साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

सम्मान र पुरस्कार योग्यताका आधारमा अर्पण गरियोस्- डा. कविता लामा

हाम्रा साहित्यकारहरूले दिएको योगदानको सही मूल्याङ्कन भएको खण्डमा सम्मान र पुरस्कारले ऊ विभूषित हुनु राम्रो हो । यसले साहित्य सर्जकलाई लेख्नमा धेरै उत्साह र ऊर्जा प्रदान गर्छ । यस कुराले मलाई धेरै खुसी दिन्छ तर कहिलेकाहीँ यस्तो नभएको दृष्टान्तहरू पनि हामी देख्ने गर्छौँ जसले मलाई दुःखी तुल्याउँछ ।

समकालीन नेपाली भाषा साहित्यका सशक्त समालोचक डा. कविता लामा सिक्किम विश्वविद्यालय, नेपाली विभागमा प्राध्यापनरत छिन् । लामाका भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन (सन् २००२), दिदृक्षा (सन् २००५), अनुशीलन (सन् २०१०) तथा कविता डिस्कोर्स (सन् २०१७) प्रकाशित कृति हुन् । पछिल्ला केही वर्षमा डा. लामा साहित्यिक र भाषिक क्षेत्रमा प्रत्यक्ष सहभागी भई भाषा र साहित्यको उत्थानमा विशिष्ट योगदान पुर्‍याउँदै आएकी छन् ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि दीपक सुवेदीले समग्र नेपाली साहित्यलाई नजिकबाट नियालिरहेकी डा. लामासँग गरेको अन्तरङ्ग कुराकानीकाे सम्पादित अंशः

कविता लामा

साहित्यिक लेखनमा लाग्नुका प्रसङ्गहरू बताइदिनुहुन्छ कि ?

म साहित्य क्षेत्रमा आउनुको प्रसङ्ग नितान्त फरक मात्र होइन रोचक पनि छ । कारण यो प्रसङ्ग मेरो शैक्षिक यात्रासित जोडिएको छ । साहित्य मेरो जीवनको हिस्सा कसरी बन्न आयो, यो कथा अरू साहित्यकारहरूभन्दा केही भिन्न छ । मेरो साहित्यमा रुचि सानैदेखि थियो भन्ने होइन, न मैले कुनै दिन कविता लेख्ने रहर गरेँ न त मेरो पारिवारिक पृष्ठभूमि साहित्यसित सम्बन्धित छ । साहित्य लिएर पढ्छु भन्ने मेरो न सोचमा थियो न त सपनामा । स्कुलदेखि नै मेरो रुचि विशेषतः विज्ञान विषयमा थियो । म कक्षा १२ सम्म विज्ञानकी विद्यार्थी थिएँ । भौतिक विज्ञानमा कम्ती अङ्क आएर म असफल भएँ, विज्ञान लिएर स्नातक गर्छु भन्ने मेरो सपना त्यहीँ भताभुङ्ग भयो । स्नातक जसरी पनि गर्नु भन्ने आमा आपाको जोडले म फेरि कला विषयकी विद्यार्थी रही १२ औँ कक्षा सहजै उत्तीर्ण गरेँ । त्यस ताक नेपालीमा मैले ६०% अङ्क ल्याएँ । यो अङ्क कसरी आयो मलाई नै थाहा छैन तर म नेपालीमा राम्रै विद्यार्थी थिएँ भन्ने कुराको प्रमाण यही अङ्कले दियो । यसैको आधारमा खर्साङ महाविद्यालयले मलाई नेपाली विषयमा सम्मान पढ्ने अवसर दियो । विशेष चासो नभए तापनि पढ्नु थियो, नेपालीमा सम्मान पाएँ, पढेँ । त्यतिनजेलसम्म मैले कहिल्यै पनि साहित्यलाई गम्भीरतापूर्वक लिइनँ । सम्मानमा मैले खुबै परिश्रम गरेँ, परिणामस्वरूप उच्च अङ्क ल्याउन सफल भएँ । यहीँबाट मेरो नेपाली साहित्यतर्फको यात्रा सुरु भयो । मैले उत्तर बङ्ग विश्वविद्यालय, नेपाली विभागमा अझ राम्ररी पढ्ने परिवेश पाएँ । परिश्रमको प्रतिशतलाई बढाएँ ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

