जनपक्ष प्रकाशन, सिक्किमसँग आबद्ध रहेकी गीताश्री शर्मा (गीतादेवी शर्मा उपाध्याय नेउपाने) विशेषतः मुक्तक, कथा, कविता र रम्बास कवितामा कलम चलाइरहेकी छिन् । शर्माको मुक्ता (मुक्तकसङ्ग्रह) प्रकाशित छ भने ‘समयका रेखाहरू’ (कथासङ्ग्रह) प्रकाशोन्मुख छ ।
प्रस्तुत छ, गीताश्री शर्मासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको साहित्यिक कुराकानीकाे सम्पादित अशं;
प्रकाशनका दृष्टिले पहिलो रचना कुन हो ?
काठमाडौंबाट प्रकाशित हुने हिमाली सौगात (द्वयमासिक साहित्यिक) पत्रिकामा कथा “नियत” प्रकाशित भएको थियो ।
जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यावस्था ?
दक्षिण सिक्किमको सुदूर गाउँमा जन्म भएकोले हामी कतिपय बजारको रहनसहनबाट टाढ़ै थियौं। ठूलो परिवार भएको साधारण अवस्थाबाट गाउँकै स्कूलबाट प्राथमिक शिक्षा आरम्भ भयो। गाडीसम्म नपुगेको गाउँ प्रायः पैदलयात्रा नै हुन्थ्यो। टुकी बत्तीमा पढ्दा-पढ़्दै बिजुली बत्ती पुगेको ठाउँ । बाबा-आमाको लाडप्यारले हुर्के तापनि घरको धेरै काम भ्याएर गाई-बस्तुलाई घाँस-खोले, मेलापर्म, घरधन्दा आदिबाट उबारेको समय आफूले पढ़ाइमा लगाएका थियौं। बाल्यकालको अवस्था बारे लेख्नुपर्दा वास्तविक कथा नै हुनजान्छ यसैले सबै कथा-व्यथा यहाँ राख्न चाहन्नँ।
साहित्यमा प्रवेश गर्दाको शुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
स्कूलका साहित्यिक कार्यक्रममा भाग लिने अवसर पाइन्थ्यो, स्कूलको “झरना” नामक पत्रिका प्रकाशित हुँदा एक/दुइवटा, कथा, कविता प्रकाशित भएका थिए । सानै उमेरमा विवाह भएर गान्तोक जान पर्ने भयो। श्रीमानले सञ्चालन गरेको जनपक्ष सप्ताहिक समाचार-पत्र तथा जनपक्ष प्रकाशनको सञ्चालिका भएपछि नवोदित तथा नेपाली साहित्य जगतका महान् विद्वान् लेखकहरूका लेख एवं पाण्डुलिपि प्रकाशनमा आउँदा आफूलाई पनि लेख्न पाए हुने थियो भन्ने जाँगर र उमङ्ग बढ़ेर आउँथ्यो तर नानीहरूको हेरचाह, लालन-पालन र प्रकाशनको व्यवस्थापनमा नै समय बित्ने हुँदा लेखन कला त्यसै मुर्झाएर गएको थियो। जब नानीहरू ठूला-ठूला विद्यालय, महाविद्यालय पुगे, समय पाउन थालें, केही लेख्नपर्छ भन्ने दृढविश्वासका साथ आफ्नो कलम निरन्तर चलाउन थालेकी हुँ। सामाजिक सञ्जाल पनि मेरो प्रेरणाको स्रोत भएर आयो/पत्रपत्रिकामा पनि स्थान पाउन थालें। यसरी निजी प्रयासमा साहित्यमा प्रवेश भएकी हुँ।
आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ ? किन ?
स्रष्टा नै भन्न त मिल्दैन, कोशिश गरिरहेकी छु। मुक्तक, कथा र कविता आफूलाई मन परेर अँगालेको विषय हो, वर्तमानमा नेपाली साहित्यमा आएको नयाँ आयाम ‘रम्बास’ कविताले मलाई धेरै प्रभावित तुल्याएको छ, यसैले ‘रम्बास’ कविता लेख्न थालेकी छु। यही नै मेरा प्रिय विषय पनि हुन्। भविष्यमा उपन्यास लेख्ने मन बनाएकी छु, हेरौं समयले कति साथ दिने हो।
मुक्तकलाई कसरी परिभाषित गर्नुहुन्छ ?
