साहित्यलाई साइनोको फेरोले समात्न आवश्यक पर्दैन । साहित्य कर्म आफैँमा पूर्ण नाता हो तर कहिलेकाहीँ पुरानो नाताले अपनत्वको अर्को आयाम नाप्दो रहेछ । भावनासँगै इतिहासका पानाहरू पल्टिँदै एउटा बिन्दुमा आएर टक्क अडिने रहेछ, जुन पानाले विगतलाई सम्झाउँदै वर्तमानलाई रमाइलो र घमाइलो पार्ने काम गर्दछ । यसको महसुस ४ वर्षअघि आएको एउटा टेलिफोन कलले गराइदियो ।
सधैँझैँ आफ्नो काम सकेर रेस्टुरेन्टबाट घर फर्किरहेका बेला बाहिरी देशको नम्बरबाट एउटा फोन आयो । फोन अमेरिकाबाट आएको थियो र बोल्दै हुनुहुन्थ्यो, मुक्तककार तीर्थराज अधिकारी । भन्नुभयो – ‘मैले सामाजिक सञ्जालमा तपाईँको एउटा तस्बिर देखेँ । तस्बिरमा तपाईं मेरो पुरानो साथी चूडामणिसँग हुनुहुन्थ्यो । तपाईँ उहाँलाई कसरी चिन्नुहुन्छ ?’
प्रश्न मेरा निम्ति अप्रत्यासित र अनौठो थियो । नौलो तर प्रस्ट आवाज सुन्दा म केही हच्किएँ र सम्हालिएर बोलेँ – ‘उहाँ त मेरो पिताजी हो । के भयो र सर ?’ मैले अनौठो मान्दै उत्तर दिएँ ।
अचानक उहाँको बोलीमा केही साइनो जोडिएजस्तो मायालुपनको मात्रा बढ्यो । स्वरमा एक प्रकारको वात्सल्य झल्कियो – ‘प्रकाश बाबु, तपाईँले बिर्सनुभयो होला । तपाईँ त मेरो काखमा खेलेको मान्छे । आज तस्बिरमा चूडामणिजीसँग देख्दा ठूलो भइसकेको तपाईँ उही बच्चा हो भन्ने अन्दाज गरेँ र तुरुन्तै फोन गरेको हुँ ।’ म केही अलमल र अक्कबक्क भएँ । जवाफ फर्काउने कुनै शब्द नै पाइनँ ।
म तीन कक्षा पढ्दा ताका मेरो बुबा पोखराको कोष तथा लेखा नियन्त्रण कार्यालयमा हुनुहुन्थ्यो । बुबाको सरकारी जागिरको पहिलो नियुक्ति नै त्यही कार्यालयबाट भएको हो । सरकारी सेवामा रहेकाले बुबा जहाँ-जहाँ सरुवा हुनुहुन्थ्यो, हामी पनि त्यहाँ पुग्ने जिद्दी गर्दथ्यौँ । रहर गर्दथ्यौँ । दाजुभाइमा हानथाप हुने गर्दथ्यो तर यस्तो मौका स्कुल छुट्टी भएका बेला मात्र जुर्दथ्यो । बर्से बिदा वा वार्षिक परीक्षा सकिएपछिको बिदा । पोखरा जानु यही रहरपूर्ण जिद्दीको काम थियो । त्यस बेला हामी दाजुभाइ एक महिना पोखरा बस्यौँ । त्यस बेला बुबासँग हामी चियानास्ता खाने मौका पारेर उहाँको अफिस पनि पुग्दथ्यौँ । बुबाका सहकर्मीहरू मात्रै होइन, त्यहाँका कोषनियन्त्रक अधिकृत र हाकिमले पनि धेरै माया गरेर काखमा लिनुहुन्थ्यो । आफूले खान ठिक्क पारेको चिया बिस्कुट हामीलाई दिनुहुन्थ्यो । कहिलेकाहीँ जिलेबी खान सुका-मोहर पनि पाइन्थ्यो । अमेरिकादेखि आएको फोन खासमा बुबाको तिनै हाकिमसा’पको रहेछ ।
जागिरबाट छुट्टीमा घर आउँदा होस् वा अन्य कुनै सन्दर्भ चल्दा होस् बुबाले हाकिमसा’पको रमाइलो-रमाइलो किस्सा सुनाउनुहुन्थ्यो । धेरै किस्सा सन्देशमूलक हुन्थे भने केही रोचक र घोचक । अहिले आएर खुलस्त भएको छ, हामीले स्कुले जीवनमा सुन्ने गरेका हाकिमसा’पका ती सबै किस्साहरू उहाँमै सम्बन्धित रहेछन् ।
अनेसाससँग हामी जोडिएको धेरै भएको थियो । म सन् २००६ मा जापान प्रवेशलगत्तै सन् २००७ बाट अनेसास जापान च्याप्टरमा आबद्ध भएँ । अन्तर्दृष्टिको प्रधानसम्पादकका रूपमा सन् २००८ मै केन्द्रीय कार्य समितिको सदस्य बन्ने महत्त्वपूर्ण अवसर मलाई प्राप्त भएको थियो । तीर्थ अधिकारी सन् २००५ बाट अमेरिका जाने/आउने गर्न थाल्नुभयो । अनेसासमा चाहिँ सन् २०१४ बाट संस्थागत सक्रियता देखाउन थाल्नुभएको हो ।
व्यक्तिगत र संस्थागत चिनजान हुनुअघिदेखि नै उहाँका मुक्तकसँग म गहिरोसँग परिचित पनि थिएँ । सन् २०१६ मा अन्ताराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को २५ औँ स्थापना दिवसको अवसरमा अमेरिकाको वासिङ्टन डि.सी.मा भएको भव्य कार्यक्रममा हाम्रो समान्य भेट भएको थियो । साँच्चै नै संस्थाको त्यो रजत जयन्तीमा विशाल जमघट थियो । अस्ट्रेलिया, जापान, युरोप, क्यानाडा, नेपाल, भारतसहित अमेरिकाभित्रकै विभिन्न च्याप्टरहरूको चौतर्फी सङ्गम थियो । म पनि केही दिनका लागि मात्रै पुगेको थिएँ समय निकै थोरै भएकाले सहभागी सबैसँग नजिकबाट हेलमेल हुने माहोल बन्नै सकेन । तीर्थ अधिकारीको बसोबास ओहायो सहरमा भए पनि ५ घण्टाको ड्राइभबाट त्यहाँ आउनुभएको थियो । त्यही क्रममा उहाँको बुलन्द मुक्तक सुन्ने मात्रै होइन, केही मिनेटको कुराकानी पनि आत्मीयतामा परिवर्तन भएको थियो । साहित्यले जोडेको त्यो साइनोलाई थप जोड्नुपर्ने आवश्यकता पनि थिएन तर यो टेलिफोनले सम्बन्धको अर्को आयाममा पुर्याइदियो । उक्त टेलिफोन कलपछि मैले व्यक्तिगत भेटघाट, कुराकानी र सम्पर्क हुँदा उहाँलाई सर नभनेर अङ्कल भनेर सम्बोधन गर्न लागेँ । यद्यपि यस लेखका एउटा स्तम्भकारको रूपमा भने सरकै रूपमा सम्बोधन गर्न उपयुक्त ठान्दछु ।
तीर्थराज अधिकारी नेपाली मुक्तक साहित्यमा राम्रो उचाइ बनाउन सफल भएको नाम हो । उहाँ नेपाली राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक कुराको गहिरो ज्ञान राख्नुहुन्छ । तीन दशकभन्दा बढी सरकारी सेवा बिताएका कारण प्राशासनिक दक्षता पनि राम्रोसँग राख्नुभएको छ तर उहाँको खास व्यक्तित्व र परिचयको माध्यम साहित्य नै हो । साहित्यमा पनि मुक्तकका माध्यमबाट आफ्ना भावना व्यक्त गर्न रुचाउने हुनाले चार लाइनभित्र उहाँले कुनै एउटा क्षेत्रलार्ई मार्मिक भेदन गर्न सक्नुहुन्छ । अनुभव, विद्वत्ता र अध्ययनका कारण हुन सक्छ, उहाँले लेखेका चार लाइनमा ठूलो दर्शन देखिने गर्छ । माहोल र परिस्थिति हेरी फरक-फरक मर्म बोकेका मुक्तक सुनाउन उहाँ माहिर हुनुहुन्छ । केटौलीदेखि वृद्ध उमेर तहसम्म सबैलाई मन्त्रमुग्ध पार्ने क्षमता उहाँका मुक्तकमा भेटिन्छन् ।
