नेपालको ओखलढुङ्गाको प्राप्चा गाउँमा जन्मिनुभएका पीताम्बर दहाल हाल अमेरिकाको टेक्सासमा बस्नुहुन्छ । लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गराउनुभएका दाहाल नेपाली साहित्यमा प्रयोग हुने छन्दको विशेष जानकार मानिनुहुन्छ । उहाँको योगदान नेपालको शैक्षिक विकासमा जति छ त्यति नेपालको राजनीतिक विकासमा पनि छ । नेपालमा प्रजातन्त्रको प्रसार गरेको कारणले नै दाहाल जेलसमेत पर्नुभएकाे थियो ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले पीताम्बर दहालसँग गर्नुभएको कुराकानीकाे सम्पादित अश;

लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन गर्नुभयो । त्रिविवि सेवाबाट सन्तुष्ट हुनुहुन्छ?

एकदम सन्तुष्ट छु । त्यहाँ मेरो जीवनको ऊर्जाशील कालखण्ड बितेको छ । अनेक पृष्ठभूमिबाट आएका नयाँ-नयाँ छात्रछात्रासँगको सङ्गतले आफूले पढाउने भने तापनि आफूले प्रशस्तै सिक्ने अवसर पनि थियो । त्यो समय, अहा !

देशको राजनीतिक व्यवस्थाको भने सिकार अवश्य भए । त्यो अर्कै प्रशासनिक बाटो भयो । राजनीतिक चिन्तन धाराको भिन्नताको पक्ष भयो ।

मेरो जीवन भन्नु नै शिक्षा सेवा हो, त्यो साँच्चै सरस्वतीको मन्दिरै हो । प्राण रहेसम्म पढ्न र पढाउन पाए पनि मोक्ष मिल्थ्यो जस्तो आनन्द आउँछ ।

पीताम्बर दाहाल

अहिले के गर्दे हुन हुन्छ ? कुनै कृति लेखनमा व्यस्त हुनुहुन्छ?

अहिले सामान्य जीवन परिवारसँग बिताइरहेको छु । बसोबास संयुक्त राज्य अमेरिकाको अस्टिन टेक्ससमा छ । हाल जीवनयात्रा महाकाव्य लेख्दै छु । अब काठमाडौँ जानेबितिक्कै प्रकाशित गर्ने विचार छ । नेपाली आयुको हिसाबले जीवनको उत्तरकालमै छु भन्नुपर्‍यो । बयासी पुगेर त्रियासी हिँड्दै छु । हात चलुन्जेल केही न केही लेखिरहन चाहन्छु ।

लेखन क्षेत्रमा तपाईँलाई अति मन परेको विधा कुन हो ? त्यो विधा किन तपाईँलाई औधी मन परेको हो?

मेरो रुचिको साहित्यिक विधा कविता, काव्य नै हो । छन्द र लयमा भावाभिव्यक्ति सहृदय संवेद्य हुन्छ । आत्मीय जनको अत्यन्त वियोगमा रुन त सबै रुन्छन्, संयोगमा सबै खुसी हुन्छन् तर त्यो वियोगको दुःख वा संयोगको सुख पद्यमा सुन्दा र पढ्दा आनन्दातिरेक हुन्छ । अनिर्वचनिय आनन्द मिल्छ ।

छन्द के हो ? छन्दको ऐतिहासिक रूप के हो?

छन्द र सङ्गीतको ठुलो सम्बन्ध छ । सामवेद सङ्गीत नै हो । छन्द सङ्गीत कै अङ्ग हो अर्थात् उपवेद भनिन्छ । छन्द शब्दले वेदलाई बुझाउँछ । वेद ज्ञान हो, जुन नभए त जीवन नै छैन । सबै अङ्ग उपाङ्ग मिलेको पूर्ण रूपलाई छन्द भन्ने चलन छ । ढुङ्गो पनि चट्ट मिलेको पाइयो भने अहा क्या छन्द परेको ढुङ्गो रहेछ भनिन्छ । त्यस्तै घर लोग्ने, मानिस,  स्वास्नी मानिसको शरीर हेरेर पनि छन्द परेको जिउ डाल भन्ने चलन छ । छन्दलाई वेदको पाउ भनिएको छ । विनापाउ त कोही चल्नै सक्दैन । ऋषि वाक्यहरूलाई छन्द सूक्त भनिन्छ ।