त्यहाँ अध्ययनरत छँदा साथीहरूको आग्रहमा बाध्यतावश मैले एउटा कविता लेख्नुपर्‍यो, अघि कहिल्यै कविता नलेख्ने मैले कनीकुथी लेख्न सक्षम भएँ र शीर्षक राखेँ- केही कुराहरू कथा बन्छन् । यो कविता उत्तर बङ्ग विश्वविद्यालयबाट प्रकाशित हुने मुखपत्र कञ्चनजङ्गामा छापियो । मेरो प्रथम सृजना, मेरो कविता पढेर सबै साथीहरूले मन पराइदिए, उत्साहित भएर अर्को अङ्कमा फेरि यस्तो लाग्छ शीर्षकमा दोस्रो कविता छपाए । परिस्थितिले मलाई कवि बनाएको हो । खेल खेलमा कवि भएँ । त्यसपछि मैले कहिल्यै पछि फर्केर हेरिनँ । आज म साहित्यकी विद्यार्थी भएर जे छु तपाईँहरू अघि छु । यस यात्रालाई तपाईँहरूको मायाँ र आशीर्वादले आजसम्म जारी राख्न सकेकी छु । नेपाली साहित्य पढ्न पाएकीमा अत्यन्त खुसी छु ।

प्रेरणा केवल सकारात्मक मात्र हुन्छ कि अरू पनि प्रकारका ?

तपाईँको यस प्रश्नले नै प्रेरणा सकारात्मक अतिरिक्त अरू प्रकारको पनि हुन सक्छ भन्ने कुरा प्रमाणित हुन्छ । प्रथमतः प्रेरणा सकारात्मक हुन्छ भन्ने मेरो पहिलो मान्यता छ । मैले मेरो साहित्यिक यात्राको आरम्भमा मेरा गुरुहरूबाट प्राप्त प्रेरणालाई सकारात्मक मानेकी हुँ तर प्रेरणास्रोत सधैँ सकारात्मक नहुन सक्छ भन्ने मेरो अर्को मान्यता पनि छ । कहिलेकाहीँ नजिकका साथी भाइहरूले मेरो मुखअघि होइन तर पछिबाट मेरो किताब र लेखहरूमाथि दिएका अस्वस्थ टीका टिप्पणी, आलोचना थाहा पाएर मलाई दुःख लागेको छ तर मैले त्यसलाई मेरो कमजोरी होइन शक्ति बनाउन सक्षम भएँ । जीवनमा यस्ता चुनौतीहरू धेरै आउनेछन् भन्ने सोचेर मैले अझ डटेर काम गर्ने ऊर्जा र प्ररेणा पाएँ । यस्ता फरक अनुभव र अनुभूति पनि मसित छ ।

साहित्यिकार हुँदाका सन्तुष्टिलाई शब्दमा कुन रूपमा व्यक्त गर्नुहुन्छ ?

यो एउटा सुन्दर अनुभूति हो । सन्तुष्टिलाई शब्दमा व्यक्त गर्न गाह्रै छ तर यसबारे केही भन्नैपर्दा, म आज जहाँ छु त्यो नेपाली साहित्यको विद्यार्थीको हैसियतले छु । म आफूलाई साहित्यकारभन्दा धेर यसको विद्यार्थी सम्झन्छु । मलाई नेपाली साहित्यले जिउने ठुलो आधार, एउटा ठोस कारण तथा आफ्नो जीवनलाई हेर्ने सकारात्मक दृष्टि दिएको छ । मलाई यस समाजमा मेरो आफ्नो परिचय स्थापना गर्ने ठुलो अवसर दिएको छ । तसर्थ म आफूलाई साहित्यसित जोडेर राख्नमा ठुलो सन्तुष्टि अनुभव गर्नाका साथै म आफूलाई भाग्यमानी पनि ठान्छु ।

साहित्यकार नहुनुभएको भए तपाईँ के हुनुहुन्थ्यो होला ? यस्तो परिकल्पना कहिल्यै गर्नुभएको छ ?