पर दबावको प्रमुख पक्ष आपसी छिद्रता रहेछ
अवनतिको मुख्य कारण वैचारिक दरिद्रता रहेछ
वैमनष्य द्वन्द्व र अशान्तिको कारण हो भने प्रभो
शान्ति र सन्तुष्टिको बाहक समादर र मित्रता रहेछ ।
उहाँले लेख्नुभएका सयौँ मुक्तकमध्ये जीवन, जगत् र दर्शनसँग सम्बन्धित मार्मिक मुक्तक हो यो तर यो एउटै मुक्तकमा म गीताको श्लोकमा जत्तिकै गहिराइ पाउँछु । प्रत्येक शब्द र त्यसबाट ध्वनित भाव मलाई उहाँजस्तै पाको लाग्छ । घटना र परिस्थितिले खारिएर निस्किएका यस्ता भावहरूका कारण उहाँलाई पोखराको एउटा सार्वजनिक कार्यक्रममा समाजका अगुवाहरूले ‘मुक्तकमणि’ को उपाधिले सम्मान गरे । यो सम्मान वास्तवमा उहाँको व्यक्तित्वका लागि आवश्यक र न्यायसङ्गत पनि थियो । यसले उहाँको व्यक्तित्वको सम्मान मात्र भएको थिएन, स्वयं मुक्तक विधाले पनि सम्मानित हुने अवसर पाएको थियो ।
उहाँका हरेक मुक्तकले एउटा गम्भीर दर्शन दिन्छन् । हुन त कविता जति छोटो भयो, त्यसले त्यति नै गम्भीर भाव बोक्नुपर्छ भन्ने मान्यता नै छ । सबै कविले त्यो मर्म बोकेर हिँड्छन् भन्ने छैन । तीर्थ अधिकारीले भने त्यो राम्रोसँग बुझ्नुभएको मात्र छैन कि त्यसलाई लागु गर्नुभएको छ । हुन त सङ्घर्ष र अनुभवले खारिएका कारण पनि उहाँका हरेक शब्दमा त्यो गम्भीरता झल्केको हो कि ?
हिमालजस्तो उच्च विशाल वक्ष भयो भने
इमानदार राष्ट्रवादी पक्ष-विपक्ष भयो भने
विकासमा वास्तुको अड्चन नहोला साथी
चट्टानसमान मजबुत लक्ष्य भयो भने ।
उहाँमा समान्य कुराभित्र पनि गम्भीर शब्दद्वारा त्यसलाई गहिरो बनाउने क्षमता देख्छु । सायद यही कारण उहाँले लेखेका नयाँ-पुराना जुनसुकै मुक्तक म ढिला नगरी पढ्ने गर्छु । लामा लेख, कथा र उपन्यास पढेर जे प्राप्त गर्न सकिन्छ, त्यो दर्शन उहाँका चार लाइनका कविताले दिने भएका कारणले पनि म उहाँको पाठक भएको हुँ ।
कहिलेकाहीँ असल कवि असल व्यक्ति नहुन सक्छ । कवितामा गम्भीर कुरा पस्कने कवि वास्तविक जीवनमा हलुका हुन सक्छ । जीवनको स्वर्णिम कल्पनामा रमाउने कवि वास्तविक जीवनमा दुःखी हुन सक्छ । तीर्थ सर मुक्तकहरूमा जस्तो पोखिनुहुन्छ, व्यवहारमा उस्तै हुनुहुन्छ । उमेरले ७४ वसन्त देखिइसके पनि उहाँमा बुढ्यौलीभाव पटक्कै देखिँदैन । युवा र तन्नेरीहरू झुम्ने मुक्तक लेख्न पनि उत्तिकै खप्पिस हुनुहुन्छ । उहाँको वाचनशैलीबारे त मैले यहाँ केही वाक्य मात्रै लेखेर कमी नै हुन्छ होला । यत्ति भन्न सक्छु एकपटक उहाँको वाचन सुन्नेले उहाँलाई कहिल्यै भुल्दैन ।
तिम्रा हर उमङ्गमा साझा बनाए हुन्छ
सुकुमार मनभित्रको राजा बनाए हुन्छ
अन्त कतै मिल्दैन भने मलाई प्रिय !
