
सगरमाथा साहित्य प्रतिष्ठानका अध्यक्ष जीवित खड्का मगरसहितको एउटा टिम छ, जसले प्रतिष्ठानको फेसबुक पेज र युटुब च्यानलमार्फत प्रसारण हुँदै आएको कार्यक्रमका लागि अतिथि खोज्ने, उहाँहरूसँग कुराकानी गर्ने, कार्यक्रमका लागि समय मिलाउने र मिति तोक्ने काम गर्दै आएको छ । ५० देखि ७० औँ शृङ्खलासम्म आइपुग्दा जम्मा ४ जना मात्रै नारी स्रष्टा कार्यक्रममा जोडिनुभएको रहेछ । यसकारण पनि पछिल्लो समय एउटा गुनासो सुन्न थालिएको छ, “सगरमाथाले नारी स्रष्टालाई कम स्थान दियो ।” गुनासो आउनु ठिकै पनि हो । के कारणले यसो हुन गयो त्यो त स्रष्टा खोज्ने जिम्मेवारी लिएको टिमलाई नै थाहा होला तर कार्यक्रममा नारी स्रष्टाको उपस्थिति न्यून भएको चाहिँ सत्य हो । यो कुरालाई अहिले सगरमाथाले पनि मनन गरिरहेको छ र आगामी दिनमा यसलाई सम्बोधन गर्ने गरी योजना पनि पक्कै हुँदै छ नै ।

शकुन्तला जोशी
तिनै चारमध्ये एक जना नारी स्रष्टा हुनुहुन्छ विगत लामो समयदेखि पत्रकारिता र साहित्यलेखनमा सक्रिय रहँदै आउनुभएकी कवि तथा पत्रकार शकुन्तला जोशी । जसलाई कार्यक्रमको ७० औँ शृङ्खलामा हामीले जोड्न सफल भयौँ । पत्रपत्रिकामा उहाँका कविता र आर्टिकलहरू बेलाबखत पढ्दै आएको भए पनि उहाँलाई नजिकबाट चिन्ने र बुझ्ने मौका भने कार्यक्रमले जुराइदियो ।
मान्छेलाई बाहिरबाट हेर्दा जति सहज र सजिलो देखिन्छ भित्रबाट बुझ्दै जाँदा ऊभित्र अर्कै किसिमको मान्छे भेटिन्छ । यसअर्थमा हरेक मान्छे आआफ्नै कथाव्यथा बोकेर बाँचिरहेको हुन्छ, हिँडिरहेको हुन्छ । कवि जोशी पनि त्यस्तै एक कवि हुनुहुन्छ जसलाई बाहिरबाट सरसरती देखेको र सुनेको भरमा मूल्याङ्कन गर्न सकिन्न ।
पाँचथरको तत्कालीन मौवा -८, हालको तुम्बेवा गाउँ पालिका -०२ मा वि.सं. २०३५ साल भदौ १३ गते जन्मिनुभएकी कवि जोशीले धरान हुँदै काठमाडौँसम्म आएर अहिलेको अवस्थामा आइपुग्न कति सङ्घर्ष र ठक्करहरू खानुपऱ्यो होला हामी अनुमान मात्र लाउन सक्छौँ । कुनै पनि क्षेत्रमा अगाडि आउनका लागि मान्छेलाई सानैदेखि कुनै न कुनै कुराले प्रभाव पारिरहेको हुन्छ । यसमा कवि जोशी पनि अछुतो रहन सक्नु भएन ।

डि जि शर्मा (युएई),
सानै छँदादेखि नै पिता चित्रकुमार जोशीले भूमिगत राजनीतिमा लागेर समाजलाई जगाउने कार्य गरेको देख्दै आउनुभएकी कवि जोशी विद्यार्थी कालमा स्वयम् आफू पनि राजिनीतिमा होमिनुभयो । बुबाले जसरी उहाँले भूमिगत भएर राजनीति गर्नु नपरे पनि त्यहाँसम्म आउनुमा बुबाकै प्रभाव हो भन्दा फरक नपर्ला । त्यसैले त पछि धरानको महेन्द्र क्याम्पसमा पढ्ने क्रममा अनेरास्ववियुमा सहभागी भएर सक्रिय रूपमा विद्यार्थी राजनीतिमा लाग्नुभयो ।