म स्कुलमा छँदा मैले धेरै जना साथीहरूको अटोग्राफमा लेखेकी छु, म भविष्यमा नर्स बन्न चाहन्छु तर म बनिनँ कारण त्यो मेरो एउटा कलिलो रहर मात्र थियो, सपना थिएन । सानैदेखि केही बन्ने लक्ष्य पनि राखिनँ मैले । म एउटा साधारण घरमा जन्मिएकी छोरी हुँ । मेरो आँखामा सपना सजाउने मेरा आमा आपा हुनुहुन्थ्यो र मलाई पढाउनुभयो । उहाँहरूको मायाँ, सहयोग र साथ नभएको म धेर पढ्ने पनि थिइनँ होला तर कुनै काम गरेर पैसा कमाउने र आमा आपालाई हेर्ने दायित्व भने मैले सानै छँदा गरेकी सङ्कल्प हो । तसर्थ यदि म साहित्यसित नजोडिएकी भए के हुने थिएँ, त्यो परिकल्पना गरेकी थिइनँ तर म एक जना असल व्यक्ति भने निश्चय बन्ने थिएँ ।

आफ्ना रचनाहरूको प्रेरणास्रोत र पर्यावरणका बारेमा बताइदिनुहुन्छ कि ?

यस प्रश्नसित जोडिएका दुई ओटा कुरामध्ये एउटा, प्रेरणास्रोत अनि अर्को पर्यावरण । विषयगत आधारमा हेर्दा यी दुई एकाअर्कादेखि नितान्त फरक हुन् । पहिलो प्रश्नको उत्तरमा मेरो रचनाका प्रेरणास्रोत हुनुहुन्छ- मेरा दुई जना श्रद्धेय गुरुवर डा. जस योन्जन प्यासी अनि प्रो. घनश्याम नेपाल । साहित्यमा रुचि नभएको मजस्ता काँचो विद्यार्थीलाई सुरु-सुरुमा केही लेख भनेर मभित्र यथेष्ट ऊर्जा र मनोबल भरिदिने महत् कार्य उहाँहरूले गर्नुभएको छ । उहाँहरूबाट प्रेरित भएर मैले केही लेख्ने हिम्मत जुटाउन सकेकी हुँ । अहिलेघरि मेरा रचना तथा पुस्तकहरू पढेर मलाई प्रतिक्रिया, सुझाउ र सल्लाह दिनहुने सम्पूर्ण मेरा प्रिय पाठकगणलाई म मेरो प्रेरणास्रोत मान्छु ।

पर्यावरणबारे केही कुरा राख्नुपर्दा अहिलेघरि मानवसमाजलाई सर्वाधिक खतरा भएको नै प्रकृति सङ्कटबाट हो । मान्छेले आफ्नो स्वार्थपूर्तिका निम्ति प्रकृतिलाई ध्वंश गर्नमा कुनै कसर बाँकी राखेको छैन । प्रकृतिमाथिको शोषणले पर्यावरणमा नराम्रो प्रभाव परिरहेको छ । हामीले मौसम परिवर्तनमा ठुलो विकृति आएको महसुस गरिरहेका छौँ तर यसको रोकथामका निम्ति कुनै चिन्ता गरेका छैनौँ, समस्या देख्दै छौँ तर समाधान सोचेका छैनौँ । विश्वका वैज्ञानिकहरूले यस विषयमा चिन्ता व्यक्त गर्नाका साथै साहित्यकारले साहित्यमार्फत सही रूपमा कुराहरू समाजसम्म, जनसाधारणसम्म पुर्‍याउन प्रयास गरिरहेका छन् । अहिले नेपाली साहित्यमा पर्यावरणीय चिन्तनलाई छुट्टै अनुशासनको रूपमा अध्ययन अनुसन्धान गरिन सुरु भएको छ । समकालीन साहित्य सिद्धान्तले पर्यावरणीय विमर्शमाथि सबैको ध्यान आकर्षित गरेको छ । प्राज्ञिक स्तरमा यसमाथि धेरै काम भइरहेको छ जानकारी गराउन चाहन्छु ।

तपाईँ आफ्ना सृजनाहरूमध्ये तुलनात्मक रूपमा सबभन्दा बढी सन्तुष्ट कुन रचनासँग हुनुहुन्छ र किन ?

