साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

साहित्यको फाँटलाई मलिलो पार्ने प्रेरक व्यक्तित्व – हरि गजुरेल

Chovar Blues Mobile Size

हरि गजुरेल । चिनजान खासै थिएन । हुनु पनि कसरी ? असमिया, हिन्दी, बङ्ग्ला, अङ्ग्रेजी र भेट्दा नेपाली भाषाका कथा, उपन्यास आदि नपढ्ने मान्छे पनि होइन म । पढ्थेँ म केवल मनोरञ्जनका लागि । साहित्य भन्ने शब्द वा यसको महत्त्वबारे जानकारी थियो शून्य । भन्नुपर्दा साहित्यमा प्रवेश पनि ढिलै भएको हो मेरो । त्यसैले साहित्यकारहरूबारे जान्ने साह्रै रुचि पनि थिएन । सानैदेखि चिनेका देखेका मेरै छिमेकी साहित्यकार लीलबहादुर क्षत्रीज्यूकै साहित्यिक परिचय वा भनौँ उनको देनबारे धेरै अघि केही जानेकै पनि थिएन । सुनेको थिएँ उपन्यास बसाइँ लेखेको भनेर । त्यो पनि पढ्न मलाई जुरेको थिएन । ला यो पुस्तक पढ् है भनेर दिने पनि त कोही थिएनन् । त्यति बेला खोजेर वा किनेर पढ्ने भन्ने त परैको सोच थियो । नेपालीबाहेक अन्य पुस्तकहरू गुवाहाटीको जिल्ला पुस्तकालयबाट ल्याएर पढ्ने गर्थेँ । कक्षा सातमा हुँदै म त्यस पुस्तकालयको सदस्य बनिएको थिएँ । एक हप्ताहमा दुईओटा किताब घर ल्याउन पाइन्थ्यो । साठी र सत्तरको दशकमा हाम्रो घर गुवाहाटीमा कलेज पढ्ने विद्यार्थीहरू भाडामा बस्ने गर्थे । मेरा बा पण्डित टीकाराम बराल सबैका परिचित अनि गुवाहाटी सहरमा घर पनि थियो ।

हरि गजुरेल

असमका विभिन्न ठाउँबाट गुवाहाटी आएर पढ्ने विद्यार्थीहरूले सुरक्षित र पढाइको राम्रो परिवेश भएको हाम्रो घरमा नै बस्न रुचाउँथे । पढाइको महत्त्व बुझ्ने पण्डितजीले सबैलाई प्रेरणा र प्रोत्साहन दिनुहुन्थ्यो । गुवाहाटीको संस्कृत विद्यालय मुनिकुल आश्रमसित पनि बाको राम्रो सम्बन्ध थियो । जे होस्, त्यस बेला मैले पुस्तक पाउने स्रोतहरूमा हाम्रा घरमा बसेर कलेज पढ्ने विद्यार्थीहरू पनि थिए । शरच्चन्द्र, प्रेमचन्द, अब्दुल मलिक आदि लेखकहरूका किताब सायद मैले त्यसरी पढेको थिएँ । नेपालीमा राक्षस राज्य, आतङ्क, स्वेता आदि तिलस्मी कथाहरू पनि मैले त्यति बेलै पढेको थिएँ । नेपाली लेखकहरूका पुस्तक पढ्न त्यति बेला जुरेको थिएन र साहित्यकारहरूबारे जानकारी पनि थिएन । गुवाहाटीमा भएकाहरू लीलबहादुर क्षत्री, लोकनाथ उपाध्याय चापागाईँ, नव सापकोटा, पद्म ढकाल, अनुराग प्रधान लगायत विष्णुलाल उपाध्याय, गीता उपाध्याय आदि केही साहित्यिकहरूलाई व्यक्तिगत रूपमा चिन्थें अनि अविनाश श्रेष्ठ र गोपालबहादुर नेपाली त मेरा दौंतरी नै थिए, त्यति मात्रै । गायन र अभिनयतिर मेरो रुचि थियो । कसले के के लेखे चासो थिएन ।

साँचो कुरा भन्नुपर्दा हरि गजुरेलको नाम मैले मेरो बिहे भएपछि सुनेको हुँ । मेरो बिहे पनि माझगाउँमा भयो । हरि गजुरेलको बिहे पनि माझगाउँ नै भएको रहेछ । मेरो ससुराली घर र उहाँको ससुराली घर एक-दुई घर वरपर । हाम्रो भेट पनि भएकै हो । साधारण परिचयको सीमाभित्र मात्रै तर उहाँका ससुराली घरका प्रायः सबैलाई म चिन्थेँ । फूलचन्द दाइ-भाउज्यू, जेठी बैनी हुनुभयो चिन्ते दिदी जसको बिहे अमिलीघाट निवासी मनोहर शर्मा दाइसित भएको हो । माइली बैनी दुर्गा दिदी हरि गजुरेलकी श्रीमती नै हुनुभयो, उहाँहरूको बिहे १९७३ को डिसेम्बरमा भएको हो । कान्छी साली शान्ति त मेरै दौँतरी हुन् अर्थात् मेरी श्रीमती दीप्तिकी साथी जत्तिकै दिदी । त्यस घरका सबैले मलाई मुक्ति ज्वाइँ भनेर नै सम्बोधन गर्ने गर्छन् । मेरी श्रीमती दीप्तिका हजुरबाका छोरीका सन्तानहरू हुन् फूलचन्द दाजुहरू, अर्थात् हरि गजुरेलका ससुराली खाल ।

मुक्तिप्रसाद उपाध्याय (सिलगढी)

