दार्जीलिङका सुपरिचित लेखक एवम् प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ बजारमा आएको छ । यो पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दाहरुमा केन्द्रित छ, तर त्यतिमा मात्रै सिमित छैन । यसले दार्जीलिङको समृद्ध इतिहास, गर्विलो विरासत र अन्यौलग्रस्त वर्तमानलाई जीवन्त ढङ्गबाट चित्रण गरेको छ ।

लेखक नयाँ दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल स्टडिजका वरिष्ठ प्राध्यापक एवम् विकास अर्थशास्त्री हुन् । उनी भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद् सदस्य, सिक्किम सरकारको प्रमुख आर्थिक सल्लाहकार एवं भारत सरकारका विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय कमिटीहरूमा प्रतिनिधि रहिसकेका छन् ।

‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दाहरुलाई टाढाबाट हेर्दा र फेरि भित्रै पसी केलाउँदा पाइएका सोच, धारा र प्रवृत्तिहरु यो पुस्तकमा छन्,’ प्राध्यापक लामा भन्छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको ४० वर्षभन्दा ज्यादै भएछ । तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्यचाहिँ दार्जीलिङकै वरिपरि छ ।’

४३० पृष्ठ लामो ‘ओ दार्जिलिङ !’ को प्रकाशन किताब पब्लिसर्सले गरेको हो । पुस्तक विभिन्न ६ वटा खण्डहरुमा विभाजित छः ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ ।

पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– यी र यस्ता विषय पनि समेटिएका छन् ।

लेखक लामाले भारतीय राष्ट्रपति नेतृत्वका थुप्रै संस्थाहरुमा प्रतिनिधित्व गर्नुका साथै विश्वका धेरैवटा विश्वविद्यालयहरुमा पढाएका र सिक्किम केन्द्रीय विश्वविद्यालयमा भारतकै सबभन्दा कान्छो उमेरका संस्थापक कुलपति बन्ने कीर्तिमानसमेत कमाएका छन् । उनले यसअघि करिब दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन् ।

‘मैले दार्जीलिङको विजनबारी, नेपालको हुम्ला–जुम्ला, भोटाङको सर्भाङ, जापानको हिरोसिमा, न्युयोर्कको कुइन्स, तिब्बतको भाखोर अनि अरूणाचलको पासीघाटसम्मै थुप्रै चाखलाग्दा पाठकहरु पाएको छु,’ लामाले अनुभव सुनाए, ‘कालिम्पोङको गाउँमा एक जना बूढा पाठकले मेरो स्तम्भहरु सबै काटेर होसियारसँग राखेको देख्दा र जेट एयरवेजका एयर होस्टेसहरुले उड्दै गरेको विमानमा लेखको उत्सव मनाउँदै केक काटेको देख्दा खुसीले मन रून्थ्यो, आत्माभरि ढक्कमक्क मखमली फुल्थ्यो र कहिले गएर फेरि लेखौं–लेखौं हुन्थ्यो । मेरो लेखनीको प्रेरणास्रोत मेरा प्यारा पाठकहरु नै हुन् ।’