भारतको समग्र साहित्यको विकास र स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ भारत सरकारको मातहतमा रहने गरी “साहित्य एकेडेमी पुरस्कार” स्थापना गरिएको छ । सन् १९५४ मा स्थापना भएको सो साहित्यिक पुरस्कारलाई भारतीय साहित्य जगत्‌कै एक महत्त्वपूर्ण पुरस्कारको रूपमा लिइन्छ । सन् १९५५ सालबाट पुरस्कार वितरण गर्न थालिएको सो पुरस्कारको राशि रकम सुरुमा भारतीय ५ हजार रुपैयाँ थियो । विभिन्न चरणमा यसको रकम वृद्धि गर्दै लगियो र अहिले भने १ लाख भारतीय रुपैयाँ पुऱ्याइएको छ । भारतीय संविधानको आठौँ अनुसूचीमा सूचीकृत २२ भाषासहित राजस्थानी र अङ्ग्रेजी भाषामा प्रकाशित भएका उत्कृष्ट पुस्तकलाई सो पुरस्कार दिइँदै आइएको छ । विभिन्न २४ भाषामा प्रकाशित पुस्तकहरूले प्रकाशित भएको ५ वर्षसम्म पुरस्कार पाउने व्यवस्था पनि गरिएको छ । अग्रज साहित्यकार, युवा साहित्यकार, बाल साहित्य र अनुवाद गरेर यी चार विधामा अलग-अलग रूपमा “साहित्य एकेडेमी पुरस्कार” दिने गरिएको छ ।

मनोज बोगटी

भारतमा नेपाली भाषाले सन् १९९२ मा सरकारी मान्यता प्राप्त गरे पनि मान्यता प्राप्त गर्नुभन्दा १५ वर्ष अघिदेखि नै नेपाली भाषाका पुस्तकलाई साहित्य एकेडेमी पुरस्कार दिन थालिएको थियो । इन्द्रबहादुर राई साहित्य एकेडेमी पुरस्कार पाउने पहिलो नेपाली साहित्यकार हुनुहुन्छ । जसलाई सन् १९७७ मा “नेपाली उपन्यासका आधारहरू” नामक समालोचनात्मक पुस्तकका लागि सो पुरस्कार प्रदान गरिएको थियो । इन्द्रबहादुर राईबाट सुरु भएको नेपाली साहित्य एकेडेमी पुरस्कारको यात्रा शिवकुमार राई, गुमानसिंह चाम्लिङ, असित राई, लीलबहादुर क्षेत्री, इन्द्र सुन्दास, शरद् क्षेत्री, मनप्रसाद सुब्बा, उदय थुलुङ लगायत हुँदै यसपाली सिक्किमका साहित्यकार शङ्करदेव ढकालले पाउनुभएको छ । पुरस्कारको यात्रा जति-जति यता आउँदै गयो त्यति-त्यति यो विवादित पनि बन्दै गएको पाइन्छ । यसपटक पनि त्यही देखियो । सन् २०१४ जनवरी १ देखि सन् २०१८ डिसेम्बर ३१ सम्म  प्रकाशित भएका पुस्तकहरूमध्ये शङ्करदेव ढकालको उपन्यास “किरायको कोख” लाई सर्वोत्कृष्ट ठहर गर्दै सन् २०२० को साहित्य एकेडेमी पुरस्कार प्रदान गरिएको छ । “किरायको कोख” भुटानी शरणार्थीहरूको कथाव्यथालाई समेटेर तयार पारिएको उपन्यास हो । लेखक ढकालका अनुसार भुटानी शरणार्थीमाथि लेखिएको यो पहिलो पुस्तक पनि हो ।