संसारकै सर्व प्राचीन ग्रन्थ ऋग्वेद मानिन्छ । ऋग्वेदका ऋचा भनेका छन्दहरू हुन् ।

छन्द भनेको ऐतिहासिकभन्दा आदिम विषय हो । वेद भन्नेबितिक्कै अपौरुषेय- कुनै पुरुष विशेषसँग सम्बन्धित नै होइन ।

छन्दको ज्ञान भगवान् शङ्करले विष्णुलाई दिए, विष्णुले इन्द्रलाई दिए, इन्द्रले बृहस्पतिलाई दिए, बृहस्पतिले माण्डव्यलाई दिए, माण्डव्यबाट सैतवले छन्दको ज्ञान पाए । सैतवबाट यास्क ऋषिले पाए । यास्क ऋषिबाट पिङ्गलले छन्दको ज्ञान पाए । त्यसपछि पिङ्गलाचार्यले नै लोकमा छन्द सूत्र प्रदान गरेका हुन् । त्यसपछि ग्रन्थको रूपमा वृत्तरत्नाकर नामक छन्दोग्रन्थ बनेको र फैलिएको हो । त्यसकै आधारमा लौकिक भाषामा वाल्मीकि ऋषिले सर्वप्रथम अनुष्टुप् छन्दको प्रयोग गरेर वाल्मीकि रामायण बनाए ।

छन्दका भेदहरू के-के छन् ?

शास्त्रीय लौकिक छन्द सामान्यत दुई प्रकारको मानिन्छ (क) वार्णिक, (ख) मात्रिक

क) वार्णिक – वर्ण गनेर मिलाइने छन्द हो । त्यसमा ह्रस्व र दीर्घ मात्राको विन्यास अत्यन्त सावधानीपूर्वक गर्नुपर्ने हुन्छ । छन्दमा पढ्दा कुन ठाउँमा रोकिने (अडिने ) भन्ने कुराले साह्रै ठुलो महत्त्व राख्दछ ।

चार पाउ मिलाएर एक श्लोक बन्छ । एक अक्षरको पाउ पनि हुन्छ । यसरी दुई, तीन, चारदेखि २६ अक्षरसम्मको एक पाउ हुने हुन्छ । त्यसभन्दा पनि अधिक अक्षरको पाउ हुनेलाई दण्डक भनिन्छ ।

चारै पाउ बराबर गण हुने, जोर पाउ एक किसिमको बिजोर पाउ अर्कै किसिमको, अर्धसम, एक पाउ मात्रै एक किसिमको र बाँकी तीन पाउ अर्कै किसिमको पनि हुने हुन्छ ।

ख) मात्रिक छन्द भनेको मात्रा गनेर मिलाउने छन्द हो । साउँ अक्षरलाई एक मात्रा र कान नानी, दाहिना, बर्धन्ने, शिरबिन्दु, द्वादश बिन्दु र संयुक्त व्यञ्जनभन्दा पनि ठुलो अक्षर ह्रस्व भए पनि दीर्घ मानिने हुन्छ । यो नियम र वार्णिक छन्दमा पनि एउटै हो । मात्रिक छन्दमा आर्या मुख्य हो । यसका पनि अनेक भेद छन् । गीति, उपगीति उद्गीति,  गाहिनी, सिंहिनी, विपुला, चपला,  मुख्य चपला,  जघन चपला, आर्या गीति इत्यादि ।

यो प्रश्न यति विशाल छ, विश्वराजजी,  यसको उत्तरमा ग्रन्थै बन्न पुग्छ । मैले मोटा मोटी सङ्क्षिप्त उत्तर दिने प्रयत्न गरेको छु । कविता लेख्नेले छन्दको ज्ञान नभए पनि छन्द पारेको हुन्छ तर आवश्यक अनुक्रम मिलेको हुँदैन ।

गद्य नै लेख्ता पनि निश्चित नियम त हुन्छ नै तर शास्त्रीय अध्ययन नगरी आफूले जे लेख्यो त्यही ठिक भन्नु अनुचित हो । प्रस्तार गर्दै जाँदा मात्राको प्रस्तारले दसौँ हजार छन्द सङ्ख्या पुग्छ ।

नेपाली साहित्यमा छन्दको के कति महत्त्व छ?

