काठमाडौँकी बिटु केसी हाल अमेरिकाको ह्युस्टन सहरमा व्यावसाय सञ्चालन गरेर बसेकी छिन् । साहित्यको हरेक क्षेत्रमा लेख्न रुचाउने केसी पछिल्लो समय गजल लेखनमा बढी सक्रिय छिन् । उनको मुक्तकसङ्ग्रह ‘मायाको मात’ २०७५ सालमा प्रकाशित भएको थियो । साहित्यिक संस्था ‘स्रष्टा साँझ’ का लागि केसीले ‘स्रष्टा संवाद’ कार्यक्रम पनि सञ्चालन गर्छिन् । साथै ‘आधा मन’ नामक एक गीति एल्बम युटुबमा प्रकाशित छ ।

प्रस्तुत छ, साहित्य र व्यापार, दुबै क्षेत्रमा सफल एवं सक्षम बिटु केसीसँग साहित्यपोस्टका लागि विश्वराज अधिकारीले गरेकाे कुराकानीकाे सम्पादित अंश;

बिटु केसी

१. प्रवासी जीवन कस्तो लागिरेको छ ?

जीवनमा फरक अनुभवहरू बटुल्न पाउनु, बाहिरी दुनियाँको ज्ञान लिन पाउनु आफैँमा राम्रो कुरा हो । यस अर्थमा म प्रवासी जीवनका अनेक पाटाहरूको अनुभव बटुल्दै छु ।

२. नेपाल जाऊँ जाऊँ जस्तो लाग्दैन ?

अहिले नै पोको पन्तरो बानौँ जस्तो लाग्छ तर भावना र परिस्थितिको तारतम्य मिल्नुपर्ने रहेछ ।

३. पछिल्लोपटक नेपाल कहिले जानुभएको गियो ?

२०१९ मा अप्रिलमा गएको थिएँ, १५ दिनलाई ।

४. स्वतन्त्रताको सन्दर्भमा नेपाली र अमेरिकी महिलाहरूबिच केकस्तो अन्तर पाउनुहुन्छ?

केही अदृश्य असमानताहरू भए पनि नेपालमा भन्दा कानुनी र सामाजिक परिवेशले नै अमेरिकी महिलाहरू हरेक कुराले स्वतन्त्र देखिन्छन् । उमेर १८ वर्ष पुगेपछि स्वनिर्णयको स्वतन्त्रता छ तर नेपालमा भने महिला विदेश जान पनि अभिभावकको स्वीकृति लिनुपर्ने स्थिति छ। व्यवहारमा भने स्वनिर्णय लिन,  बोल्न, हाँस्न पनि समाज र परिवारको धक राख्नुपर्ने अवस्था छ ।

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

५. नेपालमा महिला-स्वतन्त्रताको स्थिति वर्तमानमा कस्तो छ?

कानून र संविधानले महिला पुरुष समान भने पनि व्यवहारमा त्यो लागु छैन । अझ गाउँघरतिर यति समाजिक विभेद कायम छ कि स्वयं महिलालाई आफूमाथि भएको विभेद र अन्यायको पनि ज्ञान छैन ।

६. नेपालका शिक्षित र सचेत महिलाहरूले समेत अहिले पनि महिनावारीलाई शारीरिक अपवित्रता ठान्दछन् । यस्तो ठान्नु उचित हो ?

उचित होइन । सचेत महिलाहरूले नै यो कुरीतिको अन्त्य गर्नुपर्छ ।  पहिलेभन्दा यो कट्टरवादी सोच अब बिस्तारै परिवर्तन हुँदै छ ।

७. नेपालमा हुने महिला-पुरुषबिचको भेद अन्त्य गर्न तपाईँको विचारमा के गर्नुपर्ला ?

शिक्षा मात्र भएर हुँदैन, चेतना र विवेकमा परिवर्तन आउनुपर्छ । छोरालाई दूध र भात, छोरीलाई बासी भात दिएर हुर्काउन हुन्न । समान सोच व्यवहारले नै समानता  निर्धारण गर्दछ ।

८. साहित्यमा कुन विधामा बढी रुचि राख्नुहुन्छ ?

कथा, गीत, कविता, मुक्तक, उपन्यास सबैमा चासो राखे पनि अहिले गजलतर्फ अली बढी झुकाउ बढेको छ ।

९. साहित्यमा लाग्ने प्रेरणा कहाँबाट पाउनुभयो ?

घर परिवारबाटै सानैदेखि । दिज्यू निसा केसीले मलाई पनि लगिसिन्थ्यो रेडियो नेपालमा । पाँच क्लास पढ्दादेखि वासुदेव मुनालले सञ्चालन गर्ने बालकार्यक्रममा कविता भनेको छु ।

१०. नेपाली साहित्य र अमेरिकी साहित्यबिच कस्तो अन्तर पाउनुहुन्छ ?

अहिलेलाई जवाफ थाँती राखेँ । अमेरिकी साहित्यको गहन अध्ययनपछि नै कुनै दिन यो प्रश्नको उत्तर दिनेछु ।

११. उत्कृष्ट साहित्यको मानक के होला जस्तो लाग्छ ? के पुरस्कार प्राप्त कृति उत्कृष्टताको प्रमाण हो ?