मुक्तक स्वतन्त्र कविता हो, टुक्रे कविता हो, मनमा उथलपुथल भएका भावना, घटना, प्रतिबिम्बलाई सबैले सजिलै प्रभावकारी ढङ्मा पढ़ेर सजिलै बुझिदिने माध्यम लाग्छ मलाई। मुक्तकमा कुनै लामो कथा नगाँसिए तापनि थोरैले धेरै स्पष्ट र व्यङ्ग्यात्मक तवरले प्रस्तुत हुन सक्ने विधा मुक्तक हो। मनमा लागेका तीता-मीठा अनुभव, प्रेम-माया, दुःख-सुख पाठक सामु प्रस्तुत गर्नसक्ने कला पनि मुक्तक हुनसक्छ।
मुक्तक सिर्जना के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
मुक्तक लेखाइमा आफ्ना-आफ्नै तरिका हुन्छन्, कुनै लामा, कुनै छोटा हुन्छन्, कता-कता हिन्दी-उर्दूहरूका शायरी-गजलसित पनि मेल खान्छन्। थोरै शब्दले धेरै अर्थ बुझाउन सक्नु मुक्तकको आफ्नो विशेषता हुन्छ भन्ने लाग्दछ, यसैले मुक्तकलाई निरपेक्ष स्वतन्त्र कविता भनेर मानिन्छ।
तपाईंको लेखनकलामा समाजका कुन वर्गका वा के कस्ता भाव भए जस्तो लाग्छ ?
मेरा मुक्तक विशेष समाजका कुनै वर्गलाई निश्चित् तोकिएर लेखिएका छैनन्। साधारण गाउँ-घरका दुःख-पीड़ा, माया-प्रीति, उठवस, जीवनको भोगाइ आदिलाई नै विशेष पात्र बनाइएका छन् जस्तो लाग्छ तर पाठकहरूले जुन रूपले बुझिदिनु हुन्छ त्यसैलाई आफू सही रहेको सोचेर भाग्यशाली ठान्दछु।
सिक्किमेली नेपाली साहित्यमा मुक्तक लेखन र प्रकाशनलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
सिक्किमबाट मुक्तक नलेखिएका होइनन्, यदा कदा पहिला पनि लेखिंदै आएका थिए। मलाई जहाँसम्म थाहा छ अस्सीको दशकतिरै श्री राज.के.श्रेष्ठ र श्री भुपेन्द्र अधिकारीले “हामी दुइका मुक्तक”-को कृति नै प्रकाशित गरेका थिए। अहिले आएर बाड़ नै चलेको छ, मलाई लाग्छ सिक्किम मुक्तक लेखनको मलिलो उर्जावान क्षेत्र बनेको छ, भविष्य उज्यालो छ।
नेपाली मुक्तकको अध्ययन र लेखनमा युवावर्गको वर्तमान अवस्थालाई कसरी हेर्नु हुन्छ ?
मुक्तक लेखनमा उमेरको सीमा हुन्छ जस्तो मलाई लाग्दैन, युवादेखि प्रौढ़सम्म जोश र जाँगरले ओतप्रोत छन्, केवल विधा र प्रस्तुतिलाई नव दुलाहा-दुलहीसरह सिंगारपटार गर्ने र शब्द चयन उहाँहरूको वैशिष्ट्य मानिलिनु पर्दछ । मलाई लाग्दछ नेपाली साहित्य जगतमा मुक्तक लेखनको भविष्य बिहानपछिको दिन जस्तो लाग्दछ।
सिक्किमेली नेपाली साहित्यमा नारी स्रष्टाहरू कहाँबाट को-को कुन-कुन विधामा हुनुहुन्छ ?
सर्वप्रथम सिक्किमेली साहित्यमा नारीस्रष्टाको प्रशङ्ग उठाउँनु पर्दा यस सानो अन्तर्वार्तामा प्रतिभाशाली नारी स्रष्टाको सबै नाम उल्लेख गर्न सम्भव छैन, कहीँ-कतै लामो लेखमा उद्धृत गर्ने छु। नामहरू लिइसकेपछि आदरणीय लेखक-लेखिकाको नाम अज्ञानतावश छुट्न गएका खण्डमा आफूलाई पनि खल्लो र अधूरो भएको महशुश हुनजान्छ, कुनै लेखमा लेखौंला।
सिक्किमेली नेपाली साहित्यमा नारी स्रष्टाहरूको योगदान महत्त्वपूर्ण र अद्वितीय छ। कथा, कविता, समालोचना, पत्रकारिता, निबन्ध, मुक्तक लगायत भरखरै शुरू गरिएको कवितामा नयाँ प्रयोग “रम्बास” आदि क्षेत्रहरूमा नारी स्रष्टाहरूको दह्रिलो पकड़ छ। यसैले यो क्षेत्र मात्र हो भनेर किटान गर्न सकिन्न, साहित्यका सबै आयाम उहाँहरूका मुख्य विषय नै हुन्।
सिक्किमेली नेपाली साहित्यका सम्भावना र चुनौतिहरू के के छन् ?
