दीपक सुवेदी
१. आरम्भ
सुमित्रा थामी ‘अविरल’ (१९७९) दार्जीलिङको नेपाली कविता लेखनका क्षेत्रमा सुपरिचित हस्ताक्षर हुन् । १९९२ मा ‘बालुवाको घर’ कवितालेखन र २००६ मा ‘स्मृतिको पछ्यौरीभित्र’ कथा प्रकाशन गरेर आफ्नो साहित्यिकयात्रा औपचारिक रूपमा प्रारम्भ गरेकी हुन् । स्रष्टा सुमित्रा थामी ‘अविरल’ को स्मृतिको पछ्यौरीभित्र (कथासङ्ग्रह, २००६) कृति प्रकाशित छ भने स्पर्शबिनाका सुस्केराहरू (कवितासङ्ग्रह, २०२१) अविरलको पछिल्लो कविताकृति हो । यस कृतिमा समकालीन समय र समाजलाई विभिन्न कोणबाट हेर्ने कार्य गरिएको छ । यस अध्ययनमा कवि सुमित्रा थामी ‘अविरल’ को ‘स्पर्शबिनाका सुस्केराहरू’ कवितासङ्ग्रहको विश्लेषण गरिएको छ ।
२. ‘स्पर्शबिनाका सुस्केराहरू’ कवितासङ्ग्रहको अध्ययन
यस अध्ययनमा मूलतः सङ्ग्रहमा अभिव्यक्त चेतना र सो चेतनाले निर्माण गरेको जीवन संस्कृति, विषय सन्दर्भ र त्यसमा व्यक्त विचार पक्षको अध्ययन गरिएको छ । कृति अध्ययनका निमित्त कवितामा परिवर्तनको चाहना व्यक्त, विकृति एवं विसङ्गति र सिद्धान्तहीनताको विरोधी चेतना, सामन्तवादी संस्कृति र पथविचलन, राष्ट्रियताबोध एवं स्वाभिमानको अभिव्यक्ति, आस्थाबिम्बको प्रस्तुति आदिका साथै शिल्पपक्षको समेत चर्चा गरिएको छ ।
२.१ कवितामा परिवर्तनको चाहना व्यक्त
कवि सुमित्रा थामी ‘अविरल’ का कवितालेखनको मूल पक्ष भनेको परिवर्तनको चाहनाको अभिव्यक्ति हो । उनका रचनामा राजनीतिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रका विकृतिको विरोध, जनाधिकारको अपेक्षा, समाजमा गुणात्मक एवं सकारात्मक पक्षको चाहना व्यक्त भएको छ । उनका यस प्रकारका रचनामा देश र मन, आत्मालोचना, समयको चिह्न, समय सङ्केत, न्यायको घाम खोजिरहेका आँखाहरू, शङ्खघोष, अविरलका उत्सर्गहरू, चियाबारी जीवन र चेतना आदि रहेका छन् । यी रचनामा नेपाली समाजको परिवर्तनको धारलाई पुरानो जीर्ण भइसकेको संस्कार, संस्कृति र त्यस किसिमको संस्कृतिको पक्षधर नेतृत्वले गर्न नसक्ने भएकाले नवपुस्ता जागृत हुनुपर्ने विचार व्यक्त भएको छ ।
सामाजिक परिवर्तन आफैँ हुने होइन, यसका लागि परिवर्तनको चेतना बोकेका सचेत वर्गले सदैव झकझकाइरहनुपर्ने हुन्छ । आत्माआलोचना कवितामा विसङ्गतिपूर्ण विगतबाट मुक्त भएर सङ्गतिपूर्ण जीवनको खोज गरिएको छ । यस कवितामा विगतका खराब पक्षलाई हटाएर वर्तमानलाई सङ्गतिपूर्ण बनाउन लागि पर्नुपर्ने विचार आएको छ । कवितामा नयाँ प्रभातको खोजीमा परिवर्तनको नवचेतनालाई स्वागत गरिएको छ । भ्रष्ट र स्वार्थपूर्ण जीवनप्रतिको विमतिभाव सशक्त किसिमले अभिव्यक्त भएको छ । न्यायको घाम खोजिरहेका आँखाहरू कवितामा नयाँ विचारप्रतिको