डि जि शर्मा

दिल्लीमा पुरस्कार घोषणा हुनासाथ भारतीय नेपाली साहित्य जगत्‌मा यसको चर्चा चुलियो र विवाद पनि त्यहीअनुसार बढ्दै गयो । विवाद गर्नेहरूको एउटै कुरा थियो, पुरस्कार पाउन लायकको किताब होइन यो ।  कसैले भित्रभित्रै पुरस्कारप्रति असन्तुष्टि व्यक्त गरे भने । कसैले खुलेरै सामाजिक सञ्जालमार्फत यसको विरोध गरे ।  कसैले त “झुर” किताबले पुरस्कार पायो भनेर सिधै भनिदिए । यसरी खुलेर पुरस्कारको विरोध गर्नेहरूमध्ये एक हुन् कवि तथा पत्रकार मनोज बोगटी । भारतको कालेबुङमा बसेर विगत २५ वर्षदेखि भारतीय नेपाली साहित्य र पत्रकारितामा सक्रिय रूपमा कलम चलाउँदै आउनुभएका कवि तथा पत्रकार बोगटीलाई सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेज र युटुबमार्फत प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सृजना” मा पाहुनाका रूपमा निमन्त्रणा गरिएको थियो । उहाँलाई निमन्त्रणा गर्ने बेलासम्म साहित्य एकेडेमी पुरस्कार विवाद देखा परेको थिएन । उहाँसँगको कार्यक्रमको ब्यानर सार्वजनिक गर्न केही दिन बाँकी छँदै पुरस्कारको चर्चा र विवाद देखा पर्न थाल्यो । सामन्यतया भारतीय नेपाली साहित्य जगत्‌का स्रष्टाहरूसँग कार्यक्रममा हामीले त्यतैको समग्र साहित्यिक अवस्थाका बारेमा कुराकानी गर्दै आएका थियौँ । यसपटक एउटा विषय थपियो, “साहित्य एकेडेमी पुरस्कार विवाद” । कवि मनोज बोगटी हाँस्नुभो । किनभने विवाद सृजना गर्नेमा उहाँ पनि एक मुख्य पात्र हुनुहुन्छ । कवि बोगटी आफैँ पनि सो पुरस्कार पाइसकेको व्यक्ति हुनुहुन्छ । यसअघि अग्रज साहित्यकार र अनुवादका लागि मात्र पुरस्कार प्रदान गर्दै आएकामा एकेडेमीले सन् २०१० बाट बाल साहित्य र सन् २०११ देखि युवा साहित्यकारहरूलाई पनि सो पुरस्कार दिन सुरु गरेको थियो । युवा साहित्य एकेडेमी पुरस्कारको राशि रकम ५० हजार भारतीय रुपैयाँ रहेको छ ।

यसै क्रममा कवि बोगटीले सन् २०१२ मा आफ्नो दोस्रो कवितासङ्ग्रह “घाउका रङहरू” का लागि सो वर्षको युवा साहित्य एकेडेमी पुरस्कार पाउनुभएको थियो । दार्जीलिङको राजनीति र त्यसले आम मानिसमा पारेको प्रभावका विषयलाई केन्द्रमा राखेर लेखिएको एउटै कविताको किताब थियो त्यो  । ४५ पेजको एउटै कविताको सो सङ्ग्रह सन् २००८ मा प्रकाशित भएको थियो ।  एउटै संस्थाले दिएको पुरस्कार आफूले पाउँदा चुपचाप लिने र अर्कोले पाउँदा विरोध गर्नुपर्ने खास कारण के थियो त ? यो पनि मेरो चासोको विषय थियो ।

६७ वर्षको यति पुरानो र गरिमामय संस्थाले प्रदान गरेको पुरस्कारप्रति लेखकहरूमै किन यति धेरै गुनासो त आखिर ? पुरस्कारभित्रको राजनीति के हो ? पछिल्लो समय यो पुरस्कारलाई लिएर विवाद सृजना भइरहनुको कारण के त ? के यसको गरिमा खस्किँदै गएको हो त ? लगायत प्रश्नहरू यो पटकको कार्यक्रममा मुख्य विषय बन्यो ।

कवि बोगटी कारण खुलाउनुहुन्छ, “अहिलेसम्म ४३ जनाले साहित्य एकेडेमी पुरस्कार पाइसकेका छन् । इन्द्रबहादुर राईको पुस्तकको उचाइ, त्यसको गरिमा र त्यसको स्ट्यान्डर्डलाई कायम गर्दै धेरै वर्ष पछिसम्म धेरै राम्रा-राम्रा पुस्तक र त्यसका लेखकले सो पुरस्कार पाए । लीलबहादुर क्षेत्री, मछिन्द्र प्रधान, शिवकुमार राई जस्ता राम्रा लेखकले पाए । आजका परामर्श समितिका अध्यक्षहरू जो छन्, तिनीहरू त्यो बेला त्यहाँ थिएनन् । त्यसो हुँदा राम्रा सर्जकका राम्रा किताबले पुरस्कार पाए ।

