साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

निबन्ध : मनका बारेमा मनको विचार

मन, सबैको हुन्छ । विनामनको मान्छे नै हुँदैन यो संसारमा । ‘कस्तो हुन्छ मन?’ कसैलाई सोध्नुहोस् अथवा कसैले हजुरलाई यो प्रश्न सोध्यो भने त्यही मनमा के उत्तर आउँला?

मन, सबैको हुन्छ । विनामनको मान्छे नै हुँदैन यो संसारमा । ‘कस्तो हुन्छ मन?’ कसैलाई सोध्नुहोस् अथवा कसैले हजुरलाई यो प्रश्न सोध्यो भने त्यही मनमा के उत्तर आउँला? मनलाई न देख्न सकिन्छ, न स्पर्श गर्न सकिन्छ, न नाप्न सकिन्छ, न जोख्न सकिन्छ!

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

मनको चरित्र जानेर पनि हामी गफेका बेला भनी रोखका हुन्छौँ-
‘कत्ति कोमल छ उसको मन ।’
‘कत्ति कठोर मन भएको मान्छे ।’
‘कत्ति सरल मन भएकी तिम्री छोरी ।’
‘कत्ति ठूलो मन हौ त्यसको मन ।’
‘कत्ति सानो मन भएका यी मान्छे ।’

इत्यादि भन्नेहरूले के मनलाई कहिले देखेका छन्? स्पर्श गरेर सानोठूलो आकार भएको नाप लिएका छन्? मनलाई पछारेर जाने र कि मन कठोर छ या कोमल?

‘तेरो मनलाई पढेँ’ पनि भनेको सुनिन्छ । के मन पुस्तक हो र मान्छेले पढ्ने गर्छन्? गहिरो सोच्दा यो मन भएको मान्छेहरूले अनौठो कुरा गरिराखेका हुन्छन् । यसमा सोचनेको के दोष र? आखिर मनै हो सोच्ने पनि । मनले आफ्नो इच्छाअनुसार जे गर्न सक्छ ।

मन खेती गर्ने जमिन हो ! कसैको उब्जाउ हुन्छ भने कसैको बन्जर भूमि । यो खेतमा विभिन्न प्रकारका भाव, विचार, तितामिठा, इच्छा, पचअपच कुराहरू पोषित हुन्छन् । यो खेतको न सिमाना हुन्छ न सीमित जमिन । संसारभरिका समस्त तत्त्वहरू अटाउने सामर्थ्यवान् खेती हो यो । जे रोप्यो तेही फल्छ । कसैको लटरम्म फल फल्छ भने कसैको काँडैकाँडा । जस्तो फल्छ त्यही उसले बाहिर निकाल्छ । बाहिर निकाले पछि स्पर्शवान् हुन्छ । आकार लिन्छ । अनि नाप्न पनि सकिन्छ । कर्मको फल भनेर पनि त्यही मनले सिकाउँछ यो जिब्रोलाई भन्न । उसले उब्जाएको फल कहिलेकाहीँ कर्म भनेर जानिन्छ ।

यी फलका बिरुवा चाहिँ कहाँबाट आउँछ? प्रश्न मेरै मनले यही मनलाई गरेँ । यो मनको प्रश्नले यही मनसँग उत्तर पाउन प्रश्न गर्दा दिमाग नै फुट्लाजस्तो भयो !

मनको आदेशमा जे पनि हुने है? हेर्नुहोस् त मनले आदेश दिएपछि उत्तर सोच्न दिमाग फुट्लाजस्तो भयो ।

तपाईँ पनि प्रयास गर्नू त उपर्युक्त प्रश्नको उत्तर दिन । टाउको दुख्यो कि नाइँ?

अलिकति चाहिँ उत्तर भेटेँ । यो दिमागलाई त्यही मनको सहारा नलिई उत्तर पाइँदो रहेनछ । मनमा बिरुवा चाहिँ परिवेश, सङ्गत, शिक्षाप्रणाली, परिवारको संस्कार एवं मन र मतिष्कको सामञ्जस्यमा सामर्थ्यवान् भएको ऊर्जावान मनबाट बिरुवा उम्रिन्छ ।