तिमी बस्ने घरको दरबाजा बनाए हुन्छ ।
कहिले छिनछिन गर्ने चुरी लिएर आउँछ
कहिले तिरिरी बज्ने बाँसुरी लिएर आउँछ
तिमीलाई स्पर्श गर्ने पवनले साथैमा प्रिय
मनै प्रसन्न पार्ने मिठो माधुरी लिएर आउँछ ।
उहाँमा अध्ययनशील स्वभाव उस्तै छ । अमेरिकाभित्र हुने साना तथा ठुला हरेकजसो कार्यक्रममा पुगेकै हुनुहुन्छ । अन्य मुलुकमा हुने सम्मेलनहरूमा पनि उपस्थित हुने प्रयास गर्नुहुन्छ । उमेरलाई मात दिने स्फूर्ति शरीरमा देखिन्छ । कसैले जिस्क्यायो भने भन्ने गर्नुहुन्छ – ‘साहित्यको ओखती खाएको छु, त्यसैको बलमा हिँड्छु ।’ यो उमेरमा पनि उहाँ नेपाली भाषा, साहित्य र मुक्तकका लागि मरिमेटेर लागिरहनुभएको छ । उहाँको सक्रियता देख्दा यस्तो लाग्छ, भाषा साहित्यका लागि उहाँ केही गर्ने हुटहुटी उत्कर्षमा छ । लामो समय सरकारी जागिर खाँदा बाँधिएको नियमबाट खुला जीवनको सक्दो सदुपयोग गर्न चाहनुहुन्छ ।
उहाँका आधादर्जन बढी कृति प्रकाशित भइसकेका छन् । २०२६ सालमै उहाँको सम्पादकत्वमा प्रकाशित पहिलो कृति ‘झुल्का’ छाप्ने बेला सायद उहाँले पनि अनुमान गर्नुभएको थिएन होला प्राशासनिक र साहित्यिक क्षेत्रको यो उचाइमा पुग्छु भनेर । उहाँका तीन ओटा कृति अङ्ग्रेजीमा अनुदित भैसकेका छन् । त्यसबाहेक मुक्तकसङ्ग्रहको एउटा भिसिडी पनि प्रकाशित भएको छ । साहित्यलाई आन्तरिक अनुभूति र संवेदनाको अभिव्यक्त रूप मान्ने तीर्थ सरलाई साहित्य पानीजस्तै लाग्छ । उहाँ भन्नुहुन्छ – ‘साहित्य पानीजस्तो निर्मल हुनुपर्दछ, जसले पियो, उसैको तृष्णा मेट्ने ।’
उहाँको बौद्धिकताबाट प्रभावित भएर नै मैले उहाँको कृतिहरू ‘जुनकिरी’, ‘ऐना’ र ‘बिरिम फूल’ एक साताभित्र पढेर सकेको थिएँ । सामन्य कुराभित्र कति गहिरो कुरा लुकेको हुन्छ भन्ने बुझ्न पनि म उहाँका कृतिहरू पढ्ने गर्छु । उहाँका मुक्तकसङ्ग्रहहरू ‘झटारो’, ‘यो कसको हात हो’ र ‘बिरिमफूल’ मुक्तक विधाका चर्चित कृति हुन् ।
स्रष्टाले भावना लेख्नु ठूलो कुरा होइन । स्रष्टा कसरी बाँच्छ, त्यो ठूलो कुरा हो । तीर्थ सर साँच्चै नै नेपाली साहित्यका लागि मरिमेट्ने व्यक्ति हुनुहुन्छ भन्ने कुरामा मलाई द्विविधा छैन । एक वर्षअघि बेलायतमा हुन लागेको अनेसासको छैटौँ अन्ताराष्ट्रिय नेपाली साहित्य सम्मेलनको पूर्व तयारी भइरहेका बेला उहाँले फेसबुकमा एउटा गम्भीर खालको सन्देश पोस्ट गर्नुभयो । त्यसमा उहाँले अनेसाससँग नजिक रहेका हरेक व्यक्तिलाई विभिन्न सुझाव दिनुभएको थियो । त्यो सुझाव झट्ट हेर्दा साना तर संस्थालाई दूरगामी असर पार्ने खालका थिए । सम्मेलनको दौरान र सम्मेलनपछि पनि उहाँले फेसबुकमा राख्नुभएका सुझावहरूका बारे सहभागीले सकारात्मक चासो व्यक्त गरेका थिए ।