नेपाली साहित्यको आरम्भ नै छन्दबाट भएको छ । कविता विधा नै नेपाली साहित्यको पहिलो भन्न सकिन्छ । मौलिक कविता हुन कि अनुदित काव्य हुन नेपाली कविहरूले छन्दलाई नै प्राथमिकता दिए । सुवानन्द दासदेखि नै त्यस्तो पाइन्छ । आदिकवि मानिएका भानुभक्त आचार्यका अध्यात्म रामायाणसमेत सबै फुट्कर रचना पनि छन्दमै छन् । नेपालीका कवि शिरोमणी लेखनाथले बुद्धि विनोद वंशस्थ छन्दमा लेखे र शिखरिणी छन्दलाई मुख्य छन्द बनाए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका महत्त्वपूर्ण रचनाहरू छन्दमै लेखिएका छन् । पण्डित राज सोमनाथ सिग्देल,  राष्ट्र कवि माधव घिमिरे, भीमनिधि तिवारी,  युगकवि सिद्धिचरण श्रेष्ठ यावत् आधुनिक कविहरूका रचनाहरू छन्दमै छन् । नेपाली कविता काव्य क्षेत्रले त वार्णिक छन्द यति अगाडि बढाएको छ कि महत्त्वपूर्ण साहित्य छन्दमै लेखिए । नेपाली भाषाका कविता मात्रै हैन नेपालीले गर्ने प्रार्थना, स्तोत्र,  पाठ, पूजा विधि सम्पूर्ण नै छन्दोमय छ ।

कविता र काव्यको मूल तत्त्व केलाई मान्नुहुन्छ?

कविता र काव्यको मूल तत्त्व त रस ध्वनि नै हो । रस आनन्द हो मजा हो । मैले तेस्रो प्रश्नको उत्तरमा सङ्केत गरेँ – संयोगमा हर्षातिरेक र वियोगमा व्यथा वा कारुणिकता सुसभ्य भाषामा अभिव्यक्ति पाइन्छ । त्यो नभए ता के कविता? कल्याणकारी भाव भरिएको सुमधुर वाणीमा सहृदयको हृदय आह्लादित गराउने विशेषता हुन्छ । कल्पना र प्रतिभा अवश्य हो नै ।

आजभोलि छन्दमा कविताहरू कम लेखिएको हो?

आज भोलि छन्दमा कविता लेख्ने रहर अहिलेका कविहरूमा बढेर आएको छ । बिचमा दुई-तीन दशक चाहिँ छन्द हराएजस्तो भएको थियो । वास्तवमा छन्दको गम्भीर अध्ययनको कमीले त्यस्तो भएको थियो । त्यस बेला केही ज्ञानी कविहरूलाई छोडेर अकविता नै कविता नामले चलेका थिए । कविताभन्दा रुखा राजनीतिक भाषण देखिएका थिए । हाल त छन्दमै कविता लेख्ने उत्साह नयाँ पिँढीमा आएको छ । यसमा छन्दवादी कविहरूको कोठे कवि गोष्ठीले ठुलो योग्दान गरेको छ ।

साहित्य आफ्नो सन्तुष्टिका लागि लेखकले लेख्ने हो वा समाजको रुचिअनुसार लेख्ने हो?

आफ्नो सन्तुष्टिको विषय नै पहिलो हो । समाजमा घटेका विशेष घटनाले पनि लेखकलाई कलम चलाउन उत्प्रेरित गर्छ । आत्मानन्द नै मूल हो ।

तपाईँ जेल पनि बस्नुभयो । के कति कारणले र कति अवधिसम्म जेल बस्नुभयो?

हो म जेल बसेँ । म बालक कालदेखि नै नेपाली काङ्ग्रेसको समर्थक थिएँ । वि.सं. २०१५ सालदेखि त सक्रिय काङ्ग्रेस नै भएँ । २०१५ सालको आम निर्वाचनमा काङ्ग्रेसका उमेदवार (सांसदका लागि ) छान्नेमै थिए । २०१७ साला पुष १ गते राजाले सैनिक शासनको सहयोगले प्रजातन्त्र समाप्त पारेपछि स्वभावतः काङ्ग्रेस जेल जानैपर्‍यो । २०१७ साल फागुन ७ गते काठमाडौँ टुँडीखेलको खरीबोटमा राजा महेन्द्रलाई कालो झन्डा देखाउने कामको संयोजन मैले नै गरेको थिएँ । यसकारण म जेल परेँ । पटक-पटक गरेर ७ वर्ष ७ महिना जेलमा बसेँ ।

तपाईँको पहिलो जागिर वीरगन्जको ठाकुर राम केलजबाट प्रारम्भ भयो । त्यहाँ तपाईँ पुग्दा तत्कालीन वीरगन्जको शैक्षिक स्थिति कस्तो थियो?