समर्थन र नयाँ परिवर्तनको चेतनाको आह्वान आएको छ । समय सङ्केत कवितामा परम्परागत चिन्तन, दृष्टिकोण भएका मानिसले सामाजिक परिवर्तनको नेतृत्व गर्न नसक्ने र समाजको अग्रगमनको चेतनाभन्दा प्रतिगमनको चिन्तनलाई अघि सार्ने गर्दछन् । यसर्थमा चिया अकर्मण्यताको शिकार भएको दिशाविहीन बुढो नेतृत्वको प्रतीक हो । समय सङ्केतमा परिवर्तनको गतिलाई आत्मसात् गर्दै सकारात्मक चिन्तनको आँधीलाई सदैव स्वागत गरिरहने भावको अभिव्यक्ति भएको छ । चियाबारी जीवन निमुखा जनताको खुनपसिना र रगतमाथि टेकेर आफ्नो स्वार्थसिद्ध गर्ने शासकको जनविरोधी कार्यप्रतिको विमतिभावको कविता हो ।
भारी वर्षा हुँदै छ
आमा घुम ओढेर
सपना चियाउँदै हिँड्दै छिन् मेलोमा
चियाको मुना-मुनामा जीवन खोज्न
तर थाकेका छैनन्
चियाका थुम्काहरू आमाको सपनासित
अझै आलो रगत माग्दै छन् ।
(चियाबारी जीवन, पृ. १२४)
बस् ऊ छाल भई उठ्दै छ
समयको ताल भई बज्दै छ
कहिलेकाहीँ
घामलाई कालो बादलले अतिक्रमण गरेजस्तै
अविरल उत्सर्गहरूको हत्या हुँदै छ ।
(अविरल उत्सर्गहरू, पृ. ११६)
माथिका कवितामा राजनीतिक परिवर्तनसँगै सामाजिक-सांस्कृतिक परिवर्तन हुन नसकेको र समाजको गति यथास्थितिमा रुमल्लिएको हुँदा अग्रगमनको गतिलाई स्वर प्रदान गर्न चियाका थुम्काहरू अर्थात् परिवर्तनका वाहक सचेतजनहरू लागिरहेको यथार्थ व्यक्त भएको छ । यहाँ समयको छाल अर्थात् जनताको आवाजलाई स्वर प्रदान गर्न अग्रगमनको चेतना हुनुपर्ने र यस चेतनाले समाजको अग्रगमनको नेतृत्व गर्ने भएकाले गतिशीलता र वैचारिक परिपक्वता हुनुपर्ने सन्देश व्यक्त भएको छ ।
२.२ विकृति एवं विसङ्गति र सिद्धान्तहीनताको विरोधी चेतना
कवि सुमित्रा थामी ‘अविरल’ का कवितामा राजनीतिक विकृतिको विरोध गरिएको पाइन्छ । त्यसरी नै सिद्धान्तहीन गतिविधिप्रतिको आलोचना उनका कविताको प्रमुख पक्ष हो । उनका यस विचार प्रवृत्तिको प्रतिनिधित्व गर्ने कवितामा भूगोलको अनुहारमा हराएका हामी, साक्षी, दार्जीलिङ, मलाई दुख्छ देश आदि रहेका छन् । कवितामा राजनीतिलाई व्यापार ठान्ने, देश र जनताप्रतिको जिम्मेवारीबाट टाढा भाग्ने सुविधाका दास राजनीतिकर्मीप्रतिको गलत चिन्तन र क्रियाकलापप्रतिको आलोचनात्मक चेत व्यक्त भएको छ ।
हिजोको दिनमा कठोर सङ्घर्ष गरेर आउनेहरू कालान्तरमा जनविरोधी चिन्तन र व्यवहारका वाहक बनेकोमा कवि चिन्तित छिन् यसर्थमा यी कविताले इमानदार र जनप्रतिबद्ध राजनेताको खोजी गरेका छन् । दार्जीलिङमा आफ्नो आस्थाको व्यापार गरेर सिद्धान्तहीन आचरण गर्ने राजनीतिकर्मीप्रति लक्षित छ । कवितामा जनताको पक्षमा भन्दा जनविरोधीको चिन्तन बोकेर हिँड्ने प्रवृत्तिप्रतिको आलोचना गरिएको छ । कवितामा अतिआस्था र अतिघृणा व्यक्त गर्ने प्रवृत्तिको विरोध छ । नेतृत्वको देवत्वकरण गर्ने, निजी लाभको अपेक्षा गर्ने र लाभ प्राप्त नभएपछि, विचार भिन्न भएपछि राक्षसीकरण गर्ने प्रवृत्तिप्रतिको आलोचनात्मक भाव व्यक्त भएको छ । सुमित्रालाई दुख्छ देश जहाँ राजनीतिक एवं सामाजिक क्षेत्रका विकृतिलाई प्रस्तुत गरिएको छ । कवितामा राजनीतिक सिद्धान्तहीनता, सुविधाभोगी राजनीति, पारिवारिक एवं सामाजिक क्षेत्रमा हुने गरेका अपराध लगायतका विषयका बारेमा लेख्न बाँकी रहेका भावका माध्यमबाट समाजमा गलत चिन्तन र प्रवृत्ति थुप्रिएको र त्यसको विपक्षमा, सकारात्मक चिन्तनको पक्षमा लेख्न बाँकी रहेको यथार्थबोध आएको छ । साक्षी कविता आस्थाको विचलनप्रतिको चिन्ता भएको कविता हो । यस कवितामा आफ्नो आस्था बेच्नेहरूको अनुहारको चमक हराउने, उसको स्वभाव फेरिने, बोलीव्यवहार, चालचलन परिवर्तन फेरिने, मानिसको संवेदना हराउने यथार्थको अभिव्यक्तिबाट आस्था बेच्नेहरू आफैँमा आत्मग्लानिमा पुग्ने र यथार्थको सामना गर्न नसक्ने हुन्छ । मनभित्रको मन कवितामा कविले समय र मान्छे यति विशाक्त भइसकेको उल्लेख गरेकी छन् । वर्तमानको विसङ्गतिको चरम अवस्थालाई दर्साएको पाइन्छ ।
हामी यसै देशका आहुति हौँ
तर भूगोलको अनुहारमा हराएका हामी
आँगनैभरि छरपस्ट सयपत्रीलाई कुल्चिँदै
देशको मानचित्रमा आफ्नो अनुहार खोज्दै
देशकै भूगोलमा
हराएका अनुहारहरू खोज्दै ।
(भूगोलको अनुहारमा हराएका हामी, पृ. ७४)
कवितामा सिद्धान्तहीन प्रवृत्तिप्रति आलोचनाभाव आएको छ । मानिसलाई प्रारम्भमा देवत्वकरण गर्ने र पछि राक्षसीकरण गर्ने प्रवृत्तिप्रतिको आलोचना व्यक्त भएको छ । कवितामा मानिसको देवत्वकरणले उसमा विचलन आउने र त्यसले सिङ्गो समाजलाई दूषित पार्ने भएकाले दुवै खाले अतिवादले समस्या उत्पन्न गर्ने विचार प्रक्षेपण भएको छ । यस कवितामा सैद्धान्तिक मतभिन्नताभन्दा पनि व्यावहारिक पक्षका कारण दृष्टिकोण निर्माण गर्ने प्रवृत्तिप्रतिको आलोचना छ । कवितामा सिद्धान्तभन्दा स्वार्थ प्यारो भएकाले स्वार्थमा साधक हुँदा देवता र बाधक हुँदा राक्षस मान्ने प्रवृत्तिप्रतिको आलेचनाको भाव सशक्त किसिमले आएको छ ।
२.३ सामन्तवादी संस्कृति र पथविचलन
कवि सुमित्रा थामी ‘अविरल’ का कविताका रचनामा सामन्तवादी संस्कृतिले निम्त्याएको खराब पक्षका बारेमा चर्चा गरिएको छ । त्यसरी नै आफ्नो आस्थामा विचलन आएपछि मानिसले गलत चिन्तन बोक्ने र त्यसै किसिमका खराब गतिविधि गर्ने गरेको पाइन्छ । कवि सुमित्राका यस प्रवृत्तिका रचनामा साक्षी, शङ्खघोष, लाखेस्, अविरल उत्सर्गहरू, अर्कै परिपाटि, न्यायको घाम खोजिरहेका आँखाहरू आदि रहेका