अनि लेख्ने कुरामा चाहिँ ? यसमा पनि उहाँको बुबाकै मूख्य भूमिका देखिन्छ । राजनीतिसँगै बुबा गाउँको स्कुलमा पढाउने काम पनि गर्नुहुन्थ्यो । जनतालाई सूचित गर्नका लागि भनेर बुबाले धरानबाट लगेका थुप्रै किताबहरू सानैमा पढ्ने मौका पाउनुभयो कवि जोशीले पनि । बुबाको मार्क्सवादी चिन्तनको राजनीति र त्यसैसँग सम्बन्धी पुस्तकहरू सानैदेखि पढ्ने बानी परेका कारण पनि हुन सक्छ कवि जोशीमा पनि त्यही चिन्तन हाबी हुँदै गयो । पहाडी गाउँमा जन्म भएका कारण पनि जोशीले सानैदेखि गाउँघरमा हुने मेलापात, घाँसदाउरा, कुटो कोदालो सबै गर्दै हुर्किनुभयो ।
घरको जेठो सन्तान भएका कारण पनि सानैदेखि घरको काम धन्दामा सामेल हुनु उहाँको बाध्यता जस्तै बन्यो तर मेलापात गरिरहँदा पनि कवि जोशीले एक हातले डोकाको नाम्लो सामातेर अर्को हातले किताब समाएर पढ्ने काम पनि गर्नुभयो । सानैदेखि पढाइप्रतिको मोह र त्यहीअनुसारको घरमा पढ्ने वातावरण सिर्जना हुनुले पनि जोशीलाई लेखनतर्फ आकर्षित गर्दै लग्यो । त्यतिमात्रै होइन समाजमा हुने अनेक किसिमका विभेदले पनि उहाँलाई लेख्न उत्प्रेरित गरिरह्यो । कसैको घर किन ठूलो छ ? कसैको किन सानो छ ? मान्छेले मान्छेलाई नै किन हेपिरहेको छ ? लोग्ने मान्छेहरू खुलेआम हिँडिरहँदा माहिलाहरू किन घरमै सीमित छन् ? जस्ता अनेकौँ प्रश्नहरूले कवि जोशीलाई सानैदेखि सोच्न बाध्य पारिरह्यो र पछि त्यसैको जवाफ खोज्ने क्रममा साहित्य सिर्जना हुन थाल्यो । आफूले भोगेको समाज र त्यही समाजमा हुने र देखिँदै आएको वर्गीय विभेदलाई सानैबाट बुझ्न थाल्नुभएकी कवि जोशीले पछि त्यसैलाई आफ्नो लेखनको केन्द्र बनाउनुभयो । समाजमा हुने हरेक किसिमका असमानताविरुद्ध उहाँका कविताहरू बोलिरहेको पाइन्छ । उहाँका कवितामा त्यो भेटिनु स्वाभाविक पनि हो ।
कुनै पार्टीको विचारधार बोकेर, कुनै पार्टीको झन्डा बोकेर साहित्य सिर्जना र पत्रकारिता गरिरहँदा त्यो लेखक कुनै पार्टीविशेषको लेखक बन्ने सम्भावना कत्तिको रहन्छ त ? हाम्रो बुझाइमा पक्कै पनि त्यो सम्भावना देखिन्छ तर कवि जोशी त्यो कुरामा सहमत हुनु हुन्न । साहित्य लेखन र पत्रकारितामा सक्रिय हुन थालेपछि आफ्नो राजनीतिक सक्रियता कम हुँदै गएका कारण अब आफू कुनै पार्टीको लेखक हुने सम्भावना नरहेको उहाँको बुझाइ छ । फेरि पनि पत्रकारिता र साहित्य राजनीतिसँग कुन न कुनै रूपले जोडिएरै आउने उहाँको भनाइ छ । राजनीतिलाई व्याख्या गर्ने, आलोचना गर्ने, समालोचना गर्ने, सम्बोधन गर्ने र जनतामाझ राजनीति बुझाउने गतिलो माध्यम पत्रकारिता र साहित्य नै भएकोले एकआपसमा जोडिनु स्वाभाविक पनि हो । राजनीतिलाई हेर्ने एक किसिमको दृष्टिकोण निर्माण हुँदै गइसकेपछि त्यही किसिमले साहित्य पनि सिर्जना हुँदै जाने उहाँको भनाइ छ तर सबैले त्यसरी नै साहित्य सिर्जना गर्छन् भन्ने छैन र त्यसरी नै लेखिनुपर्छ भन्ने पनि जरुरी रहँदैन । जोशी थप्नुहुन्छ, “तर मैले जे लेखिरहेको छु, जे निर्माण गरिरहेको छु, जे सिर्जना गरिरहेको छु त्यो चाहिँ राजनीतिलाई खबरदारी गर्ने गरी आइरहेका छन् ।”