वि.सं. २०२७ साल भाद्र २ गतेदेखि मैले ठाकुर राम कलेज वीरगन्जमा प्राध्यापक पद सम्हालेको हुँ । त्यति बेला जगद्मोहन अधिकारी प्रिन्सिपल र मोहनप्रसाद लाखे भाइस प्रिन्सिपल हुनुहुन्थ्यो । बारा, पर्सा, रौतहट र सर्लाही सम्मका विद्यार्थी त्यहीँ पढ्न आउँथे । शैक्षिक अनुशासन साह्रै थियो । गुरु र विद्यार्थीका बिचमा अत्यन्त हार्दिकता र आत्मीयता थियो । काठमाडौँ उपत्यकाबाहिर श्री ठाकुर राम कलेज १ नम्बरमै थियो । पठनपाठन साह्रै राम्रो थियो । त्यतिखेर श्री ठाकुर राम कलेजबाहेक, त्रि जुद्ध हाई स्कुल, त्रिभुवन हनुमान् स्कुल, माइस्थान विद्यापीठ,  श्रीपुर स्कुल र एउटा कन्या विद्यालय समेत सुचारु थिए । श्री त्रि जुद्ध हाई स्कुल पनि ठाकुर राम (व्यक्ति) कै योगदान हो ।

तपाईँको वीरगन्जसम्बन्धी केकस्तो अनुभव रह्यो ? त्यहाँको कलेजको शैक्षिक विकासमा केकस्तो योगदान पुऱ्याउनुभयो जस्तो लाग्छ?

वीरगन्ज हरेक कुराको आकर्षक स्थल हो । त्यहाँका मानिसहरू अत्यन्तै सहयोगी भावनाका हुनाले सबै आफ्नै परिवारका सदस्यजस्तो लाग्यो । रहरलाग्दो वीरगन्ज, अहा! नेपालमा सबैभन्दा सस्तो र ताजा वीरगन्जमा नै खान पाइन्छ ।

वीरगन्ज जानुभन्दा पहिले नै त्यहाँका प्रतिष्ठित साथीहरू जेलमा सँगै थिए । प्रसङ्गमा नाम लिन मन लाग्यो गणेशशरण रावल, माधवलाल श्रेष्ठ, डोलेन्द्रबहादुर अमात्य,  एम बि शाही, मखनप्रसाद कानु आदि बिर्सनै नसकिने नाम हुन् । देवेन्द् लाल नेपाली त मेरो विद्यार्थी जीवनको अभिन्न साथी नै हुन् ।

त्यहाँ प्राध्यापक भएको एक वर्षपछि त्यहीँबाट मेरो पारिवारिक जीवन आरम्भ भयो – मेरो विवाह भयो । त्यसले पनि वीरगन्जसँग मेरो विशेष सम्बन्ध भयो ।

आफ्नो सामर्थ्य लगाएर शैक्षिकस्तर उचाल्न प्रयत्न गरेँ । त्यस अर्थमा प्राध्यापक र प्राशासनिक कर्मचारीका बिचमा आदर्श सौहार्दता थियो भन्ने लाग्छ । छुट्टीका दिनमा पनि विद्यार्थीलाई कलेजमा बोलाएर पढाइन्थ्यो ।

मलाई सम्झना आउँछ एक शनिबार धेरै विद्यार्थी कलेज आए । बिएका विद्यार्थी थिए । लगातार ३ घण्टा बोलेको बोल्यै गर्नुपर्‍यो । के भयो थाहा भएन । मुखबाट रगत आयो । जगद्मोहनजीलाई थाहा भयो र उहाँ रिक्साबाट तुरुन्तै आइपुग्नुभयो र भन्नुभयो -“आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्” तुरन्तै भारतीय सहर रक्सोलको डङ्कनस्थित मिसन हस्पिटल पठाउनुभयो । यस्तो पनि गरिन्थ्यो शैक्षिकस्तर उन्नयनका लागि ।

वीरगन्जको ठाकुर राम कलेजमा तपाईँले पढाउँदा डा. मोहन लाखे क्याम्सप्रमुख हुनुहुन्थ्यो । डा. लाखेको प्रशासनलाई अति कडा प्रशासन मानिन्थ्यो । डा. लाखेसँग सम्बन्धित तपाईँको कुनै रोचक अनुभव छ?

