लण्डन, ११ अक्टोबर २०२१ को दिन बेलायतबाट ‘गोर्खा हिस्ट्री मन्थ’ (Gurkha History Month) सुरु भएको घोषणा गरिएको छ ।

गोर्खालीहरूले गौरवशाली इतिहास रचेका छन् । यसैले नेपाललाई विश्वजगतमा चिनाएको छ । अहिलेसम्म केही बेलायती लेखकले लेखेर मात्रै यो वीरताको इतिहास बचेको हो । अन्यथा गोर्खालीको यो मौलिक इतिहास ओझेलमा परेको हो नै । यसलाई अझै विकास गर्न अब यही इतिहासका रचयिता र गोर्खाली जातिसँग रगत र माटाको नाता राख्नेहरूले नै कलम चलाउनुपर्ने आवश्यकता देखिन्छ । यसरी छायाँमा परेको इतिहासलाई अनुसन्धान, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘गोर्खाली इतिहास मास’को अवधारणा ल्याइएको हो ।

यस अभियानमा गोर्खाली सैनिक, तिनका परिवार र जोकोही सर्वसाधारण नेपाली विभिन्न क्रियाकलाप गरेर लाग्न सक्नुहुने छ । यस एक महिनाभित्र युद्धमा वीरगति प्राप्त गर्नुभएका आआफ्ना बाउबाजेका सम्झनामा उहाँहरूको फोटो र संक्षिप्त जीवनी फेसबुकमा पोस्ट गर्न हार्दिक अनुरोध गरिएको छ । त्यसैगरी यस समयावधिभरि युद्ध, सैनिक, पल्टनिया र लाहुरेसम्बन्धी इतिहास, कविता, लेख, संस्मरण, नियात्राजस्ता साहित्यिक सिर्जना रचेर मिडियामा छपाउन र गोर्खाली इतिहासउपर बहस/विमर्श इत्यादि गर्न हार्दिक आह्वान गरिएको छ ।

यस्ता गतिविधिमा विशेषत ब्रिटिश गोर्खा सेनाका पल्टनहरू, भारतीय गोर्खा सेनाका पल्टनहरू, नेपाली सैनिक, नेपाल पुलिस, गोर्खा रिजर्भ युनिट ब्रुनाई, गोर्खा कन्टिनजेन्ट सिंगापुर पुलिसको महत्त्वपूर्ण योगदान रहन्छ । साथै सम्बन्धित भूपू सैनिक सङ्गठन, सामाजिक संघसंस्था, साहित्यक संघ र साहित्यिक व्यक्तित्वहरूको पनि विशेष भूमिका रहन्छ ।

यो अभियानलाई प्रत्येक वर्ष ११ अक्टोबरदेखि आरम्भ गरिने छ र पप्पीडे अर्थात् रिमेम्बरेन्सडे ११ नोभेम्बरका दिन समाप्त गरिने छ । यसलाई आउने वर्षहरूमा पनि निरन्तरता दिइने छ ।

यस अभियानलाई गत ९ अक्टोबरका दिन विश्व नेपाली साहित्य महासंघ पश्चिम युके शाखा र विश्व नेपाली साहित्य महासंघ साउथ युके शाखाको संयुक्त बैठकमा छलफल गरेर पारित गरिएको हो ।

स्मरण रहोस्, यी दुई संस्थाको संयुक्त आयोजनामा १३ देखि १४ नोभेम्बरसम्म बृहत् युद्ध साहित्य गोष्ठी पनि हुँदैछ । उक्त गोष्ठीमा भीसी शेरबहादुर थापा क्षेत्रीका नाति बेल्जियमका नेपाली पूर्व राजदूत लोकबहादुर थापा र विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’लाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिँदै छ । साथै युद्ध साहित्यकार नरेश काङमाङ र बिक्रमवीर थापालाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिने छ । यी कार्यक्रममा सबैको साथ र सहभागिताको अपेक्षा राखिएको छ ।