पूर्वाञ्चलमा लोकप्रिय मानिने “ब्लास्ट टाइम्स” दैनिकमार्फत वि.सं. २०५६ सालबाट लेखक जोशीको पत्रकारिताको यात्रा सुरु भएको थियो । साहित्यलेखन पनि लगभग त्यही समयबाट सुरु भएको थियो । धरानबाट पत्रकारिता सुरु भएको उहाँको यात्रा पछि पोखराको “माइक्रो न्युज”, नेपाल टेलिभिजनबाट प्रसारित “पक्ष-प्रतिपक्ष” को रिपोर्टर, “आर्थिक अभियान” दैनिकको उपसम्पादक, “अन्नपूर्ण टुडे”, “नेपाली पब्लिक” अनलाइन पत्रिकामा डेपुटी चिफका रूपमा समेत रहेर काम गरिसक्नुभएको छ । उहाँले पत्रकारितासँगै साहित्यलेखनलाई पनि सँगै अगाडि बढाइरहनुभयो ।
पत्रकारिता र साहित्यलेखनमा सक्रिय रहँदै आए पनि उहाँभित्रको राजनीतिक चेतनाको आगो कहीँ न कहीँ देख्न पाइन्छ अहिले पनि । राजनीतिमा निष्क्रियजस्तो देखिए पनि त्यो राजनीतिको आगो कतै बलिरहेकै हुन्छ । त्यो आगो कहिले कवितामा बल्छ त कहिले उहाँले लेख्ने लेखहरूमा । उहाँकै भाषामा भन्नुपर्दा कुनै समय प्रतिगमनका विरुद्ध पार्टीको झन्डा र टायर बोकेर सडकमा निक्सिने जोशी अहिले पनि बेला-बेला सडकमा निस्किनुहुन्छ तर पहिलाजस्तो उहाँको हातमा पार्टीको झन्डा र टायर हुँदैनन् । हुन्छन् त केही थान कविता र कविताभित्रको आक्रोश । जो प्रतिगमन भनिएको राज्यको विरुद्धमा लेखिएका छन् । “प्रगतिवादी लेखन” र “प्रतिवद्ध पुस्ता” जस्ता अभियानमा सक्रिय रूपमा सहभागी भएर बेलाबखत कवि जोशीलाई सडकमा देखिनुले पनि एउटा कुरा के प्रस्ट हुन्छ भने उहाँको पार्टी मात्रै फेरिएको हो स्वभाव फेरिको छैन ।
राजनीति गर्नु र साहित्य सिर्जना गर्नु यी दुई भिन्न कुरा हुन् जस्तो लाग्छ हामीलाई तर कवि शकुन्तला जोशीलाई भने यी दुई कुरा एउटै हुन भन्ने लाग्छ । जसरी राजनीतिमा गुटउपगुटको परिपाटिले राजनीतिलाई फोहोर पारेको छ, नेपाली साहित्यमा पनि त्यही चलन चलिआएको छ । फरक यति हो राजनीतिभित्रको गुटउपगुट प्रस्ट रूपमा बाहिर देखिन्छ तर साहित्यभित्रको गुटबन्दी भित्रभित्रै चलिरहेको हुन्छ । जुन जो कसैले सजिलै बुझ्ने खालको हुँदैन पनि । कहिले विभिन्न नाममा विभिन्न सङ्घसंस्थाले वितरण गर्ने पुरस्कारको सवालमा होस् अथवा विभिन्न सङ्घसंस्थाले बेलाबखत आयोजना गर्ने साहित्यिक प्रतियोगिता नै किन नहोस्, कहीँ न कहीँ नजानिँदो पारामा चलखेल भएको पाइन्छ नै ।
यसकारण पनि कवि जोशीलाई साहित्य पनि कुनै राजनीतिभन्दा कम नभएको भन्ने लाग्छ ।