जगद्मोहन अधिकारी र डा. मोहन लाखे जुम्ल्याहा भाइजस्ता थिए । प्रिन्सिपल र भाइस प्रिन्सिपल दुवै जना नरम बोली खरो प्रशासनका जोडी । जगद्मोहनजी विराटनगरबाट आएका र डा. लाखे वीरगन्जको स्थानीय प्रभावशाली व्यक्ति । उहाँहरूको जोडीले श्री. ठाकुरराम कलेजको शैक्षिकस्तर उचाल्न अनुपम योगदान गरेको छ ।

जगद्मोहनजी त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार भएर गएपछि मोहनजी नै प्रिन्सिपल बन्नुभयो । डा. लाखेजी रहँदासम्म गुरुमा,  विद्यार्थीमा र प्रशासनतर्फ पनि कुनै अनियमितता हुन सक्तैनथ्यो । एउटा भऱ्याङ प्रिन्सिपल अफिसको सामुन्ने थियो र अर्को भऱ्याङ ठिक विपरीत दक्षिणी किनरामा थियो । लाखेजी अफिसमा भएका बेला त्यहाँको भऱ्यङबाट कोही पनि आवतजावत गर्दैनथ्यो, त्यस्तो अदब थियो । श्री ठाकुर राम कलेजको विशाल क्षेत्र वास्तवमा पूरै बगैँचा बनेको थियो । भित्रको फूलबारी हेर्न वीरगन्ज बजारका मान्छे आउन्थे मुग्ध भएर जान्थे । लाखेजीले आफ्नो शिशुजस्तै त्यो फूलबारीको सुरक्षण गर्नुभएको थियो । लाखेजी ” वज्रादपि कठोराणि मृदूनि कुसुमादपि, देखिने वज्रभन्दा कठोर तर व्यवहार र दिल फुभन्दा पनि नरम हुनुहुन्थ्यो । मेरो व्यक्तिगत जीवनमा त उहाँको जीवन बिर्सियो भने कृतघ्न नै हुन्छु ।

मेरो प्राध्यापक पदमा परीक्षण काल रहने गरी थिएन तर नियुक्ति दिनेवालाको मनसायको कुरा थियो । जसरी भए पनि पीताम्बर दाहाललाई कलेजबाट हटाउनू भन्ने गृह मन्त्रालयको आदेश र त्यो आदेश कार्यान्वयन गर्ने कालेज सञ्चालक समितिको अध्यक्ष अञ्चलाधीश रहने हुँदा अञ्चलाधीशले “परीक्षण समयावधि सकिएको र तपाईँको काम सन्तोषजनक नभएको” भन्ने बेहोरा तयार भएको थाहा पाएपछि डा. मोहन लाखेले उल्टै प्रश्न गरिदिए “सन्तोषजनक किन नभएको ?” प्राध्यापकको काम के हो? पढाउनु होइन ? पढाइ राम्रो छ,  विद्यार्थी सन्तुष्ट छन् कालेजलाई हानि हुने केही काम गरेको छैन,  कालेज प्रशासन पूर्णतः सन्तुष्ट छ । दाहालजी राजनीति गर्नुहुन्छ रे भन्ने हावा-हावामा भएको रे विनाप्रमाणका हुन् भनेर डा. मोहन लाखेले त्यतिखेर मेरो पक्षमा दृढताका साथी मेरो पक्षमा वकालत गर्नुभयो । त्यो साह्रै ठुलो गुन हो । आफ्नै ज्यान कुनै बहानामा गुम्न सक्ने बेलामा मेरा लागि अडिनु र लिखित रूपमा मलाई दिनु त्योभन्दा मानिसले गर्न सक्ने गुन के चाहिँ होला र?

वीरगन्जको राजनीतिमा तपाईँले गहिरो प्रभाव पार्नुभयो भन्नेहरू पनि छन् । त्यस्तो हो?

केकस्तो प्रभाव पर्‍यो भन्ने र मलाई थाहा भएन तर आत्मविश्वासका साथ मैले आफ्नो विचार उपयुक्त स्थानमा सम्प्रेषण भने गरिरहेँ । विद्यार्थीका बिचमा, कक्षामा कुनै प्रकारको राजनीतिको गन्धसम्म आउन भने दिएको थिइनँ । त्यतिखेर राजनीतिको सक्रियता भनेको विद्यार्थी जगत्‌मै देखिन्थ्यो । मेरो जीवनको विशेषता र विचारधारा बुझेर होला जानकारी लिन भने सबै मान्छे आउँथे र नलुकाएर आफ्नो विचार राख्थेँ । अहिलेको राजनीतिक नेता,  कार्यकर्ता मेरै चेलाहरू देख्ता केही प्रभाव परेकै रहेछ क्यारे जस्तो लाग्छ ।

भविष्यमा वीरगन्ज जाने इच्छा राख्नुभएको छ?