आजसम्म म आफ्ना रचनासित सन्तुष्ट भएकी क्षण मलाई थाह छैन । खुसी चाहिँ हुन्छु । छापिएका रचना वा पुस्तकमा सधैँ केही न केहीको कमी रहेको देख्छु, लेखनमा भ्वाङहरू छोडिएको पाउँछु । यस्तो हुनु एक प्रकारले राम्रो पनि हो कारण यस्ता कमी कमजोरीबाट आफूले सिक्ने मौका पाउँछ । अब अर्कोचोटि रचना लेख्दा अझ राम्ररी अध्ययन गरेर लेख्छु भन्ने सोच्छु । यस्तो त्रुटि फेरि मबाट नहोस् भन्ने तर्फ सचेत बन्छु । सुन्तुष्ट हुने रचना लेखिन मलाई अझ धेरै वर्ष लाग्नेछ । सायद कहिल्यै नलेखिन पनि सक्छ ।

सर्जकको सृजनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तैपनि तपाईँ आफैँले आफ्ना सृजनाको स्वमूल्याङ्कन कुन रूपमा गर्नुहुन्छ ?

यस प्रश्नको उत्तर दिन मेरा निम्ति अत्यन्त कठिन हुनेछ । कुम्हालेले आफ्नो हाँडीको प्रशंसा गरेझैँ नहोस् । सर्वप्रथम म आफूलाई त्यो स्तरमा पुगेर स्वमूल्याङ्कन गर्ने योग्यको पाउँदिनँ । म यस कुरामा इमानदार छु र यो मूल्याङ्कन गर्ने काम मेरा प्रिय पाठकहरूमा नै छाडिदिन्छु ।

सर्जकको समग्र सृजनाको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्छ कि सक्दैन होला ? सकिन्छ भने कुन-कुन आधारमा कति-कति पूर्णाङ्क दिन सकिन्छ होला ?

सकिँदैन । यसरी गरिएको मूल्याङ्कन मेरो जानकारीमा आजसम्म आएको छैन । मेरो विचारमा त्यसो गर्ने हामीसित कुनै मापदण्ड वा सूत्र छैन । सर्जकको सृजनाको सही मूल्याङ्कन अङ्कको आधारमा नभएर गहन अध्ययन र निष्पक्ष, पूर्वाग्रहरहित गरिएको हुनुपर्छ ।

समसामयिक साहित्यिक लेखन कस्तो हुनुपर्थ्यो होला ?

समसमायिक साहित्यिक लेखन यस्तै हुनुपर्छ भनेर किटान गर्न सकिँदैन कारण समसामयिकताले वर्तमान समयलाई इङ्गित गर्छ । यो गतिशील हुन्छ । यसको समय रेखालाई निश्चित रूपले कोर्न सकिँदैन । यो हरेक भौगोलिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पृष्ठभूमिअनुसार निर्माण हुने अवधारणा र सोहीअनुरूप सृजना हुने हो तर वैश्विक अवधारणाअनुसार अहिले हाम्रो वरिपरि जेजति घटनाहरू घटिरहेका छन्, ती घटनाहरूलाई साहित्यलेखनमा समेट्ने प्रयास भइरहेको छ । त्यसैलाई समसामयिक लेखन भन्न सकिन्छ । विनिर्माण, उत्तरऔपनिवेशकतावाद, अन्तःपाठात्मकता, नारीवाद, पर्यावरण विमर्श, डायस्पोरा लेखन, भयवादी लेखन, लैङ्गिक अध्ययन, साइबर साहित्य आदि विषयहरू समसामयिक लेखनअन्तर्गत आउँछन् । नेपाली साहित्यमा यस्ता सृजनाहरू हुनाका साथै समसामयिकताले आफ्नो सामाजिक र सांस्कृतिक परिवेशअनुरूप सीमान्तीकृत स्वरहरूलाई धेरै अवकाश दिएको पाइन्छ । जस्तै, जनजातीय स्वर, नारीवादी स्वर, दलित स्वर, सबाल्टर्न स्वर इत्यादि । यी स्वरहरूले सधैँ आफूलाई सीमान्तमा राखेर केन्द्रले हेपेको, भेदभाव गर्दै आएको र त्यसले उनीहरूको परिचय सङ्कटमा परेको तिक्त अनुभवलाई सचेत रूपले साहित्यमा उल्लेख गर्दै आएको पाइन्छ । भारतीय नेपाली साहित्यमा लीलालेखन, परिवेश विमर्श, उत्तरऔपनिवेशिकतावाद, विनिर्माण, नारीवादी चिन्तन, जातीय अस्मिताको सङ्घर्ष, किनारीकरण लेखन, अन्तःपाठात्मकता, राष्ट्रवादी स्वर, आदिवासी स्वर, चियाबारी लेखन आदि लेखिएको पाइन्छ । मेरो विचारमा यस्ता लेखन समय सापेक्षित छन्, जसलाई समसामयिक लेखन भन्न सकिन्छ ।

समसामयिक साहित्यिक लेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?

