संगीता स्वेच्छाद्वारा संकलित/लिखित तथा संगीता स्वेच्छा तथा क्यारेन भ्यान डिद्वारा सम्पादित “द हिमालयन सनराइजः एक्सप्लोरिङ नेपाल्स लिटररी होराइजन” लक्ष्मी जयन्तीका अवसरमा नेपाली साहित्य विकास परिषद, युकेद्वारा आयोजित आज एक कार्यक्रमा सार्वजनिक गरियो । उक्त पुस्तकको विमोचन डा. राघव धिताल ओबीईले गर्नुभएको थियो ।

प्रमुख अतिथि डा. धितालले पुस्तक विमोचन गर्दै पुस्तकले कविता, पुस्तक समीक्षा र पुस्तकहरूको जानकारीबाहेक नेपालका विशिष्ट साहित्यिक व्यक्तित्वहरूसँगको अन्तर्वार्ता, चित्रकलाहरू आदि मार्फत नेपाल, नेपाली साहित्य र नेपाली संस्कृतिलाई परिचित गराउने बताउनुभयो । ‘यस अर्थमा यो पुस्तक उत्कृष्ट साहित्यिक सामग्रीहरुको संकलन हो,’ उहाँले भन्नुभयो ।

“वास्तवमा, मलाई लाग्छ कि संसारभरि बस्ने नेपालीहरूले यस्तो प्रकाशनको चाहना राखेको लामो समय भइसकेको छ, पुस्तकले नेपाली साहित्य जगतलाई थप आयाम दिनेछ,” डा. धितालले भन्नुभयो ।

पुस्तक बेलायतस्थित बुकहिल इन्टरनेसनलले प्रकाशन गरेको हो । बुकहिल इन्टरनेशनल नेपालस्थित बुकहिल प्रकाशनको सम्बद्ध संस्था हो।

लेखक एन्ड्री रोबीका अनुसार यो एक ज्ञानवर्धक प्रकाशन हो, जुन नेपाली साहित्यको बारेमा जान्न चाहने व्यक्तिले पढ्नै पर्नेछ।

“यो पुस्तक प्रकाशनले म एकदम उत्साहित छु । यस पुस्तकले पाठकलाई मौलिक नेपाली स्वादको साहित्य पस्कने छ भन्ने विश्वास छ,” कार्यक्रममा पुस्तककी लेखिका संगीता स्वेच्छाले बताउनुभयो ।

“इलेक्ट्रोनिक भर्सन र हार्डकभरमा पनि पुस्तक आउने क्रममा छ । खुसीको कुरा, यो पुस्तकको इबुक संस्करण चाँडै नै बुक हिल इन्टरनेशनल र बुक हिल वेबसाइट दुवैबाट पाठकले प्राप्त गर्न सक्नुहुनेछ,” उहाँले जानकारी दिनुभयो ।

सो कार्यक्रममा पुस्तकका बारेमा बोल्ने क्रममा कवि तथा अनुवादक हेम विश्वकर्माले विभिन्न विधालाई एकै पुस्तकमा समेटेर मौलिक नेपाली साहित्यलाई विश्व साहित्य संसारमा यसरी ल्याइएको सम्भवतः पहिलोपटक देखेको भनी टिप्पणी गर्नुभयो ।

“विश्व साहित्य क्षितिजमा नेपाली साहित्य उत्थानका लागि यस्ता काम विरलै भएका छन् । उहाँहरूले गर्नुभएको यो मिहिनेत एकदमै सराहनीय छ । नामजस्तै यसले नेपाली साहित्यको ‘हिमालय’ विश्व साहित्यसामु एउटा प्रकाशझैँ देखिनेछ,” विश्वकर्माको टिप्पणी थियो ।

उक्त पुस्तक अमेजनमार्फत बजारमा उपलब्ध रहेकोसमेत साहित्यकार संगीता स्वेच्छाले बताउनुभयो ।