म यहाँ नेपालको कानुनको व्याख्या गर्ने छैन । सानैदेखि सुन्दै आएको हुँ ‘नेपालको कानुन’ दैवले जानून्, अझ त्यसमा थपिदिएको छु  ‘नेपालको कानुन जनताले मानून् नेताले नमानून्’ । यहाँ कानुन शब्द नेपालको प्रहरी प्रशासनको नियमकानुनको सन्दर्भमा राखिएको हो । केही साताअघि एउटा समाचार कान्तिपुरले छाप्यो । त्यो समाचारको शीर्षकमा आएको नामले नै मलाई आकर्षित पाऱ्यो । ’डान्सर’ सुशान्त खत्रीमाथि प्रहरीबाट दुर्व्यवहार भएका बारे समाचार छापिएको थियो । उनलाई ठमेलको एक क्लबबाट बाहिर निस्कने बेलामा प्रहरीले झापड लगाउँदै हिरासतमा राखेको समाचार छापिएको थियो । आजको विश्व सबैको मोबाइलभित्र छ । विश्वमा भए-गरिएका घटनाहरू र मनोरञ्जन गर्ने माध्यमहरूबाट आजका युवाहरू भलिभाँती परिचित छन् । त्यसमाथि टिकटक र युट्युबको बढ्दो प्रयोगले प्रतिभाको परिचयलाई विश्वभरि फैलाइदिएको हुन्छ । हामीले प्रशान्त तामङ्गलाई जिताउन तन-मन-धन दिएर लाग्यौँ । उनले जिते पनि । त्यसपछिका दिनहरूमा विश्वभरिका साङ्गितिक र नृत्य प्रतियोगितामा धेरै नै नेपालमूलका र भारतीय नेपालीहरूले उपस्थिति देखाएर आफ्नो प्रतिभाका माध्यमबाट हामी सबैको मन जितेका छन् । अमेरिकन आइडलका नेपाली प्रतिस्पर्धी अर्थर गन (दिवेश पोखरेल) लाई जिताउन समूह नै बनाइएको थियो ।

डा. गोविन्दसिंह रावत (टोरन्टो)

लिटल च्याम्पमा पुगेका प्रीतम आचार्य र आयुष केसीलाई जिताउन नेपालीहरू चरैतिरबाट लागिपरेका थिए । रुपन्देही जिल्लाकी टेरिया मगरले २०१४ को डान्स इन्डिया डान्स लिटल च्याम्प नै जितेर नेपाललाई चिनाएकी थिइन् । भर्खरै समाप्त भएको सुपर डान्सर सिजन चारका परी तामाङको नृत्य प्रतिभा देखेर जजहरूले समेत जिब्रो टोक्नुपरेको थियो । त्यस्तै नेपालबाहिर नेपाली भएर परिचय दिने ‘कर्टिस वाटर्स’ का नामबाट परिचित बिस वर्षीय अभिनव बस्ताकोटीले २०२० मा निकालेको आफ्नो पहिलो म्युजिक अल्बमबाट विश्वभरि नै ख्याति पाइरहेका छन् । उनलाई भोलिको जस्टिन बिबर पनि भन्न थालिएको छ । यस्ता प्रतिभाहरूको परिचयसँग नेपाली शब्द जोडिएपछि हामी पनि गाँसिन पुग्छौँ जस्तो लाग्छ मलाई र त्यसै खुसीले गद्गद हुने गर्छौँ ।

हामी नेपाली पहाडी गोरेटामा हल्लिँदै, ढल्कँदै, लच्किँदै, मच्किँदै हिँड्ने हामीमा जन्मजात नृत्यको गुण आएको हुनुपर्छ । त्यसमा पनि हामी नेपालीहरू रमाइलो गर्नुपऱ्यो भने नाचगान गरिहाल्ने गर्छौँ । अनि रमाइलो गर्ने उपायहरू खोजिरहेका हुन्छौँ । त्यसैले सात समुद्रपारि मनाइने हलोइनलाई नेपालीपनमा ढालेर त्यसलाई पनि मनाउने गर्छौँ । गत आइतबार ३१ अक्टुबरका दिन सुशान्त खत्री साथीहरूसँग हलोइनको रमाइलो गर्न ठमेलको क्लब पुगेका थिए । क्लब बन्द भएपछि त्यहाँ बिल तिर्ने प्रसङ्गमा सुशान्तको ख्यातिबाट परिचित कुनै फ्यानले बिल तिरिसकेको बुझेपछि सुशान्त बाहिर निस्कन खोज्दा प्रहरी त्यही बेला आएर क्लब बन्द भयो भनेर सबैलाई बाहिर निकाल्न थाल्यो । सुशान्तले मेरो बिल नतिरेको भए तिर्छु भन्दै भित्र सोध्न जान खोज्दा निजलाई कठालो समातेर बाहिर घिर्सादै हातमा जोडले समातेर तानेपछि आफूलाई दुख्यो भन्दा एक झापड समेत हानेर महानगरीय प्रहरी परिसर सोह्रखुट्टेको खोरमा एक घण्टा राखिएको थियो । त्यसक्रममा आफूले फोन गर्छु भन्दा पनि नपाएको भन्दै सुशान्तले यस घटनालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