पाठकको मन र मस्तिष्कमा नबिर्सने गरी बस्ने कृतिहरू नै उत्कृष्ट साहित्य हो भन्ने मलाई लाग्छ । कतिपय कृतिहरू पुरस्कार प्राप्त हुँदैमा त्यो उत्कृष्ट हुन्छ भनेर म चाहिँ मान्दिनँ ।

१२. तपाईँलाई मन परेको पुस्तक ?

स्वर्गीय जगदीश घिमिरेको “अन्तर्मनको यात्रा” मेरा लागि उत्कृष्ट कृति हो । धराबासीको शरणर्थी र आधा बाटो पनि मैले जीवनमा नबिर्सने कृति हो । जीवनमा मेरा धेरै प्रश्न र कौतुहलतालाई शान्त बनाउने पुस्तक चाहिँ परमहंस योगानन्दको अटोबायोग्राफी “योगी कथाअमृत” हो ।

१३. साहित्यमा अझै पनि नेपाली महिलाहरूले खुलेर लेख्न सक्ने स्थिति छैन । खास गरी यौन मनोविज्ञानमा महिलाहरूद्वारा कमै कथा, उपन्यास आदि लेखिएका छन् । यो भनाइ सही हो जस्तो लाग्छ ?

हो बिल्कुल सही हो । यो बार र बन्धन तोडिँदै जानुपर्छ अब ।

१४. नेपालमा महिलाहरूमाथि एक किसिमको अदृश्य नियन्त्रण कायम गरिएको हुन्छ जसले गर्दा उनीहरूले खुलेर लेख्न सक्दैनन्। यो भनाइ सही हो जस्तो लाग्छ?

सही हो, धेरै हदसम्म । सब बन्धन तोडेर लेख्नेले लेखिरहेका पनि छन् तर औँलामा गन्न सकिने मात्र छन् । घर, व्यवहार, इष्टमित्र,  नाता सम्बन्धले महिला मात्र होइन पुरुषलाई पनि अंकुश लगाएको हुन्छ । बढी नियन्त्रण चाहिँ महिलामाथि छ ।

१५. साहित्य आफ्नो सन्तुष्टिका लागि लेखिने हो वा कुनै मुद्दा वा समाजोपयोगी विषयमा लेखिने हो ?

दुवै हो । कुनै मुद्दा वा समाजोपयोगी विषयमा लेख्न पनि त आफ्नो मनले स्वीकार गर्नुपर्छ । आफू सन्तुष्ट नहुने हो भने कलम कसरी चल्छ र ?

१६. नेपालमा पुस्तकहरू बिक्री राम्रो गरी हुन नसक्ने स्थितिका लागि कसलाई दोषी मान्नुपर्ला ?

पहिलो साहित्यिक पुस्तक प्रकाशनको मापदण्ड तोकिनुपर्छ । च्याउ उम्रेसरि बजारमा आएका स्तरहीन कृतिले पाठकहरूमा नैराश्य बढाउँछ र पुस्तक किन्न मन नलाग्ने हुन्छ । अर्को, नेपाली बजारको बिक्रीवितरण व्यवस्थापन अव्यवस्थित छ । प्रचारप्रसारको कमीले पनि पढिनुपर्ने किताब पसलमै थन्किएका छन् ।

१७. तपाईँ एक सफल व्यवसायी पनि हो । अमेरिकामा तपाईँको आफ्नै स्वतन्त्र व्यापार छ । यसै सन्दर्भमा नेपालमा एउटा भ्रम के छ भने, अमेरिकामा पैसा कमाउन सजिलो छ। यो यथार्थमा सत्य हो वा भ्रम हो?

केही वर्ष यतादेखि व्यापारमा संलग्न म एक सामान्य व्यवसायी हुँ । अमेरिकामा अवसर र अप्सनहरू छन् । त्यसलाई समाउन भने सक्नुपर्छ। आफ्नो मेहनत, लगन, सुझबुझ र इमानदारीविना पैसा कमाउन अमेरिका मात्र होइन, कहीँ पनि सजिलो छैन ।

१८. आर्थिक रूपमा तपाईँ एक सक्षम व्यक्ति हो । अन्य महिलाहरूलाई पनि आर्थिक रूपमा सक्षम हुन केकस्तो सल्लाह दिनुहुन्छ ?

आफूभित्र आँट र अठोट चाहिन्छ । च्यालेन्ज र प्रतिस्पर्धासँग लड्नु, भिड्नु, सक्नुपर्छ । आत्मविश्वासका साथ अगाडि बढे सफल भइन्छ ।

१९. तपाईँले पछिल्लोपटक पढ्नुभएको पुस्तक कुन हो ?

हरिहर विरहीको “आगो निभेको छैन” ।

२०. केही अनुभव साझा गर्न बाँकी छ कि ?

यो अवसरका लागि हार्दिक आभार व्यक्त गर्दछु साहित्यपोस्ट र विश्वराज अधिकारीजीमा ।