सिक्किमेली नेपाली साहित्य मात्र भनेर नेपाली साहित्यलाई सीमाभित्र राख्न हुन्छ जस्तो मलाई लाग्दैन। नेपाली साहित्य विश्व साहित्य हो, सङ्कुचित बनाउन मिल्दैन, सिक्किम नेपाली साहित्यका निम्ति भारतीय स्तरमै अब्बल दर्जामा छ। नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचिमा सामेल गराउने योगदान पूर्ण राज्यका नातामा सिक्किम भूमिको योगदान अत्यन्त महत्त्वपूर्ण भएको सर्वविदितै छ। यस्तो भूमिमा साहित्यकारहरूको भूमिका कस्तो थियो र रहन्छ अनुभव गर्न सक्ने विषय हो। सिक्किमले विभिन्न क्षेत्रमा योगदान पुर्याउने नेपाली जगतका महान् व्यक्तिहरूलाई सम्मान जनाउने र उनीहरूका कृतिहरू प्रकाश गरिदिने परम्परा बसालेको थियो। कहिले-कहीँ समय-परिस्थितिवश शिथिलता आउनु स्वाभाविक हो, कोविद-19 पनि वाधक बनेर आयो, आशा राखौं अघाड़ि बढ़ेर जानेछ। सबैको सहभागिता नितान्त जरूरी छ।
सिक्किमेली नेपाली साहित्यमा आफूलाई कुन स्थानमा वा कहाँ पाउनु हुन्छ र किन ?
सिक्किमेली नेपाली साहित्यमा म आफूलाई निरन्तर साहित्यको सेवा गरिरहने साधारण सेवकको रूपमा राख्न चाहन्छु, सकेसम्म साहित्य सिर्जना गर्ने, प्रकाशनको माध्यमबाट स्थापित हुन् या नवोदित साहित्यकारहरूका कृतिहरू प्रकाशन गरिरहने प्रकाशिकाको भूमिका निर्वहन गर्ने भूमिकामा छु। साहित्यको सेवा लेखेर मात्र पनि हुन्छ जस्तो मलाई लाग्दैन। प्रकाशन, प्रचार-प्रसार र व्यापकता यसको क्षेत्र हो।
वास्तविक रूपमा भन्नु हो भने सर्जकहरूले खाइनखाइ आफूले प्रकाशित गरेका कृतिहरू ओजस्वी पाठकहरूसितै सरकारले पनि आफ्ना निकायमा र पुस्तकालयका निम्ति आवश्यक परेका कृतिहरू किनिदिन नितान्त आवश्यक हुनजान्छ, सरकारको जिम्मेवारी पनि हो । लेखक, सर्जक तथा प्रकाशकहरूलाई ठूलो प्रोत्साहन भएर जान्छ।
स्रष्टाहरूको दायित्व के कस्तो हुनु पर्दछ जस्तो लाग्छ ?
साहित्यकारहरूले साहित्यको सेवामा लागिरहँदा कसैले केही गरिदेला कि? पुरस्कार पाउँछु कि? सम्मान गर्ने हुन् कि होइनन्? भनेर गरेका हुँदैनन्। बुई चढ्ने र बुई चढ़ाउने साहित्यमा देखिएको खेमाले साहित्यको सेवा गर्नसक्दैन। पैसा र पावरले पनि साहित्यको सेवा हुनसक्तैन। कसैको मुखताक्ने र श्रेय पाउने आशामा गरिएको साहित्यको सेवा पनि क्षणिक हुन्छ जस्तो लाग्छ। तर आफ्नो योग्यता, क्षमता, बलबुता र समयानुकूल भएर साहित्यको सेवा गर्नेहरू नै स्थायी हुन्छन्, साहित्यकारहरूले निरन्तरता दिन सक्छन् भन्ने मलाई लाग्छ।
सिक्किमेली नेपाली साहित्यमा आएको अग्रगमन हटात शिथिल भए जस्तो लाग्द छ नि ! केही बताइदिनु हुन्छ कि ?
साहित्य समाजका निम्ति लेखिन्छ, साहित्यबाट समाज कोल्टे पर्यो भने चिल्ला सडकमा कुदिरहेका गाडी अघाड़ि आएका रोडा र स्पीडब्रेकरले बाधा-अड्चन थप्दछ। साहित्य र असाहित्यमा पनि धेरै मतभेद हुनसक्छ, अँध्यारोबाट उज्यालोमा गइरहेको सभ्य समाजले नै साहित्यको महत्त्व नबुझिदिएपछि लेखक-लेखिका, साहित्य सेवकहरू मात्रले एकलो बृहस्पती झूट्टो भन्ने भावना जाग्रत हुनजान्छ। असाहित्यिकहरूको बोलबाला भए पछि सर्जकहरू पछाडि हट्छन्, एक प्रकारको नैराश्यता आउँछ। सभ्यसमाज सचेत रहनु पर्दछ भन्ने हाम्रो मान्यता हो।
अन्त्यमा सिक्किमदेखि सारा भारतभरि छरिएका नेपाली भाषा प्रेमीहरू लगायत विश्वका सबै साहित्य सेवीहरू एक अर्काका पुरक भएर काम गरेका खण्डमा नेपाली भाषा-साहित्यको भविष्य अत्यन्त उज्ज्वल छ। आशा राखौं रातपछि बिहान आएकै हुन्छ !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।