चिन्ते दिदीको बिहे अमिलीघाटका मनोहर शर्मा दाइसित भएको हो भन्ने कुरा मैले भनिसकेँ । म स्कुल पढ्दादेखि नै उहाँलाई चिन्छु । किनभने मनोहर दाइ गुवाहाटी हाम्रै घरमा बसेर पढ्नुभएको हो । त्यति बेलाको गुवाहाटीको नेपाली साहित्यिक जमातका एक जना सक्रिय सदस्य । पल्टन बजार गोर्खा एम.ई. स्कुलमा पनि सेवा प्रदान गर्नुभएको हो भन्ने कुरा मेरो सम्झनाबाट हटेको छैन । हँसिलो अनुहार, मसिनो, मिठो उहाँको बोलाई मैले बिर्सेको छैन । अमिलीघाट उहाँको घरमा पनि गएको छु । अहिले उहाँका छोराहरूले बृहद्रूपमा गाई पालेर दुधको कारबार गर्छन् । गुवाहाटी र त्यसको सेरोफेरोमा उनीहरूले दुध, दही, घिउ, क्रिम आदिको आपूर्ति गर्छन् । हाम्रा धेरै युवाहरूले यसमा रोजगार पाएका छन् । स्वरोजगार गर्न सक्नु र अरूलाई पनि रोजगार उपलब्ध गराउन सक्नु ठुलो कुरा हो ।

हरि गजुरेलज्यू अत्यन्तै जाँगरिला, सहज, सरल अनि फर्साइला व्यक्तित्वका धनी हुनुहुन्थ्यो । सबैलाई आदर र मायाँ गर्ने व्यक्ति । भाषा, साहित्य, संस्कृति र जातिको संवर्धन र विकासप्रति उहाँ सचेत अनि समर्पित हुनुहुन्थ्यो भन्ने कुरा मैले भनिरहनु पनि पर्दैन । उहाँले ठेलीका ठेली पुस्तक प्रकाशन गराउनु भएन उहाँका केवल तीनओटा पुस्तक प्रकाशनमा आएको पाइन्छ । शब्द बटुल्दै (कवितासङ्ग्रह), विचार विमर्श (विचारात्मक निबन्ध सङ्कलन) अनि मान्छेको कथा खोज्दै (कवितासङ्ग्रह) । विशेषगरी उहाँ रमाउनुभयो भाषा-साहित्य सेवामा अनि जातिको उत्थानमा । त्यसैले उहाँ सबैका नजरमा आदरणीय र सम्माननीय बन्न पुग्नुभएको हो । उहाँले मलिलो पारेको साहित्यको फाँटमा धेरैले बिउ छरे अनि साहित्यरूपी फसल समाजलाई दिन सफल बने । उहाँबाट धेरैले साहित्यलेखनमा प्रेरणा र प्रोत्साहन पाए । उहाँकै अगुवाइमा धेरै पत्रपत्रिकाहरू मौलाए अनि झ्याँगिए । त्यसैले सन् २०११ मा अभिजमान स्मृति ट्रष्ट, कुवेतले सर्वश्रेष्ठ पत्रकारिता पुरस्कारले उहाँलाई सम्मानित गऱ्यो । हरि गजुरेलकै सही मार्गदर्शन र अगुवाइमा असममा युगपुरुष रूपमा चिनिएका ऋषितुल्य व्यक्तित्व विष्णुलाल उपाध्यायको व्यक्तित्व र कृतित्वमाथि लेखिएको पुस्तकले एउटा गहकिलो दस्तावेजका रूपमा हाम्रा अघि आउन सफल बन्यो । विभिन्न सङ्घ, संस्था भनौँ वा साहित्यिक नै भनौँ सबै सबैका हितैषी हुनुहुन्थ्यो र उहाँका सहयोगका हातहरू सधैँ खुल्ला रहन्थे । त्यसैले त उहाँ सबैका प्यारा पनि हुनुहुन्थ्यो ।

नेपाली साहित्य परिषद्‌देखि असम नेपाली साहित्य सभा समेतमा उहाँले आफ्नो उपस्थिति मात्रै दर्ता गराउनु भएन, अति सक्रिय र महत्त्वपूर्ण भूमिका पालन गर्दै अघि बढाउनुभयो । त्यसैले १४ एप्रिल २०१६ मा उहाँ असम नेपाली साहित्य सभाका केन्द्रिय सभापतिको पदमा पनि सुशोभित हुनुभएको थियो । नेपाली भाषासाहित्यमा मात्रै होइन उहाँ असमिया भाषासाहित्यको क्षेत्रमा पनि उत्तिकै सक्रिय, चर्चित र आदरणीय हुनुहुन्थ्यो । उहाँको कलम हिन्दी भाषा साहित्यमा पनि गज्जबले चल्ने गर्थ्यो । जुलाई सन् २०१८ को सभा दर्पणमा लेखिएका शब्दहरूलाई जस्ताको तस्तै यहाँ राख्न मन लाग्यो- सभापति पदको प्रत्याशाको समयदेखि नै साङ्गठनिक गतिविधिमा दोब्बर सक्रियता देखाउँदै नेपाली भाषा पठनपाठन व्यवस्था, नेपाली एम.आइ.एल र नेपाली ऐच्छिक विषयहरूमा देखिएका अड्चनहरूको दूरीकरण, राज्यका विभिन्न भाषिक साहित्य सङ्गठनहरूसित मैत्री स्थापन, आन्ताराज्यिक तथा अन्ताराष्ट्रिय सम्पर्क स्थापनामा सकारात्मक विचार, केन्द्रिय कार्यालय र अतिथि गृह निर्माण जस्ता अनिवार्य मुद्दामा प्राथमिकता प्रदानको अङ्गिकार दोहोऱ्याउने गजुरेलबाट सोही बमोजिमको उत्साहपूर्ण जमर्को प्राथमिक अवस्थामै देखिएको पनि थियो ।

