सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेपछि यस दिनलाई अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रूपमा मनाउन थालिएको हो। बालबालिकाको चासोका विषयलाई सङ्घको ‘चार्टर’मा अटाएर विश्वभरका केटाकेटीका सोच र उद्देश्यलाई समर्पित गरी यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको साधरणसभाले बालबालिकाको अधिकारका बारेमा घोषणापत्र जारी गरेर हरेक बालबालिकालाई उसको विकासका लागि चाहिने सम्पूर्ण कुरा पाउने अधिकारको सुनिश्चित पनि गरेको थियो ।

तिनै बालबालिकाको अधिकारसम्बन्धी नाराका साथ हरेक वर्ष मनाइने बाल दिवस आज अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले जुममार्फत् मनाएको छ । कार्यक्रममा अनेसासकी केन्द्रिय सचिव तथा अनेसास बालताराकी संयोजक बिमला ढुङ्गाना निरौलाले संसारभरि छरिएर रहनुभएका दोस्रो पुस्ताका तर आफ्नो आफ्नो विषयमा विज्ञता प्राप्त गर्नुभएका भाइबहिनीहरूसँग सान्दर्भिक जिज्ञासाका प्रश्नहरु राख्नुभएको थियो ।

इनेप्लिजको फेसबुकमार्फत् लाइभ प्रसारण गरिएको उक्त कार्यक्रममा आफ्नो आफ्नो विचार, उदेश्यमा छलफल गरेर अन्तर्क्रिया साथ संवादमा कार्यक्रम समापन भएको थियो  |

कार्यक्रममा मेट्रो डिसीबाट बिहेभिएर साइन्समा पिएचडी गर्नु भएकी डा. मेधा सत्यालले प्रवासबाट नेपालका बालबालिको अधिकार र विकासको लागि कस्तो र कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा बोल्नुभएको थियो । त्यसैगरी अन्तरीक्ष विज्ञानमा पिएचडी अध्ययनरत प्रज्ज्वल निरौलाले अन्तरीक्षको बारेमा उत्सुक नेपालका बालबालिकाको लागि पनि पहिलेको भन्दा प्रविधिको विकाससँगै केही साधन र श्रोत वृद्धि भएको र महावीर पुनका योजनाले पनि केही सहयोग गर्ने विचार राख्नुभयो ।

मनासस भर्जिनियाकी कन्चन दाहालले अमेरिकामा पनि विभिन्न परिस्थितिमा बाल अधिकार हनन् हुने, घरेलु हिँसा र अपराधको सिकार हुने गरेको, त्यसको विरुद्धमा पनि दिवस र बाल अधिकारको आवश्यकता रहेको विचार राख्नुभएको थियो । नर्वेमा रहेर आइटी विषय अध्यय गरिरहनुभएकी अनुष्का सुवेदीले विदेशको तुलनामा नेपालका बालबालिकाको पाउने सुविधा र हक-अधिकार न्यून रहेकोले कुरा बताउनुभयो | शिक्षाको असमानताले पनि बाल विकासमा अवरोध आउने सम्भावना हुने हुँदा शिक्षामा समानता हुनु आवश्यक छ भन्ने विचार पनि राख्नुभएको थियो ।

कार्यक्रमको अर्को वक्ता हुनुहुन्थ्यो नेपालबाट एसिड पीडित बालिका मुस्कान खातुन | नेपालका बालबालिका पीडा, बालबालिकामाथिका जघन्य अपराधहरू कसरी हटाउने भनेर खटेर लग्नुभएकी एसिड अभियन्ता खातुनले नेपालको कानुन अझै धेरै दह्रो बनाउन जरुरी रहेकाे मत राख्नुभयो ।