बाली थन्काएपछि छोडिएका गाईगोरु जताततै छाडा हिँडेजस्तो हो यो मन । अर्को मनले यो मनप्रति दृष्टि हाल्दा बरालिएको तरुण बाख्राजस्तो पनि मनलाई बुझिँदो रहेछ । जता मन लाग्यो त्यतै जान्छ । जे सोच्न मन लाग्छ त्यही सोचिदिन्छ । अस्पर्शीय, निराकार भएको फाइदा यसले धेरै उठाउने गर्छ हेर्नुहोस् । यो धेरै चञ्चल एवं अस्थायी रूपमा वास गर्ने पाहुना स्वभावको हुन्छ । सप्तरङ्गी इन्द्रेणीको रूपजस्तो अनेकौँ रङ्गमा धेरै थरीका कुराहरू समाहित गरेर राख्दछ । यसको विचरण गर्ने बानीलाई एकै ठाउँमा पालेर राख्न धेरै गाह्रो हुन्छ । अहिले वर्तमानमा छ भने अर्को क्षणमा भूतमा गएर भविष्य सपार्न थाल्छ । धेरै कुरा अरूलाई साझा गर्छ त अनेकौँ कुरा मुठ्याएर भित्र राख्दछ । क्षण मै भूत अनि भविष्यमा कोहीसँग भेटेर वर्तमानमा आई रमाउँछ । चाहेका कुरा एवं बुनेका सपना पलमै जिउन सामर्थ्य पनि राख्दछ । यसले प्रेमका अनेकौँ रूप बोकी जीवनको चौतारीमा बिसाउने अनि रोप्ने गर्दछ ।

संसारमा यस्ता कुनै आधुनिक हतियारको निर्माण भएको छैन जसले मनको शक्तिमा विजयश्री पाओस् । अहँ सक्दैन कसैले पनि । मिसाइलले केही क्षणमा दश हजा किलामिटर दूरी तय गर्ला! रोकेटले मिनटमा एक देशदेखि अर्को देशमा गएर सखाप पर्ला! सूर्य भगवान्‌लाई त पृथ्वीमा खुट्टा टेक्न ४९९.० सेकेन्ड लाग्छ अरूको कुरा नगरे बेस हो । मनको हेर्नुहोस् केही पलमा अर्को देश पुग्छ, पृथ्वी घुम्छ, सूर्यको दर्शन गरेर आउँछ, समुद्रको फेदमा मोती टिपेर आउँछ ।

सम्बन्धित पोस्टहरु

अब भन्नुहोस् मन शक्तिशाली कि यो पाँच इन्द्रियले जकडेको शरीर? मन नहुँदा यो शरीरको के पार लाग्ला? इन्द्रियभन्दा मनमा एउटा कुरा दौडिएर आयो । प्रायः मान्छे भन्ने गर्छन्-

‘मेरो त मन सफा छ ।’
‘मेरो या मेरी छोडेर कसैलाई सोच्दिनँ ।’
‘लोभ लाग्दैन ।’
‘ईर्ष्या लाग्दैन ।’
‘म इन्द्रियलाई नागपाश वाणमा बाँधेर राखेको छु ।’

जसले यस्ता कुरा गर्छ, मान्नु त्यो गफेडी हो । भगवान् बुद्धलाई पनि मनलाई आफ्नो वशमा राख्न छ वर्ष कठोर तपस्या गर्नु परेको थियो । अल्प नै भए पनि सबैसँग ज्ञान हुन्छ तर त्यो ज्ञानलाई अरूले सम्मान गर्ने योग्न बनाउन मनलाई बुद्धले जितेजसरी जित्नुपर्छ । जति फ्यातुलो मन त्यति इच्छाका पोका ठूला हुन्छन् । तपले, योगले मनलाई स्थिर गर्नुपर्छ । मनको आकारतिर नजाऔँ होला । जस्तो आकार भए पनि मनको विस्तारको सीमालाई नाप्ने कुनै टेप छैन बनिएको ।

शास्त्रमा भनिएको छ हिंसा दुई प्रकारले हुन्छ । एउटा शारीरिक र अर्को भावनात्मक अर्थात् मनले गर्ने हिंसा । शारीरिक रूपमा प्रायःले आफ्नो जीवनमा कसै न कसैलाई चोट पुऱ्याएको हुन्छ । चाहे त्यो प्याट्ट हानेर किन नहोस्?