सन् २०१७ मा उहाँसितको मेरो भेट मेरा लागि अविस्मरणीय बन्न पुग्यो । मैले साहित्य अकादमी बाल साहित्य पुरस्कार २०१५ प्राप्त गरेकाले सन् २०१७ को एप्रिल महिनामा असम नेपाली साहित्य सभाको काम रूप शाखाको वार्षिक सभा गुवाहाटीमा भएको सभामा मलाई निम्त्याएर सम्मान गरिएको थियो । त्यस सभामा केन्द्रिय सभापतिको आसनमा हुनुहुन्थ्यो हरि गजुरेलज्यू । साहित्यकार हरि गजुरेलको भावपूर्ण र गहकिलो भाषण सुन्ने एउटा राम्रो मौका मलाई त्यहाँ जुरेको थियो । सबैलाई मक्ख पार्ने खालको उहाँको भाषण कला अति नै प्रशंसनीय, गहकिलो र सारगर्भित रहेको सम्झना आउँछ । मेरा लागि त्यो एउटा ठुलै साहित्यिक तीर्थ बराबर थियो । त्यसअघि पनि गुवाहाटीमा भएका साहित्यिक भेलामा उहाँलाई कतै सुनेजस्तो लाग्छ तर सम्झनामा आउन सकेन ।

सन् २०१७ मा नै अर्को एउटा कहिल्यै बिर्सन नसक्ने गरी असमको साहित्यिक भ्रमण मेरो भाग्यमा जुऱ्यो । मेरा लागि त्यो एउटा वरदान नै साबित भयो । त्यो भ्रमण जुराउने महानुभाव हुनुहुन्थ्यो नेपाली साहित्य संसारका होनहार प्रतिभा आदरणीय डा. गोविन्दराज भट्टराई । उहाँलाई मैले चिनाइरहनु पर्दैन पक्कै । त्यस्ता प्रखर सूर्य रश्मिलाई चिनाउन मैले मेरो टुकी बाल्ने प्रयास गरेर हास्यको पात्र बनिने इच्छा पनि पटक्कै छैन । धेरै दिन अघिदेखि उहाँले मलाई- हामी दुई भाइ असम घुम्न जानुपर्छ । ल है मुक्तिज्यू त्यसको चाँजो मिलाउने जिम्मा तपाईँको भनेर भन्नुभएको थियो । नाट्यकार तथा साहित्यकार रेवतीमोहन तिमसिनाज्यूको अगुवाइमा रौतामा नाट्यविधामाथि एउटा सङ्गोष्ठी राखिएको थियो । त्यस सङ्गोष्ठीमा नाटकमाथि मलाई पनि सफल नाटकको चारित्रिक लक्षण र नेपाली नाटक आन्दोलन विषयमा एउटा कार्यपत्र प्रस्तुत गर्ने अभिभारा तिमसिनाज्यूले मलाई सुम्पिनुभएको थियो । १७ डिसेम्बर २०१७ मा रौता पुग्नुपर्ने र सङ्गोष्ठीमा सहभागी बन्नुपर्ने हुँदा डा. भट्टराईज्यूसित सल्लाह गरेर १५ डिसेम्बर २०१७ को राजधानीको टिकट काटेँ ।

गोविन्दराजज्यू १४ डिसेम्बरमा नै मेरो सिलगढी वासस्थानमा आउनुभयो । हामीले गुवाहाटीबाट सुरु गऱ्यौँ हाम्रो साहित्यिक यात्रा । डा. गोविन्दराज भट्टराईको सम्पादनामा नेपाल प्रज्ञा-प्रतिष्ठानले अनुवादक परिचय कोश प्रकाशन गर्ने भएकाले असमका अनुवादकहरूको परिचय भेला पार्ने एउटा मुख्य उद्देश्य थियो उहाँको । साथै डा. भट्टराईज्यू असम भ्रमण गर्दै चिनजानको परिधि फराकिलो पार्न र साहित्यिक बन्धुहरूसित पनि भेटघाट नवीकरण गर्न निस्किनुभएको थियो । डा. भट्टराईज्यूको असम आगमनबारे फोनमार्फत मैले गुवाहाटी, तेजपुर, डिब्रुगढ, डिगबै, जागुन आदि ठाउँका हाम्रा साहित्यकार बन्धुहरूलाई जानकारी गराइसकेको थिएँ । सोही अनुरूप १६ तारिख डिसेम्बरका दिन असम नेपाली साहित्य सभा कामरूप शाखा तथा पल्टन बजार नेपाली मन्दिर कमिटिले संयुक्तरूपमा नेपाली मन्दिर भवनमा नै डा. गोविन्दराज भट्टराईज्यूको सम्मानमा साहित्यिक भेटघाटको कार्यक्रम आयोजना गरिएको थियो । लीलबहादुर क्षत्री, नव सापकोटा, दुर्गा खतिवडा, डा. इन्दुप्रभा देवी, गोमा शर्मा, लक्ष्मी सुवेदी साथै पल्टनबजार नेपाली मन्दिर कमिटीका सभापति लगायत धेरै सदस्याहरूको उपस्थिति त्यस कार्यक्रममा भएको थियो । भोलिपल्ट डा. गोविन्दराज भट्टराई, लक्ष्मी सुवेदी, डा.गोमा शर्मा उहाँका श्रीमान् डा. अधिकारी लगायत यो कलमकार पनि लक्ष्मी सुवेदीज्यूकै कारमा रौता गयौँ । नाटककार तथा साहित्यकार रेवतीमोहन तिमसिनाज्यूले रौतामा आयोजन गरेको नाट्यविधामाथिको सङ्गोष्ठीमा हामी सहभागी बन्न पुग्यौँ । त्यस सङ्गोष्ठीमा डा. गोमा अधिकारी, नाटककार पूर्णकुमार शर्मा, डा. ढुण्डीराज उपाध्याय लगायत मेरो पनि नाटकमाथि कार्यपत्र प्रस्तुत भएका थिए । डा. गोविन्दराज भट्टराईज्यूको सारगर्भित वक्तव्य र उहाँको असम आगमनको उद्देश्य व्याख्या त्यस कार्यक्रमको प्रमुख आकर्षण बनेको थियो । त्यसदिन रवि शर्माद्वारा लिखित उपन्यास सङ्ग्राम डा. भट्टराईज्यूको बाहुलीबाट विमोचन र रेवतीमोहन तिमसिनाको बोक्सी नाटकको प्रदर्शन पनि भएको थियो।

