शङ्कर शर्मा (डुवर्स)

बाबा शैलसमान हुन् जनक हुन् साक्षात् तिनी ईश्वर
त्याग्छन् भोगविलास नित्य तिनले सन्तानका खातिर
ब्रह्मा विष्णु महेश हुन् भुवनमा सन्मार्ग देखाउने
आफ्ना चाहहरू भुलेर जगमा सन्तान हुर्काउने ।।१।।

बाबा हुन् घरका अखण्ड बलिया खम्बा र भित्ता पनि
छैनन् सम्मुख ती भने सहजले हेप्छन् झिँगाले पनि
बाँधाविघ्न् हटाउँदै खलकको रक्षा गरी हिँड्दछन्
मेरो पुत्र भनी सदैव दिलले मायाँ गरी बाँच्तछन् ।।२।।

सारा उज्ज्वल शुभ्र रश्मि जगका बाबाहरू हुन् यिनै
छैनन् अन्य कुनै स्वरूप भवमा खोजी नहिँड्नू कतै
सारा दिव्य र भव्य रूप जति छन् बाबा भनी सम्झिनू
सेवा भाव म गर्छु नित्य मनले भन्दै सदा कल्पिनू ।।३।।

साना तुच्छ विचार छन् यदि भने झट्टै सबै त्याग लौ
बाबा हुन् भगवान्‌समान भवमा पूजा सबैले गरौँ
बाबाको महिमा बखान सजिलै होलान् कहाँ काव्यमा
सारा पुष्पपराग वागभरिका फुल्छन् सदा भावमा ।।४।।

बग्दै दिव्य अनेक छाल ललिता पुग्छन् सबै सागर
खुल्छन् व्योम सदा छरेर पसिना देख्छौँ सदा सुन्दर
यात्रा जीवनको सदैव सजिलो बन्छन् बने सज्जन
सारा दुःख र कष्ट नित्य जगको भोग्छन् सदा दुर्जन ।।५।।

सारा वृक्ष लता उजाड बनमा हुन्छन् सदा अग्निमा
तारा चन्द्र र सूर्य तीव्र गतिमा हट्छन् त्यहाँ व्योममा
त्यस्तै हाल हुनेछ हेर जनको बाबा गुमाएपछि
‍आँखा जीर्ण हुनेछ नेत्रजलले बाबा बिलाएपछि ।।६।।

शङ्कर शर्मा

पत्थरझोडा डुवर्श।।