तर मनले हिंसा कसरी? मनले हिंसा गऱ्यो भनेर कारावासको सजा सुनाएको सुन्नुभएको छ? समाजमा मारपिटदेखि टाढा रहने विभिन्न प्रकारका विशिष्ट गुण भएका मान्छे हुन्छन् । भुलेर पनि यस्तो कुनै कार्य गर्दैनन् जससे अरूलाई चोट पुगोस् । क्रोध- असल मान्छे होस् या व्यभिचारी सबैलाई आउँछ । रिस आएपछि सबैले कुनै न कुनै रूपमा बाहिर निकाल्छन् । कसैले पानी पिएर रिसलाई शान्त पार्छन्, कसैले गालीगलौज गरेर, कसैले रिस दिने मान्छेलाई पिटेर रिस मार्छन् भने कसैले अप्रत्यक्ष रूपमा हानि दिएर ।

हिंसाविरोधी मान्छेलाई क्रोध आउँदा के गर्छ? गालीको प्रयोग गरूँ भने समाजमा सम्मान घट्ने पिर हुन्छ । हानि पुऱ्याउन उसको आचरणको विपरीत हुन्छ । केही उपाय नभएपछि ऊ मनको सहारा लिन्छ पुग्छ । मनले भने पिटिदिन्छ या गालीको वर्षा भरपुर गरिदिन्छ । यसरी-

‘मर्न नसकेको । नाकैनाकमा दिनुपरेको ।’
‘भल्लल रगत आउने गरी मुखैमा दिनुपरेको ।’
‘हिँड्दैहिँड्दा लडेर खट्टा भाचिनु नि यो कप्टीको चाहिँ ।’
‘किरै परेर मसोस् ।’

‘भेटेको बेला मैले जानेको छु यसलाई कसरी बाउको बिहे देखाउने हो ।’
‘सिलौटामा रम्भेँडा पिसेजसरी पिसिदिन्छु ।’
‘मेरो दिन आओस् न म पनि हेर्नेछु, पानी पेट छाम्ने गरी भकुरिदिन्छु ।’
‘नाङ्गो बनाएर सिस्नाले हानिन भने मेरो म आफैँ नाम फेरुँला ।’

यसरी मनै मन गालीको तलबारले हिंसा गर्छ क्रोधित भएको सभ्य मान्छेले । उसले मनमा गरेको हिंसा प्रत्यक्षमा रूपमा नदेखिए पनि मनमा अदृश्य रूपमा घटना घट्छ । उसका शब्दले उसको मस्तिष्कमा चित्र बनाइदिन्छ । यो सबै हिंस्रक क्रिया प्रत्यक्ष रूपमा गर्नु भने सामाजिक या नियम कानुनले उसलाई दण्डित गर्दछ तर मनले जसो गरे पनि उसको अदृश्य कृत्य न कानूनको दायरामा आउँछ न समाजको नियममा बाधिन्छ । मन स्वतन्त्र हुनछ । स्वतंत्रताको लाभ मनले लिई राखेको हुन्छ । संसारमा बलात्कारका घटनाहरू समाचारमा भरिराखको हुन्छ । अमेरिकाजस्तो विकसित देशमा प्रत्येक १-२ मिनटमा बलात्कारको घटना भइरहन्छ । यी घटना शरीरिकमा हुने गर्छ ।

मनले गरेको बलत्कारको तथ्याङ्क गर्न लाग्दा के होला? मनको क्रियाको गति यति छिटो छ कि उसलाई इच्छा लागिसक्दा क्रियान्वयन हुन लाग्छ । बलात्कार या शोषणकै उदाहरण आउँदा यसैमा मनले गर्ने कृत्य हेरौँ । युवक या युवती विपरीत लिङ्गप्रति आकर्षित हुर्ने गर्छन् । यौन इच्छा आउनु प्राकृतिक क्रिया हो । प्रत्यक्ष रूपमा सम्भावना छैन भने उसले मनको क्रियाबाट वस्त्र निकाल्छ, संवेदनशील अङ्गमा स्पर्श गरेर सन्तुष्टिको अनुभव गर्दछ । उसलाई कहिले त प्रत्यक्ष रूपमा यौनक्रीडा गरको समान आनन्दित हुन्छ । हुन त शारीरिक सम्बन्धले पनि त मनलाई नै सन्तुष्टि दिने हो । घुमीफिरी मुख्य बिन्दु मन नै हुन्छ । यसले विशालकाय शरीरलाई आफ्नो वशमा गरेको हुन्छ । यसले नेक काम पनि गर्छ अनि कति हो कति अपराधको काम । अपराधमा दण्ड स्वयं मनले मनलाई दियो भने अर्को विषय हो नत्र जे गरे पनि मन सधैँ स्वतन्त्र घुमिरहन्छ ।