पछिल्लो समय धेरै लामो समयसम्म डा. जीवन नामदुङ परामर्श समितिको अध्यक्ष भए र अहिले पनि उहाँ नै हुनुहुन्छ । साहित्य एकेडेमीले असम, दार्जीलिङ, कालेबुङ, मेघालय लगायतका स्थानमा रहेका विभिन्न ७ ओटा साहित्यिक सङ्घसंस्थालाई मान्यता प्रदान गरेको छ । एकेडेमीले नेपाली भाषामा पुरस्कार दिनका लागि एउटा परामर्श समिति गठन गरेको छ  । जुन समितिमा त्यही एकेडेमीले मान्यता दिएका प्रत्येक साहित्यिक संस्थाका अध्यक्ष र सचिव सदस्य रहने व्यवस्था गरिएको छ । त्यही परामर्श समितिको अध्यक्षमा डा. नामदुङ हुनुहुन्छ ।

परामर्श समितिले सिफारिस गरेर पठाएका उत्कृष्ट पुस्तकहरूको सूचीमा परेका मध्ये जुरी सदस्यले निर्णय गरेर एउटा पुस्तकलाई पुरस्कारका लागि योग्य ठान्दछ र सोही कृतिलाई एकेडेमीले पुरस्कार दिने चलन रहँदै आएको छ ।  यसपटकको जुरी सदस्यमा युवराज काफ्ले, डा. शान्ति क्षेत्री र प्रेम प्रधान रहनुभएको थियो । उहाँहरूमध्ये प्रेम प्रधान सन् २००२ मा सो पुरस्कार प्राप्त गरिसक्नुभएको सर्जक हुनुहुन्छ । त्यो तीन जनाको जुरी सदस्यमा कस-कसलाई राख्ने भन्ने निर्णय पनि त्यही परामर्श समितिले नै गर्दछ । जसमा मान्यताप्राप्त संस्थामा आबद्ध नभएका बाहिरका साहित्यकारलाई राखिन्छ ।

एकेडेमीले अहिलेसम्म “नेपाली साहित्य अध्ययन समिति, कालेबुङ”, “नेपाली  साहित्य सम्मेलन, दार्जीलिङ”, “नेपाली साहित्य परिषद्, शिलङ्ग, मेघालय”, “गोर्खा जन पुस्तकालय, खरसाङ, दार्जीलिङ”, “नेपाली साहित्य परिषद्, गान्तोक”, “अखिल भारतीय नेपाली भाषा समिति, देहरादुन, उत्तराखण्ड” र “असम नेपाली साहित्य सभा, कलाङपार, असम” गरी सात ओटा संस्थालाई मान्यता दिएको छ । साहित्य एकेडेमी पुरस्कारमा जुन किसिमको माफियागिरी चलिरहेको छ, त्यसको भरणपोषण यिनै संस्थाहरूले गरिरहेको कवि बोगटी गम्भीर आरोप लगाउनुहुन्छ ।

अब हरेक क्षेत्रका साहित्यकारहरूले यी संस्थाहरूमा घेरा हाल्नु अनिवार्य देखिएको र त्यसमा पाठकहरूसमेत सम्मिलित बन्न सक्ने उहाँको भनाइ छ । हरेक संस्थामा सबैले परामर्श समितिको मनोपोली हटाउन र परामर्श समितिमा फेरबदलका लागि दबाब बनाउनुपर्छ । साहित्य एकेडेमी पुरस्कारको मान खस्काउने प्रमुख जरा नै यिनै संस्थाहरूमा लुकेको छ । त्यसकारण तिनै संस्थाका सचिव, अध्यक्षहरूमा फेरबदल आए, परामर्श समितिमा फेरबदल आउने र साहित्य एकेडेमी पुरस्कारको पनि आफ्नो गरिमा कायम रहेन उहाँ विश्वास व्यक्त गर्नुहुन्छ ।