समावेशी लेखनको रूपमा देखिरहेकी छु । हिजोसम्म साहित्यले केन्द्र स्वरलाई मात्र मान्यता दिइन्थ्यो, भने आज समय त्यो रहेन, आजको समाज शिक्षित मात्र होइन तर सचेत पनि छ । आफ्नो अधिकार र हकबारे ऊ स्वयंले आवाज उठाउन सक्छ । नसक्ने निर्धा निमुखाका निम्ति अघि आएर बोलिदिने सामर्थ्य मात्र नराखेर उनीहरू स्वयंलाई बोल्ने योग्यको पनि बनाउँछ । समसायिक साहित्यिक लेखनले आज नेपाली समाजका हरेक तप्का र कुनालाई आफ्नो सृजनामा सबलतापूर्वक लेख्न सक्नु समसामयिक लेखनको प्रमुख वैशिष्ट्य र ठुलो उपलब्धि मान्छु ।

नवलेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?

आधुनिकताको एउटा विशेषता नवीनता पनि हो । नवीनताले मुख्यतः प्रयोगवादी लेखनलाई बुझाउँछ । यस दृष्टिले हेर्दा सन् १९६० को दशकमा परम्परालाई भत्काउँदै, भावुकता र कल्पनालाई पन्साउँदै वस्तुता, गहनता र बौद्धिकतालाई प्रमुखताको साथ साहित्यमा लेखिन सक्नुपर्छ भन्ने नयाँ विचारसहित आउने इन्दबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभले तेस्रो आयाम अर्थात् आयामिक लेखनलाई नेपाली साहित्यमा भित्र्याए । आयामिक लेखन धेरै क्लिष्ट भएकाले यसलाई साधारण पाठकले त्यति रुचाएनन् । यो केही विशेष वर्गका लेखक र पाठकसम्म मात्र सीमित रह्यो । आधुनिक प्रवृत्तिअन्तर्गत देखा परेका स्वच्छन्दतावाददेखि यथार्थवाद, अतियथार्थवाद, मनोविश्वलेषणवाद, विसङ्गतिवाद, प्रगतिवाद हुँदै प्रयोगवादसम्म आइपुग्दा नवलेखनले साहित्यलाई विकास हुनमा धेरै सहयोग पुर्‍याएको देखिन्छ । यस अतिरिक्त केही सर्जक र समालोचकले उत्तरआधुनिकतावादलाई पनि नवलेखनको रूपमा स्विकारेको देखिन्छ ।

इतिहासदेखि आजसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?

आजसम्म इतिहासमा शासक र सर्जकबिचको सम्बन्ध हेर्दा यी दुई विपरीत ध्रुवमा उभिएको देखिन्छ । सामान्यतः शासक सधैँ शोषकको रूपमा चित्रित देखिन्छ भने सर्जकले सधैँ त्यस शोषणको विरुद्ध आवाज उठाउँदै आफ्नो सृजनामार्फत जनसाधारणलाई जागरुक गराउँछ । शासकको प्रशंसा गरी लेखिएको सृजनालाई साहित्यमा सधैँ तीव्र आलोचना गरिएको छ । यो क्रम इतिहासदेखि आजसम्म यथावत् रहेको पाइन्छ ।

सर्जक र सामाजिक सदस्यका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?