साहित्यपट्टि पनि एकैछिन जानुपऱ्यो । मनमा जे आउँछ, जे अनुभव गर्छ, मनबाट जे कल्पना विकसित भएर आउँछ त्यही शब्दमा बाँधिदिन्छ साहित्यकारले । विभिन्न पुस्तक, विभिन्न सर्जकका पढ्दा पाठकको मन खुसी हुन्छ, दुःखी हुन्छ, प्रेमिल हुन्छ, उत्साहित हुन्छ, द्रवित हुन्छ कहिले त कसै-कसैको जीवन नै बदलिन्छ । यो हो साहित्यको शक्ति जो मनबाट उत्पन्न भएर पाठकका मन गएर जाकिन्छ । यसले मनको खेतीमा नयाँ बिरुवा उम्रिने क्रियाको सुरुआत दिन्छ । साहित्यकारले जस्तो मनमा फल फलाउँछ त्यस्तै साहित्य सृजना हुन्छ । अनि साहित्यको अनुरूप पाठकको मनमा परिवर्तन आउँछ । सर्जकले लेख्नुअघि मनमा पहिले रचनाको आकृति बनाउँछ । लेखको पात्रलाई जिउँछ । जस्तो पात्र छ त्यस्तै चरित्र आफूलाई बनाउँछ । रचनामा पात्र अध्यापक छ भने ऊ अध्यापकको चरित्रलाई आफूमा समाहित गर्छ । वेश्याको छ भने ऊ वेश्या हुन्छ । वीरमाथि रचना छ भने ऊ वीर पनि हुन्छ । भक्ति छ भने ऊ हनुमान् पनि बनिन्छ । यो मनले सबैलाई क्षणमै बहुरूपी बनाउने सामर्थ्य राख्दछ । साहित्याकार एक राज्यदेखि अर्को राज्य, देशविदेश गएर साहित्यको प्रचारप्रसार गर्ने गर्छन् । यात्रमा निस्किनुअघि नै मनको सवारी गरेर कैयन्‌चोटि त्यो ठाउँमा पुगेरै आउँछ ।

म यो वाहनमा जान्छु, यो कपडा लगाउँछु, साथमा कलम पुस्तक बोक्छु, स्टेजमा भाषण दिँदा यो यो भन्छु, आउने साहित्याकरसँग यसरी परिचय गर्छु । मनको कल्पनामा गाएर हर्षित भइदिन्छ । उसलाई रेकी गर्न न पासपोर्ट चाहिन्छ न भिजा एप्लाई गर्नुपर्छ न कसैले बाटो अवरुद्ध गर्छन् । बाटामा दुर्घटना पनि हुँदैन यसको वाहन त? इन्धन पनि लाग्दैन । सस्तो र सजिलो हुन्छ मनको सवारी । यस्तै सहज र सरल पनि भएर होला मनको आडमा आएको इच्छा अदृश्य अनि निराकार रूपमा मनवाहकले पूर्ति गरिरहेका हुन्छन् । हिमालयमा बसेर तपस्या गर्ने साधुसन्तले कतै नडुली प्रसन्न मुखमण्डल पारेको पनि यही मनको शक्तिले विश्व भ्रमण गरेर अनन्त ज्ञान पाएर हो कि? एक दिन सोध्नुपर्ला!
मनलाई देख्ने यन्त्र भए दृश्य कस्तो हुन्थ्यो होला? मनमा एउटा कल्पना आयो । मन हो सोच्न पैसा कहाँ लाग्छ र? सोच्नुहोस्- अनगन्ती मन चारैतिर दौडिराखेका । आफ्नो इच्छाअनुसार कार्य गरिराखेका । न नियम-कानुनमा कोही बाँधिएको छ, न केही गर्न कसैको अनुमति लिनुपरेको छ, न देशको सीमाले कसैलाई छेकेको छ, न सीमा रक्षाका लागि कोही लडेको छ । जसलाई जहाँ जान मन लाग्यो त्यही गएको छ । प्रसन्नताको मुखचिह्न लिएर मनहरू चारैदिशामा दौडिराखेका, मनको आदेशमा ।

मन, मन हो । यसको गहराइलाई शब्दमा बाँध्न पनि मनको वेगलाई समात्नु हो ।

प्रतिक्रिया
Loading...