साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

तिहार – एउटा धार्मिक सांस्कृतिक परम्परा

Chovar Blues Mobile Size

नेपाली भनौँ या भारतीय गोर्खाली, हाम्रा जनगोष्ठीको अत्यन्त महान् उत्सव अथवा चाड हो तिहार I हामीहरूले मनाउने तिहार धार्मिक, सांस्कृतिक उत्सव हो I हिन्दू समाजले मनाउने सबै जसो चाडपर्वहरू तिथिको आधारमा पालन गरिन्छ I ठिक त्यसै गरी शरद् ऋतुमा मनाउने नवरात्रिको समयमा शक्तिकी प्रतीक दुर्गा पूजा अथवा दसैँको एक पक्षपछि धुमधामका साथ तिहार पर्व मनाइन्छ I हाम्रा जनगोष्ठीले मनाउने उत्सवपर्वहरू कृषिसंग जडित छन् I साधारणमा हिन्दू चन्द्रमासिक पञ्जिकाअनुसार हाम्रा जाति, जनगोष्ठीले मनाउने चाडपर्वका दिनहरू निर्धारित हुन्छन् I तिहारको समयमा आआफ्ना घरदेखि खेतसम्म दियो बाल्ने चलन उहिल्यैदेखि नै चलिआएको हो I त्यसैकारण तिहारलाई दीपान्विता अथवा उज्यालाको उत्सव पनि भनिन्छ I
तिहार भनेकै उत्सव हो I कार्तिक महिनाको कृष्ण पक्ष त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन तिहार पर्व पालन गरिन्छ I पाँचदिने तिहार उत्सवमा शास्त्रीय परम्पराअनुसार बहिनी यमुनाको निम्तो स्वीकार गरी कार्तिक महिनाको त्रयोदशी तिथिका दिन सूर्य देवताका पुत्र यमराज यमुनाका घरमा पुगेका थिए I यमराज उनकी बहिनी यमुनाका घरमा कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन पाहुना बसेका थिए । त्यसैकारण यी पाँचदिनलाई यम पञ्चक पनि भनिन्छ । बहिनी यमुनाका घरमा पाहुना बसेको समयमा यमुनाको भ्राताप्रति रहेको आदरसम्मानले यमराज अति प्रसन्न भएका थिए । कार्तिक महिनाको शुक्ल पक्षको द्वितीया तिथिका दिन यमराज बहिनी यमुनासँग बिदा लिई स्वगृह जाने बेलामा बहिनीलाई वरदान दिने कुरो गर्दा प्रत्युत्तरमा यमराजकी बहिनी यमुनाले प्रत्येक वर्ष यस दिन उनका घरमा आउन यमराजलाई अनुरोध गर्छिन् । साथै दाजुबहिनीको प्रेम धरतीमा एक दर्शन बयोस्, भ्राताको श्रीवृद्धि हवस् र दीर्घजीवी रहने आशिष् यमुनाले यमराजसँग मागेकी थिइन् । यमराजले पनि तथास्तु भनी पवित्र मनले भ्राताहरूको सेवा-श्रद्धा गर्ने-गराउने दिदीबहिनीहरूको श्रीवृद्धि हुनका साथै उनीहरूको कृति विश्वभरि टल्कियोस् भनी आशीर्वाद दिएर यमुनासँग बिदा लिई स्वगृह गएका थिए । यस परम्परालाई उत्सवका हिसावले पालन गरी आएका हुनाले “तिहार” मानिएको भन्ने पनि अनुमान गर्न सकिन्छ । तिहारले भ्राताभगिनीको पवित्र स्नेह र आत्मीयता अधिक वृद्धि गराउनका साथै मानव र जीवजन्तुको विशेषता सँगै पूजाको चित्र पनि स्पष्ट पारेको छ I

सामाजिक महत्त्व :
तिहार एउटा सांस्कृतिक पक्ष हो I कृषकवर्गले जति बेला खेतदेखि फसल घरमा ल्याउँछन् त्यो बेला उनीहरूको बिचमा आनन्दको लहर छाएको हुन्छ र यो आनन्द, यो खुसी भगवान् प्रदत्त भनि मानेर भगवान्‌लाई कृतज्ञता ज्ञापन गर्न पूजाअर्चना गर्ने प्रथा पनि विद्यमान छ I शरद् उत्सवमा दुर्गा, लक्ष्मी, काली आदि विभिन्न रूपमा देवीको पूजाअर्चना गर्नुका साथै तिहार पर्वसँग सङ्गति राखी विभिन्न लोक संस्कृति परिवेशन गर्ने चलनले आनन्द र खुसी अधिक गुण बढेको हुन्छ I

