गएको कात्तिक १३ शुक्रबार, अक्टोबर २९ का दिन स्रष्टा साँझ अमेरिकाले “रचना संगीत तथा स्वर” कार्यक्रमको आयोजना गर्यो।
भर्चुअल माध्यमबाट भएको सो कार्यक्रममा रेडियो नेपालका पूर्व निर्देशक तथा गीतकार राधाकृष्ण काफ्ले, रेडियो नेपालका पूर्व कार्यकारी उपनिर्देशक एवंम वरिष्ठ गायक राजेन्द्रप्रसाद शर्मा (रविन शर्मा), त्यस्तै रेडियो नेपालमा लामो समय सम्म योगदान पुर्याउनु हुने हजारौँ गीतका संगीतकार नारायण ओलीको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
स्रष्टा साँझ अमेरिकाको फेसबुकमा लाइभ प्रसारण भएको उक्त कार्यक्रममा संसार भरिबाट थुप्रै दर्शक र श्रोताहरूको सहभागिता रहेको थियो। “रचना संगीत तथा स्वर” सुन्दर गीतका अपरिहार्य तत्त्व हुन् । यी सबै एकअर्काका परिपूरक हुन्छन्। यी तीन नदीको त्रिवेणीबाट मात्र सुन्दर समुद्रको परिकल्पना गर्न सकिन्छ। वर्तमान समयमा रचनाकार र संगीतकारहरू ओझेल पर्दै गएको अवस्था छ। धेरै गीतकार र संगीतकारलाई श्रोताले चिनेका हुँदैनन्। हुँदाहुँदा गायक र गायिकाहरूलाई नायक र नायिकाहरूले विस्तापित गर्ने अवस्था सिर्जना भएको छ। यस अवस्थालाई कसरी परिवर्तन गर्न सकिन्छ अर्थात् ती गुमराहमा रहेका सर्जकहरूलाई श्रोतासामु परिचित कसरी गराउन सकिन्छ भन्ने सोचबाट नै यो कार्यक्रमको शुरूवात भएको हो।
गीतकार राधाकृष्ण काफ्लेको परिचयबाट अगाडि बढेको कार्यक्रममा गीत लेखनको शुरूवाती अवस्था, पहिलो गीत साथै संगीतकार नारायण ओली र गायक रविन शर्मासँगको परिचयका बारेमा प्रकाश पार्नु भएको थियो । रेडियो नेपालका समकालीन त्रयहरूका मिठा मिठा अनुभूतिहरू सुनाउनु भएको थियो। गायक रविन शर्माले गायन क्षेत्रमा प्रवेश गर्दाका असजिला पलहरूको अनुभव सुनाउनु भयो। तात्कालीन समयमा गीत रेकर्डिंङ गर्नका लागि लामो समय कुर्नुपर्ने, रेकर्डिङ म्युजिक नेपालमा मात्रै हुने इतिहासको यथार्थ सुनाउनु भयो । संगीतकार नारायण वलीले कहिले धुलिखेमा त कहिले कीर्तिपुरमा गएर संगीत भर्दाका मिठा मिठा पलहरूलाई प्रस्तुत गर्नु भयो।
कार्यक्रममा राधाकृष्ण काफ्लेले रचना गर्नु भएको र नारायण वलीले संगीत भर्नु भएको गीतलाई रविन शर्माले गाएर सुनाउनु भयो । नारायण वलीले पनि भर्खरै संगीत भरेका र पुराना गीतहरू गाएर कार्यक्रमलाई संगीतमय बनाउनु भयो। नेपालीहरूको महान् चाड लक्ष्मीपूजाको शुभकामना आदान प्रदान भयो। यो कार्यक्रम लक्ष्मीजयन्तिको पूर्वसन्ध्यामा भएको हो । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा देवकोटाद्वारा रचित भएको र रन्जित गज्मेरले संगीत भर्नु भएको नेपाली चलचित्र वासुदेवको कालजयी गीत कुन मन्दिरमा जान्छौ यात्रीलाई गायक रविन शर्माले गाएर सुनाउनु भयो।
कार्यक्रममा संसारका विभिन्न ठाउँबाट जोडिएका संगीतप्रेमीहरूलाई समेत विभिन्न प्रश्नहरू सोधेर सहभागी गराइएको थियो। कार्यक्रमको आकर्षक व्यानर बनाएर सहयोग गर्नु हुने गीतकार तथा संगीतकार राजकुमार बगरलाई सुनिता बस्नेतले आभार सहित धन्याबाद दिनुभयो।
कार्यक्रमको अन्त्यमा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले गीतकार, संगीतकार, तथा गायकलाई धन्यवाद दिनु भयो। देश विदेशबाट कार्यक्रममा सहभागी हुनु हुने स्रोता तथा दर्शक र सहजकर्ताद्वय सुरेन उप्रेती र सुनिता बस्नेत थापालाई पनि धन्यवाद दिनुभयो।
तल पूरा भिडियो हेर्नुहोस्ः
[embedyt] https://www.youtube.com/watch?v=bywoM8zNS9s[/embedyt]
अटवा, क्यानडाबाट सुरेन उप्रेती
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।