नेपालको कानुनले कुनै पनि व्यक्तिलाई हिरासतमा लिएपछि उसले (व्यक्ति) आफन्तलाई वा आफ्नो वकिललाई खबर गर्न पाउने व्यवस्था रहेको छ । प्रहरी प्रशासनलाई यसबारेमा थाहा नहुनु भनेको शिक्षा वा तालिमको कमी रहेको अनुमान लगाउन सकिन्छ । एक जना आम नागरिकले पाउने सुविधा (अधिकार) एक जना ख्याति कमाएका व्यक्तिले पाउनुपर्ने सुविधा बराबरी हुनुपर्छ । नृत्यप्रस्तुतिमा नयाँ आयाम थप्दै आफ्नो बेग्लै पहिचान बनाउन शाब्दिक नृत्यलाई कलात्मक प्रस्तुतिका माध्यमबाट पस्केर ख्याति कमाएका नेपालीमूलका सुशान्त खत्रीलाई नचिन्नु प्रहरीको गल्ती हैन तर उनले आफ्नो परिचय दिएर पनि प्रहरीले हप्काउनु र नसुन्नु भनेको प्रहरी प्रशासनमा मानवअधिकारसम्बन्धी शिक्षाको कमी हो । आजको मितिमा सुशान्त खत्री नेपालीहरूको शान, मान र पहिचान हुन् । सुशान्तको फेसबुक, इन्स्टाग्राम र युट्युबलाई करोडौँ नृत्यप्रेमी जनसमुदायले पछ्याउने (फोलो) गर्छन् तर नेपालको राजधानीमा रहेको सोह्रखुट्टेका प्रहरीले उनको नाम नसुने पनि आफ्नो परिचय दिएपछि मानवताका लागि फोन गर्न दिनुपर्ने हैन र ? उनको नामलाई आफ्नो हातमा रहेको मोबाइलबाट गुगल गर्न सकिँदैन र ? तर त्यसो भएन । किन ?

को हुन सुशान्त खत्री ?

काठमाडौँमा जन्मेका २७ वर्षीय पाँच फुट तीन इन्च, पचास किलो वजन रहेको, छाती ४२ र कम्मर ३५ भएको एउटा छोटो कदको सेतो वर्ण भएको चस्मा लगाउने नेपाली ठिटोको नाम सुशान्त खत्री हो । आजको मितिमा भारतमा ख्याति पाउँदै गएको नृत्यकार तथा नृत्य संयोजकको नाम हो सुशान्त खत्री । उनले आफ्नो एउटा प्रस्तुतिको लागि भारतमा तीसदेखि पचास हजार भारु लिने गर्छन् । आजको सामाजिक सञ्जाल युट्युब, फेसबुक, इन्टाग्राममा उनका लाखौँ फोलोवर्सहरू छन् । सधैँ आफ्नो नृत्यको नयाँ-नयाँ भिडियो राख्दै आएका सुशान्तको नृत्यको विशेषता भनेको गीतको शब्दहरूलाई सूक्ष्मरूपमा टिपेर त्यसलाई अङ्गसञ्चालनको प्राधान्यका आधारमा सङ्गीतको ताल, लय र भावमा आश्रित भएर नृत्य प्रस्तुति गर्ने रहेको छ । बाल्यकालदेखि नै नृत्यलाई आफ्नो पहिचान बनाउन खोज्दै आएका सुशान्तले काठमाडौँलाई आफ्नो कर्मथलो बनाउने प्रयास गर्दा असफल भएपछि भारतको महानगरी मुम्बईमा आएपछि मात्रै सफलता पाएका थिए ।