तिहार अथवा दीपावली भारतवर्ष र नेपालउप्रान्त मरिटरियास, मलेसिया, इन्डोनेसिया, म्यानमार, सिङ्गापुर, श्रीलङ्का, जापान, थाइल्यान्ड, दक्षिण आफ्रिका, केनिया, तान्जानिया, ब्रिटेन, अस्ट्रेलिया, त्रिनिदाद एन्ड टोबागो, गुयाना, फिजी, पाकिस्तान इत्यादि विश्वका विभिन्न देशहरूमा एउटै समयमा मनाइन्छ ।

तिहार उत्सवका रूपहरू :
काउडी तिहार अथवा काग तिहार – कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिका दिन काउडी तिहार अथवा काग तिहार हिसाबले पालन गरिन्छ । काउडीले फसल नष्ट गर्ने किराफट्याङ्ग्रा खाएर प्रत्यक्ष या परोक्षरूपमा खेतको उब्जाउ फसल जोगाउने काम गर्छ I काउडीलाई यमराजको प्रिय भक्त हुनाले यमराजको दूत भएर काम गर्छ भन्ने विश्वास पनि छ । त्यसकारणले कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिका दिन विशेष गरी काउडीलाई शुद्ध र चोखो खाद्यान्न खुवाउने प्रथा प्रचलित छ ।

कुकुर तिहार अथवा नर्के चतुर्दशी – तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण पक्ष चतुर्दशी तिथिका दिन गृहस्थको प्रहरी हिसाबले आफ्नो दायित्व निर्वहन गर्ने कुकुरलाई पनि सम्मान गर्दै कुकुर तिहार मनाइन्छ I यस दिनलाई नर्क चदुर्दशी पनि भनिन्छ I कुकुरलाई पनि यमराजको प्रिय भक्त भनेर विश्वास गरिन्छ र कुकुरले गृहस्थको रक्षा गर्नुका साथै केही अप्रिय घटना हुने सङ्केत दिएर प्रत्यक्ष अथवा परोक्ष रूपमा गृहस्थलाई सहाय सहयोग गरी आएको छ I मालिकी अधीनमा रहेर मालिकको आज्ञापालन गर्ने कुकुर भैरवको वाहन पनि हो I सबै कुरालाई समेटेर कार्तिक कृष्ण पक्षको चतुर्दशी तिथिका दिन कुकुरलाई क्यातुके फूलको माला लगाई चोखोमिठो खाद्य खान दिने प्रचलन छ I

sagarmani mobile size

गाई तिहार अर्थात लक्ष्मी पूजा – हिन्दू समाजमा गाईलाई लक्ष्मीको रूपमा मानिएको छ I धनकी अधिष्ठात्री देवी लक्ष्मी ऐश्वर्यकी प्रतीत हुन् I कार्तिक महिनाको अमावस्याको राती दीप प्रज्वलन गरी अमावस्याको अन्धकारमा उज्यालो आलोकित गरी लक्ष्मीलाई आह्वान गरिने प्रथा आदिम युगदेखि नै प्रचलित छ I यस्ता परम्पराले दुष्टको कुटिल भावना नाश पारी अन्तर्निहित चेतना शक्ति जाग्रत गरी समाजको हित साधना गर्ने प्रयास पनि भन्न सकिन्छ I गाईलाई लक्ष्मीको प्रतीक मानेर बिहान गाईलाई धोई दीपधूप पूजन गरी टीका लगाई चामलका पिठाले पकाएको बाबर आदि खाद्यान्न खुवाइने परम्परा आदिम युगदेखि नै चलिआएको हो । साँझमा घर र खेतमा दीप बालेर विशेष रूपमा धनकी अधिष्ठात्री देवी लक्ष्मीको आह्वान गरिन्छ । कार्तिक अमावश्यामा “तमसो मा ज्योतिर्गमय” भन्ने मन्त्र उच्चारण गरी अँध्यारोलाई पन्छाई आलोकले विकसित भएर आत्मिक सुख-शान्तिका निम्ति प्रार्थना गरिन्छ I तसर्थ यस दिन गाई तिहार भनिन्छ I राति गरगहना, अन्य सम्पत्ति पूजा स्थलमा राखी सुखशान्तिका लागि लक्ष्मीजीको पूजा गरिने प्रथा पनि प्रचलित छ I अर्को एउटा प्रवादअनुसार श्रीरामचन्द्रले चौध वर्ष वनवास सम्पूर्ण गरेर रावन आदि राक्षसहरूको नाश गरी कार्तिक अमावस्यका दिन अयोध्या आएर राज्यारोहण गरेको खुसीमा अयोध्यावासीले दीपप्रदीप बालेर आनन्द मनाएका हुनाले यस दिन दीपावली हिसाबले मनाइएको हो I
यस दिन नेपाली आदिकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको हुनाले महान् कविको जन्म उत्सव पनि पालन गरिन्छ I