छन् । कविताहरूमा समाज प्रदूषित पार्ने तत्त्व सन्दर्भको चर्चा गरिएको छ । सत्यको विपक्षमा आगो ओकलिरहने प्रवृत्तिप्रतिको आलोचना आएको छ । असत्यलाई ढाकछोप गर्न सबै उस्तै हुन् भन्ने प्रवृत्तिले सत्यको अस्तित्व नामेट गर्न खोज्ने र आफ्नो स्वार्थसिद्ध गर्ने गरेको पाइन्छ । कवितामा ठुलाले जे गरे पनि ठिक हुने र कमजोरले आफ्नो आत्मरक्षागर्न खोज्दा आतङ्कवाद भनिने प्रवृत्तिप्रतिको विरोध आएको छ ।
सपना र टर्चलाइट कवितामा विगतमा जनताको पक्षमा लाग्ने राजनीतिकर्मी सत्तामा पुगेपछि राजधानी पुगेर जनताको बेवास्ता गरेको, सामन्तवादी संस्कृतिको वाहक बनेको र जनताको अधिकारप्रति उपेक्षा गर्ने कार्य गरेकामा निजलाई विगतको सम्झना दिलाउने र जनताको पक्षमा लागेका दिनको सम्झनाका माध्यमबाट जनताप्रति इमानदार बन्न आह्वान गरिएको छ ।
देशका शासकवर्गले जनताको आवाज नचिनेमा सडकको आवाजले तिनलाई सचेत बनाइरहने र अति भएमा परिवर्तन पनि ल्याउने भाव कविताका मूल स्वर बनेका छन् । कवितामा विगतमा सामाजिक सांस्कृतिक रूपान्तरणको आन्दोलनमा आफ्नो जीवन लगाएको स्रष्टा जीवनको पछिल्लो कालखण्डमा एक्लो हुनुपरेको, उसको विचार बोक्ने मानिस सत्ता र भत्तामा भुले पनि उसको कुनै वास्ता नभएको सन्दर्भ आएको छ ।
एकातिर कविको जीवनको त्रासदीको वर्णन छ भने अर्कातिर राजनीतिक नेतृत्ववर्गको पथविचलन र सामन्ती संस्कृतिप्रतिको अनुरागप्रतिको आलोचनात्मक चेतना व्यक्त भएको छ । कवितामा राजनीतिक नेतृत्वको पथविचलन, सिद्धान्तहीन गठबन्धन, लोभलाभप्रतिको आशक्ति, सामन्ती चिन्तनप्रतिको अगुराग जस्ता विषयलाई मूल कथ्यसन्दर्भ बनाइएको छ । कवितामा विसङ्गतिविरोधी चेतको प्रस्तुतिका साथै परिवर्तनप्रतिको आस्था दृढतापूर्वक आएको छ । परिवर्तनको नेतृत्व गर्नेले परिवर्तनको आभास गराउन नसकेको, लुछाचुँडी र भागबन्डामा समय खर्चेको, राष्ट्र र जनताप्रतिको प्रतिबद्धतामा ह्रास आएको कारण कहीँ निरङ्कुशतन्त्रका हिमायतीले फाइदा उठाउने त हैनन् भन्ने चिन्ता पलाएको सन्दर्भ पनि कविताका मूल कथ्यसन्दर्भ हुन् ।
डम्बर चोकको भिडभाडमा
बलात्कार गर्ने
बलात्कारी, यौन शोषणकारी
राक्षसलाई कैद गराउनु छ
त्यहाँ यस्तो फाँसी
तयार गर्नु छ मलाई
जो आउने भावी पुस्ताले
युगयुगान्तर याद राखून्
ती सपना बिपना चोर्ने
स्वाभिमानका हत्याराहरूलाई
दिएका सजायहरू
(साक्षी, पृ. ७६)
२.४ राष्ट्रियताबोध एवं स्वाभिमानको अभिव्यक्ति