अग्रज साहित्यकारहरूले पुरस्कारका लागि निवेदन दिनु नपर्ने भएपनि पछिल्लो केही वर्षदेखि युवा साहित्यकारहरूको हकमा भने “मेरो फलानो कृतिका लागि मलाई पुरस्कार दिइयोस्” भनेर निवेदन पेश गर्नुपर्ने नियम एकेडेमीले बनाएको छ । जुन नियम आफैँमा ठिक नभएको कवि बोगटीको धारणा रहेको छ । यसले युवा लेखकलाई एक किसिमले गिराउने काम गरेको उहाँको बुझाइ छ ।

कसैले पनि पुरस्कारका लागि साहित्य सृजना गरेको हुँदैन तर यदि कसैले राम्रो कृति निकाल्छ भने त्यसले पुरस्कार पाउनुपर्छ भन्ने मात्रै हाम्रो माग हो । लेखकलाई थाहा नहोस् कि मैले पुरस्कार पाउँदै छु भन्ने कुरा । अनि मात्र पुरस्कार र लेखकको पनि गरिमा रहने उहाँको भनाइ रहेको छ । वास्तवमा किताब आफैँले पुरस्कारको डिमान्ड गर्दछ । कुनै व्यक्तिले होइन, कुनै लेखले होइन । किताबले नै पुरस्कार उठाएर लैजाने हो तर पुरस्कारको मानमर्दन हुने किसिमले पुस्तकको साटो व्यक्ति अथवा लेखकको अनुहार हेरेर पुरस्कार दिने संस्कारको निर्माण गरियो भने  यसले भारतीय नेपाली साहित्यको उचाइलाई भुईँमा झार्छ र उहाँको चिन्ता पनि यसैमा हो । साहित्य एकेडेमी पुरस्कार पाउने अरू २३ भाषामा लेखिएका पुस्तकहरू कस्ता छन् त्यो हाम्रो सरोकारको विषय होइन तर कम्तीमा भारतमा हामीले नेपाली साहित्यको आवाजलाई केन्द्रसम्म बलियो ढङ्गले पुऱ्याउनका लागि भए पनि बलिया कृतिलाई पुरस्कार दिने चलनको विकास गर्नु अपरिहार्य छ ।

यसपटक विवाद सृजना हुनुमा कवि बोगटी मुख्य दुई कारण देख्नुहुन्छ । पहिलो कारण त कमसल किताबलाई दिइयो । सूचीमा परेका अन्य राम्रा कृतिहरू हुँदाहुँदै पनि कम स्तरको पुस्तकलाई पुरस्कार दिनु नै पहिलो आपत्तिको विषय बनेको हो ।  भुटानी शरणार्थीहरूको विषयमा लेखिएको “किरायको कोख” उपन्यासमा थुप्रै समस्याहरू रहेको दाबी गर्नुहुन्छ कवि बोगटी । पुस्तकमा प्रयोग भएको भाषा शैली, विषय वस्तुलाई हेर्ने दृष्टिकोण लगायत अनेकौँ समस्या हुँदाहुँदै पनि पुरस्कृत गर्नु अनौठो कुरा हो । पुरस्कृत किताब अन्य २३ भाषामा पनि अनुवाद भएर जाने भएका कारण पनि कमसल किताबलाई पुरस्कार दिँदा त्यसले नेपाली साहित्यलाई अन्य भाषीका समुदायले हेर्ने दृष्टिकोणमा पनि असर पर्ने उहाँको भनाइ छ । पुरस्कार केवल एक व्यक्तिका लागि मात्रै नभएर भारतभरि नेपाली साहित्यलाई पुऱ्याउने माध्यम पनि भएकोले उत्कृष्ट किताबहरूले मात्रै पुरस्कार पाउनुपर्छ भन्ने उहाँको मान्यता रहेको छ । त्यसकारण साहित्यकार शङ्करदेव ढकालको उपन्यास कुनै पनि हालतमा पुरस्कार पाउन लायकको पुस्तक नभएको उहाँ जिकिर गर्नुहुन्छ ।