नेपालमा बस्ता त वीरगन्जमा नै बस्छु जस्तो लाग्छ । बिहानै उठेर, मिलेर प्रातः भ्रमण गर्दै, रक्सौल सीमाको पुलसम्म पुगेर फर्किएर माईस्थान चोकमा आउने अनि हिमाञ्चल केबिन वा अमृत केबिनमा ताता-ताता जिलेबी र छेनासहितको दही खाएको सम्झनाले अहिले पनि जिब्रो रसाउँछ । मेरो प्यारो वीरगन्ज अहिले नै उडेर जाऊँ कि जस्तो लाग्छ । कहाँ छन् ती मेरा प्रातः भ्रमणका प्राध्यापक साथीहरू रामबाबु रिजाल,  सूर्यनाथ अधिकारी, हरि प्रधान आदि । वीरगन्जको गुलियो सम्झना!

ओखलढुङ्गाको एउटा सामान्य परिवारबाट आएर, काठमाडौँमा उच्च शिक्षा हासिल गरेर, एक सफल प्राध्यापक हुनुभयो । यो सन्दर्भमा आफूलाई एक सफल व्यक्तिका रूपमा अनुभूत गर्नुहुन्छ?

विश्वराजजी, यस प्रश्नको जबाफ दिन खोज्दा मेरो मनमा अनेक अनुभवहरू ब्युँझिए । केलाई सफल भन्ने केलाई असफल भन्ने? त्रिभुवन विश्वविद्यालयले तय गरेको पाठ्यक्रम पढाउने शिक्षकका रूपमा त म सफलै हुँ तर एउटा प्राध्यापकले मानवजगत्‌लाई दिन सक्ने योगदानका हिसाबले त मैले के नै गर्न सकेँ र? एउटा विद्याव्यासनी वैयाकरण पण्डितको पुत्र भएको संस्कारले पढ्नुपर्छ भन्ने मन्त्र जपेर जे जति गर्न सकियो, गरियो । जति गर्न सकिन्थ्यो केही राजनीतिको एकोहोरो मूढताले, केही असामान्य निर्धनताको विघ्नले,  जीवनका आवश्यकतापूर्तिको अभाव रूप व्यवधानले र आफ्ना अन्यान्य कमजोरीले पनि गर्न सकिएन ।

पृष्ठभूमिको आधारमा म सफल नै हुँ भन्ने लाग्छ तर जुन महत्त्वाकाङ्क्षा लिएर राजनीतितर्फ आकर्षित भइएको थियो, त्यतापट्टि त असफल नै हुँ कि?

नेपालको प्रजातान्त्रिक राजनीतिक विकासमा तपाईँको ठूलो योगदान छ । अहिलेको मौजुदा नेपाली राजनीतिको मूल्याङ्कन गर्दा तपाईँ नेपालको राजनीतिलाई कस्तो अवस्थामा देख्नुहुन्छ?