यो अत्यन्त महत्त्वपूर्ण प्रश्न हो । सर्जक र सामाजिक सदस्यका बिचको सम्बन्धले साहित्य र समाज विकासमा अग्घोरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । एक जना सर्जक प्रथमतः ऊ समाजको सदस्य रहेको हुन्छ । साहित्य एउटा काल्पनिक संसार हो भने समाज नितान्त यथार्थिक संसार हो । यी दुईमाझ तब मात्र गहिरो सम्बन्ध स्थापित हुन्छ जब सर्जकको कल्पनाले सोचेको समाज वास्तविकतामा परिणत हुन सम्भव हुन्छ । हिजोआज काल्पनिक साहित्य सृजना हुन कम भएको छ । साहित्य एकातिर फर्केको, समाज अर्कातिर फर्केको हुनु हुँदैन । सर्जकले लेखेको समाज व्यावहारिक समाज हुनुपर्छ न कि नीति नियम, सिद्धान्त र उपदेशले मात्र भरिएको । सर्जकले सामाजिक सदस्यमाझ सुगम सम्बन्ध स्थापित गर्नाका निम्ति स्वयंले त्यो पहल लिइएको हुनुपर्छ । सर्जकको अर्थ हो ऊ समाजको प्रतिनिधि हुनु । तसर्थ उसले यदि समाजदेखि टाढिएर सृजना गर्छ भने त्यो सृजना भोलि गएर समाजमा कसैका निम्ति कुनै काम नलाग्ने हुन्छ ।

तपाईँलाई उत्कृष्ट लागेका नेपाली सर्जक र सृजनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

यसको सूची मसित धेरै लामो छ । कुनै समय त्यो साझा गरुँला ।

तपाईँलाई लाग्छ, अहिलेकै लेखन गतिले नेपाली साहित्यमा विश्वस्तरीय साहित्य सृजना हुन सक्छ ?

हुन सक्छ, किन सक्दैन । अहिले नेपाली साहित्यको यात्रा त्यतैतिर उन्मुख छ तर यसका निम्ति हामीले अझ धेरै परिश्रम गर्नुपर्छ । अध्ययन र साधना गर्नुपर्छ । अहिले लेखेर, अहिले नै छपाउने हतार गर्नु भएन । नाम कमाउनु र प्रसिद्धि पाउनुका निम्ति मात्रै कसैसित रेस गर्नु भएन । लेखकमा धैर्य हुन अति आवश्यक छ । अन्य भाषाका साहित्यमा केकस्ता ट्रेन्ड चल्दै छन्, त्यतातिर पनि ध्यान दिनुपर्छ । लेखेर मात्र हुँदैन । लेखिएका कृतिहरूको सही मूल्याङ्कन र विमर्श पनि हुनु आवश्यक छ जसले विश्वको साहित्यिक मानचित्रमा हामी कहाँ उभिएका छौँ त्यो थाहा हुन सकोस् । नेपाली साहित्यलाई विश्वस्तरीय साहित्य बनाउनमा आफ्नो समाज र परिवेशलाई ध्यान राखेर सृजना हुन नितान्त आवश्यक छ ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि क-कसले के के गर्नुपर्छ होला ?

यस प्रश्नको उत्तर विभिन्न क्षेत्रका विशेषज्ञहरूसँग सम्बन्धित छ । हामीले आफ्नो मन्तव्य दिएर मात्र यसको समाधान हुँदैन । यो एउटा अभियान नै हो । म एक जना व्यक्तिले साहित्य स्तरीकरण र विश्वव्यापीकरणको कुरा गरेर के फरक पर्छ र? यसका निम्ति सम्बन्धित शैक्षिक संस्थान, सरकारी निकाय, विभिन्न साहित्यिक-सांस्कृतिक सङ्घसंस्थाहरूको सक्रियतामा एउटा साझा मञ्चले पर्ने कार्य हो । विश्वव्यापीकरणका लागि हामीसित प्रशस्तै विभिन्न भाषामा अनुवाद कार्य भएको हुनुपर्छ । अनुवादकको सूची तयार गर्नु नै एउटा अर्को कठिन कार्य हुनेछ । यसका निम्ति मानव संसाधन तयार गर्न अति आवश्यक छ । विश्वस्तरमा विभिन्न साहित्यिक संस्थाहरूको स्थापनाले पनि महत् भूमिका निर्वाह गर्छ । यस्ता विभिन्न पक्षहरूमा हामीले ध्यान दिए उक्त प्रश्नले समाधानको मार्ग निश्चय पाउन सक्छ ।

तपाईँका लेखन र प्रकाशनसम्बन्धी भविष्यका योजनाहरूका बारेमा केही बताउन मिल्छ कि?