हाम्रो असम आगमन र रौताको सङ्गोष्ठीमा सहभागी बन्न पुग्ने कुरा मैले फोनमार्फत तेजपुरका साहित्यकार मित्रदेव शर्माज्यूलाई गराइसकेको थिएँ । श्रीमती वसुन्धरा शर्माका साथमा आफ्नो कार लिएर हामीलाई तेजपुर लानका लागि रौता आउनुभएको थियो । यो थियो आत्मीयताको एउटा अतुलनीय उदाहरण । उहाँको कारमा हामी तेजपुर गएर त्यसरात मित्रदेव तथा वसुन्धराज्यूको आतिथ्यमा रमायौँ । भोलिपल्ट १८ डिसेम्बरका दिन विश्वनाथ चारालीमा साहित्यकार मदन थापाको अगुवाइमा साहित्यिक भेटघाटको कार्यक्रम मित्रदेवज्यूले मिलाइसक्नुभएको रहेछ । साहित्यकार मित्रदेव शर्माज्यू, डा. गोविन्दराज भट्टराई सर, नवप्रभा अधिकारीज्यूकै कारमा विश्वनाथ चारालीतिर लाग्यौँ । साहित्यकार मदन थापाज्यूको घरमा बिहानको अति नै स्वादिष्ट भोजनको आत्मीयतामा रमाउन पुग्यौँ ।

मदन थापाज्यूका आत्मीय आतिथ्यपछि हामी पुग्यौँ आदरणीय विशिष्ट व्यक्तित्व साहित्यकार तथा भाषा, साहित्य र जातिका सेवक हरि गजुरेलज्यूको घरमा । कहिल्यै बिर्सन नसकिने बढो सौहार्दपूर्ण भेटघाट थियो त्यो । दिल्लीमा चिकित्सा गरेर आएपछि गजुरेलज्यूलाई हामीले निकै स्वस्थ देखेका थियौँ । उहाँलाई देख्दा बिरामीजस्तो अनुभव भएन । फर्साइला व्यक्तित्वका धनी हरिज्यूका मिठा-मिठा गफबाट उहाँको मनोबलमा पनि धेरै नै बृद्धि भएको देख्दा हामी सबै खुसी भएका थियौँ । अब त म अझै दस-बाह्र वर्ष साहित्यसेवामा आफूलाई समर्पण गर्न सक्छु भनेर उहाँले हाम्रा अघि पोख्नुभएको विचारले हामी सबै गद्गद भएर आन्तरिक शुभकामना व्यक्त गरेको कुरा झलझली सम्झना आउँछ । उहाँ यति चाँडै हामी माझबाट अल्पिएर स्वर्गधामतिर प्रस्थान गर्नुहुन्छ भन्ने एक रत्ती पनि सोचेका थिएनौँ । अकस्मात् आइपरेको ठुलो चोटले हामी मर्माहत हुनुपऱ्यो।

त्यसदिन गोलियामा अति नै गहकिलो र अविस्मरणीय साहित्यिक भेटघाटको एउटा महत्त्वपूर्ण कार्यक्रम मदन थापाज्यूकै सक्रियतामा आयोजन भएको थियो । हरि गजुरेल लगायत त्यस भेकका हाम्रा धेरै साहित्यिक मित्रहरूको विचार आदानप्रदान भएको थियो ।

डा. गोविन्दराज भट्टराईज्यूले प्रकाशित हुन लागेको अनुवादक कोशको सिलसिलामा आफ्नो भ्रमणको उद्देश्य व्याख्या गर्दै भन्नुभयो- धेरै ठाउँ घुम्दै, हेर्दै, बुझ्दै र अध्ययन गर्दै जाँदा असममा बसोबास गरेका हाम्रा नेपाली समुदायहरूले आफ्नो शिक्षा लिन्छन् असमिया भाषामा तर पनि आफ्नो मातृभाषाप्रतिको प्रेम देखेर मन आनन्द विभोर भयो । आफ्नै व्यक्तिगत प्रयासले नेपाली भाषासाहित्यको अध्ययन गरेर नेपाली भाषामा उत्कृष्ट साहित्य सृजना गर्नु भनेको मेरा लागि आश्चर्यको कुरा हो । यहाँका प्रत्येक अभिभावकले आफ्ना छोराछोरी समेतलाई मातृभाषाको महत्त्व बुझाउँदै त्यसमाथि अध्ययन गर्न लगाएर उनीहरूलाई पनि नेपाली भाषामा साहित्य सृजनातर्फ लाग्ने प्रेरणा दिनु भनेको संसारभरि छरिएर बसेका हाम्रा मानिसहरूका लागि अनुकरणीय कुरा हो । मेरो विचारमा भाषा ठाउँ हेरी-हेरी केही फरक अवश्य हुन्छ तर त्यसलाई गल्ती मान्नु हुँदैन अनि हीनभावनाको शिकार पनि हुनु हुँदैन । यहाँको भाषामा असमको छाप र सुगन्ध हुनु नै त्यसको विशेषता हो । मेरा नजरमा असममा जति अनुवाद कार्य अरूतिर भएका छैनन् जस्तो लाग्छ । तपाईँहरूले आफ्नो कार्य यथावत् राख्नु नै समयको माग हो भन्छु म ।