विश्वराजजी,  मैले वि.सं. २००७ सालमा भएको जनक्रान्तिपछिको २०१५ साल सम्मको अवधि पनि देखेँ र भोगेँ । २०१५ सालमा आम निर्वाचन गर्न बाध्य पार्ने आन्दोलनहरूमा पनि सहभागी भएकै हुँ । वि.सं. २०१४ साल मङ्सिर छ गतेदेखि भएको भद्र अवज्ञा आन्दोलनको सत्याग्रही पनि हुँ । भद्रकालीनजिकै सिंहदरबारअगाडि सत्याग्रही भएर पानीको फोहोराले मूर्च्छा भएको व्यक्ति हुँ । रामहरि शर्मा,  केशरजङ्ग रायमाझी, निर्मल लामा, लक्ष्मण राजवंशी र पिबि मल्ल जस्ता सत्याग्रही साथी थिए । त्यस बेलाका नेता र कार्यकर्तामा अत्यन्तै इमानदारी थियो । कसैको व्यक्तिगत स्वार्थ थिएन । सबैको एउटै आकाङ्क्षा थियो, पूर्ण प्रजातन्त्रप्राप्ति । आन्दोलनले सफलता पायो र नै २०१५ साल फागुन ७ गतेदेखि आम निर्वाचन हुन सक्यो । त्यसरी प्राप्त गरेको प्रजातन्त्र २०१७ साल पुष १ गते राति १२ बजे तत्कालीन राजा महेन्द्रले अपहरण गरे । स्वभावतः हामीले त्यसको प्रतिकार गऱ्यौँ र ३० वर्षसम्म कठोर सङ्घर्ष गर्नुपर्‍यो । म मात्रै हैन हज्जरौँ साथीहरूले कठोर जेलनेल सबै भोगे । त्यसमा पनि सबैको पूर्ण इमानदारी थियो । २०४६ सालमा लौह पुरुष गणेशमान सिंहको नेतृत्वमा भएको सशक्त जन आन्दोलनले पुनः प्रजातन्त्र पाइयो तर त्यसपछिका भुईँ फुट्टा, दूराकाङ्क्षी व्यक्तिहरूको हालीमुहाली चल्न थाल्यो र देशको सत्ता आपराधिक व्यक्तिहरूको हातमा पुग्न गयो र दुरुपयोग भयो । हाल अनेक कारणले व्यवधानहरू पैदा भएका भए पनि खराब चरित्र, जाल झेल, झुट जस्ता विषयहरूक अस्थायी हुन् । हाम्रो सनातनी विश्वास “सत्यमेव जयते” हो । नेपाल र नेपालीको भविष्य भने उज्यालो छ । इमान्दार नेता भए भ्रष्टाचार हुन्न । भ्रष्टाचार नभए सदाचारको प्राधान्य हुन्छ राष्ट्रको सर्वाङ्गीण विकास हुँदै जान्छ । साँच्चै अहिले कठिन अवस्थामा हामी छौँ ।

नेपाली काङ्ग्रेस पार्टी अन्य पार्टीहरूको तुलनामा जनस्तरमा ज्यादै कमजोर भएर गएको छ । यस्तो भन्नेहरू पनि छन् । के यो भनाइ सही हो?

नेपाली काङ्ग्रेस जनस्तरमा कमजोर भएको छैन । बरु जनस्तरमै मजबुत हुनाले पार्टी जिउँदो छ तर नेतृत्व गर्नेहरू अत्यन्त अयोग्य, व्यक्तिगत स्वार्थमा लिप्त, सत्ताको भगबन्डामा मक्ख पर्ने खालका लोभी देखिए । सधैँ त्यो स्थिति रहँदैन ।

शिक्षाप्राप्तिका लागि तपाईँले ठूलो सङ्घर्ष गर्नुभयो । ती सङ्घर्षका दिनहरूलाई कसरी सम्झिनुहुन्छ?

ती सङ्घर्षका घटनाहरूले इमानदार भई कर्तव्यपथमा अनवरत लागिरहन प्रेरणा दिन्छन् । म को थिएँ? कुन अवस्थाबाट आएँ ? त्यो अवस्था अरू बालबालिकालाई कहिल्यै नपरोस् भन्ने लागिरहन्छ । सरस्वतीको जो कृपा!

नेपाली उक्ति नै छ नि – आत्तिनु,  मात्तिनु,  पात्तिनु हुँदैन ।

नेपालको युवा पिँढीले अहिले राम्रा-राम्रा रचनाहरू सृजना गरेको पाइन्छ । पछिल्लो समयमा कसको रचना पढ्नुभएको थियो र त्यसले किन तपाईँलाई प्रभावति गऱ्यो?

मैले तपाईँको कुनै प्रश्नमा सायद भनेको थिएँ – छन्दमा कविता लेख्ने रहर उर्लिएको छ अहिले । नेपाली भाषा साहित्यमा विभिन्न विधामा अनेकौँ कृतिहरू धमाधम रचना भइरहेका छन् । लघुकथा, निकै चोटिला रूपमा आएका छन् । यात्रा, नियात्रा पक्ष पनि मौलाउँदै छ । बालसाहित्य फाँट पनि निकै उर्वर बनेको छ । नेपालकै विशेषताहरू पनि बिम्ब बनाएर कैयौँ नव युवाकविहरूले लेखिरहेका छन् । उत्साहजनक स्थिति छ,  म साँच्चै गौरवको अनुभव गर्छु ।

