पुरुषोत्तम उपाध्याय दाहाल (असम)

लगभग सत्तरी वर्षअघि
बुबा, बहिनी भेट्न जाँदा
कोसेली आँप लिएर जानुभएको ।
भान्जाभान्जीहरूले
मामाले ल्याएको पापा भनेर
खुब रमाएर खाए आँप
कोया फ्याँकिदिए बारीमा
उम्रियो आँपको बोट ।

अहिले प्रकाण्ड भएको छ रुख
निकै चराचुरुङ्गीहरूले हुर्काए बच्चा
लगाए गुँड, रमाए रुखमा
निरन्तर, अविरल ।

म आज त्यही रुखको फेदमा छु
न बुबा, न फुपुदिदी, न भान्जाभान्जी,
न त्यो घर! फगत एक्लो रुख!
ग्लोबेलाइजेसनको जमाना
कोही सात सागर तरेर नदी पार
कोही कहाँ, कोही कता
सात दशकमा सबै लाखापाखा
म फगत हेरिरहेको छु
सम्झिरहेको छु
बुबा भाइटीका लाउन
सापट लिएर जानुभएको
बहिनी भेट्न ।

आँपको  रुख बोल्दैन
मेरो आन्तरिक भावना कसरी भनूँ
न जल चढाउनु, न तोरण बाँध्नु
दाजुबहिनी भेट्न जाँदा
सन्जोगले उम्रिएको ऊ
मानौँ मायाँको एक उपहार ।

बाटो बन्दै छ त्यहाँ
काटिन्छ रे अब ऊ
मसँग अब एउटा
फोटो मात्र रहन्छ, स्मृतिको पोको
आयो याद बोकेर फेरि
भाइटीका! अनि आँपको रुख ।