सन् २०२० को जनवरीमा जापानमा भएको च्याप्टर सम्मेलनमा उहाँ प्रत्यक्ष सहभागी हुन नसके पनि सम्मेलन अवधिभर यतैको चिन्ता गर्नुभयो । निरन्तर सुझाव, चासो र मार्गनिर्देश गरिरहनुभयो । किनभने गत साल मात्रै उहाँ जापान आएर जानुभएको थियो । उहाँको जापान आगमन, छोटो बसाइ र साहित्यिक भेटघाट अझै पनि हाम्रो मानसपटलमा ताजै छन् । उहाँ फर्केपछि पनि धेरै कार्यक्रममा उहाँ सम्झिइनुभयो ।
दम्पतीसहित एक साता जापान बसाइमा आउँदादेखि फर्किने बेलासम्म उहाँहरूमा उत्साह बेग्लै थियो । केही जान्ने जागरूकता र युवाहरूलाई प्रोत्साहन गर्ने उहाँको शैली र कलाबाट मेरी जीवनसङ्गिनी भूमिका र म पनि निकै प्रभावित भयौँ । उहाँहरूलाई बाहिर बस्न जान दिएनौँ र गाह्रोसारो र साँघुरो भए पनि हाम्रोमै बस्न आग्रह गर्यौँ । मातापिता समानको व्यक्तित्वहरू आउँदा हामीलाई पनि बेग्लै आडभरोसाको महसुस भयो । न्यास्रो पनि मेटियो । बिहान उठेदेखि ननिदाउन्जेलसम्म उहाँले बोल्ने हर कुरा गहकिला हुन्थे । सुनिरहुँजस्तो लाग्ने । कुरा नसकिएहुन्थ्यो जस्तो लाग्ने । अनेसास जापान च्याप्टरले ३१ मार्च २०१९ को दिन उहाँको सम्मानमा विशेष कार्यक्रम राखेको थियो । दिनभरि कविगोष्ठी र मुक्तकिलो डिनर कार्यक्रम निकै रमाइलो भएको थियो । अनेसास जापान च्याप्टरका साथीहरू डा. कुमार बस्नेत, बेलुकाजी थापा, आलोक चालिसे, कुमारबाबु सिम्खडा, दीप पाठक, रबिन शर्मा, अरुण पौडेल, गिरिजा गैह्रे, हेमन्त गिरी, शेखर विकल्प, ग्रीष्मा पौड्याल, आनन्द अधिकारी, प्रेमिला गौचन, सुमित गिरीलगायतले अझै पनि उहाँका बारे सोध्ने गर्नुहुन्छ । यसको अर्थ हुन्छ, जापानमा उहाँले छोड्नुभएको छाप वास्तवमै सम्झनलायक थियो, ऐतिहासिक थियो ।
हाल अनेसास बोर्ड अफ ट्रस्टीको कार्यकारी सदस्यका रूपमा रहँदा उहाँको खटाइ र सक्रियता लोभलाग्दो देखिन्छ । सधैँ सकरात्मक भाव राखेर केही न केही गरिरहने स्वभावले गर्दा होला उहाँमा थकान र वितृष्णा भन्ने भेट्न सकिँदैन । राष्ट्रिय तथा अन्ताराष्ट्रिय स्तरमा धेरै संस्थामा आबद्ध भए पनि पछिल्लो समय अनेसासलाई आफ्नो मूल संस्था मान्नु नै हाम्रा निम्ति सौभाग्य हो । संस्थालाई स्वच्छ, हराभरा र सबल बनाउने आफ्नो मुख्य अभियान रहेको कुरा उहाँले पटक-पटक सार्वजनिक रूपमा बताउने गर्नुभएको छ ।
आदरणीय तीर्थ सर, तपाईँको यो सपना हामी सबैको सपना हो । हामी सबै यही सपनाका लागि आफ्ना व्यक्तिगत अप्ठ्यारा सहेर पनि यही कर्ममा लागिरहेका छौँ । तपाईँको आशीर्वाद र निर्देशन यसरी प्राप्त गर्दै जाँदा हामी तपाईँको सपनालाई विपनामा अवश्य परिवर्तन गर्नेछौँ । लक्ष्यमा हामी हिँडिसकेका छौँ, हाम्रा हरेक पाइला तपाईँका त्यही सपनातिर अघि बढिरहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।