प्रारम्भमा प्रत्येक दिन सात किलोमिटर हिँडेर नृत्य सिकेका सुशान्तले ६ महिनासम्म विनाशुल्क नृत्य सिकाएर आफूलाई अझ परिपक्व बनाएपछि पहिलोपटक २०१३ मा ‘डान्सिङ्ग सुपरस्टर’ नृत्य प्रतियोगितामा सहभागी भएर आफूलाई परिचित गराउने मौका पाए । त्यसपछि पहिलोपटक ‘डान्स प्लस’ नृत्य प्रतियोगितामा असफल भएपछि फेरि दोस्रोपटक २०१६ मा प्रतियोगी बन्ने मौका पाए । ‘डान्स प्लस’ को दोस्रो शृङ्खलामा तेस्रो उत्कृष्ट प्रतियोगी बन्न सफल भएका सुशान्तको विशेष प्रकारको आफ्नै नृत्य शैली भएको प्रतिभाबाट प्रभावित भएर ‘डान्स प्लस’ का मुख्य निर्णायक र सञ्चालक रेमो डिसुजाले उनलाई आफ्नो नृत्यप्रधान चलचित्र ‘स्ट्रिट डान्सर’ मा अभिनय गर्ने मौका पनि दिए । बलिउडका प्रसिद्ध कोरियोग्राफर (नृत्यप्रशिक्षक) रेमो डिसुजाले सडकको प्रतिभालाई मञ्चमा पुर्‍याएर ख्याति दिलाउने गरेको बारे धेरै नै चर्चा भएको छ । उनी आफैँ पनि चलचित्रमा समूह नृत्य गर्दा कालो वर्ण भएकाले पछाडि रहेर नृत्य गर्दै आज विश्वमा नै एउटा परिचित नाम बन्न पुगेका छन् । चलचित्र निर्माता, निर्देशक, नृत्य परिकल्पक, नृत्य प्रतियोगिता प्रस्तोता, नृत्य निर्णायक धेरै उपनाम पाएका रेमो डिसुजाले सुशान्तको नृत्यमा गीतको बोल र सङ्गीतलाई शाब्दिक परिकल्पना गर्ने विशेष क्षमता रहेको देखेका छन् । त्यसैले अहिले सोनी टेलिभिजनबाट प्रसारण भइरहेको ‘डान्स प्लस’ छैटौँ शृङ्खलामा पनि मेन्टरका रूपमा राखेर अरू नयाँ प्रतियोगीलाई सिकाएर सँगै प्रस्तुतिमा सहभागी बनाउँदै आएका छन् ।

मेरो बुझाइमा सुशान्त नृत्यका रचनाकार हुन् । उनी गीतको शब्द र सङ्गीतको ताल बुझेर नृत्यको परिकल्पना गरेर आफ्नो प्रस्तुतिले एउटा गीतलाई गीतिनाटक बनाएर देखाउने गर्छन् । नृत्यले दर्शकलाई  हसाउन र रुवाउन पनि सक्छ भन्ने कुरा बुझ्न उनको नृत्य हेर्नुपर्छ । उनले गीतका शब्द शब्दहरूसँग खेलेर, सङ्गीतका लय, ताल र सुरलाई खेलाएर अङ्गसञ्चालनका माध्यमबाट आफ्ना प्रस्तुति दिने गर्छन् । यही नै उनको विशेषता हो । उनी नृत्य परिकल्पक हुन् । मुम्बईमा आफ्नो प्रतिभाबाट नृत्य प्रशिक्षण दिँदै आएका सुशान्तको नृत्यको शैलीलाई लिरिकल हिपहप भनिन्छ । उनले स्लो मोसन र बिब्याइङ्ग अर्थात् ब्रेक डान्स शैलीलाई पनि अनुसरण गर्दै आएका छन् । उनको नृत्यको विलक्षण प्रतिभाले गर्दा उनलाई नृत्यका विभिन्न पगरीले शुषोभित गरिएको छ ।

काठमाडौँको ‘डान्स माटाज एकेडेमी’ का सदस्य रहेका सुशान्त सामाजिक सञ्जालमा सक्रिय भएर लागेका छन् । करोडौँमा फलवर्स रहेका सुशान्तलाई नृत्यसँगै गीतमा पनि रुचि रहेको छ । सुशान्तको ‘सानुमाया’ गीति भिडियो २०१९ मा निस्किएको थियो र यसको दर्शकको सङ्ख्या पन्ध्र लाख पुगिसकेको छ । उनले वर्षमा पचास लाख रुपियाँको आमदानी गर्छन् ।

यस्ता प्रतिभावान् नेपाली सेलिब्रिटी सुशान्त खत्रीलाई नेपाली प्रहरीले नचिन्नु बेग्लै कुरा हो । सबैको आआफ्नै सोख हुन्छ तर कुरा नै नबुझी एउटा आम नागरिकलाई पनि झापड हान्दै दुख्यो भन्दा पनि बेस्सरी हातमा समातेर खोरमा राख्नु कत्ति को नीतिसम्मत हो । उनको हात नै उनको प्रतिभाको परिचय हो । हातबाटै नृत्यको प्रस्तुति हुने गर्दछ । हातबाटै शब्दका भावहरू नृत्यमा पोखिने गर्दछन् । हातबाटै सुर र तालले लयको भाव मुखारित गर्ने गर्दछ । भारतबाट तिहार मनाउन र परिवार भेट्न नेपाल आएका सुशान्तले साथीहरूसँग रमाइलो गर्न खोज्दा अमानवीय व्यवहारको सामना गर्नुपऱ्यो । उनी आफ्नो कर्मथलो फर्केर गए पनि जन्मथलो फेरि आउनेछन् । विगत बाह्र वर्षदेखि भारतमा बस्दै आएका सुशान्तले भारतमा गएर नेपालको नाम राखेका छन् तर उनले अन्त्यमा के पाएँ – झापड ! यस्तो दुर्व्यवहारविरुद्ध कानुनी कदम चाल्ने सोच बनाएका सुशान्तको कथा फेरि दोहोरिनु हुँदैन । उनी आजका युवाहरूको प्रेरक हुन्, रोड मोडल हुन् ।