योजना त धेरै छन् तर सोचेजस्तो समयले साथ दिएको छैन । प्राशासनिक जिम्मेवारीले गर्दा अध्ययन गर्ने समय थोरै पाउँछु । यस कुराले म दुःखी बनाउँछ ।

नेपाली साहित्यमा चलिरहेको सम्मान र पुरस्कारलाई यहाँले कुन रूपमा लिनुभएको छ ?

हाम्रा साहित्यकारहरूले दिएको योगदानको सही मूल्याङ्कन भएको खण्डमा सम्मान र पुरस्कारले ऊ विभूषित हुनु राम्रो हो । यसले साहित्य सर्जकलाई लेख्नमा धेरै उत्साह र ऊर्जा प्रदान गर्छ । यस कुराले मलाई धेरै खुसी दिन्छ तर कहिलेकाहीँ यस्तो नभएको दृष्टान्तहरू पनि हामी देख्ने गर्छौँ जसले मलाई दुःखी तुल्याउँछ । सम्मान र पुरस्कार कसैको करकापमा होइन तर योग्यताको आधारमा अर्पण गरियोस् भन्ने लाग्छ । पुरस्कार पाएर नेपाली साहित्यमा आफू स्थापित भइन्छ भन्ने गलत कुरा पनि सोच्नु हुँदैन । योग्य साहित्यकारले सधैँ त्यो सम्मान र पुरस्कार प्राप्त ग

रे त्यो पुरस्कार स्वयं नै सम्मानित हुन्छ । यसमा दीपकज्यू तपाईँ पनि मसित सहमत हुनुहुन्छ भनी म अपेक्षा गर्छु ।

तपाईँलाई नेपाली साहित्यिक पत्रकारिता कस्तो भइदिए हुन्थ्यो भन्ने लागिरहेको छ ?

भारतीय नेपाली साहित्यमा साहित्यिक पत्रकारिता त्यति फस्टाउन सकेको छैन । पत्रपत्रिका प्रकाशित हुन्छन् तर यी पत्रिकाहरूले निरन्तरता दिन सकेको छैन । धेरजसो पत्रिकाहरू मासिकदेखि अर्ध वार्षिक, अर्ध वार्षकदेखि वार्षिक अनि वार्षिक देखि प्रायः लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । साहित्यिक पत्रकारिताको दायित्य अहिले यहाँको दैनिक समाचार पत्रहरूको साप्ताहिक केही स्तम्भहरूले निर्वाह गरिरहेको छ । यसप्रति हाम्रो समाज र जाति दुवै गम्भीर र चिन्तनशील हुने समय अहिले नै हो । यो कुरा सबैले बुझून् ।

नेपाली पत्रकारिताको जनकका रूपमा रहेको साहित्यिक पत्रकारिताको वर्तमान अवस्थाका बारेमा बताइदिनुहुन्छ कि ?

भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा पादरी गङ्गाप्रसाद प्रधानलाई नेपाली पत्रकारिताको जनक मानिन्छ । सन् १९०१ – १९३२ सम्म प्रकाशित गोर्खे खबर कागत का केही अङ्कहरू छापिएपछि यो प्रकाशनमा आउन बन्द भएको पाइन्छ । यसमा साहित्यसम्बन्धी केही लेखहरू प्रकाशित भएको पाइन्छ । निक्खर नेपाली साहित्य पत्रकारिताको दृष्टिले हेर्दा सन् १९१८ को जनवरीमा गोर्खा जन पुस्तकालयबाट पारशमणि प्रधानको सम्पादनमा प्रकाशित चन्द्रिका”-लाई पहिलो नेपाली साहित्यिक पत्रिका मानिन्छ । २०औँ अङ्कसम्म प्रकाशित यस पत्रिकाले २०१८ मा आफ्नो शताब्दीऔँ यात्रा पुरा गरिसकेको छ । बिचमा केही वर्ष यसको प्रकाशनमा बाधा आए तापनि यसलाई निरन्तरता दिने काम वर्तमान गोर्खा जन पुस्तकालयले गरिरहेको छ । यसको शताब्दी अङ्क प्रकाशोन्मुख छ ।

प्रतिक्रिया
Loading...