त्यसपछि हरि गजुरेलज्यूले भाषामाथि आफ्नो सारगर्भित भनाइ राख्नुभयो: सुदूर नेपाल काठमाडौँदेखि असमको विश्वनाथ चाराली, गोलिया गाउँलाई सम्झिएर यहाँको नेपाली साहित्यिक गतिविधिलाई प्रेरणा दिन आइदिनुभएकामा डा. गोविन्दराज भट्टराईज्यूलाई सर्वप्रथम खलागर खराइ अर्पण गर्छु साथमा डा. भट्टराई जस्ता साहित्यिक व्यक्तित्वलाई यहाँसम्म मार्गदर्शन गराउनुभएकामा हाम्रा ज्वाइँ मुक्तिज्यू जो असमकै सपुत हुनुहुन्छ उहाँलाई धन्यवाद दिन्छु । कुनै पनि भाषा नित्य परिवर्तनशील हुनाले त्यो स्वयं सम्पूर्ण हुन सक्दैन । विभिन्न समयमा मानिसले चालै नपाईकन भाषामा परिवर्तन भइरहेकै हुन्छ । भारतवर्षको पूर्व प्रान्तमा अवस्थित असम विभिन्न जाति, जनजाति र उपजातिले परिपूर्ण एउटा राज्य भएकाले विभिन्न भाषा बोल्ने मानिस यस राज्यमा पाइन्छन् । नेपाली भाषा बोल्ने मानिसको सङ्ख्या पनि यस राज्यमा कम्ती मात्रामा छैनन् । पुस्तौँदेखि असममा बसोबास गर्दै आएका नेपालीहरू र उनीहरूको भाषा, साहित्य, संस्कृति पनि आज बृहत्तर असमिया जनजीवनको अङ्ग बन्न पुगेको छ । यहाँको कथ्य वा लेख्य नेपाली भाषा नेपाल, दार्जीलिङ वा सिक्किमतिरको भाषासँग नमिल्ने र त्यहाँको बोलीमा नपाइने जस्ता कतिपय शब्दहरू यहाँको बोल्ने र लिखित भाषामा स्वाभाविक रूपले प्रयोग भएर भिन्नै हुने कुनै आश्चर्यको कुरो होइन । परिवर्तित समाज व्यवस्थामा भएको भाषिक परिवर्तनले शब्द ढिकुटी बढ्छ तर घट्तैन । नेपाली भाषामा यता प्रयोग गरिने कतिपय शब्दहरूलाई हामीले त्यसको गोत्र परिवर्तन गरेर आफ्नो बनाइसकेका छौँ । यहाँका स्थानीय केही शब्दहरू नेपाली जनजिब्रामा रसाइसकेका शब्द हाम्रा हुन् । त्यसैले भट्टराईज्यूको भनाइलाई स्वीकार गर्दै म पनि भन्छु भाषा गल्ती भएको हुँदैन भिन्न भएको हुन सक्छ । तसर्थ यहाँ नेपाली भाषाको सुगन्ध आफ्नै पाराको छ । त्यसलाई नेपाली साहित्य संसारले आत्मसात् गर्न सक्नु नै साहित्यको उन्नतिको बाटो फराकिलो हुनु हो । आत्मग्लानिले होइन स्वभिमानले साहित्य सेवामा लागौँ ।

मैले हरि गजुरेलज्यूलाई राम्ररी सुनेको पहिलोपल्ट गुवाहाटीमा हो अनि त्यसपछि चारालीमा । हरि गजुरेल सरले कुनै पनि विषयलाई बढो राम्रो र गहिरो प्रकारले पस्किन सक्नुहुन्छ, उहाँ सशक्त वक्ता हुनुहुन्छ र धाराप्रवाह बोल्न सक्नुहुन्छ भन्ने सुनेको मात्रै थिएँ । त्यसदिन प्रत्यक्ष प्रकारले अति सुन्दर वातावरणमा दुई जना दिग्गज साहित्यिक व्यक्तित्वलाई सुन्न पाउनु मेरा लागि सुनौलो मौका थियो । सभा सकिएपछि अनुवाद साहित्यका तथ्य सङ्कलन गर्ने काम भयो । त्यसमा मेरो पनि सहयोग रह्यो । फोटो सेसन भए । धेरै फोटाहरू फेसबुकमा पनि हालिए । मैले र डा. भट्टराईज्यू भएर त्यहाँको जानकारी नेपालको कान्तिपुर दैनिकमा पनि पठाइयो । भोलिपल्ट प्रकाशित पनि भयो ।