कवि सुमित्रा थामी ‘अविरल’ का कवितामा देशभक्तिको चेतनाका साथै राष्ट्रियताबोध एवं स्वाभिमानको अभिव्यक्तिका दृष्टिले महत्त्वपूर्ण रहेका छन् । उनका यस किसिमका विचार प्रवृत्तिको प्रतिनिधित्व विभ्रान्तिको हिउँले छोपेको पहाड, चियाबारी, जीवनको भूगोल, मलाई दुख्छ मेरो देश, विवशता, दार्जीलिङ आदि कविताले गरेका छन् । यी कवितामा सुमित्राले आफ्नो माटाप्रति आफू प्रतिबद्ध रहेको भाव व्यक्त गरेकी छन् । कवितामा समाजमा उत्पन्न भएको जातिय, क्षेत्रीय चिन्तनप्रतिको आलोचनाका साथै सामाजिक सद्भाव र वर्गीय एकताको पक्षको आवाज बुलन्द गरिएको छ । ध्वंसात्मक चेतनाको विरोध र निर्माणको चेतनाको पक्षधरता आएको छ । कवि सुमित्राले कवितामा आफू सदैव सकारात्मक परिवर्तन र निर्माणको पक्षमा रहेको विचारका साथ ध्वंसमुखी प्रवृत्तिप्रति असहमत रहेको बताएकी छन् ।
अब साँध सीमानाका कुराहरू
पाँडे, काजी र वीरभद्रका सन्तानहरू
एउटा नाङ्गो खुकुरीले मात्र होइन
अब एउटा कलमले
विश्वको धरोहर थर्काउनु छ ।
(देश र मन, पृ. ५६)
आत्मरक्षामा पुर्खाको इज्जतलाई
थुप्रैचोटि बन्धक राख्यौँ
घाउका खाटाहरू नपुरिईकन
पाप्रै पाउहरू रहिरहे/ हामीसित
समय छालभित्र
कुइरोमा दार्जीलिङ र शान्ति
घोषणपत्रको अक्षरमा टाँसिएर
मैला कागजको थाक बनिरहे ।
(दार्जीलिङ, पृ. ८२)
कवि सुमित्राले जातियताबाट मुक्त भएर मानवीय प्रेम, सहिष्णुता र सद्भावका पक्षमा लाग्नुपर्ने विचार व्यक्त गरेकी छन् । एउटै धर्ती, आकाशमा रहेका मानिसमा जातीय, क्षेत्रीय चिन्तनभन्दा पनि आपसी प्रेमभाव हुनुपर्ने भाव कवितामा व्यक्त छ । युग परिवर्तन भइसके पनि सामन्ती युगको जस्तो चिन्तन बोक्ने भारतीय शासकवर्गको मनोवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । कवितामा यो युग स्वतन्त्रता, स्वाभिमानको भएको हुँदा यस अवस्थामा पनि हाम्रो स्वाधीनतामाथि हमला गर्ने प्रति आलोचना व्यक्त भएको छ ।
२.५ आस्थाबिम्बको प्रस्तुति
कवि सुमित्रा थामी ‘अविरल’ समकालीन राजनीतिको भोक्ता भएर त्यसलाई नजिकबाट देख्ने र भोग्ने स्रष्टा हुन् । सुमित्राले परिवर्तनसँग सम्बन्धित विभिन्न समय र सन्दर्भमा भए अनि गरेका आन्दोलनलाई नजिकबाट हेरेको पाइन्छ । यसै सन्दर्भमा भ्रमजाल, वीर माइतीप्रति समवेदनाको फूल, आत्मालोचना, समय र सङ्केत, रमितेको आँखाहरूमा रमिताहरू आदि उनका यही विश्वास र आस्थाको चिन्तन बोकेका कविता हुन् ।
अन्धाहरूको देशमा
लाटाहरूको जनसभा
दर्शकहरू बने बहिराहरू
धमिरा लागेका विश्वासमा
खुकुरीको खिया पुस्छन्
वीरताको हुङ्कारमा
शिरको टोपी भुईँमा राखी
(आत्मा-आलोचना, पृ. ५९)
२.५ ‘स्पर्शबिनाका सुस्केराहरू’मा शिल्पपक्ष