म कविताप्रवाहमा पौडिने मान्छे हुनाले मैले प्राप्त गरेको र पढेको हालै प्रकाशित “अक्षर आराधना” कवितासङ्ग्रह उच्चकोटिको लाग्यो । कवि प्रह्लाद पोख्रेलजीको यस कृतिमा नेपाली पुराना महान् प्रतिभाप्रति कृतज्ञको भाव पाएँ । त्यसमा “काव्यमाली”, “ओजस्वी व्यञ्जना” जस्ता स्रग्धरा छन्दाका कविता र एकतामा अनेकता “उपजाति” छन्दको कवितामा देश, कला, संस्कृति,  पुराना महान् प्रतिभाप्रति ठुलो सम्मानको भाव पाएँ । व्यक्तिगत प्रभविष्णुताको कुरा हो । आफू आफ्नो कृतिमा सबै प्रशंसानीय हुन्छन् ।

नेपालको राजनीति अहिले प्रतिशोधात्मक, स्वार्थकेन्द्रित एवं गालीगलौजले भरिपूर्ण भएर दिशाहीन हुन गएको भान हुन्छ? नेपालको राजनीतिमा सुधार ल्याउन तपाईँजस्ता प्राज्ञहरूको के सल्लाह होला?

नेपाली राजनीति नभएर, राज्यको ढुकुटी लुट्नमा प्रतिस्पर्धा भएको देखिन्छ । सन्मार्गबाट नेतृत्व तहमा पुगेका व्यक्ति भए प्राप्ति पनि सत् हुन्थ्यो । निरीह जनता, भोलाभाला शिक्षक, अबोध बालबालिकाको हत्या गर्ने कुपात्रकै हातमा शासनसत्ता पुगेकाले,  सत्तासीनहरूको नियतै बेठिक छ । “जा के ढिग गारी होइये ओही गारी दै हे,  गारी वारो गारी कहइए हमरोंका का घट ज ये”, विष भरिएको घैलाबाट अमृत कसरी पाइन्छ र? अब हामीजस्ताको अनुभव र नयाँ पिँढीको उत्साह सक्रियताले कदाचार, भ्रष्टाचार अवश्य पराजित भएर इमानदार नेतृत्वको अभ्युदय निश्चित छ । वर्षाको भेलमा धमिलो पानीको फोको फुटेर जान्छ । शरद् ऋतु आउँछ, निर्मल हुन्छ ।

नेपालीहरू अहिले ज्यादै निराश भएजस्तो लाग्छ । नेपालीहरूमा आशा जगाउन तपाईँजस्ता प्राज्ञहरूले के सल्लाह दिनुहुन्छ?

जनतालाई कुनै हालतमा पनि निराश हुन नदिनु नेतृत्वको पहिलो गुण हो । नेतृत्व कि सङ्घर्षबाट जन्मिन्छ कि निर्वाचनबाट जन्मिन्छ । सङ्घर्ष भनेको व्यक्ति, वर्ग, समुदाय या सम्प्रदायका निम्ति होइन “सर्वजन हिताय, अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च। निर्ममो निरहङ्कारः समदुःखसुखः क्षमी ।।”, सेवा भावले समर्पित तपस्वी हुनु भनेको हो । कठिनभन्दा कठिन अवस्थामा पनि यसले त उद्धार गर्छ भन्ने जनताले ठानेको व्यक्ति मात्रै नेता हुन्छ । “जगद्भर्तापि यो भिक्षुः भूतावासोऽनिकेतनः”, हुनुपर्छ ।

प्रवासको जीवन तपाईँलाई कस्तो लागिरहेको छ?

प्रवासको जीवन भए पनि आफ्नो पूर्ण परिवारसँगै भएकाले सामान्य अनुभव गर्छु । हो स्वदेशका निम्ति केही गर्न सकिएन भन्ने मनमा लाग्छ तर अवसर छैन । होनहार युवा प्रतिभा नेपालबाहिरै रहेसम्म देश त उस्तै रहन्छ । नयाँ पिँढी जता गयो बुढापाका पनि उतै लाग्छन् । उनीहरूले शारीरिक रूपले केही गर्न सक्तैनन् ।

प्रवासको जीवनले नेपालमा आफन्तहरू छुटाइदिए जस्तो तपाईँलाई लाग्दछ?

जाने आउने भइरहुन्जेल खास त्यस्तो लाग्दैन तर जन्मस्थान, कर्मस्थानको मोह त अवश्य हुन्छ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” । अहिले त नेपालमै भएकाहरू पनि कोभिडका कारणले आआफ्नै घरमा अलग्गिएका छन् ।