साहित्यकार हरि गजुरेलज्यू सन् १९४६ को १ नभेम्बरका दिन विश्वनाथ चारालीको गोलिया गाउँमा जन्मिनुभएको हो । पिता छविलाल उपाध्याय र माता हुनुहुन्थ्यो गायत्रीदेवी । आठ वर्षको कलिलो उमेरमा नै आमाबाबालाई गुमाएर उहाँ टुहुरो हुनुभयो । छ सन्तानमध्ये उहाँ माहिला हुनुहुन्थ्यो । हजुरआमाले उहाँहरूलाई हुर्काउनुभयो । भर्खर खोलिएको प्राथमिक विद्यालयको पहिलो विद्यार्थी हुनुहुन्थ्यो उहाँ । चाराली हायर सेकेन्डरी स्कुलबाट मेट्रिक पास गरेर विश्वनाथ चाराली कलेजबाट उहाँले स्नातक गर्नुभयो । उहाँले काठमाडौँबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको हो सन् १९७१ मा । किनभने त्यति बेला भारतमा नेपालीमा स्नातकोत्तर गर्ने सुविधा थिएन तर एम.आइ.एलका रूपमा कलेजमा स्नातक तहसम्म नेपाली पढ्न पाइन्थ्यो अर्थात् भनौँ गुवाहाटी विश्वविद्यालयले नेपाली विषय लिने अनुमति दिएको थियो तर धेरै कलेजमा नेपालीका शिक्षक हुँदैन्थे । आफैँ पढेर जाँचमा बस्न सकिन्थ्यो । त्यस्तै परिवेशमा स्नातकमा नेपाली एम.आइ.एल पढेर स्नातकोत्तर गर्न उहाँको काठमाडौँ प्रस्थान हुन्छ । स्नातकमा नेपाली पढेकाले मात्रै काठमाडौँमा एम.ए पढ्न पाउँथे । घरको आर्थिक अवस्थाले गर्दा काठमाडौँजस्तो ठाउँमा पढ्नका लागि आफैँ खर्च जुटाउनु पनि गाह्रो थियो । नेपाल बाहिरका नेपालीमा स्नातकोत्तर गर्न चाहने केही विद्यार्थीलाई नेपाल सरकारले छात्रवृत्ति दिने गर्थ्यो । त्यो छात्रवृत्ति पाएर एम.ए पढ्नका लागि तीन-चार महिनासम्म उहाँले सिंह दरवार धाएर सेक्सन अफिसरदेखि लिएर मन्त्री महोदयसम्मलाई कति चिप्लो-चापुल्ली घस्नुपऱ्यो त्यसको हिसाब छैन तर उहाँले हार मान्नु भएन । छात्रवृत्ति हासिल गरेर छाड्नुभयो । यो उहाँका लागि एउटा ठुलो उपलब्धि थियो । त्यसै ताक डा. भीमकान्त उपाध्याय र डा. द्रोण पौडेलले पनि छात्रवृत्तिको चाँजो मिलाएर टियु बाटै नेपालीमा एम.ए गरेका हुन् भन्ने कुराको जानकारी पाइन्छ । हरि गजुरेलले सन् १९७१ मा एम.ए गर्नुभएको हो भने डा. भीमकान्त उपाध्यायले सन् १९७२ मा गर्नुभएको हो ।

हरि गजुरलेज्यू काठमाडौँमा जानुभन्दा केही अघि हरिभक्त कटुवाल पनि काठमाडौँमा नै लाइबरी गर्दै हुनुहुन्थ्यो । बिहाली माजगाउँबाट गएर काठमाडौँमा नै बसोबास गर्नुहुने दामोदर भट्टराईका घरमा डा. भीमकान्त उपाध्याय, सदानन्द खनाल, द्रोण पौडेल, कुलप्रसाद, कृष्णा दिदी, हरि गजुरेल र कवि कटुवालको भेटघाटमा असमका नेपालीहरूको साहित्यिक प्रवृत्ति, विचार, भाषा र जातिप्रेम, नेपाली भाषा पठनपाठन आदि लगायत पछौटेपनका विभिन्न कारणहरूको विषयमा गहिरो चर्चा चल्दथ्यो । विचार विमर्श निबन्धसङ्ग्रहमा छापिएको स्मृतिमा हरिभक्त कटुवाल निबन्धमा हरि गजुरेलको मुटुमा रहेको भाषा, साहित्य, जाति र असमप्रतिको मायाँ, आत्मीयता र भावनात्मक सोच अतुलनीय रहेको पाइन्छ । महत्त्वाकाङ्क्षी कटुवाल साहित्यको फराकिलो फाँट खोज्दै नेपाल जानुभएको थियो । त्यस संस्मरणमा गजुरेलले पोखेका केही भावनात्मक प्रस्तुति यहाँ राख्ने लोभ पन्साउन सकिनँ- “बाँचुन्जेलसम्म दाल-भात-डुकुका निम्ति सधैँ सङ्घर्ष गर्ने कटुवाललाई मरेपछि खीर पकाएर ख्वाइन्छ । बाँच्दा उसको परिश्रम खटाएर आफ्नो नाम कमाउनेहरू पनि यो हरिभक्तले गरेको हो भन्नसम्म त नरुचाउने पनि उसका निम्ति आँसु चुहाउन पुग्छन् ।…कटुवाल कम्ती उमेरमै मरे, गर्नुपर्ने धेरै काम पूर्ण नगरीकनै मरे, सुख नपाईकनै मरे । कटुवाल मात्रै होइन, असमका नेपाली प्रतिभाहरू यसरी नै मर्छन् , दुःखैदुःखमा निघुरमुन्टी खेल्दै मर्छन्, बाँचुन्जेल स्वीकृति नपाईकनै मर्छन् । गरिब भन्छौ सुखको मझैँ धनी, मिल्दैन संसारभरि कतै पनि, विलासको लालस दास छैन म, मिठो छ मेरो रसिलो परिश्रम भन्दै सन्तुष्टि लिँदै मर्छन् । आह ! मेरो समाज व्यवस्था । एक-एक हर्के र बिरेमा, एक एक सूर्यको शक्ति देख्ने कटुवाल, जिन्दगीभरि लाउरे, चाउरे, हर्के, बिरेझैँ नै दुःख झेलेर मरे । न्यानो काखमा मुख लुकाएर रुन चाहने कटुवाल काठमाडौँसम्म पुगेर पनि मुख लुकाएर रुन नपाईकनै मरे । चार चौरास छरिएको नेपाली समाजमा एक्लो अनुभव गर्दै मरे ।”

आफ्नो भाषा, साहित्य, जाति र असमप्रतिको आत्मीयता र मायाँको गहिराइ हरिज्यूका यस्तै लेख, कथन र करणीबाट छर्लङ्ग नहुने कुरै छैन । मुटुको गहिराइबाट निःसृत यस्तै भावनाहरूमा रमलिन पुग्नुभएको गजुरेललाई नजिकबाट चिन्न कुनै अप्ठ्यारो हुँदैन । संस्कृतिको नाममा भित्रिएका कुसंस्कृति उहाँलाई पटक्कै मन पर्दैन्थ्यो- समय अनि समयद्वारा निरूपित एक-एक युगसँग संस्कृतिको साइनो गाँसिएको हुनाले, युग अनुरूप संस्कृतिमा परिवर्तन आउनु नितान्त स्वाभाविक हो । युगले संस्कृतिलाई डोऱ्याएको हुन्छ, संस्कृतिले समयलाई होइन । उहाँ अझ भन्नुहुन्थ्यो- नराम्रो छोडेर राम्रो भित्र्याउँदै रुढी र कुपरम्पराको सुधार गर्नु र संस्कारित संस्कृतिको विकास गर्नु नै हाम्रो ठुलो जिम्मेवारी हो ।

