत्तत्कृष्ट पुस्तक पुरस्कार २०२१ को घोषणा गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समितिले १० हजार ९ सय अमेरिकी डलर राशिको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार २०२१ को नतिजा आज सार्वजनिक गरेको हो ।
अनेसास अनलाइन संवादको ८१ औँ शृंखलामा विशेष कार्यक्रमका रुपमा प्रस्तुत समारोहमा जुम र फेसबुकका माध्यमबाट अनेसास पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेतीले विजयी किताब र ती किताबका स्रष्टाहरुको नाम सार्वजनिक गर्नुभएको हो ।
प्रकाशित नतिजाअनुसार सबैभन्दा बढी राशी २,१०० डलरको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट भूपिनको मैदारो उपन्यास पुरस्कृत भएको छ । सन् २०१७ मा अमेरिकी डलर १,५०० बाट बढेर सन् २०१९ मा यो रकम २,००० डलर भएको थियो । यस वर्षदेखि यो रकम २,१०० डलर भएको छ । १,५०० डलरमा ६०० डलर थप गरी २,१०० डलर बनाउने कार्य पुरस्कार समितिका अध्यक्ष प्रा.डा. गोपी उप्रेतीले गर्नुभएको हो ।

यसै वर्ष स्थापित अनेसास माधव घिमिरे काव्य पुरस्कारबाट दुई जना कवयित्रीहरु पुरस्कृत हुनुहुनेभएको छ । उहाँहरु ‘आमा किरणहरुकी छालमा’ काव्यकृतिका लागि कवयित्री गीता कार्की र ‘वीर्य जमिन’ काव्यकृतिका लागि बादलदेवी चामलिङ हुनुहुन्छ । यस पुरस्कारका प्रायोजक अनेसास बोर्ड अफ ट्रस्टी अध्यक्ष गीता खत्री र ट्रस्टी डा. चुडामणि खनाल हुनुहुन्छ । अनेसास पुरस्कार समितिले यस पुरस्कारलाई दीर्घकालसम्म संस्थागत रुपमा अघि बढाउने र प्रवासी लेखकलाई आकर्षक दिने गरी संस्थागत गर्ने प्रयास गरिरहेको छ । हाल यस पुरस्कारको राशी अमेरिकी डलर २,००० रहेको छ । यस वर्ष यो पुरस्कार दुई कृतिलाई प्रदान गरिनेछ ।
यसै वर्ष स्थापित होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कारबाट अमेरिकाको केन्टकी राज्यमा स्थायी बसोबास गर्नुहुने लेखक डा. लक्ष्मीनारायण ढकालको संस्मरण निबन्ध ‘वासदेखि पुनर्वाससम्म’ पुरस्कृत भएको छ । यस पुरस्कारको प्रायोजन अनेसास बिओटीका पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकार रोहिणी शर्माले प्रवासका लेखकलाई प्रोत्साहित गर्ने उद्देश्यले यो पुरस्कार राशी प्रायोजन गर्नुभएको हो । यसको रकम अमेरिकी डलर १,२०० रहेको छ ।
जापानमा रहेर अनेसासको विकासमा योगदान दिनुहुने अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं ट्रस्टी डा कुमार बस्नेतले प्रायोजन गर्नुभएको अनेसास सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कारबाट यस वर्ष अमेरिकाको पेन्सिलभेनिया बसोबास गर्नुहुने लेखक जे एन दाहालको कृति ‘लेखककी छोरी’ कथासङ्ग्रह पुरस्कृत भएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर १,१०० रहेको छ ।
अनेसास सर्वोत्कृष्ट निबन्ध पुरस्कार–२०२१ नेपालका लेखक विद्याप्रसाद घिमिरेको निबन्धकृति ‘पत्थरको देवता’ पुरस्कृत भएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर १,००० रहेको छ । यसको सौजन्य गर्नुहुने अनेसास बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार डा. श्याम कार्की हुनुहुन्छ ।
अनेसास सर्वोत्कृष्ट उपन्यास पुरस्कार–२०२१ नेपालका उपन्यासकार शैलैन्द्र अधिकारीको ‘निर्वेद’ उपन्यास पुरस्कृत भएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर १,००० रहेको छ । यस पुरस्कारका सौजन्यकर्ता अनेसासका ट्रस्टी तथा पुरस्कार समितिका पूर्व अध्यक्ष सुमन तिम्सिना हुनुहुन्छ । वहाँले यो पुरस्कार वहाँका स्व. पिता डा. डिल्लीराम तिम्सिनाको स्मृतिमा सौजन्य गरिरहनुभएको छ ।
अनेसास सर्वोत्कृष्ट कथा पुरस्कार–२०२१ बाट नेपालमा बसेर कथा लेखिरहेका स्रष्टा महेश थापाको ‘मरीचिका’ कथासङ्ग्रह पुरस्कृत भएको छ । यसको सौजन्य अनेसासका पूर्व केन्द्रीय अध्यक्ष एवं बिओटीका वर्तमान उपाध्यक्ष पदम विश्वकर्माले गर्नुभएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर १००० रहेको छ ।