कतिपय लेखकहरू म किन लेखिरहेको छु, कसका लागि लेखिरहेको छु भनेर जवाफ दिइराख्नु आवश्यक नभएको पनि ठान्छन् । कतिपय लेखक आफ्नै खुसी र सन्तुष्टिका निम्ति लेखिरहेको पनि भन्न पछि पर्दैनन् तर कवि जोशी भने आफूले लेखिरहेको सिर्जना केका लागि र कसका लागि हो भनेर कम्तीमा लेख्ने मान्छेलाई थाहा हुनु जरुरी छ भन्नुहुन्छ । तब मात्रै एउटा लेखक खास उद्देश्यका लागि खास चिज लिएर आउन सक्छ । त्यसो हुँदा उहाँ खास उदेश्य र खास मान्छेहरूकै लागि लेखिरहेको दाबी गर्नुहुन्छ । साहित्य सिर्जना गर्दा आनन्द आउनु स्वाभाविक कुरा हो तर म आनन्दकै लागि मात्र सिर्जना गर्दिनँ । समाज रूपान्तरणका लागि मार्क्सवादले दिएको सिद्धान्तलाई आधार मानेर समाज रूपान्तरणका लागि म साहित्य सिर्जना गरिरहेको छु । संसारमा अहिले पनि एक थरी मानिसमाथि गइरहेका छन् भने अर्का थरी मानिस अझै पनि सडकमै छन् । आखिर किन ? एक थरी मानिस अर्को ग्रहमा बस्ती बसाउने अभियानमा लागिरहँदा यही धर्तीमा अर्का थरी मानिस एक छाकका लागि सङ्घर्ष गरिरहेका छन् । किन ? कोही मानिस पाँचतारे होटलमा वास बसिरहँदा यही धर्तीमा कोही मानिस पुलमुनि बसेर पनि रात कटाइरहेका छन् । आखिर किन ? कोही मानिस सामन्य रोगका लागि पनि विशेष उपचार गराइरहेका छन् भने कोही मानिस गम्भीर रोग लाग्दा पनि सामन्य उपचारसमेत नपाएर मरिरहेका छन् । उपचारकै लागि भनेर अस्पतालको ढोकामा रोइरहेका छन् । आखिर किन यस्तो भइरहेको छ ? यी तमाम प्रश्नहरूको जवाफ खोज्न र ती वर्गको समग्र उत्थानका लागि आजीवन लेखिरहने कवि जोशीको सङ्कल्प रहेको छ । थाहा छैन यो समाजमा यस किसिमका वर्गीय विभेद कहिलेसम्म कायम रहने हो तर मान्छेले मान्छे भएर बाँच्ने जबसम्म आधार पाउँदैनन् तबसम्म यो लडाइँ जारिरहने र तबसम्म उनीहरूको आवाजका निम्ति लेखिराख्नुपर्ने आवश्यकता उहाँ देख्नुहुन्छ ।
यसकारण पनि उहाँ दाबी गर्नुहुन्छ कि, “म ती मान्छेहरूका लागि लेखिरहेकी छु, जो आफ्ना लागि आफैँ लेख्न सक्दैनन् । आफ्ना लागि आफैँ बोल्न सक्दैनन् । तिनीहरूकै आवाजलाई शब्दमा उतार्ने कोसिस गरिरहेकी छु ।”
उसो भए जसका लागि भनेर तपाईँ लेखिरहनुभएको छ, तपाईँको लेखाइ सम्बन्धित ठाउँसम्म पुगेको छ त ? तपाईँले लेखेका कुराले उनीहरूको जीवनमा केही परिवर्तन आएको छ त ? केही समय उहाँ अलमलिनुहुन्छ र प्रश्नले खोजेको जवाफभन्दा पर गएर अर्कै जवाफ दिनुहुन्छ । यसैमा कवि, प्राध्यापक तथा समालोचक महेश पौड्यालको प्रसङ्ग जोड्न चाहन्छु । कवि पौडेलको एउटा उपन्यास छ, “तादी किनारको गीत” जो माझी समुदायलाई लक्षित गरेर लेखिएको हो । केही समयअघि यही साहित्यपोस्टमै प्रकाशित उहाँको एउटा लेखको एक अंश जस्ताको त्यस्तै साभार गर्न चाहेँ ।”
कहिलेकाहीँ आक्रोशित हुन्छु । किताब हुन्छ निमुखकाको मुद्दामा । उपन्यास, भनौँ । मूल्य ४५० मात्र । भाषा — प्राध्यापकको । एउटा निमुखो परिवारमा ४५० रूपियाँ भनेको महिनाभरिको घरखर्च । अथवा आधा महिनाको । त्यस निमुखाले न किन्न सक्छ न पढेर बुझ्छ । उसको फगत नाम बेचिन्छ । ‘तादी किनारको गीत´ नै भनौँ न । किन अरूलाई भन्नु ? माझीको कथा । पढे त माझीले ?”