सुरुमा हाम्रो इतिहास हाम्रा कलमले लेखेन भन्ने कुरा हामीले स्विकार्नैपर्छ । अर्काले लेखिदिएको इतिहासमा हाम्रो काँध चढी लेखिएका कुरा स्पष्ट परिलक्षित हुन्छ । कतिपय व्यक्ति विशेषको नामावली अथवा वंशावलीको वर्णन मात्रै इतिहास बन्न सक्दैन । वंशावली अथवा नामावली इतिहास अन्वेषणका स्रोत मात्रै ठहरिन्छन् भन्ने भावना गजुरेलका लेखहरूमा छर्लङ्ग पाइन्छ । यस्तै-यस्तै प्रसङ्गको कुरा उल्लेख गर्दै उहाँ भन्नुहुन्थ्यो- वर्तमान समयमा भाषा-साहित्य-संस्कृति आदि जेसुकै विषयको इतिहास लेख्दा पनि व्यक्तिगत ईर्ष्या र आरिसले गर्दा सटीक अनुसन्धान नगरीकन, दुराग्रहसित भएर वास्तव सत्यता अस्विकार्दै जे पायो त्यही लेखेको देखिन्छ । साम्राज्यवादी अङ्ग्रेजलाई भारतवर्षबाट लखेट्न नेपालीहरूले लिएको अग्रणी भूमिका, कौटनीतिक चिन्तन, काड्डा, कलङ्गा, नहान, जैकथ आदि युद्धको वर्णनका बारेमा भारतीय इतिहासहरूमा उपेक्षा गरिनुले, नेपाली शक्ति र कूटकौशलसामु त्यस समयका, आफैँलाई वीर कहलाउने शिख र मराठाहरूको वीरत्व र अभिमानमा छाया लाग्ने धारणाले भारतीय इतिहासकारहरू आरिसग्रस्त भएको अनुभव हुन्छ ।

केही समय अघि नेताजी सुभाषचन्द्र बोसबारे बनाइएको एउटा हिन्दी चलचित्र मलाई हेर्ने मौका जुरेको थियो । त्यसमा हाम्रा सहिद दुर्गा मल्लको प्रसङ्ग कुनै पनि कथन वा घटनामा उल्लेख भएको मैले पाइन । यस्ता उदाहरण अनेकन् होलान् । हाम्रो दुर्भाग्य भनौँ कि हाम्रो काँधमा चढेर, हामीलाई ओझल पारेर सृजित इतिहास भनौँ ? साँच्चै नै हरि गजुरेलज्यूका विचारहरूले सही कुरा लक्षित गरेको पाइन्छ ।

गुवाहाटीको नेपाली नाटकमञ्चन इतिहासका लौह पुरुष प्रेमसिंह सुवेदीले लेखेको हामी कसका दैलाअघि हो अभिने? पुस्तकको सम्झनामा रुमलिँदै हरि गजुरेलको भावनामा गहिरिँदै के भन्न मन लाग्यो भने, हामीले अरूको दैलो रुङ्गने नै होइन तर हामीले आफ्नो दैलो आफैँ उघारेर हाम्रो चिनारी टङ्कालो पार्ने हो ।

तेजपुरमा र विश्वनाथ चाराली कलेजमा धेरै पहिलेदेखि नेपाली विषय पढ्ने विद्यार्थी प्रशस्त भएकाले र सोही अनुरूप शिक्षकको पनि माग भएकाले नेपाली पढाउने शिक्षकको नियुक्ति ती कलेजहरूमा भएको हुनुपर्छ । सायद हरि गजुरेलज्यू विश्वनाथ चाराली कलेजका नेपाली पढाउने पहिलो शिक्षक हुनुहुन्थ्यो कि जस्तो लाग्छ मलाई । यी सबै मेरा सुनेका कुरा हुन् भनेर म स्वीकार गर्दछु । तेजपुरको दरङ कलेजमा सन् १९६६ देखि नै नेपाली विषयको पढाइ हुन्थ्यो अनि सुरुमा मुक्ता उपाध्यायले पढाउनुभयो । त्यसपछि जय नारायण लुइँटेल अनि दुर्गा घिमिरेले पढाउनुभएको जानकारी पाइन्छ । तेजपुर कलेजमा पनि सन् २०१६ देखि नेपाली विषय स्नातकमा पढाइ सुरु भएको जानकारी पाइन्छ ।