अमेरिकी डलर १००० डलरको अनेसास सर्वोत्कृष्ट समालोचना÷दर्शन÷संस्कृति पुरस्कार यस वर्ष नेपालका डा. गोविन्द आचार्य र अशोक थारुले लेख्नुभएको ‘घोराहीको थारु प्रदर्शनकारी कला’ पुस्तकले प्राप्त गरेको छ । यो पुरस्कार बोर्ड अफ ट्रस्टीका पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकार रोहिणी शर्माले सौजन्य गर्नुभएको छ । उक्त पुरस्कार वहाँले वहाँकी स्वर्गी धर्मपत्नी सीता शर्माको संस्मरणमा सौजन्य गर्नुभएको हो ।
अनेसास सर्वोत्कृष्ट गीत गजल हाइकू मुक्तक पुरस्कार २०२१ बाट टीका ‘आत्रेय’ पौड्यालको ‘युगको सङघार’ गजलसङ्ग्रहले पुरस्कृत भएको छ । यसको राशी अमेरिकी डलर ५०० रहेको छ । यसको प्रायोजन बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पुरु सुवेदी तथा वहाँकी धर्मपत्नी कल्पना सुवेदीले सौजन्य गर्नुभएको हो ।
अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीको अध्यक्षतामा यो घोषणा समारोह सञ्चालन भएको हो । समारोहमा बिओटी उपाध्यक्ष पदम विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । पुरस्कार समितिका अध्यक्ष प्रा. डा. गोपी उप्रेतीले अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि स्पष्ट निर्देशिका तयार भएको र यसले भावी समितिलाई पनि निकै सहयोग पुग्ने विचार व्यक्त गर्दै पुरस्कृत स्रष्टाहरुको कृति सार्वजनिक गर्नुभएको थियो ।
विजयी कृतिका स्रष्टाहरुलाई बधाई दिँदै अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, बिओटीका प्रमुख सल्लाहकार डा. श्याम कार्की, सल्लाहकारहरु प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल र रोहिणी शर्मा, बिओटी कोषाध्यक्ष राम लामा अविनाशीले प्रवासमा नेपाली साहित्यको विस्तारमा अनेसासले गरिरहेको तीन दशक लामो प्रयासबारे बताउनुभयो ।
बिओटीका सचिव शिव लामिछानेले अनेसासको सर्वोत्कृष्ट पुस्तक पुरस्कार स्थापना र यसको विकासव्रmमबारे जानकारी दिँदै वर्तमानसम्म आइपुग्दा पुरस्कार निर्देशिकाले अनेसासका केन्द्रीय र बोर्ड अफ ट्रस्टीका पदाधिकारी तथा उनका परिवारका सदस्यलाई पुरस्कारका लागि किताब दर्ता गर्न रोकेर यसलाई निष्पक्ष र पारदर्शी बनाएको बताउनुभयो । साथै वहाँले अनेसास पुस्तक पुरस्कार प्राप्त गरेका कुनै पनि स्रष्टाले सोही विधामा भविष्यमा पुरस्कार प्राप्त गर्न किताब दर्ता गर्न नसक्ने व्यवस्था गरी नयाँ स्रष्टालाई प्रतिस्पर्धा गर्न मार्ग खुला गरेको पनि जानकारी गराउनुभयो ।
अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले किताब दर्ता गराउनुहुने सबै स्रष्टालाई धन्यवाद दिँदै समयमा मूल्याङ्कन गरिदिने मूल्याङ्कनकर्ताहरुप्रति आभार व्यक्त गर्नुभयो । वहाँले सबै विजयी पुस्तकका स्रष्टालाई बधाई दिनुभयो ।
समारोहको समापन गर्दै बिओटी अध्यक्ष गीता खत्रीले अनेसासले पछिल्लो समयमा भाषासाहित्यका स्रष्टालाई आकर्षित गर्न विभिन्न पुरस्कारहरु थपेको जानकारी गराउनुभयो । वहाँले भविष्यमा प्रवासका लेखकहरुका पुस्तकहरु बढाउन विभिन्न कार्यहरु बिओटी र केन्द्रीय कार्यसमितिले मिलेर गर्ने जानकारी गराउनुभयो । अध्यक्ष खत्रीले सबै बिजयी स्रष्टाहरुलाई बधाई दिँदै यस प्रतिस्पर्धामा सहभागी सबै विधाका स्रष्टाहरुलाई सहभागिताका लागि धन्यवाद दिनुभयो । वहाँले पुरस्कारका सौजन्यकर्ताहरु, पुरस्कार समिति र पुस्तकको संकलनमा सहयोग गर्ने नेपाल च्याप्टर तथा अध्यक्ष सन्ध्या पहाडीलाई पनि धन्यवाद दिनुभयो ।
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि नेपाल र नेपालबाहिरबाट कूल ११६ किताबहरु दर्ता भएका थिए । ती मध्ये पुरस्कार निर्देशिकाको मापदण्डमा परेका ११० कृतिहरु मूल्याङ्कनमा परेका थिए । अमेरिका र युरोपबाट २७ तथा नेपालबाट ८९ कृतिहरु दर्ता भएका थिए । किताब दर्ता गरिसक्नुपर्ने दोस्रो म्याद मार्च ३१ भित्रमा जम्मा भएका सबै किताबहरु नेपाल र अमेरिकामा रहेका ३ जना मूल्याङ्कनकर्ताकहाँ पु¥याउन कोरोनाका कारण भएको लकडाउनले अगस्टसम्म कुर्नुपरेको थियो ।
पुरस्कार समितिले पुरस्कृत सबै कृति र तिनका स्रष्टालाई विशेष समारोहमा पुरस्कृत छिटै मिति तय गर्ने जानकारी पुरस्कार समिति अध्यक्ष प्रा.डा. गोपी उप्रेती तथा बिओटी अध्यक्ष गीता खत्रीले जानकारी गराउनुभयो ।