साहित्य एकेडेमी पुरस्कार प्राप्त  गर्नका लागि एकेडेमीले केही मापदण्ड र नियमहरू बनाएको छ । धेरै नियमहरूमध्ये एउटा नियम हो, कुनै पनि परामर्श समितिका सदस्यहरूले सो पुरस्कार पाउनु हुँदैन । यसपटक विवाद हुनुको अर्को मुख्य कारण यो पनि बन्यो । यसपटकका पुरस्कार विजेता ढकाल स्वयम् परामर्श समितिको एक सदस्य हुनुहुन्छ । सम्भवतः डा. नामदुङपछि परामर्श समितिको अध्यक्ष बन्ने पालो पनि ढकालकै हुन सक्ने कवि बोगटी आशङ्का व्यक्त गर्नुहुन्छ । त्यही किसिमले भित्रभित्रै सेटिङ मिलाइएको उहाँको दाबी छ । यसरी कमसल पुस्तक र त्यसमाथि नियम मिचेर पुरस्कार दिनुमा के कारण हुन सक्छ त ? उहाँ प्रश्न गर्नुहुन्छ, पुरस्कारभित्रको योभन्दा ठुलो राजनीति अर्को के हुन सक्ला ?

५९ बर्षीय साहित्यकार ढकाल लेखक मात्रै नभएर उहाँ एक उच्चपदस्थ सरकारी कर्मचारी पनि हुनुहुन्छ । उहाँ सिक्किमका मुख्यमन्त्रीको मुख्यालयका मुख्य सचिव पनि हुनुहुन्छ । उहाँले पुरस्कार पाउनुमा कतै त्यो पदीय उचाइको कारण हो कि ? भन्ने जिज्ञासामा कवि बोगटी यसबारेमा आफूलाई थाह नभएको बताउनुहुन्छ । उहाँको गरिमामय पदको हामी सबैले सम्मान गर्नैपर्छ र गरेका पनि छौँ । अचानक गुनासोहरू धेरै आउन थालेपछि त्यो पदमा भएको मान्छेलाई पुरस्कार फिर्ता गरिहाल्न पनि नमिलेको हुन सक्छ अथवा उहाँको त्यो व्यक्तित्व र प्रोटोकलले नदिएको पनि हुन्छ सक्छ । त्यो आफ्नो ठाउँमा छ तर पुरस्कारसँग उहाँको पदको कुनै लिनु दिनु नै छैन । त्यसले सरोकार  राख्दैन पनि तर लेखकको रूपमा हेर्दा उहँ पनि हामीजस्तै लेखक हो  । उहाँ पनि हामीले जस्तैगरी लेख्नुहुन्छ । त्यसो हुँदा उहाँले लेखका कुराहरूसँग मात्रै हाम्रो सरोकार रहन्छ । त्यसैले उहाँले पुरस्कार पाउने गरी नै चाहिँ लेख्नुभएको छैन, कवि बोगटी पुनः जिकिर गर्नुहुन्छ ।

उसो भए साहित्य एकेडेमी पुरस्कारलाई विवादरहित बनाउनका लागि अब के गर्नुपर्छ त ?  उहाँ छोटोमा जबाफ दिनुहुन्छ, डा. जीवन नामदुङले परामर्श समितिको अध्यक्ष पद छोड्नुपर्छ । बर्सौँदेखि जुन किसिमले उहाँले परामर्श समितिमा बसेर हालीमुहाली गरिरहनुभएको छ यसले नेपाली साहित्य र यसको गरिमालाई गिराउने काम गरिरहेको छ । परामर्श समितिमा बसेपछि ढलीमली गर्न पाइन्छ । त्यहाँ बसेर घोटला गर्न पाइन्छ । विदेश भ्रमण गर्न पाइन्छ । साहित्य एकेडेमीले दिएका काममा आफ्नो भूमिका देखाउन पाइन्छ । त्यहाँ बसेर यी सब गर्न पाइन्छ ।

त्यसकारण साहित्य एकेडेमीबाट प्राप्त हुने यस किसिमका विभिन्न सेवासुविधा र सुख भोगका लागि डा. नामदुङले नेपाली साहित्यलाई बलि चढाइरहेको कवि बोगटीको आरोप छ । कहिले तीन वर्ष, कहिले ५ वर्षभित्र आफ्नै कोटरीका मान्छेको जनमत बटुलेर एउटै मान्छे यतिका वर्षदेखि किन परामर्श समितिको अध्यक्ष बनिरहेको छ त ? त्यही सुखसुविधा भोगका लागि मात्रै होइन त ? त्यसकारण इमानदारीपूर्वक डा. नामदुङले राजिनामा दिनुपर्छ र अरूका लागि बाटो खाली गर्नुपर्छ । लेखकको रूपमा डा. नामदुङ राम्रा लेखक हुन त्यसमा कुनै शङ्का छैन तर व्यवहारमा पनि त्यो देखिनुपऱ्यो नि । त्यसो हुन नसकेको उहाँको आरोप छ । डा. नामदुङ आफैँ पनि सन् १९९४ मा साहित्य एकेडेमी पुरस्कार पाइसकेको साहित्यकार हुनुहुन्छ ।