माझगाउँ ससुराली घर भएकाले म त्यता जाने क्रममा चाराली गोलिया पनि गइरहन्छु । गोलियामा मेरा बडाबा र काका ससुराहरूको घर छ । त्यता जाँदा हरि गजुरेलसित पनि कहिलेकाहीँ भेट हुने गर्थ्यो । जान्थेँ उहाँको घरमा । काठमाडौँबाट नेपाली विषयमा स्नातकोत्तर गरेर आएपछि विश्वनाथ चाराली कलेजमा सन् १९७५ देखि नेपाली पढाउन थाल्नुभयो तर उहाँले त्यहाँ केही वर्ष मात्रै शिक्षकता गर्नुभयो । उहाँ बढी महत्त्वाकाङ्क्षी हुनुहुन्थ्यो । त्यसैले नेपाल र सिक्किमतिर पनि केही वर्ष आफ्ना जीवनका अमूल्य समयहरू बिताउनुभएको जानकारी पाइन्छ । हरिभक्त कटुवालझैँ उहाँ पनि साहित्यको मलिलो र फराकिलो फाँटमा रुमलिन नेपाल पस्नुभयो र सायद स्कुलमा जागिर खानुभयो । नेपालमा मन तुलबुलियो र सन् १९७८ मा उहाँ सिक्किम गएर नाम्ची हायार सेकेन्डरी स्कुलमा शिक्षकता गर्नुभयो । जन्मेको, हुर्किएको ठाउँ भन्दा सुन्दर र प्यारो अर्को कुन पो हुन्छ होला र ? फेरि संसारमा सबै घरभन्दा प्यारो आफ्नै घर हुन्छ । त्यसैले होला आफ्नो जन्मेको थलो घरगाउँको मायाँले उहाँलाई तान्यो । उहाँ एक जना ज्ञानी व्यक्तित्व हुनुहुन्थ्यो भन्ने कुरामा कुनै शङ्का छैन । विभिन्न ठाउँका अनुभव र ज्ञान बटुलेर उहाँ फेरि आफ्नै घर विश्वनाथ चाराली फर्किनुभयो । सन् १९८२ देखि उहाँले बापुजी हिन्दी स्कुलमा पढाउन थाल्नुभयो । अनि त्यही स्कुलबाट सन् २००४ मा उहाँले अवकाश ग्रहण गर्नुभएको थियो भन्ने थाहा लाग्छ ।

विद्यार्थी कालमा गजुरेलज्यू लेखनाथ पौड्यालको लालित्य अनि असमिया भाषामा लक्ष्मीनाथ बेजबरुवाको धनबर आरु रतनी र रघुनाथ चौधरीको गुलाब कविताले धेरै प्रभावित हुनुभएको थियो । पछि असमिया साहित्यका विशिष्ट साहित्यकारका रचनाहरूबाट उहाँले निकै प्रेरणा पाउनुभएको कुरा उहाँ आफैँले स्वीकार गर्नुभएको पाइन्छ । उहाँले नेपालीहरू संस्कारमुखी भएर आत्मसम्मान र स्वाभिमानमा बाँच्न चाहेको देख्न चाहनुहुन्थ्यो । त्यसैले सामाजिक विशृङ्खलता, देश, जाति र माटालाई आफ्ना कवितामा उहाँले उतार्नुहुन्थ्यो । उहाँ निराशावादलाई आफ्ना कविताहरूमा ढिम्किन दिनुहुन्नथ्यो । धनात्मक विचारधाराले परिपूर्ण उहाँका कविताहरू आशा र विश्वासले भरिएका हुन्थे ।

साहित्य सँगसँगै उहाँ जाति, गाउँ, समाज र देशको सेवा र विकाश गर्ने विचारले राजनीतिमा पनि प्रवेश गरेको पाइन्छ । हुन त उहाँ छात्र अवस्थाबाटै राजनीतितिर आकर्षित हुनुभएको हो । एकपल्ट उहाँ गाउँ पञ्चायतको सभापति पनि हुनुभयो । त्यसैको प्रेरणाले विधायकको चुनाउमा पनि ओर्लिनुभयो । सोझो र सरल मानिस भएकाले उहाँले कसैलाई चिप्लो घस्न र चाप्लुसी गर्न जानुभएन त्यसैले विधायकको चुनाउमा सफल हुन सक्नु भएन ।

जहाँ गए नि उहाँले त्यहाँको परिवेशलाई रमाइलो वातावरणमा परिणत गराउन सक्नुहुन्थ्यो । उहाँका निबन्धहरूले उहाँको विद्वत्ता र अध्ययनशीलताको प्रमाण दिन्छन् । परिश्रमी तथा प्रेरणाका प्रतिमूर्ति, साहित्य साधक हरि गजुरेल हाम्रा प्रतिभा हुनुहुन्थ्यो । उहाँको सम्झनामा जानि नजानि मैले श्रद्धाञ्जलिस्वरूप केही पुष्पाक्षर अर्पण गरेँ । यी पुष्पाक्षरका सुवासले उहाँको आत्मालाई चिरशान्ति प्रदान गरोस् भन्ने कामना गर्दछु ।

सन् २०१८ को अठारको दसैँ तिहारपछि मदन थापाज्यू आफ्ना एक जना मित्रलाई लिएर सिलगढी मेरा वासस्थानमा आउनुभएको थियो । हरि गजुरेल सरको स्मृतिग्रन्थ निकाल्ने सुर कस्दै छौँ र त्यसमा तपाईँको एउटा लेख अनिवार्यरूपले चाहियो- भनेर थापाज्यूले मलाई भन्नुभयो ।

मैले भनेँ- “मलाई सम्झना गरेकामा धन्यवाद छ तर थापाज्यू, हरिज्यूका एउटै पुस्तक पनि मसित छैनन् अनि उहाँबारे मैले त्यति पढेको पनि छैन । चारालीमा भएको हाम्रो भ्रमणको संस्मरण मात्रै लेख्न पनि केही सामग्री त चाहिन्छ ।”

तुरुन्तै मदन थापाज्यूले हरि गजुरेलज्यूले लेख्नुभएको निबन्ध सङ्कलन विचार विमर्श भन्ने पुस्तक दिँदै भन्नुभयो- “यस पुस्तकमा पछाडि गजुरेल सरको छोटो परिचय छ । त्यसैका आधारमा भए पनि तपाईँ केही त लेखिदिनुपऱ्यो ।”

अब केही नलेखी भयो त मैले ? लेख्नैपर्ने भयो । डा. भट्टराईज्यूसित गोलिया जाँदा मदन थापाज्यूले उहाँको एउटा निबन्ध कृति अक्षरको खेती दिनुभएको थियो । देखैजाला भनेर तिनै दुई पुस्तकमा भरमा छामछाम छुमछुम गर्दै अँध्यारामा लड्दै ओर्दै अघिबढेको परिणाम यही हो ।

प्रतिक्रिया
Loading...