उहाँको यो लेखाइले के प्रस्ट्याउँछ भने हामीले अरूका लागि लेखिरहेका छौँ भनेर जति नै दाबी गरे पनि ती लेखाइहरू सम्बन्धित ठाउँसम्म भनेअनुरूप पुग्न सकिरहेका छैनन् । उसो भए हामी किन भनिरहेका छौँ कि, “म अरूका लागि लेख्छु भनेर ?” यसको मूल्याङ्कन लेखकहरूले गर्नु जरुरी छ कि छैन ? । अब भने कवि जोशी “कन्भिन्स्ड” हुनुभयो र सोधिएको प्रश्नको जवाफ दिन थाल्नुभयो । जवाफ दिने क्रममा उहाँ पनि कवि महेश पौड्यालको भनाइप्रति सहमत हुनुभयो । “हो मैले जसका लागि भनेर लेखिरहेको छु, ती मानिसहरूसमक्ष मेरा सिर्जनाहरू पर्याप्त मात्रामा पुग्न नसकेको कुरा सत्य हो । त्यसलाई म स्वीकार गर्छु तर पनि हामीले कसरी हुन्छ उनीहरूसामु पुऱ्याउने कोसिस गरिरहेका छौँ । एउटा कविले कविता लेख्छ, अर्को कविले सुन्छ र प्रतिक्रिया दिन्छ, अहिलेसम्म यति मात्रै हुँदै आएको छ, हामी यो भन्दा बाहिर निस्किनु जरुरी छ । हामी प्रयास गरिरहेका छौँ ।” जुन वर्गका लागि लेखिएको हो त्यो वर्गसम्म त्यो लेखाइ पुग्नु जरुरी छ । जसका लागि लेखिएको हो त्यही ठाउँमा गएर उसलाई सुनाउनु र बुझाउनु आवश्यक छ भन्ने कुरामा कवि जोशीले जोड दिए पनि पर्याप्त मात्रमा त्यसो हुन नसकेको कुरा पनि उहाँ स्वीकार गर्नुहुन्छ तर २० बर्षभन्दा धेरै पत्रकारिता र साहित्यलेखनको उहाँको अनुभवले भने यही भन्छ कि निरन्तर लेखिराख्नु जरुरी छ र त्यो कुरा कुनै न कुनै दिन सम्बन्धित ठाउँमा अवश्य पुग्नेछ ।
हाल भक्तपुर कौशलटारमा बस्दै आउनु भएकी कवि जोशी अहिले भने केही साथी मिलेर आफैँले स्थापना गरेको “जिन्दगानी डटकम” को सम्पादक भएर पत्रकारितामा सेवा गर्दै आउनुभएको छ । गत जेठ महिनाबाट सुरु भएको त्यस अनलाइन पत्रिकाले “फिचर राइटिङ” लाई प्राथमिकता दिँदै आएको छ । पछिल्लो तीन वर्षदेखि सामाजिक उद्यममा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ । केही महिला साथीहरूको सहकार्यमा स्थापना गरिएको “भरोसा प्रिन्ट” को उहाँ अध्यक्ष तथा कार्यकारी प्रमुख हुनुहुन्छ । जुन प्रिन्टले “सोभिनियर प्रिन्ट” को काम गर्दै आएको छ । विशेष गरी कविता, कथा र निबन्धमा कलम चलाउँदै आउनुभएकी लेखक जोशीको वि.सं. २०७० सालमा पहिलो कवितासङ्ग्रह “आदिम सिमाना” समेत प्रकाशित भइसकेको छ । लामो समयदेखि पत्रकारिता र साहित्यलेखन गरिरहँदा थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएकी कवि जोशीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । प्रगतिशील लेखक सङ्घमा आबद्ध भएर लामो समयसम्म काम गरिसक्नुभएकी लेखक जोशी समाजवादी लेखक सङ्घको संस्थापक सदस्य, मार्क्सवादी सांस्कृतिक मोर्चाको कार्यसमिति सदस्य भएर पनि आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ ।
(“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज र युटुब च्यानल “ए एस इन्टरटेन्मेन्ट” मार्फत हरेक बिहिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