धेरै राम्रा-राम्रा सोच भएका, धेरै राम्रा छवि भएका र क्षमता भएका थुप्रै वरिष्ठ लेखकहरू हुनुहुन्छ उनीहरूलाई पनि परामर्श समितिमा बसेर काम गर्ने मौका दिनुपऱ्यो भन्ने कवि बोगटीको माग छ । जसले गर्दा नेपाली साहित्यको गरिमालाई माथि उठाउन मद्दत पुग्नेछ ।

सन् १९७७ जुलाई १७ तारिखका दिन माता मिना कट्टेल र पिता स्वर्गीय कमल बोगटीको जेठो सन्तानको रूपमा दलगाउँ, कुलैनबारी, कालेबुङमा कवि बोगटीको जन्म भएको थियो । सिलगुडीबाट प्रकाशित हुने नेपाली दैनिक समाचर पत्रिका “आजभोलि” मा सन् १९९६ अक्टोबर १० तारिखका दिन “सपना” शीर्षकको कथा प्रकाशित गरेर उहाँले आफ्नो साहित्यलेखनको यात्रा औपचारिक रूपमा सुरु गर्नुभएको थियो । कथासँगै सोही समयबाट कवितामा पनि कलम चलाउन थाल्नुभएका कवि बोगटीको सिलगुडीबाटै प्रकाशित हुने “सगरमाथा” साप्ताहिक पत्रिकामा सन् १९९६ नोभेम्बर १६ तारिखका दिन “घर फर्कनलाई” शीर्षकको पहिलो कविता प्रकाशित भएको थियो ।

सन् २००६ मा “हिमालय दर्पण” बाट पत्रकारिताको यात्रासमेत थालनी गर्नुभएका कवि बोगटीले त्यसपछि समय दैनिक, सुनाखरी दैनिक, स्वर्णभूमि दैनिक, हिमकस्तुरी दैनिक, हाम्रो प्रजाशक्ति दैनिक लागयतमा पत्रकारको रूपमा काम गरिसक्नुभएको छ । साङ्ग्रिला बुक्स इन्डियाको प्रकाशकसमेत रहनुभएका कवि बोगटी अहिले भने खबर म्यागजिन र कान्तिपुर दैनिकमा आबद्ध रहेर पत्रकारितामार्फत पनि निरन्तर सेवा गर्दै आउनुभएको छ ।

विशेषगरी कविता, कथा, निबन्ध र अनुवादमा कलम चलाउँदै आउनुभएका कवि बोगटीले एउटा कथा सङ्ग्रहसहित ७ ओटा कृति प्रकाशन गरेर भारतीय नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । सन् २००८ मा प्रकाशित कवितासङ्ग्रह “बिम्ब गोष्ठी” उहाँको पहिलो प्रकाशित कृति हो ।

त्यसैगरी “घाउका रङहरू” कवितासङ्ग्रह २००८, “गीतको रिस” कवितासङ्ग्रह २०१०, “पसिनाको छाला” कवितासङ्ग्रह २०१२, “आँखा बाहिर” कवितासङ्ग्रह २०१२, “काफरे अमेरिका” कवितासङ्ग्रह २०१४ र  “लाइफ : अ बटरफ्लाई” कथासङ्ग्रह सन् २०१८ मा प्रकाशित भइसकेका छन् । विचलनलेखन, हस्तक्षेपलेखन जस्ता साहित्यिक अभियानमा समेत आबद्ध रहनुभएका कवि बोगटीले माध्यमिक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।

“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज र युटुब च्यानल “ए एस इन्टरटेन्मेन्ट”  मार्फत हरेक बिहिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सृजना” मा गरिएको कुराकानीमा आधारित ।