यो कृति गद्य कविताको सङ्ग्रह हो । यसमा प्रायः सरल र सहज बिम्बको प्रयोग पाइन्छ । आफ्नो विचारलाई प्रभावकारी बनाउन प्रश्नवाचक चिह्नको माध्यमबाट जिज्ञासा, कौतहुलता र आलोचनात्मक भावलाई प्रभावकारी किसिमले प्रस्तुत गरिएको छ । शिल्पपक्ष औसत रहे पनि विचार चिन्तन र अनुभूतिका तहमा उनको प्रौढलेखनका सूत्रसमेत प्रशस्त झल्किएको पाइन्छ । प्रिय पतझड-१ र नव वर्ष-१, कोरोना, जिन्दगी कविताका भावपक्ष सबल प्रतीत भए पनि कलापक्ष खुकुलो छ । हूल (पृ. ५०), नून (पृ. ४९), दुइ (पृ. ५३), झुन्ड्याइ (पृ. ६०), पहर (पृ. १२८) आदिजस्ता वर्णविन्यास लगायत पदयोग र वियोगमा पनि कमजोरी रहेका छन् भने कवि सुमित्रा थामी ‘अविरल’ इतिहासका तथ्यप्रति जानकार छिन्, वर्तमानका घटना, पात्र र प्रवृत्तिसँग परिचित पनि भएको हुनाले त्यससँग सम्बन्धित बिम्ब प्रतीकको प्रयोग गर्नमा भने कुशल देखिन्छिन् ।
३. निष्कर्ष
कवि सुमित्रा थामी ‘अविरल’ ले १९९२ देखि प्रारम्भ गरेको कविता यात्रा निरन्तर जारी छ । कविताका अतिरिक्त यसअघि नै अविरलको एउटा कथासङ्ग्रहको प्रकाशन भइसकेको छ । यी कृतिमा नेपाली समाजको राजनीतिक, सामाजिक एवं सांस्कृतिक परिवर्तनका घटना र त्यससँग जोडिएको पात्र र प्रवृत्तिसँग साक्षात्कार गर्दछन् । इतिहासका घटना र पात्रप्रतिको दृष्टिचेत यी कविताको मूल पक्ष बनेर आएको छ । कवि सुमित्रा राजनीतिसचेत कवि हुन् ।
दार्जिलिङको आन्दोलन, यस आन्दोलनसँग जोडिएको राजनीतिक-सामाजिक जीवनका सङ्घर्षको इतिहास, त्याग, बलिदान, नेतृत्व तहमा पुगेका र राज्यको विभिन्न तहमा पुगेका पात्रको जीवनयात्राका विभिन्न मोड, घुम्ती र आदर्शको राजनीतिमा तिनको स्थानको खोजी यी कवितामा विश्लेषण गरिएको छ । उनका कविता राजनीतिक, सामाजिक एवं सांस्कृतिक परिवर्तनको पक्षमा उभिन्छन् । सामन्तवादी चिन्तन, प्रवृत्ति र पात्रको आलोचना गरेकी छन् भने राजनीतिक एवं सामाजिक विकृति र विरोधी चेतना समेत प्रस्तुत गरेकी छन् ।
‘स्पर्शबिनाका सुस्केराहरू’ मा राष्ट्रियताबोध, क्षेत्रीय विस्तारवाद विरोधी चेतना, स्वाभिमानी चिन्तन पाइन्छ । कवि सुमित्रामा विकृतिविरोधी चेत मात्र नभएर आफ्नो आस्थाप्रतिको प्रतिबद्धता, सामाजिक परिवर्तनको उत्कट चाहना र राष्ट्रको समृद्धिको माग व्यक्त भएको छ । सुमित्राका कवितामा जसरी विकृतिविरोधी चेत आएको छ, त्यसको साथसाथै समाजका सकारात्मक पात्र, प्रवृत्ति र चिन्तनको पक्षमा समेत अझ व्यापक रूपमा आवाज आउनुपर्छ भन्ने मलाई लाग्छ । कवितामा प्रायः सरल बिम्बको प्रयोग भए पनि केही कविता जटिल पनि पाइएका छन् । कवितामा आम जनसमुदायका जीवनका कथाव्यथाको सशक्त प्रस्तुति पाइन्छ, यसलाई अझ सुन्दर बनाउनका लागि विचारमा गहनता र प्रस्तुतिमा अझ सरलता आउन सकोस्, यही शुभकामना छ ।
सन्दर्भ पुस्तक
थामी ‘अविरल’, सुमित्रा (२०२१), मणिपुरः गोर्खाज्योति प्रकाशन, कौब्रुलैखा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।