रविन थपलिया

रालसिङ्गान चुहाँउदै

हावा नछिर्ने

प्रकाश नछिर्ने

रङ्ग नछिर्ने

गन्ध नछिर्ने

केही नदेखिने, केही नसुनिने

अन्धकार बंकरमा

म मृत्यु कुरेर बसेको हूँला,

मेरो नातिसँग

सहस्र कोरोना जस्तै

किटाणु र विषाणुसँग डराएर।

 

मेरो नाति

नाकमा ठेडी हाल्दो हो,

कानमा बुझो लगाउँदो हो

आँखामा पट्टी बाँध्दो हो

सुखेन्दृयमा स्टीलका पाता ठोक्दो हो

मुखमा झोलमात्र हाल्न मिल्ने

एउटा पाइप लत्रेला

छालामा लेप लगाँउदो हो

किनकी

उसलाई ओजोन तोडेर आएका

विकिरणहरुले लखेट्दा हुन्

अम्लबर्षाको बाढिले बगाउला

किटाणुका बथानले घेर्दा हुन्

बिचरा!

उसको जीवन लक्ष्य नै बाँच्नु होला

बचाँउनु कहिले नहोला

भाग्दाभाग्दै लुक्दालुक्दै जीवन जाला।

 

किटाणुहरुको मोर्चाबन्दी होला

मानव थिचोमिचो बिरुद्ध एक होलान्

विकिरण र बिषाणु संग तालमेल होला

मानव सभ्यताको जरो उखेलेर

नवजलथलचर राज गर्न खोज्लान्

सूर्य विषकुण्ड प्रमाणित होला

हावामा प्राणवायु नहोला

पानीमा जिवरस सुक्ला

अनि मेरो नाति सोध्दो हो-

“तपाईंले बीष दिने सुर्य किन पुज्नु भयो?

बीष छान्ने ओजोन किन पुज्नु भएन?

आफू बाँच्न किन दुनियाँ मार्नु भयो?

किन मान्छे सबैको सत्रु बनाउनु भयो?

मिलेर बस्न हुन्थेन र, हजुरबा?”

 

मलाई मेरो अपराध अक्षम्य बोध होला

तर ढिलो भैसक्ला।