गोरु तिहार अथवा गोवर्धन पूजा – तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिका दिन हल गोरुको पूजा गरिन्छ I अघिल्लो दिन गाई पूजा गरेकै पद्धतिले नै हल गोरुको पनि पूजा गरिन्छ I अर्कातिर, गोवर्धन पर्वत एउटा पर्वतको नाम हो I गकुलमा बसोबास गर्ने ससूह गोकुलवासीले इन्द्र देवताको आराधना गर्दथे । परन्तु, गोकुलवासीले इन्द्र देवतासँग केही प्राप्त गर्न समर्थ भएका थिएनन् । भगवान्‌ श्रीकृष्णले धेरै दिनदेखि गकुलवासीको यस्तो धर्मपारायण परिलक्षित गरिरहेका थिए I एक दिन श्रीकृष्णले गोकुलवासीलाई उद्देश्य गरी गोकुलवासीले श्रद्धापूर्वक इन्द्रलाई आराधना गर्दा पनि ईन्द्र देवसँग केही नपाएको कुरो व्यक्त गरी इन्द्र देवताको बदलामा खनिज, घाँस, खाद्य पदार्थ, पानी, दाउरा आदि प्रकृतिको उपज दिने गोवर्धन पर्वतको पूजाआराधना गर्न आह्वान गर्नुहुन्छ I श्रीकृष्णको आह्वानअनुसार समूह गकुलवासी एकजुट भएर गोवर्धन पर्वतको पूजा-आराधना गर्न थाले I त्यही समयदेखि गोवर्धन पूजाको प्रथा चलेको हो भन्ने प्रवाद छ I

भ्राता द्वितीया अथवा भाइटीका – तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल पक्षको द्वितीया तिथिलाई भ्राता द्वितीया भनिन्छ I भ्राता द्वितीयाका दिन दिदीबहिनीहरूले दाजुभाइलाई सेवाश्रद्धा गरी दीर्घायु र श्रीवृद्धि कामना गरी दाजुभाइको निधारमा रङ्गीचङ्गी टीका लगाई, उपहार दिई स्वादिष्ट खाद्यान्न खान दिई आशिष् माग्छन् I तदनुरूप प्रथाले दाजुभाइले पनि दिदीबहिनीको निधारमा नाना रङ्गी (रातो रङ्ग बाहेक) टीका लगाई आशिष्‌सहित दिदीबहिनीको सबै प्रकार श्रीवृद्धिको कामना गरी दक्षिणा र वस्त्रादि उपहार स्वरूप दिने प्रथाको प्रचलन छ I

सांस्कृतिक उत्सव तिहार :
लक्ष्मी पूजा अर्थात् दीपावलीका दिन नीतिपूर्वक राति लक्ष्मी पूजा गरेर मातृगण, चेलीबेटी, छोरीबुहारी सबै मिलेर घर-घर गई हर्षोल्लासका साथ भैली गाउने, नाचगान गर्ने आदि गर्दै आफ्नो लोक संस्कृति परिवेशन गरी गृहस्थको कुशलमङ्गल कामना गर्दै आशीर्वाद दिने चलन छ I ठिक त्यसै गरी पुरुषवर्गले पनि दोस्रो दिनदेखि भ्राता द्वितीयाका दिनसम्म घर-घर गई देउसी खेली नाचगान गर्ने आदि गर्दै आफ्नो लोकसंस्कृति परिवेशन गरी गृहस्थको कुशलमङ्गल कामना गर्दै आशीर्वाद दिने परम्परा अनादि युगदेखि नै चलिआएको हो I गृहस्थले पनि देउसीभैलीको टोलीलाई आदरका साथ निम्त्याएर यथाशक्ति दानदक्षिणा दिई आशीर्वाद ग्रहण गरी देउसीभैली खेल्न आउनेहरूलाई श्रद्धाको साथ बिदा गर्छन् I

वेददीप उपाध्याय गौतम
मधुपुर, विश्वनाथ चारीआली

 

प्रतिक्रिया
Loading...